Saturday, November 20, 2021

नबी दिवसको सन्देश

●●● नबी दिवसकाे सन्देश●●●

¤¤¤¤ प्रस्तुति: मुहम्मद सुहैल नदवी¤¤¤¤

**************************************

रबिउल् अव्वलकाे महिना, अथवा बसन्त ऋतु, हरियाली याम, रङ्गीचङ्गी र सुगन्धित फूलपात र काेपिलाकाे मौसम प्रत्येक वर्ष आउँछ र सबैमा खुसियाली, हर्षोल्लास, मौजमस्तीको तरङ्ग ल्याउँछ । 

तर इस्वी सम्बत ५७१ को बसन्त ऋतुले सम्पूर्ण जगतमा सुसियाली, रङ्गीचङ्गी, बासना, सुगन्ध र उज्यालोको नयाँ बिहानी उदाएको थियो । जसले गर्दा मानवतामाथि छाइएको शिशिर ऋतु समाप्त भएर बसन्तको आगमन भयो, मनुष्य जातिको घाउघाउ भएको शरीरमा नयाँ मल्हम लगाइयो, अन्तिम सास तानीरहेको जगतको छाती भित्र सफा सुघर र सुगन्धित जीवनको प्रवाह बग्न थालियो, निराशाको वातावरण बदलिन लाग्यो, आशाको दिप्ति जगमगाउन थालियो, शोकगीतको सट्टा हर्षोल्लासको सङ्गीत गुनगुनाइन प्रारम्भ भयो ।

किन भने यसै महिनामा मानवका ताज, मनुष्य जातिको प्रतिष्ठा, आदमको सन्ततिको उद्धारकर्ता तथा मुक्तिदाता, जगतदयालु हज्रत मुहम्मद मुस्तफा सल्लल्लाहु अलैहि वसल्लमको सुमङ्गलमय आगमन भएको थियो, यसै महिनामा ९ वा १२ को पुण्य तिथिमा उहाँको शुभ जन्म भएको थियो ।

उहाँको आगमनले जगतको एउटा अनौठो युग प्रारम्भ भयो, काल र समयले अपूर्व भावको अनुभव  गर्यो, परिवर्तन, समुन्नति, प्रतिष्ठा, मानसम्मान र मानवताको उद्देश्यको नयाँ कर्मभूमि सृजना भयो, न्याय, निसाफ, माया, करूणा, व्यवहार, लेनदेन, कर्म, मर्म, धर्म, उपासना, दायित्व र जिम्मेवारी, नियम, कानुन, ऐन र संहिता, मार्गदर्शन र दार्शनिक विचारधाराको वास्तविक अर्थ र उत्तम तात्पर्य खुल्न गयो, ज्ञान र शिक्षा, विद्या र तत्वदर्शिताको अद्भुत मूलको उत्पत्ति भयो, संसारले गुमाएको सत्यको बाटोतिर औल्याइएर सीधा र समथर बाटोमाथि हिडाइयो ।

यस्तो महान कृतिको सम्झनामा हरेक बर्ष यो दिवस मनाइने गरिन्छ र उही महान परिवर्तनको स्मरण गरी नबी सल्लल्लाहु अलैहि वसल्लमले दर्शाउनु भएका कुराहरूमाथि फेरी मानवजातिलाई फेर्ने, उहाँका सन्देशहरूलाई सबै तिर पुर्याउनु पर्ने बाचा र अठोठ दोह्रयाइन्छ ।

किन भने वास्तवमा उहाँको जीवनशैलीलाई अङ्गालिएर र उहाँको सन्देशलाई सन्सार भरी फिँजाएर नै यस महान दिवसको वास्तविक मर्म सम्म हामी पुग्न सक्छैं ।

(मुहम्मद सुहैल नदवी)

¤¤¤¤¤¤



No comments:

Post a Comment