Thursday, January 28, 2021

अन्तिम दूतका साथीहरूको जीवनचित्रका केही झझल्को - १३

 ●○● उसामा बिन जैद ●○●

 □■□ रजियल्ल्हु अन्हु □■□

••••••• {प्रस्तुति: मुहम्मद सुहैल नदवी}•••••••

○○○○○○

○ अहिले हामी मक्कामा छौं....  

हिज्रतको सातौं  वर्ष पूर्व .......

अल्लाहका  सन्देष्टा सल्लल्लाहु अलैहि वसल्लम कुरैशद्वारा पीडा यातना विहोर्दै हुनु हुन्छ  ..... 

र उहाँका साथीहरूले पनि दुःख वेदनाको सामना गर्दैछन् .......

दावत अथवा सत्यतिरको निमन्त्रणाको भार र निरन्तरको सोचविचार  मनमा बोक्दै .....

उहाँको जीवन समस्या र पीडाको खानी भइ सकेको छ ...... 

 उहाँ यस्तै अवस्थामा हुनुहुन्थ्यो कि ....

उहाँको जीवनमा एउटा खुसीको तारा उदायो .....

उहाँ नेर एक जना यो शुभ समाचार लिएर आयो ... 

उम्मे ऐमनले एउटा बच्चा जन्माइन् रे ....

उहाँ सल्लल्लाहु अलैहि वस्ललमको अनुहार खुसीले प्रफुल्ल हुन गयो .... 

उहाँको पवित्र मुखमाथि प्रसन्नताको ज्योति बल्न थाल्यो .....

यो कुन बच्चा हो जसले अल्लाहका सन्देष्टाको लागि खुसिको न्यानो सौगात ल्याएको छ .....

त्यो बच्चा हो .... 

जैद बिन हारिसाको छोरा उसामा.....

रसुल सल्लल्लाहु अलैहि वसल्लमका साथीहरूले नवजात शिशुको कारण उहाँको अनुहारमा छरिएको प्रसन्नतालाई नौलो सम्झेनन् ....

किन भने उनीहरू उहाँको दृष्टिमा उसको पिताको महत्वलाई जान्दथे.. 

उनको स्थान उहाँको नजरमा के छ देख्दै थिए ....

यस शिशुको आमा पनि को रहेछिन् ? थाहा छ होला...

बरका हब्सिया .... उम्मे ऐमनको नामद्वारा परिचित...

उम्मे ऐमन रसूल सल्लल्लाहु अलैहि वसल्लमकी आमा आमिना बिन्त वहबकी दासी थिइन् ....

उहाँलाई उनले आमाको जीवनमा हेरचाह गरेकी थिइन् .... 

र उनको देहान्त पछि उहाँको पालनपोषण गरेकी थिइन् ...

उहाँले जब सन्सारलाई हेर्नु भएको थियो ... 

उनै बाहेक कसैलाई आमा सम्झनु भएको थिएन ...

तसर्थ उनलाई बेसरी माया गर्नु हुन्थ्यो ..... 

ज्यादै प्रेम पोख्नु हुन्थ्यो .... 

उहाँ भन्ने गर्नु हुन्थ्यो ...

मेरी आमा पश्चात यी नै मेरी आमा हुन् .....

मेरो घरपरिवारमा शेष रहेको व्यक्ति यिनी नै हुन् ....

त्यही उम्मे ऐमन यस नवजात भाग्यवान शिशुकी आमा थिइन् ...

 उसका पिता रसूल सल्लल्लाहु अलैहि वसल्लमको प्रिय जैद बिन हारिसा थिए ...

 इस्लाम आउनु भन्दा अघि उहाँको धर्मपुत्र..... 

उहाँको साथी .... 

उहाँको रहस्यमा साझेदार ... 

उहाँको परिवारको एक सदस्य .... 

र इस्लामकालमा सन्सारमा उहाँलाई सबैभन्दा प्रिय व्यक्ति ....

मुसलमानहरूले पनि खुबै खुसी मनाए ...

 उसामा बिन जैदको जन्म भएकोले ... 

यस्तो खुसी कुनै बच्चाको जन्मप्रति मनाएका थिएनन् ....

किन भने रसूल् सल्लल्लाहु अलैहि वसल्लम जे कुराले गर्दा खुसी हुनु हुन्थ्यो तिनीहरू पनि त्यो कुराबाट खुसी मनाउँथे ...

 जे घटना उहाँको मनमा प्रसन्नता दिन्थ्यो त्यस घटनाले गर्दा तिनीहरू पनि प्रसन्न हुन्थे ....

तिनीहरूले यस भाग्यवान शिशुको उपनाम राखे... 

मायालु र मायालुपुत्र....

******

○ मुसलमानहरूले यो सानो बालक उसामालाई यो संज्ञा दिँदा केही बढता कुरा गरेका होइनन... 

यस बालकलाई रसूल सल्लल्लाहु अलैहि वसल्लमले यति माया गर्नु हुन्थ्यो जसको चाहना सम्पूर्ण सन्सारले गर्न सक्छन् ... 

उसामा आयुमा उहाँका नाति फातिमाका छोरा हसन रजियल्लाहु अन्हुका दौँतरी थिए.

तर हसन गोरा.. अति सुन्दर र आफ्ना बाजे अल्लाहका  रसूल सल्लल्लाहु अलैहि वसल्लमको  वर्ण जस्तै थिए ....

र उसामा कालो थेप्चे नाक र आफ्नी हब्सी आमा जस्तै  थिए ....

तर रसूल सल्लल्लाहु अलैहि वसल्लम प्रेम र मायामा दुवैबीच भेदभाव राख्नु हुन्थेन .... 

उहाँ उसामालाई एउटा जाँघमा बसाल्नु हुन्थ्यो र हसनलाई अर्को जाँघमा..... 

फेरी दुवैलाई छातीमा टाँस्नु हुन्थ्यो  र भन्नु हुन्थ्यो ....

हे अल्लाह ... म यी दुवैलाई माया गर्छु तपाईंले पनि उनीहरूलाई माया गरिदिनु होस 

रसूल सल्लल्लाहु अलैहि वसल्लमले उसामासित गर्नु भएको प्रेम कति हद सम्म पुगेको थियो.....

 यो कुरा यस घटना द्वारा पुष्टि हुन्छ .... 

एक पटक उसमा ढोकाको चौकोसमा लडे ....

लडदा उनको निधारमा चोट पुग्यो ... 

र घाउबाट रगत बग्न थाल्यो ....

 रसूल सल्लल्लाहु अलैहि वसल्लमले आइशा रजियल्लाहु अन्हालाई उनको घाउबाट रगत पुछ्ने इसारा गर्नु भयो तर उनी मानिनन् ......

रसूल सल्लल्लाहु अलैहि वसल्लम आफै उभिएर उनको घाउ पुछेर रगत फाल्नु भयो ... 

साथै उनलाई खुसी पार्ने कुरा पनि भन्दै हुनु हुन्थ्यो.... 

त्यसकुराले माया र प्रेम छल्किन्थ्यो .....

******

○ बाल्यकालमा उसामालाई रसूल सल्लल्लाहु अलैहि वसल्लमले जसरी माया गर्नु भयो ....

त्यसरी नै तरूनकालमा पनि गर्नु हुन्थ्यो ....

कुरैशका एउटा सरदार हकीम बनि हिजामले रसूल सल्लल्लाहु अलैहि वसल्लमलाई एउटा बहुमूल्य पोसाक सौगात अनुरूप दिन खोजे ...

 त्यसलाई उनले यमनमा पचास दीनारमा किनेका थिए .... 

यो पोसाक यमनका एउटा महाराजा जीयजनको पोसाक हो भनिन्थ्यो ...

तर रसूल सल्लल्लाहु अलैहि वसल्लमले उनी मुश्रिक भएका कारण सौगात लिन मान्नु भएन र मोल चुक्ता गरेर किन्नु भयो ....

त्यसलाई रसूल सल्लल्ल्हु अलैहि वसल्ल्मले जुमुआको दिन एक पटक मात्र पहिरनु भयो ..... 

र त्यो पोसाक उसामा बिन जैदलाई सौगातमा दिनु भयो .....

उनी त्यो पोशाक लगाएर आफ्नो उमेरका अन्सारी र मुहाजिर तरूणहरूबीच आवतजावत गर्ने गर्थे .....

******

○ उसामा जवानीको उमेरतिर पुगे पछि.... 

उनमा उत्तम आचरण र महान बानीव्यहोर  देखिन थाल्यो... 

जसलाई हेर्दा उनी त साँच्चै रसूल सल्लल्लाहु अलैहि वसल्लमको प्रिय हुने योग्य रहेछन् भन्ने प्रष्ट भयो ....

उनी जेहेनदार थिए असाध्यै जेहेन्दार....

 साहसी थिए ... अति नै साहसी .. 

दूरदर्शी थिए .. सबै वस्तुलाई उसकै स्थानमा राख्ने सिपालु व्यक्ति...

पवित्र आचरणका मालिक .... 

अपवित्र कुराहरूबाट टाढिन्थे .... 

मिलनसार र सबैसित मिलीजुली बस्न सक्ने थिए .. 

तसर्थ मानिसहरूले पनि माया गर्ने गर्दथे ... 

संयमी र  सचेतक थिए .... 

अल्लाहले पनि उनीसित माया गर्नु हुन्थ्यो .....

*******

○ उहुदको युद्धको दिन .....

उसामा पनि सहाबीहरूका छोराहरूको एक समूहसँगै अल्लाहको पथमा युद्ध गर्ने उद्देश्य बोकी रसूल सल्लल्लाहु अलैहि वसल्लमको जुनाफमा हाजिर भए .... 

तिनीहरू मध्ये केहीलाई उहाँले छनौट गर्नु भयो तर  केहीलाई उमेर नपुगेर फर्काइ दिनु भयो .... 

ती फर्काइएका ठिटाहरूमध्ये उसामा बिन जैद पनि थिए ... 

उनी दु:खित भएर त्यहाँबाट नेत्रजल बर्षाउँदै फर्के.... 

रसूल सल्लाहु अलैहि वसल्लमको झण्डामुनि युद्ध गर्ने अवसर नपाइएर भन्दै  ....

******

○ खन्दकको युद्धको दिन पनि ...... 

उसामा फेरी सहाबीहरूका छोराहरूको समूहसँगै युद्धमा सामेल हुने अनुमति खोज्दै उहाँको समक्ष हाजिर भए ... 

र अनुमति प्राप्त होस् भन्ने चाहनाले आफ्नो शरीरलाई माथि तन्काउन थाले ... 

यस पालि रसूल सल्लल्लाहु अलैहि वसल्लमले कृपा गर्दै उनलाई अनुमति दिनु भयो .....

यसरी उनले अल्लाहको बाटोमा जिहादको लागि तरवार समात्दा उनको उमेर पन्द्रह वर्ष भन्दा बढी नाघेको थिएन....

******

○ हुनैनको युद्धको दिन ... 

जब मुसलमानहरू पराजित हुँदै थिए .... 

त्यस्तो संवेदनशील अवस्थामा पनि उसामा बिन जैद रसूल सल्लल्लाहु अलैहि वसल्लमका काका अब्बास बिन अब्दुलमुत्तलिब, उहाँका काकाको छोरा अबु सुफ्यान बिन हारिस र अन्य ठुलठुला छ सहाबीहरूका साथ मैदानमा पौरख्याइँका साथ डटेका थिए .... 

रसूल सल्लल्लाहु अलैहि व सल्लम यिनै आस्थावान पौरखी सानो समूहका साथ पराजयलाई विजयमा परिणित गर्न सफल हुनु भयो.... 

र मैदान छोड्दै भागी रहेका मुसलमानहरूलाई शत्रुहरूको पञ्जाबाट जोगाउनु भयो ....

*******

○ मूताको दिन उसामाले आफ्नो पिता जैद बिन हारिसाको झण्डामुनि युद्ध गरेका थिए ... 

त्यतिबेला उनी अठारह वर्ष पनि पुरा गरेका थिएनन्  .....

आफ्नो आँखा अगाडी पितालाई ढलेका देखे .... 

तर न उनको साहस टुट्यो न उनी कमजोर परे ....

निरन्तर जअफर बिन अबु तालिबको झण्डामुनि युद्ध  जारी राखे ..... 

उनकै अगाडी उनको पनि निधन भएको देखे ....

त्यस पछि अब्दुल्लाह बिन रवाहाको सेनापतित्वमा पनि लडाइ जारी राखे... 

उनको पनि अन्य मित्रहरू झै परिणाम प्राप्त गरुन्जेल सम्म... 

फेरी खालिद बिन वलीदको झण्डा मुनि पनि निरन्तर युद्ध  जारी राखे ...... 

खालिद बिन वलीदले मुसलमानहरूलाई रोमन पञ्जाबाट मुक्त नगरुञ्जेल सम्म ....

*******

○फेरी उसामा मदीना फर्के..... 

बुवाको घटना प्रति अल्लाहको तर्फबाट उत्तम उपकारको आशा गर्दै ....

उनका पार्थिव शरीरलाई शामकै सीमाभित्र पुरेर ....

उनले वीरगति प्राप्त गरेको घोडामाथि नै चढेर .....

*******

○ हिज्रतको एघारैं वर्ष....

रसूल सल्लल्लाहु अलैहिवसल्लमले रोमनहरूसित युद्धको लागि एउटा सेना तयार पार्न आदेश दिनु भयो .... 

त्यसमा अबु बक्र, उमर,  सअद बिन अबु वक्कास अबु उबैदा बिन जर्राह र यिनीहरू जस्तै ठुलठुला सहाबीहरूलाई सम्मिलित गर्नुभयो .... 

र यिनीहरूप्रति उसामा बिन जैदलाई सेनापति बनाउनु भयो ....

 अहिले उनी बीस वर्ष पनि पुरा गरेका थिएनन् .... 

र उनलाई बल्काको सीमा, दारूमका किल्ला गज्जा नेर भएका रेमन शहरहरूमाथि आक्रमण गर्ने आदेश दिनु भयो ....

अहिले सेना जाने तयारीमा नै थिए कि रसूल सल्लल्लाहु अलैहि वसल्लम बिरामी हुनु भयो ...

उहाँको अवस्था झन नाजुक भए पछि त्यो सेना निस्किन  सकेन ...... 

उनीहरूले रसूल सल्लल्लाहु अलैहि वसल्लम सन्चो हुनु भएपछि जाने प्रतिक्षामा बसे .....

उसामाले भनेका छन् ....

जब रसूल सल्लल्लाहु अलैहि वसल्लमको बिमारी धेरै गम्भीर भयो .... 

म उहाँसमक्ष हाजिर भएँ ..... 

म सँगै अन्य मानिसहरू पनि थिए .... 

म उपस्थित हुँदा उहाँलाई मौन अवस्थामा पाएँ .... 

बिमारीको बिस्तारका कारण उहाँ बोल्न सक्नु हुने अवस्थामा हुनुहुन्थेन.... 

तर आफ्नो हात आकाशतिर  उचालेर मेरो शिरमाथि राख्नु हुन्थ्यो ..... 

यसरी मैले बुझेँ ... 

उहाँ मलाई दुआ दिँदै हुनुहुन्छ ....

*******

○ केही छिनमै  उहाँको आत्माले  प्रलोक प्रस्थान गर्‍यो .. 

त्यस पछि अबुबक्रको हात माथि उनलाई उत्तराधिकारी बनाइने निम्ति ब्यअत गरियो .....

उनले सब भन्दा पहिले उसामाको सेना पठाउने हुकुम दिए ....

तर अन्सारका केही समूह यो सेना पठाउन अलिक ढिलो गर्ने पक्षमा थिए .... 

उनीहरूले उमर बिन खत्ताबलाई अबु बक्र सित कुरा गर्न अह्वान गरे .... 

उनीहरूले भने .... 

यदि उनले सेना पठाउन निर्णय नै गरी सकेका छन् भने हामीहरूप्रति उसामा भन्दा बढी उमेरका मानिसलाई सेनापति बनाइ दिनु हुने आग्रह गरूनु ......

अबु बक्रले उमरद्वारा अन्सारको सन्देश सुन्न वित्तिकै उनै माथि हाम फाले ... 

उनी बसेका थिए तर उमरको दाह्री समातेर रिसाएर भने .....

तिम्रो आमा मरोस् हे उमर .... 

उसलाई रसूल सल्लल्लाहु अलैहि वसल्लमले सेनापति बनाउनु भएको छ म कसरी उसलाई यस पदबाट हटाउन सक्छु .... 

अल्लाह कसम यो सम्भव छैन ...सम्भव छैन ....

उमर त्यहाँबाट फर्केर आउँदा मानिसहरूले के कुरा भयो सोध्दा उनले भने .....

जाऊ ....तिमीहरूको नाश होस् .... 

तिमीहरूका कारण अल्लाहका रसूलको उत्तराधिकारीबाट मलाई के के सुन्नु पर्यो ....

******

○ जब सेना आफ्नो तरून सेनापतिको साथ प्रस्थान गर्यो ....

 अल्लाहका रसूलको उत्तराधिकारी उनका साथ हिडदै जान थाले र उसामा घोडामाथि चढेका थिए ... 

उसामाले भने .... 

हे अल्लाहका रसूलका उत्तराधिकारी .... 

यदि तपाई घोडामाथि चढ्नु हुन्न भने म ओर्लिन्छु ....

अबु बक्रले जवाफ दिए ....

अल्लाह कसम ... न तिमी ओर्लिउ न म चढ्नेछु ... 

के म एक घडी पनि  अल्लाहको बाटोमा आफ्नो खुट्टा धुलोयुक्त पार्न नपाउँने   क्यारे .....

त्यस पछि उसामालाई भने ....

म तिम्रो धर्म, तिम्रो जिम्मेवारी  र तिम्रो कर्मको परिणामलाई अल्लाहको जिम्मामा सुम्पिन्छु .... 

र अल्लाहको रसूल सल्लल्लाहु अलैहि वसल्लमले जुन आदेश दिनु भएको थियो त्यसलाई पुरा गर्न उपदेश दिन्छु.... 

फेरी उनी तर्फ नजिक भएर भने .... 

यदि तिमीले उमरलाई मेरो सहायताको निम्ति मदीनामै बस्ने  अनुमति दिन्थ्यो भने उत्तम हुन्थ्यो ....

उसामाले उमरलाई मदीनामा नै बस्न उनुमति दिए ....

******

○ उसामा सेना लिएर गए .... 

उनलाई रसूल सल्लल्लाहु अलैहि वसल्लमले जे जे गर्न आदेश दिनु भएको थियो सबै पुरा गरे .....

 मुसलमान सेनाले  फिलेस्तीनमा भएका बल्काको सीमा र दारूमका किल्लामाथि चढाइ गरे .... 

मुसलमानको दिलबाट रोमनको डर समाप्त गरे .... 

र अगामी दिनमा शामको मुलुक, मिश्र र एट्लान्टिक महासागर सम्म उत्तरी अफ्रीका विजय गर्नेबाटो खुलाए....

त्यस पछि उसामा आफ्नो पिताको त्यही घोडामा सवार भएर फर्के जसमाथि उनले वीरगति प्राप्त गरेका थिए .... 

साथमा यति युद्ध धन पनि प्राप्त गरेका थिए जो कसैले अनुमान पनि गरेको थिएन होला ...

उनको बारेमा भन्ने गरिन्थ्यो ....

उसामाको सेना भन्दा सुरक्षित र बढी गनीमत(युद्ध धन) पाएको सेना देखिएकै छैन होला .....

*******

○ उसामा बिन जैद अन्तिम स्वास सम्म मुसलमानहरूकालागि महान र सम्मानीय र प्रेम पात्र बनेर बसे ... 

अल्लाहका रसूल सल्लल्लाहु अलैहि वसल्लमको साथ कर्तव्यनिष्ठ भएका ले ... 

उहाँको अस्तित्वलाई महान ठान्नु भएकाले .....

उनलाई उमर फारूकले आफ्नो शासनकालमा आफ्नो छोरा अब्दुल्लाह भन्दा बढी भत्ता दिने निर्णय गरे ... 

यो देखेर अब्दुल्लाहले पितालाई भने ....

बाबा ... तपाईँले उसामालाई चारहजार र मलाई तीनहजार भत्ता तोक्नु भएको छ ... 

मेरो विचारमा उसामाको बुवालाई त्यति महानता प्राप्त भएको थिएन जति तपाईँलाई भएको छ र उसलाई त्यति सम्मान मिलेको छैन जति मलाइ मिलेको छ ....

उमर फारूकले जवाफ दिनु भयो .....  

तिमी के कुरा गर्दैछौ ? .... 

उसामाको बुवा रसूल सल्लल्लाहु अलैहि वसल्लमलाई तिम्रो बुवा भन्दा बढी प्रिय थिए ..... 

र उसामा आफैं तिमी भन्दा अल्लाहका रसूललाई ज्यादै मायालु थिए ....

यो सुनेर अब्दुल्लाह पनि आफूलागि तोकिएको भागद्वारा राजि भए ....

उमर बिन खत्ताब जहिले पनि उसामा बिन हारिसालाई भेट्ने गर्दथे ... भन्ने गर्दथे ....

स्वागत छ मेरो अमीर .....

कसैलाई अचम्मित परेको हेर्दा भन्थे ....

उनलाई रसूल सल्लल्लाहु अलैहि वसल्ल्मले हामीहरूप्रति अमीर बनाउनु भएको थियो ....

*******

○ अल्लाह तआला यिनी महान आत्माहरूमाथि कृपा गरून् ....

 इतिहासले अल्लाहका रसूलका साथीहरू भन्दा महान, परिपूर्ण र सुसज्जित व्यक्ति कहिले पनि देखेकै छैन .....

(प्रस्तुति: मुहम्मद सुहैल नदवी)

¤¤¤¤¤¤¤¤

No comments:

Post a Comment