Thursday, January 28, 2021

अन्तिम दूतका साथीहरूको जीवनचित्रका केही झझल्को - १३

 ●○● उसामा बिन जैद ●○●

 □■□ रजियल्ल्हु अन्हु □■□

••••••• {प्रस्तुति: मुहम्मद सुहैल नदवी}•••••••

○○○○○○

○ अहिले हामी मक्कामा छौं....  

हिज्रतको सातौं  वर्ष पूर्व .......

अल्लाहका  सन्देष्टा सल्लल्लाहु अलैहि वसल्लम कुरैशद्वारा पीडा यातना विहोर्दै हुनु हुन्छ  ..... 

र उहाँका साथीहरूले पनि दुःख वेदनाको सामना गर्दैछन् .......

दावत अथवा सत्यतिरको निमन्त्रणाको भार र निरन्तरको सोचविचार  मनमा बोक्दै .....

उहाँको जीवन समस्या र पीडाको खानी भइ सकेको छ ...... 

 उहाँ यस्तै अवस्थामा हुनुहुन्थ्यो कि ....

उहाँको जीवनमा एउटा खुसीको तारा उदायो .....

उहाँ नेर एक जना यो शुभ समाचार लिएर आयो ... 

उम्मे ऐमनले एउटा बच्चा जन्माइन् रे ....

उहाँ सल्लल्लाहु अलैहि वस्ललमको अनुहार खुसीले प्रफुल्ल हुन गयो .... 

उहाँको पवित्र मुखमाथि प्रसन्नताको ज्योति बल्न थाल्यो .....

यो कुन बच्चा हो जसले अल्लाहका सन्देष्टाको लागि खुसिको न्यानो सौगात ल्याएको छ .....

त्यो बच्चा हो .... 

जैद बिन हारिसाको छोरा उसामा.....

रसुल सल्लल्लाहु अलैहि वसल्लमका साथीहरूले नवजात शिशुको कारण उहाँको अनुहारमा छरिएको प्रसन्नतालाई नौलो सम्झेनन् ....

किन भने उनीहरू उहाँको दृष्टिमा उसको पिताको महत्वलाई जान्दथे.. 

उनको स्थान उहाँको नजरमा के छ देख्दै थिए ....

यस शिशुको आमा पनि को रहेछिन् ? थाहा छ होला...

बरका हब्सिया .... उम्मे ऐमनको नामद्वारा परिचित...

उम्मे ऐमन रसूल सल्लल्लाहु अलैहि वसल्लमकी आमा आमिना बिन्त वहबकी दासी थिइन् ....

उहाँलाई उनले आमाको जीवनमा हेरचाह गरेकी थिइन् .... 

र उनको देहान्त पछि उहाँको पालनपोषण गरेकी थिइन् ...

उहाँले जब सन्सारलाई हेर्नु भएको थियो ... 

उनै बाहेक कसैलाई आमा सम्झनु भएको थिएन ...

तसर्थ उनलाई बेसरी माया गर्नु हुन्थ्यो ..... 

ज्यादै प्रेम पोख्नु हुन्थ्यो .... 

उहाँ भन्ने गर्नु हुन्थ्यो ...

मेरी आमा पश्चात यी नै मेरी आमा हुन् .....

मेरो घरपरिवारमा शेष रहेको व्यक्ति यिनी नै हुन् ....

त्यही उम्मे ऐमन यस नवजात भाग्यवान शिशुकी आमा थिइन् ...

 उसका पिता रसूल सल्लल्लाहु अलैहि वसल्लमको प्रिय जैद बिन हारिसा थिए ...

 इस्लाम आउनु भन्दा अघि उहाँको धर्मपुत्र..... 

उहाँको साथी .... 

उहाँको रहस्यमा साझेदार ... 

उहाँको परिवारको एक सदस्य .... 

र इस्लामकालमा सन्सारमा उहाँलाई सबैभन्दा प्रिय व्यक्ति ....

मुसलमानहरूले पनि खुबै खुसी मनाए ...

 उसामा बिन जैदको जन्म भएकोले ... 

यस्तो खुसी कुनै बच्चाको जन्मप्रति मनाएका थिएनन् ....

किन भने रसूल् सल्लल्लाहु अलैहि वसल्लम जे कुराले गर्दा खुसी हुनु हुन्थ्यो तिनीहरू पनि त्यो कुराबाट खुसी मनाउँथे ...

 जे घटना उहाँको मनमा प्रसन्नता दिन्थ्यो त्यस घटनाले गर्दा तिनीहरू पनि प्रसन्न हुन्थे ....

तिनीहरूले यस भाग्यवान शिशुको उपनाम राखे... 

मायालु र मायालुपुत्र....

******

○ मुसलमानहरूले यो सानो बालक उसामालाई यो संज्ञा दिँदा केही बढता कुरा गरेका होइनन... 

यस बालकलाई रसूल सल्लल्लाहु अलैहि वसल्लमले यति माया गर्नु हुन्थ्यो जसको चाहना सम्पूर्ण सन्सारले गर्न सक्छन् ... 

उसामा आयुमा उहाँका नाति फातिमाका छोरा हसन रजियल्लाहु अन्हुका दौँतरी थिए.

तर हसन गोरा.. अति सुन्दर र आफ्ना बाजे अल्लाहका  रसूल सल्लल्लाहु अलैहि वसल्लमको  वर्ण जस्तै थिए ....

र उसामा कालो थेप्चे नाक र आफ्नी हब्सी आमा जस्तै  थिए ....

तर रसूल सल्लल्लाहु अलैहि वसल्लम प्रेम र मायामा दुवैबीच भेदभाव राख्नु हुन्थेन .... 

उहाँ उसामालाई एउटा जाँघमा बसाल्नु हुन्थ्यो र हसनलाई अर्को जाँघमा..... 

फेरी दुवैलाई छातीमा टाँस्नु हुन्थ्यो  र भन्नु हुन्थ्यो ....

हे अल्लाह ... म यी दुवैलाई माया गर्छु तपाईंले पनि उनीहरूलाई माया गरिदिनु होस 

रसूल सल्लल्लाहु अलैहि वसल्लमले उसामासित गर्नु भएको प्रेम कति हद सम्म पुगेको थियो.....

 यो कुरा यस घटना द्वारा पुष्टि हुन्छ .... 

एक पटक उसमा ढोकाको चौकोसमा लडे ....

लडदा उनको निधारमा चोट पुग्यो ... 

र घाउबाट रगत बग्न थाल्यो ....

 रसूल सल्लल्लाहु अलैहि वसल्लमले आइशा रजियल्लाहु अन्हालाई उनको घाउबाट रगत पुछ्ने इसारा गर्नु भयो तर उनी मानिनन् ......

रसूल सल्लल्लाहु अलैहि वसल्लम आफै उभिएर उनको घाउ पुछेर रगत फाल्नु भयो ... 

साथै उनलाई खुसी पार्ने कुरा पनि भन्दै हुनु हुन्थ्यो.... 

त्यसकुराले माया र प्रेम छल्किन्थ्यो .....

******

○ बाल्यकालमा उसामालाई रसूल सल्लल्लाहु अलैहि वसल्लमले जसरी माया गर्नु भयो ....

त्यसरी नै तरूनकालमा पनि गर्नु हुन्थ्यो ....

कुरैशका एउटा सरदार हकीम बनि हिजामले रसूल सल्लल्लाहु अलैहि वसल्लमलाई एउटा बहुमूल्य पोसाक सौगात अनुरूप दिन खोजे ...

 त्यसलाई उनले यमनमा पचास दीनारमा किनेका थिए .... 

यो पोसाक यमनका एउटा महाराजा जीयजनको पोसाक हो भनिन्थ्यो ...

तर रसूल सल्लल्लाहु अलैहि वसल्लमले उनी मुश्रिक भएका कारण सौगात लिन मान्नु भएन र मोल चुक्ता गरेर किन्नु भयो ....

त्यसलाई रसूल सल्लल्ल्हु अलैहि वसल्ल्मले जुमुआको दिन एक पटक मात्र पहिरनु भयो ..... 

र त्यो पोसाक उसामा बिन जैदलाई सौगातमा दिनु भयो .....

उनी त्यो पोशाक लगाएर आफ्नो उमेरका अन्सारी र मुहाजिर तरूणहरूबीच आवतजावत गर्ने गर्थे .....

******

○ उसामा जवानीको उमेरतिर पुगे पछि.... 

उनमा उत्तम आचरण र महान बानीव्यहोर  देखिन थाल्यो... 

जसलाई हेर्दा उनी त साँच्चै रसूल सल्लल्लाहु अलैहि वसल्लमको प्रिय हुने योग्य रहेछन् भन्ने प्रष्ट भयो ....

उनी जेहेनदार थिए असाध्यै जेहेन्दार....

 साहसी थिए ... अति नै साहसी .. 

दूरदर्शी थिए .. सबै वस्तुलाई उसकै स्थानमा राख्ने सिपालु व्यक्ति...

पवित्र आचरणका मालिक .... 

अपवित्र कुराहरूबाट टाढिन्थे .... 

मिलनसार र सबैसित मिलीजुली बस्न सक्ने थिए .. 

तसर्थ मानिसहरूले पनि माया गर्ने गर्दथे ... 

संयमी र  सचेतक थिए .... 

अल्लाहले पनि उनीसित माया गर्नु हुन्थ्यो .....

*******

○ उहुदको युद्धको दिन .....

उसामा पनि सहाबीहरूका छोराहरूको एक समूहसँगै अल्लाहको पथमा युद्ध गर्ने उद्देश्य बोकी रसूल सल्लल्लाहु अलैहि वसल्लमको जुनाफमा हाजिर भए .... 

तिनीहरू मध्ये केहीलाई उहाँले छनौट गर्नु भयो तर  केहीलाई उमेर नपुगेर फर्काइ दिनु भयो .... 

ती फर्काइएका ठिटाहरूमध्ये उसामा बिन जैद पनि थिए ... 

उनी दु:खित भएर त्यहाँबाट नेत्रजल बर्षाउँदै फर्के.... 

रसूल सल्लाहु अलैहि वसल्लमको झण्डामुनि युद्ध गर्ने अवसर नपाइएर भन्दै  ....

******

○ खन्दकको युद्धको दिन पनि ...... 

उसामा फेरी सहाबीहरूका छोराहरूको समूहसँगै युद्धमा सामेल हुने अनुमति खोज्दै उहाँको समक्ष हाजिर भए ... 

र अनुमति प्राप्त होस् भन्ने चाहनाले आफ्नो शरीरलाई माथि तन्काउन थाले ... 

यस पालि रसूल सल्लल्लाहु अलैहि वसल्लमले कृपा गर्दै उनलाई अनुमति दिनु भयो .....

यसरी उनले अल्लाहको बाटोमा जिहादको लागि तरवार समात्दा उनको उमेर पन्द्रह वर्ष भन्दा बढी नाघेको थिएन....

******

○ हुनैनको युद्धको दिन ... 

जब मुसलमानहरू पराजित हुँदै थिए .... 

त्यस्तो संवेदनशील अवस्थामा पनि उसामा बिन जैद रसूल सल्लल्लाहु अलैहि वसल्लमका काका अब्बास बिन अब्दुलमुत्तलिब, उहाँका काकाको छोरा अबु सुफ्यान बिन हारिस र अन्य ठुलठुला छ सहाबीहरूका साथ मैदानमा पौरख्याइँका साथ डटेका थिए .... 

रसूल सल्लल्लाहु अलैहि व सल्लम यिनै आस्थावान पौरखी सानो समूहका साथ पराजयलाई विजयमा परिणित गर्न सफल हुनु भयो.... 

र मैदान छोड्दै भागी रहेका मुसलमानहरूलाई शत्रुहरूको पञ्जाबाट जोगाउनु भयो ....

*******

○ मूताको दिन उसामाले आफ्नो पिता जैद बिन हारिसाको झण्डामुनि युद्ध गरेका थिए ... 

त्यतिबेला उनी अठारह वर्ष पनि पुरा गरेका थिएनन्  .....

आफ्नो आँखा अगाडी पितालाई ढलेका देखे .... 

तर न उनको साहस टुट्यो न उनी कमजोर परे ....

निरन्तर जअफर बिन अबु तालिबको झण्डामुनि युद्ध  जारी राखे ..... 

उनकै अगाडी उनको पनि निधन भएको देखे ....

त्यस पछि अब्दुल्लाह बिन रवाहाको सेनापतित्वमा पनि लडाइ जारी राखे... 

उनको पनि अन्य मित्रहरू झै परिणाम प्राप्त गरुन्जेल सम्म... 

फेरी खालिद बिन वलीदको झण्डा मुनि पनि निरन्तर युद्ध  जारी राखे ...... 

खालिद बिन वलीदले मुसलमानहरूलाई रोमन पञ्जाबाट मुक्त नगरुञ्जेल सम्म ....

*******

○फेरी उसामा मदीना फर्के..... 

बुवाको घटना प्रति अल्लाहको तर्फबाट उत्तम उपकारको आशा गर्दै ....

उनका पार्थिव शरीरलाई शामकै सीमाभित्र पुरेर ....

उनले वीरगति प्राप्त गरेको घोडामाथि नै चढेर .....

*******

○ हिज्रतको एघारैं वर्ष....

रसूल सल्लल्लाहु अलैहिवसल्लमले रोमनहरूसित युद्धको लागि एउटा सेना तयार पार्न आदेश दिनु भयो .... 

त्यसमा अबु बक्र, उमर,  सअद बिन अबु वक्कास अबु उबैदा बिन जर्राह र यिनीहरू जस्तै ठुलठुला सहाबीहरूलाई सम्मिलित गर्नुभयो .... 

र यिनीहरूप्रति उसामा बिन जैदलाई सेनापति बनाउनु भयो ....

 अहिले उनी बीस वर्ष पनि पुरा गरेका थिएनन् .... 

र उनलाई बल्काको सीमा, दारूमका किल्ला गज्जा नेर भएका रेमन शहरहरूमाथि आक्रमण गर्ने आदेश दिनु भयो ....

अहिले सेना जाने तयारीमा नै थिए कि रसूल सल्लल्लाहु अलैहि वसल्लम बिरामी हुनु भयो ...

उहाँको अवस्था झन नाजुक भए पछि त्यो सेना निस्किन  सकेन ...... 

उनीहरूले रसूल सल्लल्लाहु अलैहि वसल्लम सन्चो हुनु भएपछि जाने प्रतिक्षामा बसे .....

उसामाले भनेका छन् ....

जब रसूल सल्लल्लाहु अलैहि वसल्लमको बिमारी धेरै गम्भीर भयो .... 

म उहाँसमक्ष हाजिर भएँ ..... 

म सँगै अन्य मानिसहरू पनि थिए .... 

म उपस्थित हुँदा उहाँलाई मौन अवस्थामा पाएँ .... 

बिमारीको बिस्तारका कारण उहाँ बोल्न सक्नु हुने अवस्थामा हुनुहुन्थेन.... 

तर आफ्नो हात आकाशतिर  उचालेर मेरो शिरमाथि राख्नु हुन्थ्यो ..... 

यसरी मैले बुझेँ ... 

उहाँ मलाई दुआ दिँदै हुनुहुन्छ ....

*******

○ केही छिनमै  उहाँको आत्माले  प्रलोक प्रस्थान गर्‍यो .. 

त्यस पछि अबुबक्रको हात माथि उनलाई उत्तराधिकारी बनाइने निम्ति ब्यअत गरियो .....

उनले सब भन्दा पहिले उसामाको सेना पठाउने हुकुम दिए ....

तर अन्सारका केही समूह यो सेना पठाउन अलिक ढिलो गर्ने पक्षमा थिए .... 

उनीहरूले उमर बिन खत्ताबलाई अबु बक्र सित कुरा गर्न अह्वान गरे .... 

उनीहरूले भने .... 

यदि उनले सेना पठाउन निर्णय नै गरी सकेका छन् भने हामीहरूप्रति उसामा भन्दा बढी उमेरका मानिसलाई सेनापति बनाइ दिनु हुने आग्रह गरूनु ......

अबु बक्रले उमरद्वारा अन्सारको सन्देश सुन्न वित्तिकै उनै माथि हाम फाले ... 

उनी बसेका थिए तर उमरको दाह्री समातेर रिसाएर भने .....

तिम्रो आमा मरोस् हे उमर .... 

उसलाई रसूल सल्लल्लाहु अलैहि वसल्लमले सेनापति बनाउनु भएको छ म कसरी उसलाई यस पदबाट हटाउन सक्छु .... 

अल्लाह कसम यो सम्भव छैन ...सम्भव छैन ....

उमर त्यहाँबाट फर्केर आउँदा मानिसहरूले के कुरा भयो सोध्दा उनले भने .....

जाऊ ....तिमीहरूको नाश होस् .... 

तिमीहरूका कारण अल्लाहका रसूलको उत्तराधिकारीबाट मलाई के के सुन्नु पर्यो ....

******

○ जब सेना आफ्नो तरून सेनापतिको साथ प्रस्थान गर्यो ....

 अल्लाहका रसूलको उत्तराधिकारी उनका साथ हिडदै जान थाले र उसामा घोडामाथि चढेका थिए ... 

उसामाले भने .... 

हे अल्लाहका रसूलका उत्तराधिकारी .... 

यदि तपाई घोडामाथि चढ्नु हुन्न भने म ओर्लिन्छु ....

अबु बक्रले जवाफ दिए ....

अल्लाह कसम ... न तिमी ओर्लिउ न म चढ्नेछु ... 

के म एक घडी पनि  अल्लाहको बाटोमा आफ्नो खुट्टा धुलोयुक्त पार्न नपाउँने   क्यारे .....

त्यस पछि उसामालाई भने ....

म तिम्रो धर्म, तिम्रो जिम्मेवारी  र तिम्रो कर्मको परिणामलाई अल्लाहको जिम्मामा सुम्पिन्छु .... 

र अल्लाहको रसूल सल्लल्लाहु अलैहि वसल्लमले जुन आदेश दिनु भएको थियो त्यसलाई पुरा गर्न उपदेश दिन्छु.... 

फेरी उनी तर्फ नजिक भएर भने .... 

यदि तिमीले उमरलाई मेरो सहायताको निम्ति मदीनामै बस्ने  अनुमति दिन्थ्यो भने उत्तम हुन्थ्यो ....

उसामाले उमरलाई मदीनामा नै बस्न उनुमति दिए ....

******

○ उसामा सेना लिएर गए .... 

उनलाई रसूल सल्लल्लाहु अलैहि वसल्लमले जे जे गर्न आदेश दिनु भएको थियो सबै पुरा गरे .....

 मुसलमान सेनाले  फिलेस्तीनमा भएका बल्काको सीमा र दारूमका किल्लामाथि चढाइ गरे .... 

मुसलमानको दिलबाट रोमनको डर समाप्त गरे .... 

र अगामी दिनमा शामको मुलुक, मिश्र र एट्लान्टिक महासागर सम्म उत्तरी अफ्रीका विजय गर्नेबाटो खुलाए....

त्यस पछि उसामा आफ्नो पिताको त्यही घोडामा सवार भएर फर्के जसमाथि उनले वीरगति प्राप्त गरेका थिए .... 

साथमा यति युद्ध धन पनि प्राप्त गरेका थिए जो कसैले अनुमान पनि गरेको थिएन होला ...

उनको बारेमा भन्ने गरिन्थ्यो ....

उसामाको सेना भन्दा सुरक्षित र बढी गनीमत(युद्ध धन) पाएको सेना देखिएकै छैन होला .....

*******

○ उसामा बिन जैद अन्तिम स्वास सम्म मुसलमानहरूकालागि महान र सम्मानीय र प्रेम पात्र बनेर बसे ... 

अल्लाहका रसूल सल्लल्लाहु अलैहि वसल्लमको साथ कर्तव्यनिष्ठ भएका ले ... 

उहाँको अस्तित्वलाई महान ठान्नु भएकाले .....

उनलाई उमर फारूकले आफ्नो शासनकालमा आफ्नो छोरा अब्दुल्लाह भन्दा बढी भत्ता दिने निर्णय गरे ... 

यो देखेर अब्दुल्लाहले पितालाई भने ....

बाबा ... तपाईँले उसामालाई चारहजार र मलाई तीनहजार भत्ता तोक्नु भएको छ ... 

मेरो विचारमा उसामाको बुवालाई त्यति महानता प्राप्त भएको थिएन जति तपाईँलाई भएको छ र उसलाई त्यति सम्मान मिलेको छैन जति मलाइ मिलेको छ ....

उमर फारूकले जवाफ दिनु भयो .....  

तिमी के कुरा गर्दैछौ ? .... 

उसामाको बुवा रसूल सल्लल्लाहु अलैहि वसल्लमलाई तिम्रो बुवा भन्दा बढी प्रिय थिए ..... 

र उसामा आफैं तिमी भन्दा अल्लाहका रसूललाई ज्यादै मायालु थिए ....

यो सुनेर अब्दुल्लाह पनि आफूलागि तोकिएको भागद्वारा राजि भए ....

उमर बिन खत्ताब जहिले पनि उसामा बिन हारिसालाई भेट्ने गर्दथे ... भन्ने गर्दथे ....

स्वागत छ मेरो अमीर .....

कसैलाई अचम्मित परेको हेर्दा भन्थे ....

उनलाई रसूल सल्लल्लाहु अलैहि वसल्ल्मले हामीहरूप्रति अमीर बनाउनु भएको थियो ....

*******

○ अल्लाह तआला यिनी महान आत्माहरूमाथि कृपा गरून् ....

 इतिहासले अल्लाहका रसूलका साथीहरू भन्दा महान, परिपूर्ण र सुसज्जित व्यक्ति कहिले पनि देखेकै छैन .....

(प्रस्तुति: मुहम्मद सुहैल नदवी)

¤¤¤¤¤¤¤¤

Wednesday, January 27, 2021

सर्वश्रेष्ठ मानवकी पुत्री

 सर्वश्रेष्ठ मानव, ईश्वरका अन्तिम दूत, मुहम्मद सल्लाहु अलैहि वसल्लमकी छोरी फातिमालाई  आफैं घरको सबै कामहरू गर्नु पर्ने हुन्थ्यो,  उनका श्रीमान अली रजियल्लाहु अन्हु ले उनलाई भने, अहिले केही दासीहरू ल्याइएकी छिन,  तिम्रो बुवाले धेरै जनालाई मागे बमोजिम दास दासि अनुदान गर्नु भएको छ, तिमीपनि गएर एउटी दासी माग, तिमीलाई घरको काममा सहयोग पुग्छ,   एक दिन गएको बेला धेरै मानिसहरू उपस्थित थिए फर्केर आइन् , अर्को दिन जाँदा उहाँले आफैं सोध्नु भयो, हिजो किन आएकीथ्यौ? लाजले केही भन्न सकिन्न, ज्वाइँले कुरा राख्दा उहाँ ले भन्नुभयो, म  समाजका अरू निस्सहायको कष्ट पहिले हेर्छु तिमीलाई म ग्राह्यता दिन सक्तिनँ बरू तिमी सुब्हानल्लाह ३३ पटक अल्हम्दु लिल्लाह ३३ पटक र अल्लाहु अक्बर ३३पटक भन्ने गर यो कुनै दास वा दासी भन्दा पनि उत्तम हुन्छ। तसर्थ यसलाई तस्बीह ए फातिमी भनिन्छ। 

 यसै घटनालाई एउटा उर्दू कवि अल्लामा शिब्ली नुअमानीले  कविताको लयमा वर्णन गरेका छन् अति प्रसिद्ध कविता छ उही कविज्युलाई पछ्याउँदै मैले पनि लय मिलाउने प्रयास गरेको छु।  



गरिब् थिइन् सधैं भोग्ने गर्थिन् पीडा साह्रै 

घरमा कुनै दासी सेवक पाइन सक्ने गाह्रै 


दुइटै हातको हत्केलामा ठेलो रोप्ने गर्थिन् 

जातो पिँध्ने काम गरेमा साँझ बिहान हरदिन 


जलको मसक् बोकी लान्थिन् दिनमा कति चोटि 

ज्योतिपूर्ण काँध माथि नीलो लहरे साटि

 

पावन लुगा फोहोर हुन्थ्यो धुलो  जिउमा पर्दा

घर आँगनमा झाडु दिने काम निरन्तर गर्दा 


गइन् नबिका सामु केही भन्छु भन्दा भन्दै 

आम सभाको बेला पर्यो त्यहाँ पुग्दा पुग्दै 


जन साधारन को भेलामा  देखिन् उहाँ लाई 

लाजै मानी फर्की आइन् परिजन न पाई 


अर्को चोटि उहाँ ले नै आफैं सोध्नु भयो 

हिजो किन आएकीथ्यौ केही खांचो थियो 


चुप नै बसिन् ती लज्जालु आइमाई धन्न 

हैदरले नै साहस् गरे उनका कुरा भन्न 


उहाँ ले यो भन्नु भयो छोरी धैर्य राख 

सुफ्फाका यी बबुरा छन् मेरो प्रथम चाख 


मैले अव्वल् गर्नु नि छ उनको बास बसाई 

व्यवस्थित पो गर्नु पर्छ यिनीहरूलाई 


तिनी माथि दुख पीडाले मुटु मेरो रुन्छ 

जिम्मा त्यसको म नै हुन्छु मेरै भारा हुन्छ 


तिमी भन्दा अग्रिम हुन्छ ऊ हकदारको पन्ना 

भोक् र तिर्खाले हर्दैछ जुन आँखा को सपना 


मौन भई ती आइमाई त्यहाँ बाट फर्किन् 

आदरको यस ठाँउमा बोल्ने साहस कसरी गर्थिन् 


यस्तै हुन्थ्यो पावन घरमा रातदिनको प्रथा 

सर्वश्रेष्ठ मानवपुत्री को सुन्यौ नि गाथा


प्रस्तुति: सुहैल अन्सारी 

विडियाे हेर्नकाेलागि तलकाे लिङ्कमा क्लिक गर्नुस् 

अर्को विडियो सजिलो सित प्राप्त गर्नको लागि सब्सक्राइब गर्न नबिर्सि दिनु होला 

https://youtu.be/ApVAWZ-ks5Y




Tuesday, January 19, 2021

अन्तिम दूतका साथीहरूको जीवनचित्रका केही झझल्को - १२

 ○●○जैद बिन हारिसा  ○●○

■□■ रजियल्लाहु अन्हु■□■

•••••{प्रस्तुति: मुहम्मद सुहैल नदवी}•••••

○○○○○○

○ सुअदा बिन्त सअलबा आफ्नो माइतिघर तिर लागिन् .... 

आफ्नो समुदाय बनु मअन सित भेटघाटको निम्ति .... 

सँगै उनका छोरा जैद बिन हारिसा पनि थियो ...

अहिले उनीहरू माइतिघर पुगेका मात्रै थिए.... 

अचानक बनुल्कैनका केही घोडसवार लुटेराहरूले उनको समुदायमाथि आक्रमण गरे ... 

धन सम्पत्ति लुटपाट गरे ... 

ऊँट र जनावरहरू समाते .....

र बालबच्चालाई बन्दी बनाएर सँगै लगे.....

त्यही बन्दीहरू मध्ये सुअदाका छोरा जैद बिन हारिसा पनि पर्न गए .... 

उनीहरूले उसलाई पनि लगे....

त्यति बेला जैद बिन हारिसा सानो बालक थिए ... 

यही करीब करीब आठ वर्षको जति ... 

उनीहरूले उनलाई उकाज भन्ने बजारमा लागेर बेचे .... 

त्यहाँ उनलाई कुरैशकाे एउटा सरदार खुवैलिदकाे नाति र हिजामका छोरा हकीमले चार सय दिर्हममा किने ....

साथै अरू केही बालकहरूलाई पनि किनेर मक्का आफ्नो घर पुगे ....

उनकी फुपू खदीजा बिन्त खुवैलिदले भतिज फर्केर आएको कुरा सुने पछि उनीसित भेट्न गइन् ......

उनलाई सलाम गर्न र स्वागत गर्न पुगिन्......

उनले फुपूलाई भने ....

 फुपू ,,,,,,मैले उकाजको बजारबाट केही केटाहरू किनेर ल्याएकाेछु ... 

तिनीहरू मध्ये कसैलाई छान्नुस् ... 

तपाइले छान्नु भएको बच्चा तपाइको लागि साैगात हुनेछ .....

खदीजा बिन्त खुवैलिदले सबै बच्चाहरूका अनुहार हेरिन् र जैद बिन हारिसालाई छानिन् .... 

उनकाे अनुहारमा उनलाई भलादमीको केही सँकेत महसुस भएको  थिइन् ... र उनलाई साथै लगिन् ....

केही दिन बितेपछि खदीजा बिन्त खुवैलिदले मुहम्मद बिन अब्दुल्लाह (स.) सित बिहे गरिन् .... 

उनले आफ्नो जीवनसाथीलाई कुनै राम्रो खाले उपहार दिन  खोजिन् .... 

तर आफ्नो प्रिय सेवक जैद बिन हारिसा भन्दा अरू कुनै राम्रो सौगात देखीनन्  ......

उनैलाइ उपहारमा दिइन् ....

*******

○ जुन बेला यी भाग्यशाली किशोर मुहम्मद बिन अब्दुल्लाह(स)को संरक्षणमा हुर्किदै थिए .... 

उनको चोखो सँगतबाट लाभान्वित हुँदैथे... 

उनका परोपकार र उच्चाचरणको फाइदा बटुल्दै थिए .....

उसकी आमा आफ्नो कलेजाका टुक्रा गुमाएकी भएर.. 

उनको आँखाको भल सुक्दैन्थ्यो ... 

उनको मनमा चैन  हुँदैन्थ्यो ... 

मुटु कहिले स्थिर हुँदैन्थ्यो ...

उनको दुःखको कारण सायद  जीवित  भए आस गर्न हु्न्थ्याे कि.....

 मृत्युलोक पुग्याे भनेर थाहा भएकाे भए धैर्यधारणा गर्न हुन्थ्याे कि ....

भन्ने टुगाें नलाग्नु पनि थियो .....

उनका बुवा पनि उनैलाई देश विदेश खोज्दै थिए ... 

हरेक यात्रुसमूहलाई सोध्ने गर्दथे .... 

उसको बिछोडलाई शोककवितामा परिवर्तित गर्दै थिए ... 

उनले यस्तो कविताहरू भनेका थिए जसले गर्दा मुटु पनि फुट्न लाग्यो जस्तो लाग्थ्यो .... 

कलेजो छातीबाट निस्केको जस्तो आभास हुन्थ्यो ....

उनका केही अरबी हरफहरूको नेपाली रूपान्तरण यस प्रकार रहेका छन् .....

आशुझरी आँखाबाट जैद्को लागि झर्यो

आशा हुन्छ ज्युँदै होला, डर छ कालले हर्यो ।

अल्लाह कसम काेही छैनन्  कसलाई सोधुँ यहाँ

अग्लो पर्वत मिल्कायो कि भुँइचालोले  पुर्यो ।

सुर्योदयले याद दिलाइ बिचल्ली पो दिन्छ

रातमा उसलाई सम्झी सम्झी निन्द्रा मेरो मर्यो ।

जीवन भरि खोज्दै हिड्छु अन्तिम श्वास सम्म

डुल्दा डुल्दै थाक्ने छैन उँट् थकित् चैं पर्यो ।

 उसकै लागि जीवन अर्पित गर्छु काल् न पाइ

मानिस अखिर मर्नै पर्छ आशा जे जे गर्यो ।

*******

○ एक वर्ष हज्ज हुने बेला ... 

जैदकै समुदायबाट एक समूह मक्का हज्ज गर्न आए .... 

उनीहरू काबाको परिक्रमा गर्दै थिए कि उनीहरूले जैदलाई आँखा अगाडी रहेको देखे .... 

र उनले पनि उनीहरूलाई राम्ररी  चिने.... 

उनीहरूले उसित सोधपुछ गरे उनले पनि उनीहरूसित हाल समाचार सोधे.... 

हज्जाको प्रकृया पुरा गरेपछि उनीहरू आफ्नो गाउँतिर फिर्ता गए....

 र हारिसालाई उनीहरूले जैदसित भेट भएकाे कुरा सुनाए ...

*******

○ हारिसाले तुरन्त आफ्नो सवारी तयार गरे ..... 

आफ्नो मुटुको टुक्रा र आँखाको चैनलाई छुटाउनका निम्ति माल जम्मा गरे.... 

साथमा आफ्नो भाइ कअबलाई पनि लिए .... 

दुवै मक्काको बाटो हिडे .... 

मक्का पुगेर मुहम्मद बिन अब्दुल्लाह (स) समक्ष हाजिर भए ... र भने ....

हे अब्दुल् मुत्तलिबका छोरा .... 

तपाईँ अल्लाहको घरका छिमेकी हुनुहुन्छ ...

 तपाईंहरू निस्सहायलाई सहारा दिनु हुन्छ ... 

भोकालाई खाना खुवाउनु हुन्छ ....

र  दुःखपीडा भोग्नेहरूको मद्दत गर्नुहुन्छ ....

हामी टाढाबाट हाम्रो छोराको विषयमा आएका छौँ ... 

जो तपाईं कहाँ छ ... 

बदलामा हामीले तपाईँलाई मुल्यपनि दिन्छौं  ....

तसर्थ हामीमाथि उपकार गर्नुहाेस् .... 

उसको मोलवापत जति लाग्छ हामी दिन तयार छौं .....

मुहम्मद(स)ले सोध्नुभयाे ....

 काे छोराको विषयमा तिमीहरू कुरा गर्दैछौ?.....

दुवैले जवाफ दिए ....

तपाईँको सेवक जैद बिन हारिसा.....

उहाँले भन्नुभयाे .....

मोलवापत माल दिनु भन्दा पनि एउटा राम्रो उपाय छ ... तिमीहरूले स्वीकार्छौ भने म भनुँ ?....

उनीहरूले भने ...

त्यो के हाे ?...

उहाँले भन्नुभयाे .... म उसलाई बोलाउँदैछु ....

उसलाई मैले  मेरो र तिमीहरूमध्ये चुन्ने छुट दिनेछु.. 

यदि उसले तिमीहरूको चयन गर्छ भने... 

बिना मुल्य तिमीहरूलाई दिन्छु .... 

यदि उसले मलाई चयन गर्यो भने .....

मलाई चयन गर्नेलाई म टाढा गर्न सक्तिनँ.....

दुवैले भने ...

तपाईँले नियायपूर्ण कुरा गर्नु भयो र न्याय पनि असाध्यै .....

मुहम्मद(स)ले उसलाई बोलाएर सोध्नुभयाे...

यी दुवै को हुन्? तिमी चिन्छौ?.....

उनले भने...

यिनी मेरा बुवा हारिसा बिन शुराहील हुनुहुन्छ र यिनी मेरा काका कअब.....

उहाँले भन्नुभयाे ... 

मैले तिमीलाई छुट दिएँ .... 

जान मन लागे  यिनीहरूका साथ जान सक्छाै ... 

चाहे  मसँगै बस....

उनले तुरन्तै नसोचीकन भने.. म त हजुरको साथै बस्छु .....

उनका बुवाले भने .... 

हाय जैद तिम्रो नाश होस्.... 

तिमी मातापिताको माझमा दासत्वलाई ग्राह्यता दिँदैछौ? ..... 

उनले जवाफ दिए....

मैले यो मानिसमा यस्ता  केही कुराहरू देखेको छु ... 

जसकारण म यिनलाई छोडनै सक्तिनँ ......

*******

○ मुहम्मदले जैदको यो कर्तव्य देखेर उसकाे हात समातेर काबा नेर लिएर आउनुभयाे ... 

कालो पत्थर नजिक उभेर कुरैश समुदायलाई सम्बोधन गर्दै भन्नुभयाे ....

हे कुरैशका समुदाय .... 

तपाईंहरू  सबै साक्षी बस्नु... 

यो मेरो छोरा हो .... 

म उस्को वारिस हुँ र यो मेरो उत्तराधिकारी हुनेछ ....

यो देखेर उसका बुवा र काकाको मन खुसी भयो ... 

उनीहरूले उनलाई मुहम्मद बिन अब्दुल्लाह(स)कै अधिनमा छोडी आफ्नो समुदाय तिर खुसी खुसी अनन्नद सहित फर्के ....

त्यो दिन देखि जैदलाई हारिसाको छोरा नभनेर मुहम्मको छोरा भन्न थालियो .... 

उनलाई यसरी नै बोलाइने गरिन्थ्यो .... 

जबसम्म मुहम्मद(स)लाई अल्लाहले आफ्नो सन्देशवाहक बनाउनु भयो... 

अल्लाह उहाँमाथि शान्ति देउन् ....

 र इस्लामिक जीवनपद्धतिमा धर्मपुत्रको व्यवस्था हटाइयो .... 

कुर्आनमा अल्लाहद्वारा यो आदेश अवतरणा भयाे....

॥ उनीहरूलाई उनकै पिताको नामद्वारा सम्बोधन गर॥  .... 

तसर्थ अब उनलाई पनि जैद बिन हारिसाको नामद्वारा सम्बोधित गर्न थालियाे .....

*******

○ जैदले जुन घडी मातापिताको दाँजोमा मुहम्मद(स)लाई छानेका थिए ... 

उनलाई थाहा थिएन उनले कस्तो बहुमूल्य बस्तु छानेका रहेछन् ....

उनलाई यो ज्ञान थिएन भने उनको स्वामी जसलाई आफ्नो मातापितामाथि ग्राह्या दिएको छ........

उहाँ सबै अग्रिम र अन्तिम मानवका स्वामी हुनु हुनेछन् .... 

र अल्लाहको तर्फबाट उहाँका सम्पूर्ण प्राणी तर्फ अल्लाहको सन्देशवाहक बन्नु हुनेछन् 

उनको दिलको कुनै भुभागमा यस्तो विचार पनि उत्पन्न भएको थिएन होला........

 कि अकाशबाट एउटा शासन जमिनमा खडा गरिनेछ ......

जसले पूर्व पश्चिमलाई न्याय र निसाफले भरिपूर्ण गर्नेछ ...

 र उनीपनि यस महान शासनको निर्माणमा आधारशीला हुने भूमिका निर्वाह गर्ने अवसर प्राप्त गर्नेछन् ....

माथिको कुनै कुरा जैदको मनमा आउनै सक्दैन्थ्याे ....

यो त अल्लाहको विशेष उपकार हो... 

जसलाई रोज्नु हुन्छ उहाँले प्रदान गर्नु हुन्छ ....

र अल्लाह त महान परोपकारका स्वामी हुनुहुन्छ ....

चयन गर्ने यस घट्नाक्रमलाई केही वर्ष मात्र वितेका थिए.. 

अल्लाहले मुहम्मद (सल्लाहु अलैहि वसल्लम) लाई आफ्नो सन्देशवाहक बनाउनु भयो .... 

सत्यता र मार्गदर्शनका साथ उहाँलाई पठाउनु भयो ....

 त्यहाँ जैद पहिला व्यक्ति थिए जसले पुरूषहरू मध्ये सबै भन्दा पहिले उहाँको दूतत्वलाई स्वीकार गरेका थिए ....

यस प्राथमिक्ता भन्दा पनि कुनै प्राथमिकता हुन सक्ला जसको लागि प्रतिस्पर्धा गर्न सकिन्छ  ....

अब जैद बिन हारिसा अल्लाहका रसूल सल्लल्लाहु अलैहि वसल्लमका रहस्यमा साझी भए.... 

उहाँका दल समूह र सेनाका अगुवा बने ....

 र मदीनामा उहाँ नभएको बेला उहाँका कायममुकाम बने .....

*******

○ जसरी जैदले रसूल सल्लल्लाहु अलैहि वसल्लमलाई  माया गरे र आफ्ना मातापितामाथि प्राथमिकता दिए ...

त्यसरी नै रसूल सल्लल्लाहु अलैहि वसल्लमले पनि उनलाई धेरै माया गर्नु भयो .... 

उनलाई आफ्नो बच्चाहरू र परिवारमै मिलाउनु भयो .... 

यदि उनी अनुपस्थित हुन्थे भने उहाँ उनका प्रतिक्षा गर्नु हुन्थ्यो ...

यदि कतैबाट फर्के भने खुसी व्यक्त गर्नु हुन्थ्यो ... 

र यसरी स्वागत गर्नु हुन्थ्यो जस्तो सायद कसैले देखेकै छैन होला ....

हज्रत आइशा रजियल्लाहु अन्हालाई सुन्नुस् 

उहाँ कसरी रसूल सल्लल्लाहु अलैहि वसल्लमले जैदलाई गर्नु भएको स्वागतको दृश्यलाई हामी सम्म पुर्याउँदै वर्णन गर्नु हुन्छ... 

उहाँ भन्नुहुन्छ....

जैद बिन हारिसा मदीना आए ....

 त्यतिखेर रसूल् सल्लल्लाहु अलैहि वसल्लम मेरै घरमा हुनुहुन्थ्यो .... 

उनले ढोका ढकढक्याए ....

 रसूल सल्लल्लाहु अलैहि वसल्लम  लुगा नलगाइ उठेर जानु भयो .... 

उहाँले जिउमाथि मात्र कम्मरदेखि घुँडा सम्म लुगा लाउनु भएको थियो....

ढोका नेर पुग्नु भयो र उहाँको कपडा जमिनमा लतारिदै थियो ... 

उनलाई अँगालो हाल्नु भयो र चुम्न थाल्नु भयो ... 

अल्लाह कसम मैले रसूल सल्लल्लाहु अलैहि वसल्लमलाई त्यो बखत बाहेक कहिले खुला जिउ देखेकी थिइँन ... 

न पहिले न पछि ....

जब जैदलाई रसूल सल्लल्लाहु अलैहि वसल्लमले यति माया गर्नु हुन्छ भन्ने कुरा सबैलाई थाहा भयो... 

र सबै तिर फैलियो ... 

मानिसहरूले उनलाई मायालु जैद  भन्न थाले ...... 

र रसूल सल्लल्लाह अलैहि वसल्लमको प्रियका संज्ञा दिए र उनका छोरा उसामालाई रसूल सल्लल्लाहु अलैहि वसल्लमको प्रियका छोराको उपनाम दिए .... 

*******

○ हिज्रतको आठैं वर्ष .... 

अल्लाहले आफ्नो मायालु अथवा आफ्नो सन्देषवाहकको परीक्षा उहाँकै प्रिय व्यक्तिको बिछोड्द्वारा लिने मन्साय भयो ... 

रसूल सल्लल्ल्हु अलैहि वसल्लमले हारिस बिन उमैर अज्दीलाई एउटा पत्र दिएर बुस्राका शासक तिर पठाउनु भयो ....

 त्यस पत्रमा उसलाई इस्लाम स्वीकार गर्ने निम्तो दिनु भएको थियो .... 

तर हारिस जब जोर्डनको पूर्वीभाग मूता सम्म पुगे .... 

गस्सानी शासनकाे एउटा सरदार शुरह्बील बिन अम्र उनका सामु पुग्याे ... 

उनलाई सामातेर बलियाेगरि  बाँधेर अगाडी गरे र उनको सिर काटियो .....

यो कुराले रसूल् सल्लल्लाहु अलैहि वसल्लमलाई धेरै दुःखित तुल्यायो ... 

किन भने यो भन्दा पहिले उहाँका कुनै पत्रवाहकलाई कसैले ज्यान मार्ने कुकर्म गर्ने साहस गरेकाे थिएन ......

तसर्थ उहाँले मूतामा लडाइको निम्ति तीन हजार सेनानीलाई तयार पार्नु भयो .... 

र त्याे सेनामाथि आफ्नो प्रिय जैद बिन हारिसालाई सेनापति बनाउनु भयो .... 

उहाँले भन्नु भयो ....

यदि जैद मारियो भने सेनाको कमान जअफर बिन अबु तालिबले सम्हाल्नु पर्छ ........

यदि जअफर पनि मारियो भने अब्दुल्लाह बिन रवाहा .... 

यदि अब्दुल्लाह बिन रवाहाले पनि ज्यान गुमाए भने मुसलमानहरूले आफैं आफ्नो अगुवा छानेर नियुक्त गरे हुन्छ......

*******

○ त्यो सेना त्यहाँबाट प्रस्थान गरी जोर्डनको पूर्वीभागमा मअन भन्ने ठाउँमा पुग्याे.... 

गस्सानी उपनिवेशकको सहायताकोलागि रोमन इसाई महाराजा हिरक्लले पनि एक लाख सेनाका साथ उनीहरूकाे साथ दिए ... 

साथै अरबका मुश्रिकहरू मध्ये एकलाख याेद्धा पनि फौजमा सामेल भए ....

र यो विशाल सेना मुसलमानहरूको बासस्थानको नजिकै ठहर्याे ....

मुसलमानहरूले मअनमै दुइ रात बिताए .... 

अगाडीको कार्यक्रम के हुन्छ भनेर अपासमा सल्लाह गर्न थाले ....

कसैले भन्यो .... 

हामी रसूल सल्लल्लाहु अलैहि वसल्लमलाई पत्र पठाऔं ... 

शत्रुको सङ्ख्याको बारेमा अवगत गराऔं  ... 

र उहाँको आदेशको प्रतिक्षा गरौं  ....

अर्कोले भन्यो .... 

अल्लाह कसम हामीहरू सङ्ख्याको भरमा युद्ध गर्दैनौं .... 

न शस्त्र र शक्तिको भरमा .... 

हामी त धर्मको अाधारमा युद्ध गर्ने गर्छौं ....

तसर्थ जुन कामको लागि आएकाछौं त्यो पुरा गरौं  ....

अल्लाहले  दुइ उत्तम परिणामको बाचा लिइ सक्नु भएको छ ....

 या त विजय र फत्ते... 

या शहादत र वीरगति.....

*******

○ मूताको भूमिमा दुबै सेना बीच मुठभेट भयो ....

मुसलमानहरूले यस्तो युद्ध गरे जसले रोमीहरूलाई आश्चर्यचकित बनायो ...

उनीका दिल भयले परिपूर्ण भयो ... 

तीन हजारको सानो फौजकाे दूइ लाखको विशाल सेनासित भिडन्त भएकाे थियाे .....

जैद बिन हारिसाले रसूल सल्ल्ल्लाहु अलैहि वसल्लमको झण्डाको रक्षा गर्दै यस्तो कडा युद्ध गरे जसको उदाहरण पराक्रम र पुरूषार्थको इतिहासमा पाइनै सक्दैन ... 

अन्ततः सयौ भालाहरूले उनको शरीर भेदिएकाेकारण उनी जमिनमा ढलेर आफ्नै रगतमा तैरिन थाले............

उनले वीरगति प्राप्त गरेपछि जअ्फरर बिन अबु तालिबले मुसलमानकाे झण्डा समाते र आफ्नो वीरता र साहसका साथ झण्डाको रक्षा गर्दै राम्रो युद्ध गरे ..........

अन्ततः उनी पनि आफ्नै साथीका पछि लागे ...

त्यस पछि अब्दुल्लाह बिन रवाहा झण्डाको रक्षा निमित्त अगाडी आए .......

आफ्नो पराक्रमको प्रमाण दिँदै उनी पनि अरू साथी जस्तै परिणाम बटुल्न सफल भए ....

अन्तमा मानिसहरूले खालिद बिन वलीदलाई पृत्नापति बनाए ... 

उनी नया नया मुसलमान भएका थिए .... 

उनले सेनालाई यस भयँकर युद्धमा सखाप पार्नु भन्दा बचाएर लैजान उचित सम्झेर युद्धको मैदानबाट पछाडि हटे ....

*******

○ रसूल सल्लल्लाहु अलैहि वसल्लमलाई मूताको सबै समाचार प्राप्त हुँदै थियाे .... 

उहाँले तीनै सेनापतिको मृत्युको खबर पाउनु भयो..... 

तसर्थ उहाँ धेरै दुःखित हुनुभयो, यस्तो दुःखि कहिल्यै हुनु भएको थिएन .... 

उनीहरूका घरपरिवारतिर जानु भए र उनीहरूलाई सान्तावना दिनु भयो ....

जब उनी जैद बिन हारिसाको घरमा पुग्नु भयो ......

उनकी सानी केटी उहाँको काखमा रूँदै आएर बसिन... 

उसलाई राेएकाे देखेर उहाँले पनि रून थाल्नु भयो .... 

रूनु भएकाे आवाज पनि निस्कन थाल्यो ....

सअद बिन उबादाले सोधे ...

यो के हो  हे अल्लाहका रसूल् .....

उहाँले भन्नु भयो ....

एउटा मायालुको अर्को मायालुको लागिको रूवाइ हो ....

अल्लाह उनीसित प्रसन्न होऊन्

(प्रस्तुति: मुहम्मद सुहैल नदवी)

¤¤¤¤¤¤¤¤



Monday, January 11, 2021

अन्तिम दूतका साथीहरूको जीवनचित्रका केही झझल्को - ११

 ○●○अदी बिन हातिम ताई○●○

 ■□■ रजियल्लाहु अन्हु ■□■

•••••{प्रस्तुति: मुहम्मद सुहैल नदवी}••••• 

○○○○○○

○ हिज्रतको नवौं  वर्ष .....

अरबका शासकहरूमध्ये एउटा शासकले...

इस्लाम धर्मको साथ गर्दै आएको गहन शत्रुतालाई  छाडेर उसित मितेरी सम्बन्ध गाँस्न पहल गरे   ...

घृणा, प्रतिकार र सङ्ग्रामको लामो इतिहासलाई छोडेर ईमान र आस्थाको बाटोमा हिड्न साध्य भए....

रसूल सल्लल्लाहु अलैहि वसल्लमसित राखेको पराङमुखलाई त्यागेर उहाँको अधीनता र बफादारीमा प्रवेश गर्न स्वीकार गरे  ...

त्यो शासक हुन् ....

इतिहासमा प्रसिद्ध र आफ्नो दानधर्म द्वारा परिचित प्रख्यात  महादानी.... 

हातिम ताई....  का छोरा....

अदी बिन हातिम ताई..... 

रजियल्लाहु अन्हु

*****

○ अदी आफ्नो बुवाका उत्तराधिकारी थिए ... 

तसर्थ उनको देहान्त पछि तय समुदायले उनलाई आफ्नो राजा बनाए ... 

आफ्नो आयश्रोतहरूद्वारा आर्जेका मालमा एक चौथाइ दिने निश्चय गरे ... 

र उनका अधीनस्थ हुन स्वीकार गरे ...

तर जब रसूल सल्लल्लाहु अलैहि वसल्लमले सत्यता र मार्गदर्शनको निमन्त्रणा दिन थाल्नु भयो ... 

अरबका समुदायहरू एक पछि अर्को उहाँको निम्त्याइ स्वीकार्दै उनका शरणमा आउँन थाले  ... 

अदीले रसूल सल्लल्लाहु अलैहि वसल्लमको शासन सामु आफ्नो शासन ढल्छ जस्तो साेचे .... 

उहाँको नेतृत्वद्वारा आफ्नो नेतृत्व समाप्त हुने डर माने .... 

तसर्थ उनी रसूल सल्लल्लाहु अलैहि वसल्लमसित बेसरी बैरभाव बढाउन थाले... 

उहाँसित परिचित नहुँदै ...

उहाँसित दुस्मनीको आगो सल्काउन थाले ... 

उहाँलाई नदेख्दै....

यसरी इस्लामको साथ उनको शत्रुता गाँसेको बीस वर्ष वित्यो.... 

त्यस पछि अल्लाहको कृपाले उनको दिल पनि सत्यता र मार्गदर्शिताप्रति आकर्षित हुन पुग्यो ....

*****

○ अदी बिन हातिमको मुसलमानहुने कथा नबिर्सन सक्ने किसिमको छ ....

उनलाई आफै यो कथा सुनाउन अवसर दिऔँ.... 

यो उनकै अधिकार महसुस भइरहेकाे छ  ... 

उनलाई नै यसको वर्णन गर्नु सुहाउँछ हाेला ...

अदीले भनेका छन् ...

जब मैले रसूल् सल्लल्लाहु अलैहिको बारेमा खबर पाएँ ...... 

त्यति बेला अरबमा कुनै पनि व्यक्ति म भन्दा बढी उहाँसित घृणा गर्ने सायद थिएन होला...

म वास्तवमा एउटा सज्जन मान्छे थिएँ ...

इसाई धर्म मान्ने व्यक्ति ...

आफ्नो जातिद्वारा चौथाइका भागेदार पनि ...

उनले आर्जन गरेका धनमा एक चौथाइ भाग म लिने गर्दथें ...

 अरबका अरू शासकहरूकै नियमानुसार ...

मैले रसूल् सल्लल्लाहु अलैहि वसल्लमको बारेमा सुने पछि उहाँसित घृणा गर्न थालें ....

उहाँको विषय विस्तार हुँदै गयो ...

उहाँको बोलवाला बढदै गयो ...

उहाँको दल र सेनाहरू पूर्व पश्चिम दिशामा डुल्न थाले...

अरबको भूमिलाई आफ्नो अधीनस्थ पार्दै सबै समुदायलाई पराजित गर्दै .....

त्यो बेला मैले आफ्नो एउटा सेवकलाई जो मेरा ऊँटहरूको रेखदेख गर्थ्यो भनेँ  ....

हेर,  तिमी मेरालागि एउटा स्वस्थ्य र तीव्रगतिले हिडन सक्ने ऊँट तयार पारेर राख्नु र त्यसलाई मेरो नजिकै बाँध्ने गर्नु ....

यदि तिमीले  मुहम्मदका सेना वा उनकाे कुनै दल हाम्रो भूमि तिर आएकाे  देखा परेको छ भनेकाे सुन्याै भने ... मलाई तुरन्त खबर देऊ....

केही दिनमा नै एक बिहान मेरो दास म नेर आयो र भन्यो ....

स्वामी .... मुहम्मदका अश्वरोहीहरू तपाईँको भूमितिर आउँदा तपाईँले जे गर्न खोज्नु भएको छ त्यो अब गरि हाल्नुस् ...

मैले सोधेँ ... किन? के भयो र ? ...

उसले जवाफ दियो ....

मैले केही झण्डाहरू हाम्रो भूमिमा पसेका देखेकाे छु .... 

मैले उनको बारेमा सोध्दा  मुहम्मदका सेनाको झण्डा हो भन्ने पत्ता लागेको छ ....

मैले भने ....

मेरो त्यही ऊँट छिटो तयार गर जसकोलागि मैले भनेको थिएँ... र त्यसलाई म नेर पुर्याउ...

म त्यसै घरि उभें ... आफ्ना सबै घरपरिवारलाई भेला पारी  ...  आफ्नो प्रिय भूमिबाट प्रस्थान गरें .... 

म हतार हतार शामको मुलुक तिर जान खोज्दै थिएँ .... 

त्यहाँ आफ्नो धर्मावलम्बी इसाईहरूसित भेट्ने र उनीहरूसँगै बस्ने चाहना बोकेर ....

हतारमा निस्कनु परेको हुँदा मैले आफ्नो सम्पूर्ण परिवारको निरीक्षण र खोजतलास गर्न भ्याइएको थिइनँ ....

खतराको ठाउँबाट टाढिए पछि मैले परिवारका सबै सदस्यलाई खोज्न थालें .... 

त्यतिखेर मैले आफ्नी बहिनी र उनका साथ तय समुदायका केही मानिसहरूलाई त नज्दमा आफ्नो गाउँ तिरनै छाडेर आएको कुरा थाहा पाएँ ...

कठै अब त फर्किने उपाय पनि थिएन ....

तसर्थ साथमा भएका परिवार र साथीहरूलाई लिएर मात्र शाम सम्म पुग्यौँ .....

त्यहाँ आफ्नो धर्मावलम्बीहरूबीच बास बस्यौं ....

तर यता  मेरी बहिनीलाई त्यही परिणाम भोग्नु पर्यो जो मैले संका गर्दै थिएँ ... 

मलाई त्यसैको डर लागि रहेको थियो....

******

○ मलाई शाममा समाचार प्राप्त भयो....

मुहम्मदका सेनाले हाम्रो गाउँघर तिर आक्रमण गरेछन्  .... 

हाम्रो समुदायका बाँकी भएका सबैजनालाई बन्दी बनाएछन्  ... 

तिनीहरूका साथ मेरी बहिनीलाई पनि बन्दी बनाएर लागेकाछन् अरे ...... जस्ता समाचारहरु .....

मैले सुने बमोजिम त्यहाँ सबै बन्दीसहित मेरी बहिनीलाई पनि मस्जिदको ढोका निकटै एउटा हाता भित्र राखियो .... 

रसूल सल्लल्लाह अलैहि वसल्लम उताबाट जाँदा उनले उभिएर भनिन् ....

हे अल्लाहका रसूल ..... बुवा वित्नु भयो .... 

 रेखदेख गर्नेवाला गायब भयो .... 

ममाथि कृपा गर्नुहाेस् अल्लाहले तपाईंमाथि कृपा गर्नु हुनेछ ....

उहाँले सोध्नु भयो .....

तिम्रो रेखदेख गर्नेवाला को हो र ?....

उनले जवाफ दिइन् ...

हातिमको छोरा अदी....

उहाँले भन्नु भयो ...

ओहो , त्यो अल्लाह र रसूलबाट फिरार भएको मान्छे?......

रसूल सल्लल्लाहु अलैहि वसल्लम त्यहाँबाट फर्कनु भयो उसलाई त्यस्तै छाेडेर......

अर्को दिन पनि उहाँ उताबाट जाँदा उनले हिजै जस्तै कुरा गरिन् .... 

उहाँले पनि हिजाे कै जस्ताे जवाफ दिनु भयो ....

तेश्रो दिन  उहाँको गमन हुँदा उनी त निरास भइ सकेकी थिइन् तसर्थ केही नभनी मौन बसिन् ....

उहाँको पछाडी भएका एक व्यक्तिले उनलाई उभिने र उजुरी गर्ने इसारा गर्यो ...

तसर्थ उनले उभिएर भनिन् ....

हे अल्लाहका रसूल ...

बुवा वित्नु भयो ... 

र रेखदेख गर्नेवाला गायब भयो ... 

ममाथि कृपा गर्नुहाेस् अल्लाह तपाईंमाथि कृपा गर्नु हुनेछ ...

उहाँले भन्नुभयो 

मैले गरी सकें  ....

उसले भनिन् ...

म शाममा आफ्नो परिवारमा जान चाहदैछु ....

उहाँले भन्नु भयो ....

तर निस्कन हतार नगर .... 

आफ्नै जातिका कुनै भरोसा योग्य मानिस नपाउन्जेल सम्म ... 

जसले तिमीलाई शामसम्म पुर्याइ दिन्छ ..... 

यदि कुनै भरोसायोग्य मानिस फेला पर्यो भने मलाई भन्नु.....

रसूल सल्लल्लाहु अलैहि वसल्लम त्यहाँबाट फर्किँदा उसले त्यो मानिसको बारेमा सेधिन् जसले उनलाई कुरा गर्न इसारा गरेको थियो .... 

 उत्तर पाइयो..... 

ती अबु तालिबका छोरा अली रजियल्लाहु अन्हु हुन् ....

केही दिन सम्म त्यहीँ बसिन् ... 

फेरी एउटा यात्री समूह मदीना आयो त्यस मध्ये केही भरोसायोग्य मानिसहरू पनि थिए .... 

ऊ रसूल सल्लल्लाहु अलैहि वसल्लम नेर आइ पुगिन् र विनती गरिन् ...

हे अल्लाहका रसूल ... मेरै समुदायका एक समूह आएको छ त्यस मध्ये भरोसायोग्य र मलाई पुर्याउन सक्ने मानिसहरू छन् ....

रसूल सल्लल्लाहु अलैहि वसल्लमले उसलाई लुगाकपडा दिनु भयो .... 

सवारीको लागि एउटा ऊँट र बाटो खर्चकोलागि केही सामल दिनु भयो ....

त्याे समूहसँगै ऊ  पनि हिडिन् ....

अदीले भनेका छन् ....

फेरी हामी उनको खबरको खोजी गर्दै बस्यौँ ... 

उनको आगमनको प्रतिक्षा गर्यौं ..... 

हामीले देखाएका प्रतिकारको सट्टा उनका साथ मुहम्मदको व्यवहार र उपकारको खबरलाई सत्य मान्न हामीलाई गाह्रो भइ रहेको थियो.....

अल्लाह कसम..... एक दिन म त्यस्तै आफ्नो परिवारको बीच बसेको थिएँ ...

 मैले एउटी आइमाइलाई ऊँटको काठीमा बसी हामी तिर आउँदै देखें ....

मैले मनमनै भनें...

हातिमको छोरी हुन् क्या हाे? 

नजिक पुग्दा उनी नै रहेछिन् ....

जब म उनको नजिक उभिएँ ... 

उनले छुट्दै भन्न थालिन् ..

निष्ठुरी ..... अत्याचारी.... 

आफ्ना बच्चा र स्वास्नीलाई  लिएर फिरार भयौ र बुवाको सन्तान र इज्ज्तलाई छोड्यौ ?.....

मैले भनें .... बहिनी भद्र कुरा भन्ने गर ...

म उसलाई राजी पार्न प्रयास गर्न थालेँ .... 

अन्ततः उनी खुसी भइन् ...

मलाई आफ्नो सम्पूर्ण कथा सुनाइन् ....

यो कथा त्यस्तै थियो जो मैले अघि सुनी सकेको थिएँ ....

मै उनै सित परामर्श गरें ... 

उनी एउटा बुद्धिमानी महिला थिइन् ....

यो मान्छे (रसूल सल्लल्लाहु अलैहि वसल्लम) को विषयमा तिम्रो के विचार छ? ....

उनले जवाफ दिइन् ....

अल्लाह कसम ... मेरो विचारमा तपाईं उहाँनेर छिटै जानुस् ....

यदि उहाँ इश्दूत हुनु भएको भए,  छिटै पुग्नेको मान मर्यादा  बेग्लै हुन्छ .....

यदि शासक र राजा भएको भए तपाईँको केही अपमान हुँदैन ... तपाईं पनि त तपाईँ नै हुनु हुन्छ ....

******

○ अदीले भनेका छन् ....

मैले यात्राको लागि सवारी र सामल तयार पारें .... 

त्यहाँबाट हिडेर रसूल सल्लल्लाहु अलैहि वसल्लम नेर मदीना पुगें .... 

शरण खोजे विना नै ... 

 कुनै करारपत्र नलेखी ....

किन भने मैले सुनेका थिएँ उहाँले भन्नु भएको छ ....

अल्लाहले अदीको हात मेरो हातमा दिनुहुन्छ मलाई आशा छ ....

म उहाँको समक्ष हाजिर भएँ ....

त्यतिखेर उहाँ मस्जिदमा हुनुहुन्थ्यो .... मैले सलाम गरें

उहाँले सोध्नु भयो ...

तिमी को र?

मैले भने ... हातिमको छोरा अदी.....

उहाँ उभिनु भयो र  मेरो हात समातेर आफ्नो घर तिर लग्नु भयो ....

अल्लाह कसम उहाँ मलाई लिएर घर जाँदै हुनुहुन्थ्यो .... 

बाटेमा एउटा दुर्बल बुढिया भेटिइन् ... 

उनको साथ एउटा सानो बालक पनि थियो .....

उनी  उहाँसित आफ्नो एउटा खाँचोबारे कुरा गर्न थालिन् .....

उहाँ उनका खाँचो परिपूर्ति सम्म उनकै साथ उभिइ रह्नु भयो ...

 म पनि सँगै उभिएकाे थिएँ ......

मैले मनमनै भनें...

अल्लाह कसम .... यो राजा वा शासक अवश्य हाेइनन् ..... ....

फेरि मेरो हात समाएर हिड्नु भयो .... 

हामी उहाँको घरभित्र प्रवेश गर्यौँ  ....

उहाँले छालाको एउटा सिरानी खजुरको पातले भरिएको मलाई दिनु भयो र भन्नु भयो .....

यस माथि बस्नु....

मलाई लाज लाग्यो ... मैले भनें ...

बरू तपाईं नै बस्नुहाेस् ....

उहाँले भन्नु भयो 

तिमी नै बस... मैले अज्ञापालन गर्दै त्यसमा बस्न भ्याएँ ...

रसूल सल्लल्लाहु अलैहि वसल्लम भूँइमा नै बस्नु भयो...

अरू ओछ्याउने कुनै वस्तु घरभित्र नभएर ...

मैले मनमनै भनें ..

यो त कुनै राजा जस्तो व्यवहार अवश्य हाेइन  ...

मतिर फर्केर उहाँले सोध्नु भयो ....

हे अदी ...तिमी इसाई र साविइ धर्मबीच रूकूसीधर्म मान्ने व्यक्ति थिएनौ?

मैले भने ... हजुर..

उहाँले भन्नु भयो ...

के तिमी आफ्नो समुदायको चौथाइ आम्दानी लिँदैन्थ्यौ...

तर त्यो उसूली तिम्रै धर्ममा पनि वर्जित थिएन  ? 

मैले भने .... अवश्य ...

यसरी मलाई विश्वास भयो उहाँ ईश्वरद्वारा पठाइएका सन्देशवाहक नै हुनु हुन्छ .....

फेरि भन्न थाल्नु भयो ....

हे अदी .... सायद तिमीले यस धर्मलाई स्वीकार नगर्ने कारण यो मात्र रहेको छ  कि तिमीले मुसलमानहरूलाई गरिब र निर्धन देखी रहेका छौ ....

अल्लाह कसम.... केही दिनमा नै धन सम्पत्ति उनीहरूमा बग्ने छ र तिमी देख्ने छाै कि .... त्यस धनलाई लिन मान्ने व्यक्ति तिमीले पाउने छैनाै.....

हे अदी ...... सायद तिमीलाई यस धर्मलाई मान्ने निधोमा यो कुरा बाधा बनेकोछ भने मुसलमानहरू अल्पसङ्ख्यक छन् र उनका शत्रुहरू बहुसङ्ख्यक....

अल्लाह कसम नजिकै तिमी सुन्छौ ...

एकली आइमाइले आफ्नो ऊँट चढी कादसियाबाट यो घर (काबा) सम्म को यात्र गर्नेछ र बाटोमा अल्लाह बाहेक कसैको भय नहाेला .....

सायद तिमीलाई यस धर्मलाई अँगाल्न यो कुराले छेकी रहेको छ कि तिमी देख्दैछौ राजा महाराजा सबै गैरमुसलमान हुन् ....

अल्लाह कसम तिमी केही दिनमा सुन्ने छाै कि ...

बाबुलका सेता महलहरू उनीहरूले विजय गरेका छन् र किस्रा बिन हुर्मुजका ढुकुटी उनकाे भयाे अरे भनेर .....

मैले भने .... किस्रा बिन हुर्मुजको ढुकुटी?....

उहाँले भन्नु भयो ...अँ ... किस्रा बिन हुर्मुजको....

अदीले भनेका छन् ...

त्यो बेला मैले पनि सत्यताको साक्षी बन्न कबुल गरेँ र इस्लाम स्वीकारें ...

******

○ अदी बिन हातिमले लामो उमेर पाए ...

उनी भन्ने गर्दथे...

दुइवटा कुराको पुष्टि भइसक्यो ... तेश्रो बाँकी छ ...

त्यो पनि अवश्य नै पुरा हुनेछ ....

मैले  देखें ...एउटी आइमाइ कादसियाबाट आफ्नो ऊँटमाथि यात्रा गर्छिन् र बाटामा कुनै भय हुँदैन र मक्का सम्म पुग्ने गर्छिन् ....

म त्यस सेनाको अग्रिम दलमा थिएं जसले किस्राको ढुकुटीमाथि आक्रमण गरेका थिए ...

म अल्लाहको सौगन्ध खाँदैछु तेश्रो पनि अवश् नै पुरा हुनेछ .....

*******

○ अल्लाहको आज्ञाले  उहाँका सन्देशवाहकको तेश्रो कथन पनि पुरा भयो ....

उमवी खलीफा उपासक र निरपेक्ष व्यक्ति, उमर बिन अब्दुल अजीजको पालामा.....

मुसलमानहरू भित्र यति धन सम्पत्ति बग्न थाल्यो ....

एउटा मान्छे कराउँदै हिड्थ्यो ...

कोही गरिब अस्सहाय छ भने जकातको माल लेऊ,......

तर कसैले लिन मान्दैन्थ्यो .....

रसूल सल्लल्लाहु अलैहि वसल्लमले सत्य भन्नु भएको थियो .....

अदी बिन हातिम पनि आफ्नो कसममा स्तयवान थिए ....

अल्लाह उनीसित प्रसन्न हाेऊन् ...

(प्रस्तुति: मुहम्मद सुहैल नदवी )

¤¤¤¤¤¤¤¤¤