Saturday, November 14, 2020

अन्तिम दूतका साथीहरूको जीवनचित्रका केहि झझल्को -२

○ ○○अबुतल्हा अन्सारी ○○○

□■□अल्लाह उनीसित  प्रसन्न होउन् □■□

•••• प्रस्तुति: मुहम्मद सुहैल नदवी ••••

****

अबुतल्हा नामद्वारा परिचित, जैद बिन सहल नज्जारीले थाहा पाए ...

उम्मे सुलैम भन्ने रूमैसा बिन्त मल्हान नज्जारिया त विध्वा भइन्  रे ... उनका पति त प्रलोकवासि भए रे ... 

यो खबर सुनेर उनलाई खुसी लाग्यो ... कस्तो अचम्म ? ...

कसैको मरणप्रति खुसियाली !

तर अचम्मको कुरा के छ त ? ...

उम्म सुलैम एउटा राम्रो बानी... उच्च स्वभावकी ... बुद्धिमान र गुणवत्तापूर्ण महिला थिइन् ...

उनी सित विहे गर्न र्धेरै मानिसहरू पर्खाइमा हुन सक्छन् ... तसर्थ उनले विहेको सन्देश सबै भन्दा पहिले पठाउन निश्चय गरे ... उनलाई विश्वास थियो ... उनले पठाएको सन्देशलाई उम्मे सुलैमले अस्वीकार गर्ने छैनन् .... अवश्य नै स्वीकार्ने छिन् ...उनीलाई नै ग्राह्यता दिने छिन् ...

किन भने ... उनी पौरुष शक्तिमा पूर्ण, उच्च पदका धनादढ व्यक्ति थिए.... साथै बनु नज्जारका प्रख्यात सेनानी र यस्रिबका केही प्रसिद्ध धनुधारी मध्ये एक पो थिए ....

अबु तल्हा उम्मे सुलैमको घर तिर लागे...

बाटोमा उनलाई बल्ल याद आयो ... उम्मे सुलैम त मक्काबाट आएका प्रचारक मुस्अब बिन उमैरका कुराहरू सुनेर मुहम्मद (स.) माथि इमान ल्याइ सकेकी छिन् र उहाँको धर्म पनि अँगाली सकेकी छिन् .....

तर फेरी मनमनै विचार गर्न थाले ...

नौलो के छ र ? उनका दिवँगत पति पनि आफ्नो पुरानै पारम्परिक धर्मलाई मान्दै थिए ... उनले पनि मुहम्मदको निम्तो मानेका थिएनन् र ....

***

अबु तल्हा उम्मे सुलैमको घर सम्म पुगे ..... प्रवेशानुमति माँगे .... उनले अबुतल्हालाई घरभित्र पस्न अनुमति दिइन् ... उनका छोरा अनसपनि सँगै थिए ..... तर अबुतल्हाले आफ्नो मनको कुरा उम्मे सुलैम समक्ष पोख्न लजाएनन् ....

उम्मे सुलैमले जवाफ दिइन् ....

हे अबुतल्हा .... तिमी जस्तो सभ्य व्यक्तिलाई कसैले नकार्न सक्दैनन् .... द्वारबाट फर्काउन सय पटक सोच्नु पर्छ ... तर म तिमीसँग विहे गर्न सक्तिनँ ... तिमी एउटा अधर्मी र नास्तिक मानिस छौ ....

अबु तल्हाले मनमनै सोचे ..... सायद उम्मे सुलैमले बिहे गर्न चाहदिन्न .... त्यसैले बहाना खोज्दैछिन् .... उनले सायद कुनै अर्कै धनी र शक्तिमान व्यक्तिलाई रोजी सकेकी छिन् ......

उनले भने .... हे उम्मे सुलैम !  अल्लाह कसम् ..... मलाई अर्कै कारण देखा पर्दैछ .... अधर्मी भएको कारणले गर्दा तिमीले मनाही गरेकी कुरा मेरो मनले मान्दैन ....

उनले सोधिन ... अरू कुन कुराले गर्दा मैले यस्तो भनेकी हुन सक्ला त ....

उनले जवाफ दिए ..... केही पहेँलो वा सेतो कुरा ले गर्दा .... सुन चाँदीको कारणले .....

उनले सोधिन ... सुन चाँदी  ? ....

उनले भने .... पक्कै यस्तै कुरो छ होला .....

उनले दृढ स्वरमा भनिन् ... हे अबुतल्हा ... म तिमीलाई वाचा दिँदै छु ... अल्लाह र उहाँका रसूललाई साक्षी मानेर भन्दैछु .... यदि तिमीले इस्लाम धर्म स्वीकार्यौ ... म तिमीसँग सुनचाँदी बिना नै विहे गर्न तयार छु .... तिम्रो इस्लाम धर्म स्वीकार्ने कार्यलाई नै आफ्नो महर ठान्नेछु .....

*****

अबुतल्हाले उम्मे सुलैमको कुरा सुन्न वित्तिकै उनको ध्यानमा आफ्नो मूर्तिको आकृति बन्न थाल्यो.... उनले त्यसलाई एउटा बहुमूल्य काठले बनाएका थिए .... र मात्र आफूले पुज्ने गरी खास गरेका थिए ....त्यो बेला समुदायका प्रमुखहरूको परम्परा अनुसार .....

उम्मे सुलैमले उनलाई विचाराधीन पाएर .... तातो फलाममा अर्को चोट हान्ने मौका पाइन् .... उनले भनिन् ... हे अबुतल्हा .... के तिमीले विचार गर्दैनौ? यो मूर्ति जो तिमी पुज्दैछौ .... भुमिबाट त उम्रेको हो  ......

उनले जवाफ दिए.... थाहा छ ...

उनले फेरी सोधिन .....

तिमीले जुन रुखको एउटा टुक्रालाई ईश्वर बनाएर पूज्ने गर्छौ ... त्यही रुखको अर्को भागलाई मानिसहरूले दाउरा बनाएर आगो सल्काउँछन् .. .. आगो ताप्छन् ... रोटि पोल्छन् ....

हे अबुतल्हा .... यदि तिमीले इस्लामलाई अँगाल्यौ ... त्यसमा प्रवेश गर्यौ .... म तिमीसँग विहे गर्न राजी छु ... र आफ्नो महरको हकमा इस्लाम बाहेक अन्य केही पनि मलाई चाहिएको छैन .....

उनले सोधे .... मलाई इस्लाममा कसले प्रवेश गराइ दिन्छ नि ? ...

उनले भनिन् .... म गराइ दिन्छु ....

उनले फेरी सोधे ... कसरी त?...

उनले जवाफ दिइन् ... अति सजिलो सित .... तिमीलाई मात्र पवित्र बोल  (कलिमा तैयिबा)को मन्त्रोच्चारण गर्नु पर्छ ... अल्लाह बाहेक अरू कोही उपास्य छैन र मुहम्मद सल्लल्लाहु अलैहि वसल्लम अल्लाहका सन्देशबाहक हुनु हुन्छ भन्ने कुराको वाचन गर्नु पर्छ ..... घर पुगेर आफ्नो मूर्तिलाई भाँचेर फाल्नु पर्छ ..... यसरी तिमी इस्लाम भित्र प्रवेश गर्नेछौ .....

अबुतल्हाको अनुहार प्रसन्नताले प्रफुल्ल भयो .....उनले भने ... म बचन दिन्छु ... अल्लाह बाहेक अरू कोही पुज्नीय छैन र म बचन दिन्छु मुहम्मद सल्लल्लाहु अलैहि वसल्लम अल्लाहका सन्देशबाहक हुनु हुन्छ ....

त्यस पछि उम्मे सुलैमसँग उनको विहे सम्पन्न भयो ....

मुसलमानहरू भन्ने गर्दथे ....

हामीले उम्मे सुलैमको महर भन्दा विचित्र महरको बारेमा सुनेका छैनौँ ... उनले इस्लामलाई नै महर बनाइन् ....

यो सबै घटनाक्रम रसूल सल्लाहु अलैहि वसल्लमले मदीना हिज्रत गर्नु अघिको नै हो ....

***

त्यो दिन देखि...

अबुतल्हा इस्लमाको झण्डा मुनि उभिए र आफ्नो सम्पूर्ण सामर्थ्यलाई इस्लामको सेवामा समर्पित गरे ....

अबुतल्हा ती सत्तरी जना मध्ये एक थिए जो उक्बाको स्थानमा रसूल सल्लल्लाहु अलैहि वसल्लमको हातमाथि व्यअत गरेका थिए ... साथमा उनकी पत्नी उम्मे सुलैम पनि थिइन् ....

त्यही राति रसूल सल्लल्लाहु अलैहि वसल्लमले यस्रिब (मदीना) का मुसलमानहरू प्रति जुन बाह्र सरदारलाई नियुक्त गर्नु भएको थियो ... अबुतल्हा ती मध्ये एक बन्न पुगे ......

रसूल सल्लल्लाहु अलैहि वसल्लमले मदीना हिज्रत गर्नु भए पछि अबुतल्हा उहाँको साथमा प्रत्येक युद्धमा सामेल भए ..... र यी युद्धहरूमा महान किर्तिमान कायम गरे ...

तर उहाँको साथ अबुतल्हाको सर्वश्रेष्ठ र स्मरणीय दिन उहुदको युद्धको दिन रहेको छ ....

यस दिनको घटना  वर्णन विस्तृत रूपमा यस प्रकार छ

***

अबुतल्हालाई रसूल सल्लल्लाहु अलैहि वसल्लम सित घनिष्ठ प्रेम थियो .... यो प्रेम भाव उनका रौँ रौँमा समावेश भइ सकेको थियो र उनका नसा नसामा रक्त समान बग्ने गर्दथ्यो .... उहाँको मुहार निरन्तर हेरी रहँदा पनि आँखा अघाउँदैन्थ्यो ... र उहाँको कुरा सुनी रहँदा पनि अझै अरू सुन्ने अभिलाषा बाँकी रहन्थ्यो ,उहाँको सामुन्ने बस्दा सधै आफ्नो जाँघमाथि हात राखेर बस्ने  गर्थे.. र भन्दथे ... मेरो ज्यान तपाईँमाथि अर्पित छ र मेरो अनुहार तपाईँको अनुहारप्रति समर्पित छ हे अल्लाहका रसूल ....

उहुदको दिन ...

जुन बेला मुसलमानहरू रणभुमिमा.... रसूल सल्लल्लाहु अलैहि वसल्लमदेखि टाढा हुन पुगे ... र मुश्रिकहरूले चौतर्फी उहाँलाई घेराबन्दी गरे .... उहाँका नजिक आइ पुगे ... उनीहरूको बारम्बार आक्रमणले उहाँका दन्त पनि भाँचियो... उहाँको निधारमा कवचको सिक्री रोपियो...ओठमा चोट लाग्यो र अनुहार रक्ताम्मै भयो ...

त्यही बेला कुनै झूठो फटाहाले मुहम्मद मारिए भनेर हल्ला मच्चायो ... मुसलमानहरू कमजोर भन्दा कमजोर अवस्थामा पुगे ... रणभुमिमा उनका पाइला डगमगाउन थाले ....

त्यो बेला रसूल सल्लल्लाहु अलैहि वसल्लमका साथमा भएका थोरै मुसलमानहरू अडीग रहेर उहाँको सुरक्षाका निम्ति आफ्नो जिउज्यानको बाजी लगाउँदै थिए..... तिनीहरू मध्ये अबुतल्हा सबै भन्दा अग्रिम पँक्तिमा थिए ....

***

अबुतल्हा रसूल सल्लल्ल्हु अलैहि वसल्लमको अगाडी मजबुत चट्टान सरि उभिएका थिए ... र उहाँले उनकै पछाडी उनलाई ढालसरह बनाएर बस्नु भएको थियो....

अबुतल्हाले आफ्नो धनुषमा सदैव विजयी हुने ताँदो जोडे ... निरन्तर लक्ष्यलाई भेद्ने वाण चढाए... आफ्नो धनुषको भरमा रसूल सल्लल्लाहु अलैहि वसल्लमको रक्षा गर्न थाले ... शत्रुहरूलाई निसाना साधी एक पछि अर्कालाई मृत्युलोक तिर पठाउन थाले ....

रसूल सल्लल्लाहु अलैहि वसल्लमले वाणको लक्ष्य हेर्न र रणभुमिको अवस्था देख्नको निमित्त अबुतल्हाको पछाडीबाट शिर नकाल्न चाहेमा उनले तर्सेर उहाँलाई फर्काएर भन्ने गर्दथे .....

मेरो आमा बुवा तपाईँ माथि बलि चढुन् हे अल्लाहका रसूल .... उनीहरूलाई हेर्न प्रयास नगरिदिनु होला ... उनीहरू तपाईँलाई लक्षित पार्न बारम्बार कोसिस गर्दैछन् ....

मेरो घाँटी तपाईँको घाँटीको स्थानमा होस् ... मेरो छाती तपाइको छातीको सट्टामा रहोस् र म तपाईँमाथि बलि चढुँ .....

मुसलमान सेनाको कुनै व्यक्ति रणभुमिबाट भाग्दै यदि रसूल सल्लल्लाहु अलैहि वसल्लमको नजिक आउँथ्यो र त्यसको साथमा तीरको बट्टा हुन्थ्यो .... उसलाई उहाँले डाकेर भन्नु हुन्थ्यो ... आफ्नो वाणहरू अबुतल्हाको अगाडी राख र रणभुमिबाट नभाग ....

अबुतल्हाले रसूल सल्लल्लाहु अलैहि वसल्लमको तर्फबाट प्रतिकार गर्दा त्यो दिन तीन वटा धनुष भाचियो.... र शत्रुका सेनालाई अल्लाहले चाहे बमेजिम ढालेका थिए ..... अन्ततः युद्ध समाप्त भयो र अल्लाहले आफ्नो रसूललाई सकुशल राख्नु भयो ......

***

अबुतल्हा युद्धको बेला अल्लाहको प्रसन्नता प्राप्तिका लागि आफ्नो ज्यानको बाजी लगाउने गर्दथे ..... यसरी नै दान पुण्यको समयमा आफ्नो धन सम्पत्तिलाइ अरूमा  बाडने कार्य पनि उति नै गर्ने गर्दथे .....

उदाहरणसरह एउटा घटनाको वर्णन गर्दछु ....

उनको एउटा बगैँचा थियो ... खजुर र अँगुर भएको ...यस्रिबमा त्यो भन्दा बढी रूख भएका ... उत्तम फल आउने र मीठो पानी पाइने भएको अरू कुनै बगैँचा देखिएको थिएन ....

एक दिन अबुतल्हा त्यसको घनिष्ठ छाँया मुनि नमाज पढदै थिए .... आकस्मक एउटा हरियो  रँग, रातो चुच्चो र रङ्गीचङ्गी खुट्टा भएको चराले उनको ध्यानाकार्षित गर्यो .... त्यो चरा नाच्दै ...चिरिबिरी गर्दै खुसियालीमा एउटा रूखदेखि अर्को माथि फुत्त फुत्त उड्दै रहयो,उनलाई त्यो दृश्य मन साह्रै रमायो र उसैको बारेमा उनका सारा ध्यान केन्द्रित भयो ..केही छिनमा ख्याल आए पछि आफू त नमाज पढी रहेको छु भन्ने याद आयो,खै कति रकअत पढी सकेके छु...विर्सिए  .... दुइ ... तीन ... चार .... याद रहेन....

नमाज पुरा गरेपछि रसूल सल्लल्लाहु अलैहि वसल्लमको जुनाफमा हाजिर भए र आफूमाथि बितेको वृतान्त सुनाए ... कसरी त्यो बगैँचा, त्यसका असङ्ख्य रूख विरूवा र चिरिबिरी गर्ने चराहरूले उनको ध्यान नमाजबाट हटाएका थिए सबैको वर्णन गरेर भने ....

हे अल्लाहका रसूल ... तपाईँ साक्षी बन्नुहोस् .... मैले त्यो बगैँचा अल्लाहको लागि दान दिएको छु ... तपाईँले जहाँ उचित ठान्नु हुनेछ त्यहाँ नै उसलाई राख्नु होस् .....

***

अबुतल्हाले आफ्नो जीवन रोजादार यौद्धाको रूपमा बिताएका छन् ...र उनको मृत्यु पनि रोजादार यौद्धाको रूपमा नै भएको थियो ... 

उनको बारेमा यो कथित कथन चर्चामा रहेको छ .... 

रसूल सल्लल्लाहु अलैहि वसल्लमको निधन पछि लगभग तीस वर्ष सम्म रोजा कै अवस्थामा जीवन व्यतित गरेका थिए .... मात्र चाँडपर्व र जुन दिन रोजा राख्न मनाही छ.. त्यो बाहेक सबै दिन रोजा राख्ने गर्दथे .....उनले लामो उमेर पनि पाए ... कुप्रिएर बुढो हुन पुगे ... तर उनको बृद्ध अवस्थाले पनि उनलाई अल्लाहको बाटोमा युद्ध गर्न ... सन्सारका कुना कुनामा पुगेर अल्लाहको तर्फ निम्तियाउन .. र उहाँको धर्मको प्रचारप्रसार गर्न रोक्न सकेन .... उनको बुढेसकालले पनि उनलाई कर्तव्यबाट हटाउन सकेन ...

मुसलमानका तेश्रा खलीफा अमीरुलमुमिनीन उस्मान बिन अफ्फानको पालामा समुद्रमा युद्ध गरिने निर्णय भयो ... अबुतल्हाले पनि मुसलमान सेनाको साथमा जाने तयारी सुरू गरे ... उनका छोराहरूले यो देखेर भने ....

हे बुवा ... तपाईँ माथि अल्लाहले दया गरून् ... तपाईँ अति बुढो भइ सक्नु भयो .... तपाईँले रसूल सल्लल्लाहु अलैहि वसल्लम र उनका उत्तराधिकारी अबु बक्र र उमरका साथ युद्ध गर्नु भएको छ ... तपाईँलाई अब विश्राम गर्नु नै उचित हुन्छ .... हामीलाई तपाईँको तर्फबाट युद्ध गर्ने अनुमति दिनुस् .... उनले उत्तर दिए ....

अल्लाह तआलाले भन्नु भएको छ .... तिमीहरू हलुका भए वा भारी भए पनि निस्क ...उहाँले निस्कनको लागि आदेश दिनु भएको छ ... बुढो होस् कि तरुण ... उमेरको सर्त लगाइएको छैन....त्यसको हद तोकिएको छैन ..... फेरी निस्केर मात्र छाडेछन् .....

***

बृद्ध अबुतल्हा मुसलमान सेनाका साथ पानी जहाजमाथि समुद्रको बीचमा भएकै बेला यस्तो बिरामी हुन पुगे जसका कारण प्राणले उनको जिउलाई छोडयो ... समुद्र बीच नै उनको निधन भयो ....

मुसलमानहरूले उनलाई दफन ( अन्तिम संस्कार)गर्नको निम्ति कुनै टापु वा भुमिको टुक्रा  खोज्न प्रयास  गरे .... तर सात दिन पछि मात्र लक्ष्यसम्म पुग्न सफल भए .... सात दिन बित्दा पनि उनको पार्थिव शरीर ताजा अवस्थामै थियो ..त्यसमा केही पनि परिवर्तन भएको थिएन ... मानौँ सुतीरहेका छन ....

समुद्रको बीचौँ बीच ...

घर, जन्मभुमिबाट टाढा ...

परिवार र मित्रवृन्द देखि पर ...

अबुतल्हालाई दफन गरियो ... भुमिमुनि पुरियो ....

मनुष्यहरू देखि टाढा भएतापनि....

उनलाई केको हानि ? कस्तो घाटा ? ...

उनी त अल्लाहको नजिक पुगी सकेका थिए....

अल्लाह उनीसित प्रसन्न होऊन् ......

(प्रस्तुति: मुहम्मद सुहैल नदवी)

No comments:

Post a Comment