Friday, November 27, 2020

अन्तिम दूतका साथीहरूको जीवनचित्रका केही झझल्को- ५

○●○ अबु जर गिफारी ○●○

□■□ रजियल्लाहु अन्हु □■□

{प्रस्तुतिः मुहम्मद सुहैल नदवी}

__________________________________

○वद्दानको घाटी ... 

जसले मक्कालाई बाहिरी सन्सारबाट जोड्छ....

 त्यहाँ गिफार समुदाय बस्ने गर्दथे ....

व्यापारीहरूको यात्रुसमूह .... 

जुन मक्कामा व्यापार गर्दै शाम तिर जाने र आउने गर्दथे ..... 

बाटोमा पर्ने यस समुदायलाई जेपनि अनुदान, कर वा समानको खरीदबापत धेरैथोरै रूपैयाँ पैसा दिने गर्दथे .... 

त्यही थोरै अम्दानीको भरमा जीविका निर्रवाह गर्ने गर्दथे .....

कहिले काँही यी यात्री समूहहरूद्वारा केही नपाएको बेला .... 

यिनिहरूले डकैती गरेर समानपनि लुट्ने गर्दथे ....

जुन्दुब बिन जुनादा जो अबु जर भन्ने नामद्वरा चिनिन्थे ...... 

यसै समुदायका एक सदस्य थिए .... 

तर उनीहरू मध्ये आफ्नो साहस, बुद्धि र दूरदर्शिताको कारण उनीहरू भन्दा भिन्न रहेका थिए .....

उनका समुदाय अल्लाहलाई छोडेर अरू देवी देवता र मूर्तिहरूको पूजा गरेको देख्दा उनको मन रून्थ्यो .... 

मुटु दुख्थ्यो  ... 

दिल साह्रै विचलित हुन्थ्यो ....

अरब समाजमा धर्मका बिगार र रूढीवादलाई हेर्दा त्यसको प्रतिकार गर्ने उपाय सोच्दथे ....

र एउटा नयाँ ईश्दूत पठाइने  कामना पनि गर्ने गर्दथे ..... 

सायद उनले मानिसहरूको मन बुद्धि फेर्न सकुन् .... 

र मानव जातिलाई अन्ध्यारोबाट उज्यालोतिर ल्याउन सफल होउन् ......

****

○ देहातमा रहेकै बेला अबु जरले मक्का शहरमा एउटा नया ईशदूत निस्केको खबर थाहा पाए ... 

उनले आफ्नो भाइ उनैसलाई भने ....

तिमी छिटै मक्का जाउ र यो मान्छे....  जसले नबी वा ईश्दूत हुने दाबी गरेको छ .... र उसमाथि आकाशबाट वाणि अवतरण हुन्छ जस्ता कुराहरू भन्दैछ ...

त्यसको पूर्ण समाचार लिएर आऊ र के भन्दैछ त्यो कुरा सुनेर मलाई पनि सुनाउ .....

****

○ उनैस मक्का पुगे .... रसूल् सल्ल्ल्लाहु अलैहि वसल्लमलाई भेटे .... उहाँका कुरा सुने ... र गाँउ तिर फर्के ....

उनैस घर फर्केको कुरा सुनेर अबु जर धेरै चाहना र सोखसहित उनिसित भेटे .....

र नयाँ ईश्दूतको समाचार उत्सुकताका साथ सोध्न थाले .....

उनले भने .....अल्लाह कसम !!! मैले यस्तो मान्छे देखें .... 

जसले उच्चाचरणतिर निम्त्याउँछ ..... 

र यस्तो कुरा भन्ने गर्छ जसलाई पद्य वा कविता भन्न मिल्दैन ....

उनले प्रश्न गरे .... मानिसहरू उनको बारेमा के के कुरा गर्दैछन्? ....

उनले उत्तर दिए .... मानिसहरू भन्छन् ... जादुगर हो ... ज्योतिषी  हो .... कवि हो ...

अबु जरले भाइलाई भने .... तिमीले मेरा तृष्णा मेटाउन सकेनौ  ... मेरो चाहना पुरा गर्ने रहेनछौ ... 

तर यदि तिमी मेरा घरपरिवारको आवस्यकता  पुरा गर्न सक्छौ भने म आफैं गएर उनको बारेमा सम्पूर्ण व्योहोरा पत्ता लगाउने प्रयास गरूँला ....

उनले भने .... हुन्छ ... तर मक्काबासीदेखि सचेत नै रहनु होला ....

****

○ अबु जरले आफ्नोलागि बाटोखर्च( सामल तुमल ) तयार गरे .... एउटा सानो मसक बोके र बिहान भएपछि मक्का तिर लागे.... 

नयाँ ईश्दूतलाई भेट्न ...र  

स्वयंम उनको बारेमा वास्तविक्ता बुझ्न ....

****

○ अबु जर मक्का पुगे ... तर वहाँका बासिन्दाको भयले गर्दा त्रसित पनि थिए ... 

कुरैश आफ्नो देवीदेवताको बारेमा कति संवेदनशील छन् .. 

र उनको विरूद्ध भन्नेमाथि अति रिसाउछन र... 

जस्तो खबर पाएका थिए ... 

साथै  मुहम्मदका अनुयायीहरू र मुहम्मदका कुरा गर्ने मानिसहरूलाई कस्तो यातना दिदैछन् सबै कुरा सुनीसकेका थिए ....

तसर्थ कसैलाई मुहम्मदको बारेमा सोधौँ कि न सोधौँ? सोधेँ भने  उसलाइ नराम्रो पो लाग्ने हो कि जस्तो लाग्यो..... 

को मुहम्मदको साथी र मित्र हो? .....

र को उहाँको वैरी वा शत्रु हो ? .... 

थाहा थिएन उनलाई.....

****

○ पुरा दिन बित्यो ....रात परेपछि उनी मस्जिदे हराममा गएर पल्टे..... कतैबाट अली रजियल्लाहु अन्हुको गमन भयो .... उनलाई सुतेको देखेर उनले कुनै परदेसी हो भनी थाहा पाए ... 

उनलाई भने ....

हे दाइ .... मसँगै हिडनु .... 

यो सुनेर उनकासाथ हिडे ... 

राति उनकै घरमा बिताए ... 

बिहान भएपछि आफ्नो सामल र मसक बोकि फेरी मस्जिदमा आएर बसे .... 

दुवै जनामा कसैले एक अर्कालाई केहीपनि सोधेनन् ...

दोश्रो दिन पनि अबु जरले बिताए....  

तर रसूल् सल्लल्लाहु अलैहि वसल्लमको केही पत्तो पाएनन् .... 

राति हुँदा त्यही हिजोकै स्थानमा सुत्न पुगे ... 

फेरी अली रजियल्लाहु अन्हु त्यहाँबाट  जाँदै रहेछन् ....

उनलाई देख्दा सायद यसले गन्तव्य भेटेन छ क्यारे  भनेर उनलाई साथ लिए ... 

यो रातिपनि उनले अलीकै घरमा विताए .... 

दुवै जनाले एक अर्कालाई केही सोधेनन् ...

तेश्रो रातमा उनलाई अली ले भने .... 

तपाईं  मक्का किन आउनु भएको छ भन्ने कुरा मलाई भन्न सक्नु हुन्छ?

अबुजरले भने ....यदि तिमीले मलाई वचन दिन्छौ कि मैले चाहेको कुरा तिमी पुरा गर्छौ .. म तिमीलाई भन्न सक्छु .... 

अलीले उनीलाई वाचा दिए ....

अबुजरले भने ...... म अति टाढाबाट मक्का आएको छु .... 

म यो नया ईश्दूतसँग भेट्न र  उहाँको कुरा सुन्न चाहन्छु ....

अलीको मुहार खुसीले प्रफुल्ल भयो ... उनले भने ...

अल्लाह कसम ... उहाँ वास्तवमा अल्लाहका सन्देशबाहक हुनुहुन्छ ... निसन्देह .... निसन्देह ....

बिहानी हुँदा मेरो बाटोमा मलाई पछ्याउँदै हिड्नु .... 

यदि बाटोमा कुनै नराम्रो कुरा देखे म पिसाब फेरेको झैं रोकिन्छु ...

 हिड्न थाले पछि मेरो पछि पछि हिड्नु ... 

मैले प्रवेश गरेको ठाउँमा तपाईँ पनि प्रवेश गर्नु ...

****

○ ईश्दूतलाई भेटने चाहना ... उनलाई देख्ने लालसा ... उहाँको भनाइ र उहाँमाथि ओर्लिने ईश्वाणी सुन्ने प्रबल इच्छाका कारण ....... 

अबुजर रातभरि सुत्न सकेनन् ...

बिहान सबेरै अली आफ्नो अतिथिलाई लिएर रसूल सल्लल्ल्हु अलैहि वसल्लमको घर तिर गए ... 

अबुजर उनलाई पछ्याउँदै हिडे ... दायाँबाँया केही नहेरीकन.... 

र दुवै रसूल् सल्लल्लाहु अलैहि वसल्लमको सामु पुगे ... 

अबुजरले भने 

अस्सलामु अलैक या रसूलल्लाह ....

तपाईँमाथि शान्ति होस् हे अल्लाहका सन्देशबाहक ...

रसूल सल्लल्लाहु अलैहि वसल्लमले जवाफ दिनु भयो ....

व अलैक सलामुल्लाहि व रह्मतुहु व बरकातुहु ....

तपाइँ माथि पनि अल्लाहको तर्फबाट शान्ति, उहाँको दया र बरकत होस् .....

अबु जरले सबै भन्दा पहिले मुसलमानहरूले गर्ने सलाम रसूल सल्लाहु अलैहि वसल्लमलाई गरेका छन् .... 

पछि यही सलाम फैलियो र व्याप्त भयो ...

****

○ रसूल् सल्लल्ल्हु अलैहि वसल्लमले अबु जर तिर फर्केर उनलाई इस्लामको निम्तो दिनुभयो र उनलाई कुराअन सुनाउन थाल्नु भयो .... 

केही छिनमै त्यही ठाउँमा अबु जरले सत्यकथनको उदघोषणा गरे ... र नयाँ धर्ममा प्रवेश गरे ..... 

उनी तेश्रो पछि चौथो थिए कि चौथो पछि पाचौँ थिए .....

अब हामी अबु जरकै मुखबाट उनको बाँकी कथा सुनौँ ..

उनले भनेका छन् ....

त्यसपछि म मक्कामा नै बसें ..... रसूल सल्लल्लाहु अलैहि वसल्लमसँगै .... 

उहाँले मलाई इस्लाम सिकाउनु भयो .... 

केही कुरआन पढाउनु भयो ... फेरी मलाई भन्नु भयो.....

मक्कामा कसैलाई आफ्नो मुसलमान हुने कुरा नभन्नु है......

उनीहरू तिमीलाई मारि दिन्छन् जस्तो डर मलाई लाग्छ ..

मैले भने ..... त्यो अस्तित्वको कसम .... जसको कब्जामा मेरो प्राण छ..... 

जब सम्म म मस्जिदे हराममा पुगेर .... 

कुरैशको सामुमा सत्यकुरा यस इस्लामको घोषणा गर्दिन.. 

म त्यतिखेर सम्म मक्का छोडदिनँ...

 यो सुनेर रसूल सल्लल्लाहु अलैहि वसल्लम चुपचाप रह्नु भयो ...

म मस्जिदे हराममा आएँ .... त्यहाँ कुरैशका मानिसहरू बसेर कुराकानी गर्दैथिए .... म उनीहरूको बीचौंबीच पुगे .....

र सकेसम्म ठुलो स्वरले भनेँ .... 

हे कुरैशका मानिसहरू .... म वचन दिन्छु अल्लाह बाहेक कोही उपास्य छैन र मुहम्मद अल्लाहका सन्देशवाहक हुनुहुन्छ ...

मेरो यो वाक्य.... 

उनका कानमा पर्ने वित्तिकै .....

सबै छक्क परे .... आफू बसेको ठाउँबाट उठे.... 

उनीहरू भन्न थाले ....

यस नास्तिकलाई समात ... र सबै मतिर दगुरेर आए र मलाई ज्यान मार्ने उद्देश्यले पिट्न थाले .... 

तर रसूल सल्लल्लाहु अलैहि वसल्लमका काका अब्बास बिन अब्दुल मुत्तलिब म नेर पुगे .... 

मलाई बचाउन ममाथि होमिए ... 

र उनीहरूलाई सम्बोधन गर्दे भने .... तिम्रो सर्वनाश होस् ... 

तिमीहरू गिफार समुदायको एउटा मान्छेको ज्यान लिन खोज्दैछौ,

तिम्रा व्यापारीहरू उतैबाट अवतजावत गर्ने गर्छन् ... 

यसरी तिनीहरू मलाइ छोडेर फर्केर गए 

मलाई होस आएपछि म फेरी रसूल सल्लल्लाहु अलैहि वसल्लम नेर पुगें ... मेरो अवस्था देखेर उहाँले भन्नुभयो ....

मैले तिमीलाई अघि नै आफ्नो इस्लामको घोषणा  नगर भनेको थिइन?

मैले भनें .... हे अल्लाहका रसूल !!!  मेरो मनमा एउटा अभिलाषा थियो त्यो मैले पुरा गरें .....

उहाँले भन्नुभयो ....

आफ्नो समुदायमा जाउ ... तिमीले देखेका र सुनेका कुराहरू उनीहरूलाई भन ... र उनीहरूलाई अल्लाह तर्फ बोलाऊ .... 

सायद अल्लाहले तिमीद्वारा उनीहरूलाई पनि फाइदा पुर्याउनु हुनेछ र तिमीलाई राम्रो बदला दिनुहुने छ .......

अनि मेरो बोलवालाको खबर सुनेपछि म नेर आउनु ....

अबु जर भन्छन् ...

मै त्यहाँबाट हिडें ... र आफ्नो समुदायको गाउँ घर पुगें ... 

मेरो भाइ उनैसले भेटेर सोध्यो ... तपाईँले के गर्नुभयो? .... 

मैले भने .... मैले गरेको के भने म मुसलमान भएर उहाँको पक्षमा उभिएको छु......

केही छिनमै उसको  मन पनि खुलस्त भयो ... र भन्यो ....

तपाईँको धर्मलाई अस्वीकार गर्ने मेरो पनि सोख छैन .... 

म पनि मुसलमान भएँ र उनका सत्यता स्वीकारेँ ...

फेरी हामी आफ्नो आमा नेर पुगेर उनलाई पनि इस्लाम ल्याउने आग्रह गर्यौँ...

उनले पनि भनिन् .... तिम्रो धर्म अस्वीकार गर्ने मेरे पनि चाहना रहेको छैन... उनी पनि मुसलमान भइन् ....

त्यही दिन देखि .... यो मुसलमान सत्यवान परिवार .... 

गिफार समुदायमा इस्लामको प्रचारप्रसार गर्न थाल्यो .... 

अल्लाहको बाटो तर्फ निम्त्याउन थाल्यो .... 

निरन्तरताका साथ ... न थाकि न आँत्ति....

यसरी गिफारका धेरै जना मानिसहरू मुसलमान भए र उनीहरूमा नमाज पनि कायम भयो ....

एक समूहलेले भने .... हामी आफ्नै धर्ममा हुनेछौ .... 

रसूल सल्लल्लाहु अलैहि वसल्लम मदीना प्रस्थान गर्नु हुन्छ भने हामी पनि इस्लाम स्वीकार्नेछौँ .... 

र रसूल सल्लल्लाहु अलैहि वसल्लम मदीना प्रस्थान गर्नु भए पश्चात उनीहरू पनि मुसलमान भए ....

रसूल सल्लल्लाहु अलैहि वसल्लमले भन्नु भयो ...

गिफारको अल्लाह मग्फिरत गरून् ... क्षमा गरून् .. अस्लमलाई सुरक्षित राखून् .....

****

○ अबुजर आफ्नै गाउँमा बसे ... 

यता बद्र, उहुद र खन्दकको युद्ध भइ भ्याए ... 

त्यस पछि मदीना आएर रसूल सल्लल्लाहु अलैहि वसल्लमकै लागि आफूलाई खास गरे .... 

उहाँसित उहाँको सेवा गर्दै बस्ने अनुमति मागे ... 

उहाँले अनुमति दिनुभयो ... यसरी उहाँको राम्रो साथ पाए ... 

र उहाँलाई सेवा पुयाउने शुभ अवसर भेटे .....

रसूल सल्लल्लाहु अलैहि वसल्लम सधैं उनलाई ग्राह्यता दिनु हुन्थ्यो .... उनको सम्मान गर्नुहुन्थ्यो ... 

जहाँ र जहिले भेट्नु भएपनि हात मिलाउनु हुन्थ्यो ...

भेटदा सधैं मुस्कान र खुसी व्यक्त गर्नु हुन्थ्यो ...

****

○ जब रसूल सल्लल्लाहु अलैहि वसल्लमको देहान्त भयो .... मदीना आफ्नो स्वामी र मालिकलाई गुमाएकोले खालि खालि देखिन थालियो   ... 

उहाँको पावन बसाईले जुन सौन्दर्य र सौष्ठव झल्किन्थ्यो ......विलुप्त भयो ...... 

 यो देखेर अबु जरले सहन गर्न नसकी त्यहाँ बस्न मन नलागेर  ...

बादियतुश्शाम तिर गए ......

र त्यही अबु बक्र र उमर रजियल्लाहु अन्हुमाको शासनकालसम्म बसे ...

उस्मान रजियल्लाहु अन्हुको शासनकालमा उनी दिमश्क तिर गए .... 

मुसलमानहरू सन्सारिक लोभमा परेका छन् ... र धन सम्पत्ति आर्जनमा व्यस्त छन् भन्ने अवस्था...   देखेर उनको मन रोयो ... 

र उनी यसबाट जोगाउनको निम्ति मानिसहरूलाई अर्ति उपदेश दिनथाले .... 

तसर्थ उस्मान रजियल्लाहु अन्हुले उनलाई मदीना बोलाए ... 

उनी मदीना पुगे ... तर त्यहाँ पनि मानिसहरूको सान्सारिक लोभले उनको मुटु खुम्चिन थाल्यो ..

र मानिसहरूले पनि उनको सधैंको रोकटोक र अर्तिउपदेशका कारण आत्तिए ....

उस्मान रजियल्लाहु अन्हुले उनलाई मदीनाको नजिकै एउटा गाउँ रब्जा तिर जाने हुकुम दिए .... 

तसर्थ उनी मानिसहरूको दृष्टिबाट टाढा .. 

मानिसहरूको पहुँचमा हुने सान्सारिक सन्साधनमा अभिरूचि नराखी ....

 रसूल सल्ल्ल्लाहु अलैहि वसल्लम र उहाँका दुइ साथी अबुबक्र र उमरले जुन मूलाधारलाई अँगालेका थिए ...

र यस लोकमाथि सालोक्यलाई ग्राह्यता दिँदै .....

त्यहीँ आफ्नो बाँकी जीवन व्यतित गर्न थाले ....

****

○ एक पटक एउटा व्यक्ति  उनको घर पुग्यो .... 

घर भित्र सबै तिर आँखा घुमाउन थाल्यो तर उसले कुनै पनि चिज देखेन 

उसले सोध्यो ...

अबुजर तपाईँले समानहरू कहाँ राख्नु भएको छ ...

उनले जवाफ दिए .... 

मेरो त्यहाँ (परलोक) एउटा घर छ ... 

म आफ्नो सबै राम्रा समानहरू उता पठाइ दिन्छु ....

त्यो व्यक्तिले उनको मन्साय बुझेर सोध्यो ...

तर तपाइँ यस घर (सन्सार)मा भएको बेला त केही समान चाहियो नि?

उनले भने .... तर यस घरका मालिकले हामीलाई यहाँ छाड्दैनन् ....

****

○ शामका शासकले उनलाई तीन सय दीनार पठाए ... र भने .. 

आफ्नो अवश्यकता परिपूर्ति कोलागि यसलाई खर्च गर्नु ... 

उनले त्यसलाई फिर्ता दिए र भने .... 

के शामका शासकले पुरै देशमा म बाहेक अरू कुनै तिरस्कृत र नीच मानिस देखेन छ्न ?

****

○ हिज्रतको बत्तीसौं साल ..... 

कालको निर्दयी पञ्जाले उनलाई पनि समात्यो..... 

र समयचक्रले आफ्नो पासो हाल्यो .....

यस निरपेक्ष उपासकलाई पनि ...

जसको सन्दर्भमा  रसूल् सल्लल्लाहु अलैहि वसल्लमले भन्नु भएको थियो ....... 

धरतीले जन्माएको छैन ... आकाशले पनि छहारी दिएको छैन होला.....

अबुजर भन्दा बढी सत्यवादी कुनै पनि व्यक्तिलाई .........

अल्लाह उनीसित प्रसन्न होऊन् र उनलाइ पनि खुसि बनाऊन् ।

(प्रस्तुति: मुहम्मद सुहैल नदवी)

¤¤¤

Monday, November 23, 2020

अन्तिम दूतका साथीहरूकाे जीवनचित्रका केही झझल्काे – ४

●○●मुसलमानहरूकी आमा – उम्मे सलमा ●○●

□■□ रजियल्लाहु अन्हा □■□

••••••प्रस्तुतिः मुहम्मद सुहैल नदवी ••••••

__________________

 ○ उम्मे सलमा .... सलमा की आमा ...... 

तपाईँलाई सलमाकी आमाको बारेमा थाहा छ? ....
उनका पिता मख्जूम कुम्बाका ठुला सरदार थिए ....
अरबका महादानीहरू मध्ये एउटा प्रसिद्ध दानकर्ता ....
उनलाई बटुवाका बाटोखर्च ( सामल) द्वारा चिनिन्थियो ....
कुनै यात्रुले उनको घर तिर जाँदा .....
अथवा उनका साथमा यात्रा गर्दा......
साथमा बाटो खर्च राख्दैन्थ्यो .....र राख्न पनि अ आवश्यक पर्दैन्थ्याे.....
उनका पति... अब्दुल्लाह बिन अब्दुल असद.... सबै भन्दा पहिले मुसलमान हुने दस जना मध्ये एक ...
उनी भन्दा पहिले मात्र अबु बक्र रजियल्लाहु अन्हु र अरू थोरै व्यक्तिहरू मुसलमान भएका थिए ...
उनको गणना गर्दा हातको औला समान पनि पुग्दैनथ्यो....
उनको वास्तविक नाम हिन्द ... तर उम्मे सलमा उपनाम द्वारा प्रसिद्ध थिइन् ...
र यही उपनाम उनको नाम नै भयो ....
र वास्तविक नाम त कसै कसैलाइ मात्र थाहा हाेला .....
****
○ उम्मे सलमा आफ्नो पतिसँगै मुसलमान भइन् ...
यसरी इस्लाम स्वीकार गर्ने महिलाहरूमा दोश्रो स्थान प्राप्त गरिन् ....
उम्मे सलमा र उनका पतिको मुसलमान हुने खबर चर्चामा आउना साथै.......
कुरैशका समस्त समुदाय उनीहरूमाथि रिसाए र आक्रोशित भए....
उनीहरूलाई यातना दिन थाले ...
यस्तो यातना जसले ठोस अटल पहाडलाई पनि हल्लाउन सक्थ्यो हाेला ...
तर यो दम्पतिले कमजोरी देखाएनन् र आफ्नो विश्वास र कर्तव्यलाई छोड्न मानेनन् ....
उनीहरूमाथि हुने यातना र सजाय अत्यन्तै बढेपछि रसूल सल्लल्ल्हु अलैहि वसल्लमले उनलाई र उनका साथीहरूलाई हब्शातिर प्रस्थान गर्ने अनुमति दिनुभयो .....
यी दम्पति ती हिजरत गर्नेहरूको प्रथम समूहमा थिए ....
****
○ उम्मे सलमा र उनका पति अपरिचित भुमि तर्फ लागे ...
आफूपछि मक्कामा......
ठुलो भवन चुलिएको प्रतिष्ठा र प्रख्यात खानदान छोडेर ...
मात्र अल्लाहको तर्फबाट उत्तम उपकारको अपेक्षा गर्दै र उहाँकै प्रसन्नता प्राप्तिका लागि...
उम्मे सलमा र उनका पतिले नजाशीद्वारा जे सहयोग र समर्थन पाए पनि ...
(अल्लाहले जन्नतमा नजाशीको मुहार उज्जवल पारून ...)
कुरआन अर्लिने ठाउँ मक्काको चाहना र सत्यमार्गको श्रोत रसूल सल्लल्लाहु अलैहि वसल्लमतिरको आकर्षण र लालसाले .......
उनीहरूको मुटु सधैं विचल्लित भएर खुम्चिन्थे .....
उनका कलेजा प्रजवलित हुन्थे ....
हब्शा हिज्रत गर्ने मुसलमानहरूलाई बारम्बार सूचना प्राप्त भयो ...
मक्कामा मुसलमानहरूको सङ्ख्या बढेको छ ...
हम्जा बिन अब्दुल मुत्तलिब ... उमर बिन खत्ताबको इस्लाम स्वीकारेका कारण मुसलमानहरूको समुह बलियो भयो
र कुरैशका यातना र पीडा रोकिए..
यो समाचार सुनेपछि केही मानिसहरूले मक्का फर्कि जाने निर्णय गरे ...
उनीहरुका चाहना र लालसाले उनीहरूलाई मक्का फर्किने हिम्मत दिलाए ...
उम्मे सलमा र उनका पति फर्किने मानिसहरूको पनि अग्रिम पङ्कतिमा थिए ....
****
○ तर छिटै फर्केका मानिसहरूलाई थाहा हुन गयो कि ....
जुन समाचार उनीहरू सुनेका थिए त्यो त कुरै मात्र रहेछ...
र हम्जा र उमर को इस्लामद्वारा मुसलमानहरूले जुन प्रतिकार देखाएका थिए कुरैशले झन् त्यो भन्दा बढी तयारीका साथ आक्रमण थालेका रहेछन् ....
अहिले झन मुश्रिकहरूले मुसलमानहरूलाई पीडा दिन र धम्काउनका निमित्त नयाँ नयाँ तरिका निकालेका रहेछन् र अपूर्व तवरले यातना र दुःख दिने गरेका रहेछन् ....
अत: अब रसूल सल्लल्लाहु अलैहि वसल्ल्मले आफ्ना साथीहरूलाई मदीना तर्फ प्रस्थान गर्ने अनुमति दिनुभयो ....
यहाँपनि उम्मे सलमा र उनका पतिले आफ्नो धर्मलाई जोगाएर राख्न र कुरैशका यातनाबाट पन्छिन कालागि शुरूमा नै हिज्रत गर्ने निधो गरे ....
तर उम्मे सलमा र उनका पतिको मदीना तिर हिज्रत..........
त्यति सरल र सहज रहेको थिएन जति उनीहरूले सोचेका थिए ...
यस पटकको हिज्रत अति कठिन र कष्ठकर थियो ....
जसले आफ्नो परिणाम स्वरूप यस्तो सम्झना छोडयो जुन सम्झनाका माझमा  सबै दुःख पीडा कम्ति नै मानिएका छन् ....
यहाँ हामी उम्मे सलमाकै मुखबाट उनको यस सम्झनाको घटनाक्रम सुनौँ ....
उनीमाथि परेका वेदनाकाे वास्तविकता बुझाैं ...
उनका अनुभुतिहरू असाध्यै गहिरो र प्रबल हुन सक्लान् ...
उनले वर्णन गरेका कथाशैली हुबहु र वास्तविक हुन पुग्ला ...
उम्मे सलमाले भनेकी छन् ....
अबु सलमाले जब मदीना तर्फ प्रस्थान गर्ने निश्चय गरे ...
मेरो लागि एउटा ऊँटको व्यवस्था गरे ...
र मलाई त्यसमाथि चढाए ...
हाम्रो बच्चा सलमालाई मेरो काखमा राखे ...
मेरो ऊँट डोर्याउँदै लगे ...
दायाबाँया केही नहेरीकन ...
मक्काबाट बाहिर निस्कनु भन्दा अलिक पहिले हामीलाई मेरो खान्दान बनु मख्जूमका केही मानिसहरूले देखे..
उनीहरू हामो बाटोमा बाटो छेक्दै उभिए ...
र अबु सलमालाई भने ....
तिमीले सोचे झैं तिमिमथि त हाम्रो केही अधिकार लाग्दैन ..
तर तिमीले आफ्नो स्वास्नीकाे बारेमा के विचार गरेका छौ ? ...
यो त हाम्रो चेली हो...
हामी तिम्रो साथमा .. यसलाई लिएर देश विदेश डुल्नलाई कहाँ छोड्छौ र ?..
त्यस पछि हामी माथि आक्रमण गरे ...
र मलाई उनीबाट झम्टेर लगे ...
म र मेरो बच्चालाई तिनीहरूले लैजादै गरेको दृश्य मेरा पतिका खानदान बनु अब्दुल असदले देखे....
तिनीहरू पनि असाध्यै रिसाए ... र भन्नथाले ...
अल्लाह कसम् .... तिमीहरूले हाम्रो छोराबाट आफ्नो चेली यसरी झम्टी सकेपछि हामीपनि बच्चालाई तिम्रो चेलीलाई दिँदैनौँ ...
त्यो बच्चा हाम्रो सन्तान हो ....
त्यसमाथि हाम्रो हक अधिकार छ...
मेरो आँखा अगाडी नै मेरो छोरालाई तान्न थाले ..
र उसको हातको पाता उक्काएर ऊमाथि कब्जा गरे ...
एकैछिन मै मेरो परिवार विस्थापित भयो र म एकलै बाँकी रहें ....
मेरो पति आफू र आफ्नो धर्मलाई जोगाउनको निम्ति मदीना तिर लागे ...
मेरो बच्चालाई बनु अब्दुल असदले अपहरण गरी लगे .. टुक्रा पारेर ......चुँडालेर ...
ममाथि मेरो खानदान बनु मख्जूमले कब्जा गरे .... र आफ्नो साथमा लागे ...

 त्यही दिन देखि म हरेक बिहान घाटी तिर जान्थें ...
जुन ठाउँमा मेरोसाथमा त्यो अप्रिय घटना घटेको थियो ...
त्यहाँ बस्थें .... आफ्नो मनमा त्यही दृश्य दोहराउने गर्थें .......
जब म मेरा पति र बच्चा सबैको बिछोड भएको थियो ...
म त्यहाँ ... राति पर्ने बेलासम्म बसेर रोइ रहन्थेँ....
एक वर्ष वा लगभग वर्षदिन जति म यसै अवस्थामा रहें ....
एक दिन मेरो एउटा काकाको छोराले त्यहिबाटो जाँदा मलाई देखेछ.. मेरो दयनीय अवस्था देखेर उसको हृदय नरम भएछ...
ममाथि उसलाई दया आयो होला ....
खानदानमा पुगेर मेरो सिफारिस गर्दै उसले भनेछ...
यो बिचरीलाई किन छोडि दिदैनौ?
तिमीहरूले उसलाई पति र छोराबाट अलग गरि दिएकाछौ .....
उसले निरन्तर उनीहरूसित कुरा गर्दागर्दा उनीहरूको मनलाई शान्त बनाएछ र उनीहरूको हृदयमा दयाको भाव उत्पन्न गराएछ.. यसरी उनीहरूले मलाई भने ....
तिम्रो मन छ भने आफ्नो पति कहाँ जान सक्छौ
म कसरी मदीना आफ्नो लोग्ने सामु जान्थेँ..जबकि मेरो बच्चा र मुटुको टुक्रा मक्कामा नै बनु अब्दुल असदकाे कब्जामा थियो....
मेरो मुटुको ज्वाला कसरी निभ्न सक्थ्यो र ...
अथवा मेरा आँखाकाे आश्रु कसरी सुक्न सक्थ्यो ...
यदि म हिज्रतको स्थान मदीनामा हुने...
र मेरो बच्चा मक्कामा हुने भए .... उसको कुनै पत्तो नै न भइ ....
अरू मानिसहरूले मेरो दुःख पीडा देख्दै थिए...
मेरो बह र वेदनाले उनीहरूको मन फेर्यो ....
उनीहरू बनु अब्दुल असदलाई भेटेर कुरा गरे ...
मेरो लागि सिफारिस गरे .... र मेरो बच्चा मलाई फिर्ता दिलाए ....
****

○ मक्कामै बसेर कुनै यस्तो मानिसलाई खोज्नु जो साथमा यात्रा गर्छ भन्ने मैले प्रतीक्षा गर्न उचित नसम्झी ..... एक्लै आफ्नो पतिलाई भेटने अठोट गरें ...
फेरी यस्तै कुनै नसोचेको कुरा हुनेछ कि?
नसोचेको समस्या आउन सक्ला कि? भन्ने त्रासले ...
मैले तुरन्तै आफ्नो ऊँट तयार गरें ... बच्चालाई काखमा राखें ... पतिलाई भेटन मदीना तर्फ लागेँ....
कसैलाई साथ नलिएर मात्र अल्लाहमाथि विश्वास गरेर ...
तन्ईम भन्ने ठाउँमा पुग्दा .... उस्मान बिन तल्हा सित भेट भयो ....
उनले सोधे .... हे बटुवाको सामलकी छोरी .... कहाँ जाँदैछ्यौ ?
मैले भने .... मदीना .... पतिलाई भेट्न ....
उनले सोधे .... तिमीसँग अरू कोही छ कि छैन ?
मैले भने ... मात्र अल्लाह हुनुहुन्छ र यो काखको नानी .....
उनले भने ....
अल्लाह कसम् ... मदीना सम्म पुगुन्जेल म नै साथ हुन्छु ....
फेरी उनले ऊँटको बाग्डोर समाते ... र म जाने बाटो लागे..
अल्लाह कसम् ..... मैले देखेका मानिसहरू मध्ये अरब भरिमा उनी भन्दा शिष्ट र भलादमी मैले देखेकै छैन ....
जब हामी कुनै बासस्थानमा पुग्थ्यौँ .... उनी मेरो ऊँटलाई बसाउँथे ... फेरी मबाट अलि टाढा हुन्थे ....
जब म ऊँटबाट ओरिलन्थें ... उनी उँट नेर पुगेर उसको काठी उतारेर राख्दथे ....
ऊँटलाई कुनै रूख मुनि लगेर बाँध्ने गर्दथे ...
फेरी मबाट टाढा भए अर्को रूखमुनि उसको छायामा गएर सुत्ने गर्दथे ....
हिडने बेला मेरो ऊँटलाई सवारीको लागि तयार गर्थे ... म नेर ल्याउँथे .... फेरी पछि हट्थे ... र भन्थे ....
माथि बस्नु ...म ऊँट माथि चढ्थें र ऊँट उभिए पछि उनले ऊँटको बाग्डोर समातेर हिड्ने गर्दथे ....
****

○ बाटो भरि उनको यही कर्तव्य रह्यो ....
र हामी मदीना सम्म पुग्यौँ ....
कुबामा बनु औफको गाउँ देखिए पछि उनले भने ...
तिम्रा पति यसै गाउँमा छन् ...
अल्लाहको कृपाले गाउँ भित्र जाऊ ...
र आफु उनी मक्का तिर लागे ....
****

○ लामो विरहकाल पछि छुट्टिएका परिवार एकत्रित भयो ...
उम्मे सलमाको आँखा पतिलाई देख्दा शीतल भयो ...
र अबु सलमा पनि पत्नि र बच्चालाई भेट्दा प्रसन्न भए ...
त्यस पछिका घटनाक्रम आँखा चिम्लिदै झैं वित्दै गयो ...
यो बद्रको युद्ध हो ....
अबु सलमा त्यसमा सामेल भए ....
अरू मुसलमानहरूकासँग सँगै ....
यसमा मुसलमानहरूले राम्रो विजय प्राप्त गरे ....
यो उहुदको युद्ध हो ....
यस युद्धमा पनि उत्साहसहित समेल भए ...
र राम्रो कृतिमान कायम गरे ....
तर ....... युद्धबाट निस्कदा धेरै घात पुगेको देखियो ...
.त्यसको उपचार गर्दा घाउ निको भएको जस्तो लाग्यो ....
तर घाउ भित्र भित्रै बढ्दै थियो...
केहि दिनमै घाउ बेसरी फुट्यो ...
अबु सलमा औछ्यानमा परे ....
अबु सलमाको उपचारक्रममा उनले पत्निलाई भने ....
हे उम्मे सलमा ... मैले रसूल सल्लल्लाहु अलैहि वसल्लमद्वारा सुनेको छु ....
उहाँले भन्नु भएको छ ...
कसैलाई जुन पीडा आए पनि उसले "इन्नालिल्लाहि व इन्ना इलैहि राजिऊन" (हामी अल्लाहकै लागि छौँ र उहाँकै तर्फ फर्काइनेछौँ)
पढ्छ र ... हे अल्लाह ... मेरो यस पीडामा तपाइँको उपकारको अपेक्षा गरेको छु ...हे अल्लाह...... यसको प्रतिफल त्यो भन्दा राम्रो प्रदान गरिदिनु होला...
भन्छ भने उल्लाह तआलाले उसको चाहना अवश्य नै पुरा गर्नु हुन्छ ....
****

○ अबु सलमा आफ्नो औछ्यानमै केही दिन सम्म बिरामी रहे ....
एक दिन बिहान रसूल सल्ल्हु अलैहि वसल्ल्म उनको हालखबर सोध्नको लागि आउनु भएछ ...
उनलाई हेरेर फर्केर ... ढोका पनि नाघ्नु भएको थिएन होला ....
कि अबु सलमाले आफ्नो प्राणा त्यागे .....
सबै दुख पीडा बाट मुक्त भई पालनकर्ता समक्ष हाजिर भए .......
रसुल सल्लल्लाहु अलैहि वसल्लमले उनका आँखा आफ्नो पवित्र हातले बन्द गर्नु भयो ....
र आकाश तिर फर्केर भन्नुभयो ....
अल्लाह अबु सलमालाई क्षमा प्रदान गरिदिनु होला....
उनका वासस्थान आफ्नै निकटमा बनाइ दिनुहोला..
उनको पछि बाँकीरह्ने हरूका लागि राम्रो प्रतिफल दिइ दिनुहोला....
हामी र उनलाई माफी गरिदिनु होला ......
उनको कब्रलाई फराकिलो बनाइ दिनु होला ...
र कब्रलाई ज्येतिर्मय बनाइ दिनुहोला ....
उम्मे सलमालाई अबुसलमाले रसूल् सल्लल्लाहु अलैहि वसल्लमद्वारा उद्धृत गरिएको कुरा याद आयो....
उनले भनिन् ....
हे अल्लाह ...मेरो यस पीडामा तपाईँकै तर्फबाट उपकारको अपेक्षा गरेकी छु ....
तर अगाडिका ..
उनका सट्टामा त्यो भन्दा राम्रो प्रतिपफल देऊन् ...
भन्ने वाक्य भन्न मन मानेन ...
आफैले आफूलाई सोधिन ...
अबु सलमा भन्दा राम्रो को हुन सक्छ र ?
तर फेरी एक छिनमै दुआलाई पुरा गरिन् ...
****
○ उम्मे सलमाको अवस्था र उनको पीडाका कारण मुसलमानहरू असाध्यै दुखित भए ...
यस्तो दुखित कहिले पनि भएका थिएनन् .
उनलाई अरबकी बिधवाकाे संज्ञा दिए ....
किन भने उम्मे सलमाको मदीनामा कुनै आफन्तजन थिएनन् .....
मात्र चराको बचेरा जस्तो एउटा सानो नानी बाहेक ....
****
○ मुहाजिर र अन्सार सबैले उम्मे सलमाको हक प्रति धेरै गम्भीरता महसुस गरे ...
उनको इद्दत र शाेककाल पुरा हुन वित्तिकै.......
अबु बक्रले विवाह गर्ने सन्देश पठाए ... उनले अस्वीकार गरिन् ...
फेरी उमरले पनि विवाहको प्रस्ताव राखे ...... उनले उनलाई पनि अस्वीकार गरिन्....
त्यस पछि रसूल सल्लल्लाहु अलैहि वसल्लमले स्वयंम् उनलाई विवाहको सन्देश पठाउनु भयो ....
उनले भनिन्...
हे अल्लाहका रसूल .... मेरा तीन वटा अवस्था छन् ...
म अत्यन्त इर्षयालु छु .... मलाई भय छ मद्वारा केही यस्तो नराम्रो हुन सक्छ जसकारण तपाईँको रिसानी हुन्छ र अल्लाहले मलाई सजाय दिनुहुनेछ ....
मेरो उमेर पनि धेरै भइसक्यो ...
मेरा बालबच्चा पनि छन् ...
उहाँले भन्नु भयो ....
ईष्र्यायाको कुराको लागि म दुआ गर्छु ..... अल्लाहले यसलाई समाप्त गरिदिनु हुन्छन् ....
उमेरको केही कुरा छैन ... म पनि उमेरमा त्यस्तै छु ....
तर बालबच्चाको कुरा तिमीले गरेकी छौ ....
तिम्रो बच्चा मेरो बच्चा हुनेछ ...
त्यस पछि रसूल सल्लल्लाहु अलैहि वसल्लमले उम्मे सलमा सित विवाह गर्नु भयो...
यसरी अल्लाहले उनको दुआ स्वीकार गर्दिनु भयो ...
र अबु सलमा भन्दा उत्तम व्यक्ति बदला स्वरूप प्रदान गर्दिनु भयो ....
त्यो दिन देखि बनु मख्जूमकी यी चेली......
मात्र सलमाकी आमा नभइ सम्पूर्ण मुसलमान की आमा बनिन् .....
अल्लाह तआलाले उम्मे सलमाको मुहारलाई उज्जवल पारून् ...
उनीसित प्रसन्न होऊन् र उनलाई पनि खुसि पारून् .....
आमीन .....
(प्रस्तुतिः मुहम्मद सुहैल नदवी)



Thursday, November 19, 2020

अन्तिम दूतका साथीहरूको जीवनचित्रका केहि झझल्को - ३

 सल्मान फार्सी

 रजियल्लाहु अन्हु 

प्रस्तुति: मुहम्मद सुहैल नदवी 


  यो कथा हो सत्यको खोजी गर्ने एक पौरखीको ...

आफ्नो पालनकर्ताको पत्तो लगाउने एउटा साहसीको....

यो वृत्तान्त हो सल्मान फार्सीको ....

अल्लाह उनीसित प्रसन्न होऊन् र उनलाई खुसी पारून् ....

सल्मान फार्सीद्वारा नै उनको कथा सुनौँ ... उनकै मुखबाट उनीमाथि परेका व्यथा बुझौँ ....

उनको आफ्नो अनुभूति उनीद्वारा नै प्रबल हुन सक्ला र उनले आफ्नो वृत्तान्त स्पष्ट र सत्य निष्ठ तवरले आफै वर्णन गर्न सक्लान् ।

सल्मान फार्सी (रजियल्लाहु अन्हु)ले आफ्नो जीवन कथा यस प्रकार सुनाएका छन् ।

म अस्फहानको एउटा गाउँ जय्यानमा बस्ने एउटा फार्सी तरूण थिएँ ...

मेरा बुवा गाउँका जमीनदार थिए ... सबैभन्दा धनी र सबै भन्दा प्रख्यात अनि शक्तिशाली..

र म उनको छोरो भएकाले उनको नजरमा सन्सारभरिको् सबै भन्दा प्रिय र मायालु ... दिनैदिन मप्रति उनको माया बढ्दै गयो.... मप्रति उनको स्नेह प्रबल हुँदै गयो ... र यस कारण उनले मलाई घर भित्र त्यस्तै रेखदेख गर्दै छेकि राखे जसरी कुमारी केटीहरू छेकिन्छन् ।

मैले जरथुरस्त धर्ममा अत्यन्त तपस्या गरेँ  हामीले पुज्ने अग्निको म निरीक्षक भएँ .... आगो सल्काउनु र त्यसलाई निभ्नबाट जोगाउनु मेरो जिम्मामा लगाइयो ....

मेरा बुवाको एउटा ठुलो जग्गा थियो ... त्यहाँबाट धेरै अन्नबालि आउँथ्यो ...मेरा वुवा त्यसको हेरचाह गर्थे.... 

एक दिन कुनै कारणले बुवा खेततिर जान भ्याएनछन् ...उनले मलाई भने ...

छोरा ... आज म खेत तिर जान भ्याइनँ ... म कति व्यस्थ् छु तिमी देख्दैछौ ... आज तिमी गएर मैले गर्नु पर्ने कामहरू पुरा गरेर आउ...

बुवाको आदेश बमेजिम म खेततिर हिडेँ ... बाटोमा जाँदा जाँदै इसाईहरूको एउटा गिर्जाघर भेटियो ... उनीहरू त्यहाँ उपासना गर्दै थिए ... मेरो कानले उनीहरूको स्वर सुने... र यसरी मेरो ध्यान आकर्षित भयो ....

****

मलाई इसाईहरूको धर्म कि अन्य कुनै पनि धर्मको बारेमा केही थाहा थिएन ... लामो समय देखि त म घर भित्र थुनिएको थिएँ ...म उनीहरूको स्वर सुनेर गिर्जाघर भित्र  गएँ.... उनीहरू के गर्दैछन् भन्ने जिज्ञासा मेट्नको लागि ... र उनीहरूको कामकुरा हेर्नको निम्ति ....

मैले उनीहरूलाई हेरेँ ...उनको पूजाको तरिका धेरै राम्रो लाग्यो ... र उनीहरूको धर्म अति नै मन पर्यो ....

मैले मनमनै भनेँ .... ईश्वर कसम् ...यो धर्म त हाम्रो धर्म भन्दा उत्तम पो रहेछ ... 

म उनीहरूको साथमा नै बसेँ ... सूर्यास्त सम्म ... बुवाको खेत तिर पनि गइनँ ....

मैले उनीहरूलाई सोधेँ ...

यस धर्मको मुहान कहाँ छ ? ....

उनीहरूले जवाफ दिए .... शाम मा ...

राति भएपछि म घर फर्केँ ... मेरो बुवाले मलाई भेटेर मेरो समाचार सोधे ....

मैले भनेँ .... बुवा ... म बाटोमा जाँदा जाँदै एउटा गिर्जाघर नेर पुगेँ त्यहाँ केही मानिसहरू पूजा गर्दै थिए ... मलाई त्यो दृश्य धेरै मन पर्यो .... उनीहरूको धर्मको कुरा मलाई राम्रो लाग्यो ... त्यसैले सूर्यास्त सम्म म त्यहीँ बसें ... अरू कही पनि गइनँ ...

मेरो भनाइ सुनेर मेरा बुवा डराए .. उनले भने ...

हे छोरा ... त्यो धर्म राम्रो होइन... तिम्रो र तिम्रा पुर्खाको धर्म त्यो भन्दा अति उत्तम छ ...

मैले भने .... होइन .... भगवान कसम् ...उनीहरूको धर्म हाम्रो धर्म भन्दा उत्तम छ ....

मेरो कुराले बुवालाई बेसरी डराए ... म आफ्नो धर्मलाई छोडी दिन्छु भन्ने शंका लाग्यो  होला,तसर्थ मलाई फेरी घरमै थुनी दिए .... र मेरा खुट्टामा नेल ठोकि दिए....

****

 मलाई मौका मिल्ने बित्तिकै मैले इसाईहरूलाई  ... यदि कुनै यात्रीसमूह शाम तिर जाने हुन्छ भने मलाई सूचित गरि दिनु भनेर खबर पठाएँ.

केही दिनमै एउटा यात्रीसमूह शाम तिर जानको निम्ति आइ पुग्यो ... उनीहरूले मलाई खबर दिए ... मैले जसरीतसरी नेल फुकाएँ... र लुक्दै छिप्दै शाम तिर लागें ... 

शाममा पुगेर मैले सोधेँ ....

यो धर्मको सबै भन्दा महान गुरु को हुनु हुन्छ ....

उनीहरूले उत्तर दिए .... गिरिजाको निरीक्षक पोप ... धर्मअध्यक्ष ....

म उनी कहाँ पुगें .. र भनेँ..

म इसाई धर्मलाई रोजेर आएको छु ...तपाईँका साथ बस्ने र तपाईँकै सेवा गर्ने रहर लिएर .... साथै तपाइँ समक्ष पढ्छु र सँगै उपासना पनि गर्छु .....

उनले भने...

आउ... म उनीकहाँ गएँ ... र उनको सेवा गर्न थालेँ..

केही दिन वित्न न पाउँदै ... मलाई ज्ञात भयो ... यो मान्छे त धूर्त पो रहेछ ....

अरू मानिसहरूलाई दान गर्ने आदेश दिन्छ .... उनीहरूलाई अन्तिम दिनको उपकार तिर रोजाउँछ ... यदि कोही दान सहयोग लिएर आउँछ र गरिबगुरुवा र खाँचोमा परेकालागि खर्च गर्न भन्छ  .... खर्च गरियो भने आफैं जम्मा गरेर राख्छ ... गरिब निर्धोहरूलाई त्यस मध्ये केही पनि दिँदैन रहेछ .... यसरी उसले सुनले सात वटा घडा भरेर जम्मा गरेको रहेछ...

मलाई ऊ सित अति घृणा लाग्यो ... उसको दुष्कर्म देखेर ....तर केही दिनमै उसको निधन भयो ...

इसाईहरू उसलाई अन्तिम संस्कार गर्न भेला भए ...

मैले उनीहरूलाई भनेँ ....

तिम्रो यो गुरु त धूर्त मानिस थियो ....तिमीहरूलाई दान पुण्य गर्न भन्थ्यो ...... तिमीहरूलाई त्यसको लालसा दिलाउँथ्यो .. यदि तिमीहरू केही लिएर आयौ भने. उसले आफ्नोलागि सुरक्षित पारेर राख्ने गर्दथ्यो ... गरिब लाचारलाई केहीपनि दिदैन्थ्यो..

मानिसहरूले सोधे ... तिमीलाई कसरी थाहा भयो र ?

मैले भनेँ .... म तिमीहरूलाई उसको ढुकुटी र खजाना तिर लान्छु ...

उनीहरूले भने ... लौ त हामीलाई देखाउ ... त्यो कहाँ छ ? ...

मैले उनीहरूलाई उसको ढुकुटी र खजाना राख्ने ठाउँ देखाएँ ...

त्यहाँबाट उनीहरूले सुन र चाँदीले भरिपूर्ण सात वटा घडा निकाले ... यो देख्ने वित्तिकै उनीहरू भन्न लागे...

यसलाई हामीले जमिनमा न पुर्ने.. फेरी उसलाई सूली चढाइयो र ढुँगा पत्थरले हानियो ...

केही दिन बित्न नपाउदै.. उनीहरूले उसको स्थानमा एउटा अर्को मानिसलाई नियुक्त गरे ... म उसको साथमा बसें ... मैले त्यो मानिस भन्दा अरू कसैलाई देखेको छैन जो सन्सारप्रति निरपेक्ष, अन्तिम दिनको अभिलाषा बोक्ने र रात दिन उपासनामा व्यतित गर्ने हुन सक्छ .... मैले उनलाई धेरै माया गरेँ ... लामो अवधि सम्म बसेँ ..

. तर उनको पनि अन्तिम समय आयो ...

त्यो बेला मैले उनलाई भनेँ ... हजुर .. तपाइँ मृत्युलोक सुधारेपछि कोसँग बस्न मलाई सल्लाह दिनु हुन्छ ... मलाई कसको जिम्मा लाउनु हुन्छ ? ....

उनले उत्तर दिए ... हे छोरा ... मैले जुन धर्मलाई अँगालेको छु .... त्यही सत्य धर्म मान्ने जस्तो कोही छ भन्ने जस्तो मलाई थाहा भएन ... मात्र एक जना मौसिल भन्ने ठाउँमा  छ ... उसको नाम यो हो ... उसले पनि सत्य धर्मलाई छोडेको छैन र सत्यमार्ग बाट हटेको छैन .. तिमी उनीकहाँ जाउ..

मेरो गुरुको देहान्त पछि म उनका मित्रकहाँ मौसिल पुगेँ ....मैले त्यहाँ आएपछि उनलाई आफ्नो सबै वृत्तान्त सुनाएँ .. र उनलाई भने .....

फलानो मानिसले आफ्नो मृत्युकालमा मलाई तपाईँ समक्ष हाजिर हुनको लागि भन्नु भएको थियो .... तपाईं पनि उनकै सत्य धर्म मान्नु हुन्छ अरे भनेर उहाँले मलाई भन्नु भएको थियो ...

उनले भने ...

ठीक छ बस ...

म उनीसँगै बसेँ ....

मैले उनलाई पनि अति उत्तम देखेँ...

केही दिनमै उनी पनि बिते ....

उनको मृत्युको बेला मैले उनलाई सोधेँ .....

हे फलानो .... अल्लाहको तर्फबाट जुन आदेश आइसकेको छ तपाईँ हेर्दै हुनुहुन्छ ... मेरो कथा पनि तपाईँलाई राम्ररी थाहा छ .... अब कहाँ जानलाई तपाईं  सुझाव दिनु हुन्छ .... को सित भेट्न भन्नु हुन्छ ? ....

उनले भने .....

छोरा ... अल्लाह कसम ! हामी भएको धर्मलाई अँगाल्ने कोही बाँकी छ भन्ने मलाई थाहा छैन मात्र एक जना बाहेक .... उ पनि नस्सीबीनमा छ ... उसको नाम फलानो हो ... तिमी त्यहीँ जाउ ....

उनको अन्तिम सँस्कार र चिहानमा पुरिने काम सम्पन्न भए पछि म नस्सीबीन भन्ने  ठाउँका गुरु तिर लागें ... त्यहाँ पुगेर उनलाई आफ्नो कथा सुनाएँ .... र मेरो पूर्व गुरुले जे भन्नु भएको थियो त्यो पनि भनेँ ... उनले भने ...

हामी कहाँ बस...

म त्यही बसेँ ... यिनी पनि आफ्नो अर्का मित्रहरू समान राम्रा मानिस थिए ... केही दिन पछि उनको पनि अन्तिम समय आयो ...

उनको मरणावस्थामा मैले भनेँ ...

तपाईंलाई मेरो कथा थाहा नै छ .... अब कहाँ जाने आदेश दिनु हुन्छ ? .....

उनले भने .... हे छोरा ....

हाम्रो पथमा हिड्ने कोही बाँकी छ भन्ने मलाई लाग्दैन ... तर एक जना अम्मूरियामा रहेको बाहेक .... उसको नाम यो हो ... तिमी उतै गइ हाल ....

म अम्मूरिया पुगेँ .... उनलाई आफ्नो कथा सुनाएँ ...

उनले पनि सँगै बस्न अनुमति दिए ...

अल्लाह कसम ... उ पनि अति उत्तम मानिस र आफ्नो अरू मित्रहरू समान सत्यमार्गमा थिए ...

त्यहाँ मैले केही गाइवस्तु र बाख्राहरू पाल्न थाले ....

केही दिनमै अरू साथीहरू जस्तो उनको पनि अल्लाहको तर्फबाट निम्तो आयो ...

उनको मरणावस्थामा मैले सोधें ...

तपाईंलाई मेरो सबै नालीबेली थाहा छ ... तपाईं कहाँ जानका लागि भन्नुहुन्छ ...र म के गरूँ तपाईको यसबारेमा के हुकुम छ? ...

उनले भने ...हे छोरा ...

सन्सारमा कोही मानिस हामी भएको सत्यमार्गमा रहेको छ भन्ने मलाई थाहा छैन ... हाम्रो धर्मलाई अँगाल्ने कोही पनि बाँचेको छैन .... तर ...

एउटा ईश्दूत आउने समय भइ सकेको छ .... एउटा रसूल जो अरबको भुमिमा जन्मनु हुनेछ । इब्राहीम अलैहिस्सलामको धर्मको साथ पठाइनु हुनेछ,आफ्नो जन्म भुमिबाट प्रस्थान गरेर दुइ काला पहाड बीचको खजुर भएको हरितभूमि तिर जानु हुनेछ ... उनीमाथि केही स्पष्ट चिन्ह हुनेछन .सौगात खानु हुनेछ तर दान खानु हुने छैन .... उनका दुवै काँधबीच दूतत्वको निसानछाप हुनेछ ... यदि तिमी त्यो भुमि तिर जान सक्छौ भने त्यस तर्फ  जानु  ....

फेरी उनको पनि देहान्त भयो ..... म त्यस पछि अम्मूरियामा धेरै दिन सम्म बसेँ .... एक दिन त्यहाँबाट कल्ब कुम्बाका केही अरबी व्यापारीहरूको गमन भयो ....

मैले उनीहरूलाई भने ... यदि तिमीहरू मलाई पनि अरबको भुमि तिर लैजान्छौ भने म तिमीहरूलाई यो सबै गाई र बाख्रा दिन्छु ...

उनीहरू भने ... ठीक छ ... हामी पुर्याइ दिन्छौं .....भने ।

मैले उनीहरूलाई सबै गाई बाख्रा दिएँ ... उनीहरूले पनि मलाई यात्रासमूहमा सामेल गरे ... तर वादिलकुरा पुग्दा नपुग्दै उनीहरूले ममाथि अत्याचार गरे ...मलाई धोखा दिएर एउटा यहूदीको हातमा बिक्री गरिदिए ... अब म त्यो यहूदीको सेवा गर्न थालेँ ... केही दिनमा मेरो मालिकको काकाको छोरा ऊ सित भेट्न आयो.... त्यो बनु कुरैजा नामको वंशको थियो ... मलाई किनेर यस्रिब तिर लाग्यो .... यहाँ मैले ती खजुरका बगैंचाहरू देखेँ जो मेरा अम्मूरियाका गुरुले वर्णन गरेका थिए  ....  र उनले भने बमोजिम मैले मदीनालाई चिनेँ ... र आफ्नो नया मालिकका साथ बसें ....

रसूल सल्लल्लाहु अलैहि वसल्लम त्यति खेर मक्कामा नै  आफ्नो समुदायलाई अल्लाह तर्फ निम्त्याउनु हुदै थियो ... तर म एउटा दास भएका कारण र आफूले गर्नु पर्ने काम काजमा व्यस्थ भएकाले उनको केही चर्चा सुन्न भ्याइनँ ....

***

केही दिन पश्चात रसूल सल्लल्लाहु अलैहि वसल्लमले यस्रिब तिर हिज्रत गर्नु भयो .... अल्लाह कसम ... म एउटा खजुरको टुप्पोमा चढेर .. आफ्नो मालिकको केही काम गर्दै थिएँ .... र मेरा मालिक तल बसेका थिए ... उनका एउटा काकाको छोरा आयो ... र भन्यो ...

अल्लाहले कैलाका सन्तान (औस र खज्रज) को नाश गरुन्  ... अल्लाह कसम उनीहरू कुबामा एउटा यस्ता मानिसको समक्ष भेला भएका छन् ... जो मक्काबाट आएको छ ... र उसले आफू रसूल र ईश्दूत हुने दाबी गर्दैछ...

मैले उनको भनाइ सुन्न साथै ... मलाई ज्वरो आए जस्तो हुन थाल्यो ... म काम्न थालेँ ... म आफ्नो मालिक माथि खस्छु कि भन्ने डर लाग्न थाल्यो ... हतार हतार खजुरको बोय बाट ओर्लिएँ ... र त्यो मान्छेलाई सोध्न थालेँ .....

तपाईंले के भन्नु भएको रे ? ... यो खबर मलाई फेरी भन्नुस् न .... मेरा मालिक ममाथि रिसाएर मलाई एक थप्पड हानेर भने ....

यो कुरासित तिम्रो के सम्बन्ध?... जाउ आफ्नो काम गर.....

****

बेलुका भए पछि मैले जम्मा गरेका केही खजुर लिएँ .. र रसूल सल्लल्लम रहनु भएको ठाउँमा पुगें ... उहाँ समक्ष हाजिर भएर भनेँ ...

मैले थाहा पाए बमेजिम तपाईं एउटा सत्यवान व्यक्ति हुनु हुन्छ ... तपाइको साथमा केही गरिब निस्सहाय साथीहरू पनि छन् ...म सित दानका लागि केहि खजुर थिए ... तसर्थ तपाईँलाई दिन मैले उचित ठानेको छु ... यो भनेर ती खजुरहरू उहाँसामु राखी दिएँ ....

उहाँले आफ्ना साथीहरूलाई भन्नुभयो ....

तिमीहरू खाउ ... उनले आफ्नो हात बढाउनु भएन र केही पनि खानु भएन ...

मैले मनमनै भनेँ ...

यो त एउटा भयो ....

म फर्केर आएँ ...

फेरी मैले केही खजुरहरू जम्मा गरें ... त्यति दिनमा रसूल सल्लल्लाहु अलैहि वसल्लम कुबाबाट मदीना प्रस्थान गरी सक्नु भएको रहेछ ... म त्यहाँ पुगें र भनें ...

मैले अस्ति देखेको थिएँ ...तपाईं दानको चीजबीज खानु हुन्न रहेछ ... तसर्थ मैले तपाईँकै लागि केही सौगात ल्याएको छु ...

यो सुनेर उहाँले आफू पनि खानुभयो र साथीहरूलाई पनि खाने आग्रह गर्नुभयो ....

मैले मनमनै भनें ...

यो दोश्रो पनि भयो ...

फेरी एक पटक म उहाँ समक्ष पुगें ... त्यतिखेर उहाँ बकीउलगर्कद कब्रिस्थानमा हुनु हुन्थ्यो ... कुनै साथीको जनाजा र अन्तिम क्रियाक्रमको लागि ... मैले उहाँलाई बसेको अवस्थामा पाएँ ..उहाँको जिउमाथि दुइ वटा चादर थिए... मैले उहाँलाई सलाम गरेँ... फेरी घुमेर पछाडी तिर पुगें ....म उहाँको पिठ्यूँ  हेर्न चाह्न्थे ... सायद त्यो निसानछाप देखा पर्छ कि? जो मेरो अम्मूरियाका गुरुले वर्णन गरेका थिए ....

मलाई रसूल् सल्लल्लाहु अलैहि वसल्लमले उहाँको पिठ्यूँमा मैले केहि खोज्दै गरेको देख्नुभयो होला .. मेरो मन्साय बुझेर उहाँले आफ्नो पिठ्यूँबाट चादर हटाउनु भयो ... यसरी मैले दूतव्तको निसानछाप पनि देखेँ..अब उहाँलाई पूर्ण विश्वासका साथ चिनिसकेको थिएँ .....

..... म उहाँ तिर लम्के ... उहाँलाई चुम्न थालेँ र रुन थालेँ .....

रसूल सल्लल्लाहु अलैहि वसल्लमले सोध्नु भयो ....

तिम्रो कहानी के हो ? ....

मैले आफ्नो सम्पूर्ण कहानी उहाँलाई सुनाएँ .... उहाँले अति आशचर्यचकित हुनुभयो र उहाँकासाथीहरूलाई पनि सुनाउन भनेर अत्यन्तै खुसी व्यक्त गर्नुभयो .....

मैले उनीहरूलाई पनि आफ्नो सबै वृत्तान्त सुनाए .... तिनीहरूले पनि असाध्यै रूचाए ... र अश्चर्य व्यक्त गरे ....

****

शान्ति होस सल्मान फार्सी माथि .... जुन दिन हरेक ठाउँमा सत्य खोज्दै थिए ...

शान्ति होस सल्मान फार्सी माथि .... जुन दिन सत्यलाई जान्न सफल भए र त्यसमाथि पूर्ण आस्था कायम गरे ....

शान्ति होस उनी माथि ... जुन दिन उनी प्रलोक सुधारे ...... र जुन दिन उनी फेरी जिउँदो पारिने छन् .......

शान्ति होस् सल्मान माथि .....जसलाई रसूल सल्लल्लाहु अलैहि वसल्लमले आफ्नो परिवारका सदस्यमा गणना गर्नु भएको थियो .... अल्लाह उनीसित प्रसन्न होऊन्........

(प्रस्तुति: मुहम्मद सुहैल नदवी)

Saturday, November 14, 2020

अन्तिम दूतका साथीहरूको जीवनचित्रका केहि झझल्को -२

○ ○○अबुतल्हा अन्सारी ○○○

□■□अल्लाह उनीसित  प्रसन्न होउन् □■□

•••• प्रस्तुति: मुहम्मद सुहैल नदवी ••••

****

अबुतल्हा नामद्वारा परिचित, जैद बिन सहल नज्जारीले थाहा पाए ...

उम्मे सुलैम भन्ने रूमैसा बिन्त मल्हान नज्जारिया त विध्वा भइन्  रे ... उनका पति त प्रलोकवासि भए रे ... 

यो खबर सुनेर उनलाई खुसी लाग्यो ... कस्तो अचम्म ? ...

कसैको मरणप्रति खुसियाली !

तर अचम्मको कुरा के छ त ? ...

उम्म सुलैम एउटा राम्रो बानी... उच्च स्वभावकी ... बुद्धिमान र गुणवत्तापूर्ण महिला थिइन् ...

उनी सित विहे गर्न र्धेरै मानिसहरू पर्खाइमा हुन सक्छन् ... तसर्थ उनले विहेको सन्देश सबै भन्दा पहिले पठाउन निश्चय गरे ... उनलाई विश्वास थियो ... उनले पठाएको सन्देशलाई उम्मे सुलैमले अस्वीकार गर्ने छैनन् .... अवश्य नै स्वीकार्ने छिन् ...उनीलाई नै ग्राह्यता दिने छिन् ...

किन भने ... उनी पौरुष शक्तिमा पूर्ण, उच्च पदका धनादढ व्यक्ति थिए.... साथै बनु नज्जारका प्रख्यात सेनानी र यस्रिबका केही प्रसिद्ध धनुधारी मध्ये एक पो थिए ....

अबु तल्हा उम्मे सुलैमको घर तिर लागे...

बाटोमा उनलाई बल्ल याद आयो ... उम्मे सुलैम त मक्काबाट आएका प्रचारक मुस्अब बिन उमैरका कुराहरू सुनेर मुहम्मद (स.) माथि इमान ल्याइ सकेकी छिन् र उहाँको धर्म पनि अँगाली सकेकी छिन् .....

तर फेरी मनमनै विचार गर्न थाले ...

नौलो के छ र ? उनका दिवँगत पति पनि आफ्नो पुरानै पारम्परिक धर्मलाई मान्दै थिए ... उनले पनि मुहम्मदको निम्तो मानेका थिएनन् र ....

***

अबु तल्हा उम्मे सुलैमको घर सम्म पुगे ..... प्रवेशानुमति माँगे .... उनले अबुतल्हालाई घरभित्र पस्न अनुमति दिइन् ... उनका छोरा अनसपनि सँगै थिए ..... तर अबुतल्हाले आफ्नो मनको कुरा उम्मे सुलैम समक्ष पोख्न लजाएनन् ....

उम्मे सुलैमले जवाफ दिइन् ....

हे अबुतल्हा .... तिमी जस्तो सभ्य व्यक्तिलाई कसैले नकार्न सक्दैनन् .... द्वारबाट फर्काउन सय पटक सोच्नु पर्छ ... तर म तिमीसँग विहे गर्न सक्तिनँ ... तिमी एउटा अधर्मी र नास्तिक मानिस छौ ....

अबु तल्हाले मनमनै सोचे ..... सायद उम्मे सुलैमले बिहे गर्न चाहदिन्न .... त्यसैले बहाना खोज्दैछिन् .... उनले सायद कुनै अर्कै धनी र शक्तिमान व्यक्तिलाई रोजी सकेकी छिन् ......

उनले भने .... हे उम्मे सुलैम !  अल्लाह कसम् ..... मलाई अर्कै कारण देखा पर्दैछ .... अधर्मी भएको कारणले गर्दा तिमीले मनाही गरेकी कुरा मेरो मनले मान्दैन ....

उनले सोधिन ... अरू कुन कुराले गर्दा मैले यस्तो भनेकी हुन सक्ला त ....

उनले जवाफ दिए ..... केही पहेँलो वा सेतो कुरा ले गर्दा .... सुन चाँदीको कारणले .....

उनले सोधिन ... सुन चाँदी  ? ....

उनले भने .... पक्कै यस्तै कुरो छ होला .....

उनले दृढ स्वरमा भनिन् ... हे अबुतल्हा ... म तिमीलाई वाचा दिँदै छु ... अल्लाह र उहाँका रसूललाई साक्षी मानेर भन्दैछु .... यदि तिमीले इस्लाम धर्म स्वीकार्यौ ... म तिमीसँग सुनचाँदी बिना नै विहे गर्न तयार छु .... तिम्रो इस्लाम धर्म स्वीकार्ने कार्यलाई नै आफ्नो महर ठान्नेछु .....

*****

अबुतल्हाले उम्मे सुलैमको कुरा सुन्न वित्तिकै उनको ध्यानमा आफ्नो मूर्तिको आकृति बन्न थाल्यो.... उनले त्यसलाई एउटा बहुमूल्य काठले बनाएका थिए .... र मात्र आफूले पुज्ने गरी खास गरेका थिए ....त्यो बेला समुदायका प्रमुखहरूको परम्परा अनुसार .....

उम्मे सुलैमले उनलाई विचाराधीन पाएर .... तातो फलाममा अर्को चोट हान्ने मौका पाइन् .... उनले भनिन् ... हे अबुतल्हा .... के तिमीले विचार गर्दैनौ? यो मूर्ति जो तिमी पुज्दैछौ .... भुमिबाट त उम्रेको हो  ......

उनले जवाफ दिए.... थाहा छ ...

उनले फेरी सोधिन .....

तिमीले जुन रुखको एउटा टुक्रालाई ईश्वर बनाएर पूज्ने गर्छौ ... त्यही रुखको अर्को भागलाई मानिसहरूले दाउरा बनाएर आगो सल्काउँछन् .. .. आगो ताप्छन् ... रोटि पोल्छन् ....

हे अबुतल्हा .... यदि तिमीले इस्लामलाई अँगाल्यौ ... त्यसमा प्रवेश गर्यौ .... म तिमीसँग विहे गर्न राजी छु ... र आफ्नो महरको हकमा इस्लाम बाहेक अन्य केही पनि मलाई चाहिएको छैन .....

उनले सोधे .... मलाई इस्लाममा कसले प्रवेश गराइ दिन्छ नि ? ...

उनले भनिन् .... म गराइ दिन्छु ....

उनले फेरी सोधे ... कसरी त?...

उनले जवाफ दिइन् ... अति सजिलो सित .... तिमीलाई मात्र पवित्र बोल  (कलिमा तैयिबा)को मन्त्रोच्चारण गर्नु पर्छ ... अल्लाह बाहेक अरू कोही उपास्य छैन र मुहम्मद सल्लल्लाहु अलैहि वसल्लम अल्लाहका सन्देशबाहक हुनु हुन्छ भन्ने कुराको वाचन गर्नु पर्छ ..... घर पुगेर आफ्नो मूर्तिलाई भाँचेर फाल्नु पर्छ ..... यसरी तिमी इस्लाम भित्र प्रवेश गर्नेछौ .....

अबुतल्हाको अनुहार प्रसन्नताले प्रफुल्ल भयो .....उनले भने ... म बचन दिन्छु ... अल्लाह बाहेक अरू कोही पुज्नीय छैन र म बचन दिन्छु मुहम्मद सल्लल्लाहु अलैहि वसल्लम अल्लाहका सन्देशबाहक हुनु हुन्छ ....

त्यस पछि उम्मे सुलैमसँग उनको विहे सम्पन्न भयो ....

मुसलमानहरू भन्ने गर्दथे ....

हामीले उम्मे सुलैमको महर भन्दा विचित्र महरको बारेमा सुनेका छैनौँ ... उनले इस्लामलाई नै महर बनाइन् ....

यो सबै घटनाक्रम रसूल सल्लाहु अलैहि वसल्लमले मदीना हिज्रत गर्नु अघिको नै हो ....

***

त्यो दिन देखि...

अबुतल्हा इस्लमाको झण्डा मुनि उभिए र आफ्नो सम्पूर्ण सामर्थ्यलाई इस्लामको सेवामा समर्पित गरे ....

अबुतल्हा ती सत्तरी जना मध्ये एक थिए जो उक्बाको स्थानमा रसूल सल्लल्लाहु अलैहि वसल्लमको हातमाथि व्यअत गरेका थिए ... साथमा उनकी पत्नी उम्मे सुलैम पनि थिइन् ....

त्यही राति रसूल सल्लल्लाहु अलैहि वसल्लमले यस्रिब (मदीना) का मुसलमानहरू प्रति जुन बाह्र सरदारलाई नियुक्त गर्नु भएको थियो ... अबुतल्हा ती मध्ये एक बन्न पुगे ......

रसूल सल्लल्लाहु अलैहि वसल्लमले मदीना हिज्रत गर्नु भए पछि अबुतल्हा उहाँको साथमा प्रत्येक युद्धमा सामेल भए ..... र यी युद्धहरूमा महान किर्तिमान कायम गरे ...

तर उहाँको साथ अबुतल्हाको सर्वश्रेष्ठ र स्मरणीय दिन उहुदको युद्धको दिन रहेको छ ....

यस दिनको घटना  वर्णन विस्तृत रूपमा यस प्रकार छ

***

अबुतल्हालाई रसूल सल्लल्लाहु अलैहि वसल्लम सित घनिष्ठ प्रेम थियो .... यो प्रेम भाव उनका रौँ रौँमा समावेश भइ सकेको थियो र उनका नसा नसामा रक्त समान बग्ने गर्दथ्यो .... उहाँको मुहार निरन्तर हेरी रहँदा पनि आँखा अघाउँदैन्थ्यो ... र उहाँको कुरा सुनी रहँदा पनि अझै अरू सुन्ने अभिलाषा बाँकी रहन्थ्यो ,उहाँको सामुन्ने बस्दा सधै आफ्नो जाँघमाथि हात राखेर बस्ने  गर्थे.. र भन्दथे ... मेरो ज्यान तपाईँमाथि अर्पित छ र मेरो अनुहार तपाईँको अनुहारप्रति समर्पित छ हे अल्लाहका रसूल ....

उहुदको दिन ...

जुन बेला मुसलमानहरू रणभुमिमा.... रसूल सल्लल्लाहु अलैहि वसल्लमदेखि टाढा हुन पुगे ... र मुश्रिकहरूले चौतर्फी उहाँलाई घेराबन्दी गरे .... उहाँका नजिक आइ पुगे ... उनीहरूको बारम्बार आक्रमणले उहाँका दन्त पनि भाँचियो... उहाँको निधारमा कवचको सिक्री रोपियो...ओठमा चोट लाग्यो र अनुहार रक्ताम्मै भयो ...

त्यही बेला कुनै झूठो फटाहाले मुहम्मद मारिए भनेर हल्ला मच्चायो ... मुसलमानहरू कमजोर भन्दा कमजोर अवस्थामा पुगे ... रणभुमिमा उनका पाइला डगमगाउन थाले ....

त्यो बेला रसूल सल्लल्लाहु अलैहि वसल्लमका साथमा भएका थोरै मुसलमानहरू अडीग रहेर उहाँको सुरक्षाका निम्ति आफ्नो जिउज्यानको बाजी लगाउँदै थिए..... तिनीहरू मध्ये अबुतल्हा सबै भन्दा अग्रिम पँक्तिमा थिए ....

***

अबुतल्हा रसूल सल्लल्ल्हु अलैहि वसल्लमको अगाडी मजबुत चट्टान सरि उभिएका थिए ... र उहाँले उनकै पछाडी उनलाई ढालसरह बनाएर बस्नु भएको थियो....

अबुतल्हाले आफ्नो धनुषमा सदैव विजयी हुने ताँदो जोडे ... निरन्तर लक्ष्यलाई भेद्ने वाण चढाए... आफ्नो धनुषको भरमा रसूल सल्लल्लाहु अलैहि वसल्लमको रक्षा गर्न थाले ... शत्रुहरूलाई निसाना साधी एक पछि अर्कालाई मृत्युलोक तिर पठाउन थाले ....

रसूल सल्लल्लाहु अलैहि वसल्लमले वाणको लक्ष्य हेर्न र रणभुमिको अवस्था देख्नको निमित्त अबुतल्हाको पछाडीबाट शिर नकाल्न चाहेमा उनले तर्सेर उहाँलाई फर्काएर भन्ने गर्दथे .....

मेरो आमा बुवा तपाईँ माथि बलि चढुन् हे अल्लाहका रसूल .... उनीहरूलाई हेर्न प्रयास नगरिदिनु होला ... उनीहरू तपाईँलाई लक्षित पार्न बारम्बार कोसिस गर्दैछन् ....

मेरो घाँटी तपाईँको घाँटीको स्थानमा होस् ... मेरो छाती तपाइको छातीको सट्टामा रहोस् र म तपाईँमाथि बलि चढुँ .....

मुसलमान सेनाको कुनै व्यक्ति रणभुमिबाट भाग्दै यदि रसूल सल्लल्लाहु अलैहि वसल्लमको नजिक आउँथ्यो र त्यसको साथमा तीरको बट्टा हुन्थ्यो .... उसलाई उहाँले डाकेर भन्नु हुन्थ्यो ... आफ्नो वाणहरू अबुतल्हाको अगाडी राख र रणभुमिबाट नभाग ....

अबुतल्हाले रसूल सल्लल्लाहु अलैहि वसल्लमको तर्फबाट प्रतिकार गर्दा त्यो दिन तीन वटा धनुष भाचियो.... र शत्रुका सेनालाई अल्लाहले चाहे बमेजिम ढालेका थिए ..... अन्ततः युद्ध समाप्त भयो र अल्लाहले आफ्नो रसूललाई सकुशल राख्नु भयो ......

***

अबुतल्हा युद्धको बेला अल्लाहको प्रसन्नता प्राप्तिका लागि आफ्नो ज्यानको बाजी लगाउने गर्दथे ..... यसरी नै दान पुण्यको समयमा आफ्नो धन सम्पत्तिलाइ अरूमा  बाडने कार्य पनि उति नै गर्ने गर्दथे .....

उदाहरणसरह एउटा घटनाको वर्णन गर्दछु ....

उनको एउटा बगैँचा थियो ... खजुर र अँगुर भएको ...यस्रिबमा त्यो भन्दा बढी रूख भएका ... उत्तम फल आउने र मीठो पानी पाइने भएको अरू कुनै बगैँचा देखिएको थिएन ....

एक दिन अबुतल्हा त्यसको घनिष्ठ छाँया मुनि नमाज पढदै थिए .... आकस्मक एउटा हरियो  रँग, रातो चुच्चो र रङ्गीचङ्गी खुट्टा भएको चराले उनको ध्यानाकार्षित गर्यो .... त्यो चरा नाच्दै ...चिरिबिरी गर्दै खुसियालीमा एउटा रूखदेखि अर्को माथि फुत्त फुत्त उड्दै रहयो,उनलाई त्यो दृश्य मन साह्रै रमायो र उसैको बारेमा उनका सारा ध्यान केन्द्रित भयो ..केही छिनमा ख्याल आए पछि आफू त नमाज पढी रहेको छु भन्ने याद आयो,खै कति रकअत पढी सकेके छु...विर्सिए  .... दुइ ... तीन ... चार .... याद रहेन....

नमाज पुरा गरेपछि रसूल सल्लल्लाहु अलैहि वसल्लमको जुनाफमा हाजिर भए र आफूमाथि बितेको वृतान्त सुनाए ... कसरी त्यो बगैँचा, त्यसका असङ्ख्य रूख विरूवा र चिरिबिरी गर्ने चराहरूले उनको ध्यान नमाजबाट हटाएका थिए सबैको वर्णन गरेर भने ....

हे अल्लाहका रसूल ... तपाईँ साक्षी बन्नुहोस् .... मैले त्यो बगैँचा अल्लाहको लागि दान दिएको छु ... तपाईँले जहाँ उचित ठान्नु हुनेछ त्यहाँ नै उसलाई राख्नु होस् .....

***

अबुतल्हाले आफ्नो जीवन रोजादार यौद्धाको रूपमा बिताएका छन् ...र उनको मृत्यु पनि रोजादार यौद्धाको रूपमा नै भएको थियो ... 

उनको बारेमा यो कथित कथन चर्चामा रहेको छ .... 

रसूल सल्लल्लाहु अलैहि वसल्लमको निधन पछि लगभग तीस वर्ष सम्म रोजा कै अवस्थामा जीवन व्यतित गरेका थिए .... मात्र चाँडपर्व र जुन दिन रोजा राख्न मनाही छ.. त्यो बाहेक सबै दिन रोजा राख्ने गर्दथे .....उनले लामो उमेर पनि पाए ... कुप्रिएर बुढो हुन पुगे ... तर उनको बृद्ध अवस्थाले पनि उनलाई अल्लाहको बाटोमा युद्ध गर्न ... सन्सारका कुना कुनामा पुगेर अल्लाहको तर्फ निम्तियाउन .. र उहाँको धर्मको प्रचारप्रसार गर्न रोक्न सकेन .... उनको बुढेसकालले पनि उनलाई कर्तव्यबाट हटाउन सकेन ...

मुसलमानका तेश्रा खलीफा अमीरुलमुमिनीन उस्मान बिन अफ्फानको पालामा समुद्रमा युद्ध गरिने निर्णय भयो ... अबुतल्हाले पनि मुसलमान सेनाको साथमा जाने तयारी सुरू गरे ... उनका छोराहरूले यो देखेर भने ....

हे बुवा ... तपाईँ माथि अल्लाहले दया गरून् ... तपाईँ अति बुढो भइ सक्नु भयो .... तपाईँले रसूल सल्लल्लाहु अलैहि वसल्लम र उनका उत्तराधिकारी अबु बक्र र उमरका साथ युद्ध गर्नु भएको छ ... तपाईँलाई अब विश्राम गर्नु नै उचित हुन्छ .... हामीलाई तपाईँको तर्फबाट युद्ध गर्ने अनुमति दिनुस् .... उनले उत्तर दिए ....

अल्लाह तआलाले भन्नु भएको छ .... तिमीहरू हलुका भए वा भारी भए पनि निस्क ...उहाँले निस्कनको लागि आदेश दिनु भएको छ ... बुढो होस् कि तरुण ... उमेरको सर्त लगाइएको छैन....त्यसको हद तोकिएको छैन ..... फेरी निस्केर मात्र छाडेछन् .....

***

बृद्ध अबुतल्हा मुसलमान सेनाका साथ पानी जहाजमाथि समुद्रको बीचमा भएकै बेला यस्तो बिरामी हुन पुगे जसका कारण प्राणले उनको जिउलाई छोडयो ... समुद्र बीच नै उनको निधन भयो ....

मुसलमानहरूले उनलाई दफन ( अन्तिम संस्कार)गर्नको निम्ति कुनै टापु वा भुमिको टुक्रा  खोज्न प्रयास  गरे .... तर सात दिन पछि मात्र लक्ष्यसम्म पुग्न सफल भए .... सात दिन बित्दा पनि उनको पार्थिव शरीर ताजा अवस्थामै थियो ..त्यसमा केही पनि परिवर्तन भएको थिएन ... मानौँ सुतीरहेका छन ....

समुद्रको बीचौँ बीच ...

घर, जन्मभुमिबाट टाढा ...

परिवार र मित्रवृन्द देखि पर ...

अबुतल्हालाई दफन गरियो ... भुमिमुनि पुरियो ....

मनुष्यहरू देखि टाढा भएतापनि....

उनलाई केको हानि ? कस्तो घाटा ? ...

उनी त अल्लाहको नजिक पुगी सकेका थिए....

अल्लाह उनीसित प्रसन्न होऊन् ......

(प्रस्तुति: मुहम्मद सुहैल नदवी)

Tuesday, November 10, 2020

ताबिईन - सहाबाका अनुयायीहरू १


अताअ बिन अबु रबाह 

 अल्लाह तआलाले उनीमाथि दया गरून् 

प्रस्तुति: मुहम्मद सुहैल नदवी 

○○○

हामी हिजरी सम्बतको सन्तानव्वे वर्षको जिल्हिज्जा महिनाको अन्तिम दशक तिर छौं  ....  

यो आदिमगृह ... काबा... अल्लाहको घर ... 

हरेक कुनाकाप्चाबाट 

आएका अतिथिहरूद्वारा  भरिपूर्ण छ ...

पैदल र सवार ... बृद्ध र जवान .

पुरुष.....  र महिला ......

कोही काला ... कोही गोरा ... 

कोही अरबी ... कोही अज्मी ...

कोही मालिक .. कोही दास ... नोकर ,

नाना थरिका मानिसहरू ... 

सबै भेला भएका छन् ... मानवका सम्राट कहाँ ...

डराउँदै ...   कराउँदै ..  गुहार लगाउँदै ..  आशा व्यक्त गर्दै ...  अपेक्षा राख्दै ...

अनि यो त मुसलमानहरूका खलिफा ... अमीरुलमुमिनीन  ... अब्दुलमलिकको छोरा,, सुलैमान पनि रहे छन् ... 

सन्सारका सबै भन्दा महान राजा.. महाराजा .... 

आदिमगृह काबाको परिक्रमा गर्दैछन् .... 

नग्न शिर , खालि गोडा ... 

शरीरमाथि एउटा चादर र धोति मात्र रहेको ...

यहाँ त उ पनि आफ्ना सबै प्रजासरि  .... मुसलमान दाजुभाइ जस्तै भएका छन्....

उनको पछाडी उनका दुइ छोरा (राजकुमार) पनि रहेका छन् ....

दुवै राजकुमार सुन्दरता र सौम्यतामा पूर्णिमाको जुन जस्तै छन् ...

 र आकर्षण र ताजापनमा अर्धखुलेका कोपिला समान छन् ...

उनले परिक्रमा सकिने वित्तिकै आफ्नो साथीहरू मध्ये एउटालाई सम्बोधन गर्दै भन्छन्  ...

तिम्रो मान्छे खोई त ? ....

उसले उत्तर दिँदै भन्यो  .... उता उभिएर नमाज पढी रहेको मान्छे ....

साथै मस्जिदुल हरामको पश्चिमी कुना तिर औल्यायो ...

खलिफा र उनका दुवै छोरा पछि पछि त्यो कुना तर्फ लागी हाल्छन् ...

उनका परिजनमा कसै कसैले .... खलिफाको पछि जाने .... बाटो खुलाउने  र भीड हटाउने आग्रह गर्छन् ....

तर उनले उनीहरूलाई रोक्दै भन्छन् ...

यस ठाउँमा राजा र रैती एक समान हुन्छन् ...

कोही पनि अर्का भन्दा ठुलो हुँदैन .. स्वीकृति र इश्भयबाहेक ...

कतिपय दयनीय निर्धा.. जट्टा परेको कपाल .. धुलोले ढाकेको जिउ भएका.. अल्लाहको दरबारमा हाजिर हुन्छन् ...

अल्लाहले उनीहरुको कुरा मान्नु हुन्छ.... 

राजा महाराजाको कुरा नसुनि.. उनीहरूलाई नकारेर भए पनि.

तत्पश्चात त्यो मान्छे तिर जान्छन्  ... त्यो मान्छेलाई अहिले सम्म आफ्नो नमाज कै अवस्थामा भेटाउछन्  ... अहिले सम्म रूकू र सज्दामै व्यस्त रहेका देख्छन्  ...

धेरै जना उनी पछाडी बसेका थिए ... उनका दायाँ पनि र देब्रे पनि  ...

उ पनि मानिसहरू कै पछाडी बस्छन्  र आफ्ना छोराहरू लाइ पनि सँगै बसाउछन्  ....

दुबै कुरैशी केटा .. त्यो मानिसलाई हेर्दै थिए .. जसको निम्ति मुसलमानका अमीर यहाँ पधारेका थिए ... र साधारणा मानिसहरूसँगै बसेर उनको नमाज समाप्त हुने प्रतिक्षा गर्दै थिए ...

यो त एउटा कालो हबशी बूढो पो रहेछ ... कालो छाला ...घुम्रिएको कपाल ... थेप्चे परेको नाक ... बसेको बेला कालो काग जस्तै देखिने मानिस ....

****

त्यो मान्छेले नमाज भ्याए पछि उही दिशातिर  फर्किए जुन दिशामा खलिफा थिए ... सुलैमान बिन अब्दुलमलिकले उनलाई सलाम गरे उनले पनि सलामको उस्तै  उत्तर फर्काए ...

त्यो बेला खलिफा ऊ तिर ध्यान दिएर ... हज्जका एक एक कार्यविधि सोध्न थाले ... उनले पनि हरेक प्रश्नको जवाफ सविस्तार फर्काए ... उनका प्रश्नहरूको यस्तो विस्तृत उत्तर दिँदै ... फेरी अरू कसैलाई सोध्ने आवश्यकता नपर्ने...

सबै भनाइलाई रसूल सल्लाहु अलैहि वसल्लम सम्म जोडदै ....

खलिफाले आफ्ना सबै प्रश्नहरू सोधिसके पछि उनलाई धन्यवाद दिए .. र आफ्ना दुबै छोराहरूलाई भने ...

जाउँ.. ती दुबै पनि उभिए ... र तीनै जना मस्आ ... दगुर्ने ठाउँ तिर लागे ...

सफा र मर्वामा दौडन गइ रहँदा बाटोमा दुवै केटाले सूचना दिने कटुवालहरूको आवाज सुने,  उनीहरू कराउँदै भन्दै  थिए ...

हे मुसलमानहरू ...

यो ठाउँमा अबु रबाहको छोरा अताअ बाहेक कसैलाई फत्वा दिने ... मस्ला बताउने अधिकार छैन .. यदि उनी नभए...

त्यस पछि अबु नजीहको छोरा अब्दुल्लाह ले फत्वा दिन्छन् ....

दुवै छोरा मध्ये एउटा खलिफ तिर फर्केर सोध्छ ...

अमीरुलमुमिनीनका गभर्नरले कसरी यो आदेश दिएको छ ... यहाँ अबुरबाहको छोरा अताअ र उनका शिष्य बाहेक कसैले फत्वा दिन नपाउने हुन्छ ....

र हामी यो मानिस नेर गएर फत्वा सोध्यौँ  ... जसले खलिफाको पनि केही इज्जत गरेन र उनका मानसम्मानको हक पनि दिएन....

सुलैमानले छोरा लाई भने ....

नानी !!! अहिले  तिमीले जुन व्यक्तिलाई देख्यौ र जसको सामुन्ने हामी केही नभएको देख्यौ .... उनिनै अबु रबाहका छोरा अताअ हुन् ... मस्जिद ए हराममा मात्र फत्वा दिन सक्ने मानिस ....

ऊ यस महान सिहाँसनमा अब्दुल्लाह बिन अब्बासका उत्तारधिकारी हुन् ...

त्यस पछि भन्न थाले ...

नानीहरू ... विद्या सिक ..

विद्याले नै सानो मानिस सम्मानीय हुन्छन् ...

अपरिचित मानिस प्रख्यात हुन्छन् ....

विद्याले गर्दा दासहरू राजा महाराजाको श्रेणी सम्म पुग्छन् ....

***

विद्याको बारेमा ... सुलैमान बिन अब्दुल मलिकले आफ्नो छोरालाई जे भन्यो त्यो अत्युक्तिपूर्ण रहेन छ ...

अताअ बिन अबु रबाह पनि बालापनमा मक्काकै एउटी महिलाका दास थिए .. उनको अधिनस्थ ....

तर अल्लाहले यो कालो दासमाथि उपकार गर्नुभयो ... उनका पाइलालाई विद्याको बाटो हिडने अवसर दिइयो  ...

उनले आफ्नो समयलाई तीन भागमा विभाजित गरे ....

एक भाग आफ्नी मालिक्नीलाई दिए ...

उनको उत्तम भन्दा उत्तम सेवा गर्ने गर्दथे ... र उनको हक अधिकार सम्म राम्रो टेवा पुर्यार्उँथे ....

अर्को भाग आफ्नो स्वामी .. पालनकर्ताको लागि अर्पित गरे ... त्यो समयमा उनको उपासना गर्ने गर्दथे ... जति पावन र सफा मनले उपासना हुन सक्छ ... मात्र अल्लाहकै लागि निष्ठावान भएर .....

र तेश्रो भाग विद्या सिक्नको निम्ति .... रसूल सल्लल्लाहु अलैहि वसल्लमका साथीहरू मध्ये  जीवित रहेका साथीहरू समक्ष पुगेर .. ज्ञानको सफा र शुद्ध  मुहानबाट .. शिक्षाको अदभुत श्रोत बाट .. आफ्नो तृष्णा मेटाउन  थाले ...

यसरी उनले अबु हुरैरा, अब्दुल्लाह बिन उमर, अब्दुल्लाह बिन अब्बास, अब्दुल्लाह बिन जुबैर र अन्य सहाबाहरूसित धेरै ज्ञान प्राप्त गरे ...

आफ्नो छातीलाई रसूल सल्लल्लाहु अलैहि वसल्लमद्वारा वर्णन गरिएका शिक्षा, विद्या र बुद्धिबाट परिपूर्ण गर्न सफल भए  ....

***

जब उनकी मालिक्नीले देखिन् ... उसका दासले त आफूलाई अल्लाहकै लागि बेची सकेको रहेछ .. आफ्नो जीवन विद्याकै लागि विशिष्ट पारी सकेको रहेछ ...

उसले आफ्नो अधिकार छोडिन् ... र अल्लाहको प्रसन्नताको चाहनामा उनलाई मुक्त गरिदिइन् ...अल्लाहले उनीद्वारा इस्लाम र मुसलमानहरूलाई केही लाभान्वित तुल्याउनु हुन्छ होला भन्ने आशामा ...

त्यही दिन देखि अताअ बिन अबु रबाहले मस्जिद- ए-हरामलाई आफ्नो ठेगाना बनाए..

उसैलाई आफू बस्ने घर माने ...

आफूले शिक्षा दिने विद्यालय बनाए ...

र अल्लाहको प्रसन्नताको चाहमा.. इश्भय र अर्पणका भाव सहित गर्नु पर्ने उपासनाको ठाउँ बनाए..

इतिहासकारहरूद्वारा भनिएको छ ...

मस्जिद नै बीस वर्षसम्म अताअ बिन अबु रबाहको औछ्यान रह्यो ....

****

यो महान ताबिई ... सहाबाका अनुयायी ... अताअ बिन अबु रबाह ज्ञानको उच्चास्तर सम्म पुगी सकेका थिए .. सबै अनुमानलाई पार गरेर ...

यस्तो स्थानमा विराजमान थिए जहाँ सम्म उनका समकालीनहरू मध्ये थोरैले पुग्न सफल भएका थिए ....

भनिन्छ कि अब्दुल्लाह बिन उमर रजियल्लाहु अन्हु उम्राको लागि मक्का प्रस्थान गरे ....

मानिसहरू उनीसमक्षा प्रश्न सोध्न र फत्वा लिन आउन थाले.....

उनले भने .. मलाई आश्चर्य लाग्दै छ हे मक्कावासी हो !!!..

के मसित सोध्नका लागि तिमीहरू सबै समस्या र प्रश्नहरू जम्मा गरेर राख्छौ ... तिम्रो बीचमा अताअ बिन अबु रबाह हुन्छन् र पनि ? ....

***

अताअ बिन अबु रबाहको धर्म र ज्ञानको शिखरमा चुलिने दुइ वटा मुख्य कारण रहेका छन् ...

सर्वप्रथम उनले आफ्नो मनमाथि राम्रो कव्जा गरेका थिए ... तसर्थ बेफाइदा बस्तुमा कहिले संलग्न हुँदैन थिए ...

देश्रो आफ्नो समयमाथि पनि राम्रो पकड बनाएका थिए ... कहिले पनि फाल्तु कुरा अथवा अनावश्यक काम तिर जाँदैन्थे ....

मुहम्मद बिन सूकाले .. कूफाका एक महान विद्वान ... उनी कहाँ जाँदै गर्ने एक जमातलाई कुराकानी गर्दा भनेका थिए ...

म तिमीहरूलाई यस्तो बहुमूल्य कुरा भनूँ .. मलाई भएको लाभ जस्तै तिमीहरूलाई  पनि लाभान्वित तुल्याइ दिन्छ ?

उनीहरूले जवाफ दिए ... किन नहुने त?...

उनले भने ... मलाई अताअ बिन अबु रबाहले एक दिन उपदेश दिँदै भने ... भतिज ! .. हामी भन्दा अघि भएका मानिसहरू अतिरिक्त कुरा गर्न घृणा मान्दथे ...

मैले सोधेँ ... उनीहरूको दृष्टिमा अतिरिक्त कुरा भनेको के थियो ...

उनले भने .. उनीहरू सबै कुरालाई अतिरिक्त नै मानिन्थे ..

अल्लाह तआलाको किताबको अध्य्यन गर्नु र बुझ्ने प्रयास गर्नु बाहेक ।।।।

र 

रसूल सल्लल्लाहु अलैहि वसल्लमको हदिस .. त्यसलाई वर्णन गर्ने र कन्ठस्थ पार्ने ...र

कसैलाई भलोकाम तिर डाक्ने र अनुचित कुराबाट रोक्ने ...र

यस्तो ज्ञान जो द्वारा अल्लाहको प्रसन्नता प्राप्त गर्न सकिन्छ ...बाहेक 

कि तिमी आफ्नो खाँचो निम्ति कुरा गर अथवा  आफ्नो जिविकाको लागि ... जुन अति आवश्यक हुन्छ ...

त्यस पछि मेरो मुख तिर नियालेर हेर्दै भने ...

के तिमी इन्कार गर्छौ? ..तिमीहरूका लागि तैनाथ गरिएको छ .. निगरानी गर्ने हरू .. प्रतिष्ठित ... गतिविधिहरूलाई लेखिरहनेहरू ...

र तिमीहरू सबैको लागि दुइवटा फरिश्ता साथमा छन् ... दायाँ र बाँया तिर बसेका छन् ...मुखबाट कुनै शब्द निकाल्न पाएको हुँदैन तर त्यस नजिक एउटा निरीक्षक अवस्थित हुन्छ ...

फेरी उनले भने ... के हामीलाई लाज लाग्ने छैन यदि हाम्रो कार्य अभिलेख फैलाइयो.. जसलाई हामीले दिनको उज्यालोमा लेख्न लगाएका छौँ ...र त्यस भित्र विशेष गरी त्यही कुरा देख्यौँ, जो धार्मिक विषयसित सम्बन्ध भएको हुदैन अथवा  सान्सारिक गतिविधिसित पनि मतलब नरहेको पाइन्छ ...

***

अल्लाह तआलाले अताअ बिन अबु रबाहको ज्ञानद्वारा कतिपय मानव समूहलाई फाइदा पुर्याउनु भएको छ ...

उनीहरूमध्ये ..विशिष्ट विद्वानहरू रहेका छन् ...

पेशागक उद्यमीहरू छन् ....

यस बाहेक अरू धेरै जना ...

इमाम अबु हनिफा नुअमान बिन साबितले आफ्नो एउटा घटनाको उल्लेख गर्दै भनेका छन् ...

मैले मक्कामा हज्जको कार्यविधि पुरा गर्दा पाँच स्थानमा गलती गरें ... र मलाई एउटा हजामले सिकायो ...

कुरा यस्तो रहेछ ...मैले इह्रामबाट निस्कन कपाल खैरिन खोजें .. एउटा हजाम नेर आएर सोधेँ. ...

मेरो कपाल कतिमा खैरि दिन्छौ ? ...

उसले भन्यो.... अल्लाह तपाईँलाई सत् पथमा हिडाऊन् ..हज्जको काममा भाव सर्त हुँदैन ... बस्नुस्, जति तपाईँको इच्छा, त्यही दिइ दिनु होला..

म लज्जित भएँ र बसी हालें ... तर किब्ला तिर मुख नगरी अर्कै तिर फर्केर बसें ...

उसले इसारा गरेर किब्लातिर फर्कनको लागि भन्यो ... मैले त्यस्तै गरें ...

तर म झन लज्जित भइ सकेको थिएं ...

मैले बाँया तिरको कपाल खैरिनको निम्ति फर्काएं ..

उसले भन्यो दाँया तिरको कपाल ल्याउनुस् .. मैले दाँया तिरको कपाल फर्काएं ..

हज्जाम मेरो कपाल खैरिन थाल्यो र म मौन भएर उसलाई हेर्दै थिएँ र अचम्मित हुँदै थिएँ....

उसले भन्यो ... मौन किन बस्नु भएको छ ... अल्लाहु अक्बर भन्दै गर्नुस् ..

म अल्लाहु अक्बर भन्न थालें ... फेरी उभिएर जान लागें ...

उसले सेध्यो ... कहाँ जाँदै हुनुहुन्छ ....

मैले भने ... बसाई तिर जाँदैछु ...

उसले जवाफ दियो ... पहिले दुइ रकअत नमाज पढ्नुस फेरी जहाँ मन लाग्छ जानु होला ..

मैले दुइ रकअत नमाज पढें ..र मनमनै भने ..

ये हज्जाम जस्तो मान्छेले यस्तो कुरा गरेको रहेछ ... यो अवश्य नै कुनै विद्वान हुनु पर्छ ...

मैले उसलाई सोधें ...

मलाई हज्जको कार्यविधि तिमीले दर्शायौ ... यो कहाँबाट सिक्यौ त? ..

उसले भन्यो ... अल्लाह कसम !!! भन्दै छु तपाइ लाई ,मैले अताअ बिन अबु रबाहलाई यसरी नै गर्नु भएको देखेको छु .. त्यहीँबाट सिकेको . र मानिसहरूलाई यस्तो गर्न लगाएं ...

****

सान्सारिक ऐश्वर्य अताअ बिन अबु रबाहको पहुँचमा थियो ... तर उनले सधैँ मुख नै फेरे , हरपल त्यसलाई नकार्दै बसे ..

जीवनभरि मात्र एउटा कमीज ओढे त्यो पनि पाँच दिर्हम भन्दा कम्तीको ....

खलीफाहरूले उनलाई आफ्नो दरबारमा उपस्थित रहने आग्रह गरे .. तर उनीहरूको निमन्त्रणा स्वीकार गरेनन् ...

संसारिक लोभको डरले ... उनको धर्म र प्रलोक नबिग्रोस् भनेर .... तापनि उनीहरू समक्ष जाने गर्दथे ... यदि साधारण मुसलमानको लाभसँग सम्बन्ध हुन्थ्यो अथवा इस्लामधर्मको केही फाइदाको विषय हुन्थ्यो ....

यसै सन्दर्रभमा उस्मान बिन अताअ अलखुरासानीले लेखेको कुरालाई पनि उदाहरण स्वरूप पेश गर्न सकिन्छ ...

उनले भनेका छन् ...

म आफ्नो बुवाको साथ हिशाम बिन अब्दुल मलिकलाई भेट्न हिडेँ ,दिमश्कको नजिक पुग्दा मैले एउटा बृद्ध मानिसलाई देखेँ... एउटा कालो गधामाथि चढेको ... पुरानो कमीज लगाएको .. र एउटा फाटेको जुब्बा लगाएको ... टोपी पनि शिरमा टाँसिए जस्तो थियो र काठी काठको थियो ....

यो देखेर मलाई हाँसो छुट्यो .र.....मैले बुवालाई सोधें ...

यो को हो बा?...

उहाँले भन्नु भयो ... चुप लाग ... यिनी हिजाजका विद्वानहरूका सरदार अताअ बिन अबु रबाह हुनु हुन्छ ...

हामी नजिक पुग्दा मेरा बुवा आफ्नो खच्चर बाट ओर्लिनु भयो..र उनिपनि आफ्नो गधाबाट उत्रिए .. दुबैले एकअर्कालाई अँगालो हाले ...एक अर्काको समाचार सोधे र आफ्नो सवारीमा सवार भइ हिडे ... हिशाम बिन अब्दुल मलिकको ढोका नेर आएर उभिए ....

आएको केही छिन मै दुबैलाई प्रवेशानुमति  आयो ....

मेरा बुवा त्यहाँबाट फर्कँनु हुँदा मैले भनेँ ...

भित्र के भयो मलाई पनि भन्नुस् न ....

उहाँले भन्नु भयो ...

हिशामलाई जसरी नै  सूचना प्राप्त भयो ... अताअ बिन अबु रबाह ढोका नेर छन् .... तुरन्त उनले भित्रियाउन हुकुम दिए ...

अल्लाह कसम .. मैले पनि उनकै कारण भित्र जाने मौका पाएँ...

हिशामले उनलाई देख्न वित्तिकै भने ...

स्वागत छ स्वागत छ ... यहाँ ... यहाँ .... यसरी भन्दै थिए .... यहाँ ... यहाँ ....

र उनलाई आफ्नो सिहासनमा बसाए ... उनका गोडा उसका गोडामा टाँसियो ....

दरबार भित्र ठुलठुला मानिसहरू थिए ... सबै कुराकानी थर्दै थिए ... तर सबै चुप लागे ....

फेरी हिशामले उनी तर्फ मुखीकरण गर्दै सोधे ...

अबु मुहम्मद ... कसरी आउनु भयो ...

उनले भने .... हरमैनवासी ... अल्लाहको घरका बासिन्दा  र रसूलका छिमेकी हुन् .... उनीहरूलाई तपाईँ खानेकुरा र उपहार बकस बाँढनु हुन्छ ...

उनले भने ... अवश्य ....

हे बालक ... लेख ... मक्का र मदीनाका वासीहरूको लागि उनको दान बकस एक वर्षको निम्ति ....

फेरी सोधे ... अरू केही अवश्यक बस्तु ? ....

उनले भने .... हजुर ! हे अमीरूलमुमिनीन ...

हिजाजका बासिन्दा र नज्दका बासिन्दा ... मूल अरब हुन् .. र इस्लामका अग्रज हुन् ... उनीहरूको अतिरिक्त सद्का उनीहरूलाई नै फर्काउनु हुन्छ .....

उनले जवाफ दिए ... यस्तै हुनेछ ... हे बालक ...लेख .. उनका अतिरिक्त सद्का उनीहरूलाई नै  फर्काइने ....

अरू केही अवश्यक्ता बाँकी छ .....अबु मुहम्मद ...

उनले भने ... हजुर !  .. हे अमीरुलमुमिनीन ....

सीमावर्ती इलाकाका मानिसहरू ....तपाईँका शत्रुहरू सामुन्ने उभिन्छन् ... मुसलमानहरूका साथ नराम्रो खोज्नेहरूसित युद्ध गर्छन् ....उनीहरूको पनि भत्ता जारी गरि दिनु भए तपाईँको बख्सिस हुन्थ्यो .... यदि तिनीहरू बर्बाद भए, सीमा असुरक्षित हुन्छ ।

उनले भने ... हुन्छ ... हे बालक ..लेख ...उनीहरूको भत्ता उनीहरूलाई पुर्याइनु पर्ने .

अरू केही खाँचो रहेको छ ? ...

उनले भने ... हजुर! हे अमीरुलमुमिनीन ... जिम्मावालाहरू .... तपाईँको राज्यमा भएका गैरमुस्लिमहरू .... आफ्नो सामर्थ्य भन्दा बढी भुक्तानी दिन सक्दैनन्  .... तपाईँले उनीहरूबाट प्राप्त रकमहरूबाट आफ्नो शत्रुहरूलाई पन्छाउन मद्दत लिनु हुन्छ ...

उनले भने ... हे बालक ... लेख ...

जिम्मावालाहरूद्वारा सामर्थ्य भन्दा बढी  असुल नगरिने  ....

अरूकेही अवश्यकता बाकी छ तपाइको ? ....

उनले भने .... हजुर ... अमीरुलमुमिनीन ... आफ्नो बारेमा सधैं अल्लाहको भय राख्नु ...

याद राख्नुस् ....तपाईँ एकलै जन्मनु भयो ...

एकलै मर्नु हुन्छ ....

एकलै फेरी उठाइनु हुनेछ .....

एकलै तपाईँको सोधपुछ हुनेछ .....

अल्लाह कसम .. यहाँ तपाईँले देख्नु भएको एक जना पनि तपाईँको साथमा हुने छैन ....

हिशाम जमिन तिर सिर निहुराएर रून थाले ...

अताअ पनि उभिए र म पनि ....

जब हामी ढोका नेर पुग्यौँ   ... एक जना व्यक्ति एउटा थैलो लिएर आयो .... मलाई थाहा छैन त्यसमा के कति  थियो ... 

उसले भन्यो ... अमीरुलमुमिनीनले पठाउनु भएको हो .

उनले भने ... हाय अफसोच .... हुँदैन हुँदैन ...

र म त्यसको लागि केही बदला चाहदिनँ ... मेरो बदला त सम्पूर्ण लोकका पालनकर्ताको जिम्मामा मात्र रहेको छ ....

अल्लाह कसम ....उनी खलीफाको दरबारमा हाजिर भए ... र उनको नजिक बाट बाहिर गए ... र एक थोपा पानी पनि पिउन मानेनन् ....

****

अन्ततः अताअ बिन अबु रबाहले एक सय वर्षको उमेर पाए ....

यो अवधिलाई ज्ञान र कर्मले परिपूर्ण पारे ... र स्वच्छाचरण र इश्भयद्वारा सदाबहार बनाए ...

मानिसको अधिनमा रहेका वस्तुबाट निरपेक्ष भएर मनलाई शुद्ध बनाए ... र अल्लाहको दरबारमा भएको वस्तुको अपेक्षा मात्र गरे ...

जब उनको अन्तिम समय आयो ....

आफूमाथि सान्सारिक वस्तुको भार थोरै  पाए ....

तर अखिरतको लागि .. प्रलोकित बस्तु धेरै कमाए .....

यसका साथ साथै ....

सत्तरी हज्ज ...

सत्तरी पटक अरफातमा उभिने मौका पाए ...

अल्लाह सित उनकै प्रसन्नता र जन्नत माग्दै ...

र जहन्नम .. नर्कबाट मुक्ति खोज्दै ...

अल्लाह उनीमाथि दया गरून्......

(प्रस्तुति: मुहम्मद सुहैल नदवी)

Thursday, November 5, 2020

अन्तिम दूतका साथीहरूको जीवनचित्रका केही झझल्को: - १


□□□अबु ऐयूब अन्सारी • रजियल्लाहु अन्हु  □□□

प्रस्तुति: मुहम्मद सुहैल नदवी 

एउटा महान सहाबी, •••••• 

रसूल सल्लल्लाहु अलैहि वसल्लमको साथी ... 

नाम खालिद.. बुवाको नाम जैद ... बाजेको नाम कुलैब .... खान्दान भनेको बनू नज्जार .... रसूल सल्लाहु अलैहि वसल्लमको बाजेको मावली........

थर भनेको अन्सारी ... सबैले अबु ऐयुब उपनामद्वारा सम्बोधन गर्ने गर्द्थे ... 

●●●

हामी मध्ये कोहीपनि मुसलमान अबु ऐयुब अन्सारी सित अपरिचित अवस्य छैन होला !

उनलाई अल्लाह तआलाले .... पूर्व पश्चिममा ख्यातिप्राप्त बनाएका छन् .... सम्पूर्ण मानव जगतमा प्रतिष्ठित तुल्याएका छन् .... उनलाई महान उपकार प्रदान गरेका छन् ... उनको घरलाई पावन स्थानको रूप दिएका छन् .... आफ्नो नबी वा अन्तिम दूतको मदीनामा वासस्थान को लागि रोजेर .... मदीनाका हजारौं  घर मध्ये उनको घरलाई रसूलको आश्रय बनाएर ...  वास्तवमा उनको अभिमानको लागि यति नै प्रयाप्त रहेको छ ....

○○○

रसूल सल्लल्लाहु अलैहि वसल्लम अबु ऐयुब अन्सारीको घरमा कसरी प्रस्थान गर्नु भयो ? ......त्यसको पनि घटनाक्रम इतिहासमा ... सुरक्षित राखिएको छ ... यो सत्य कथा रोचक पनि छ र मनमोहक पनि ... तपाइको लागि आश्चर्यजनक र अनौठो पनि हुनेछ .....

घटनाक्रमको चर्चा गरौँ  ....

○○○

हिज्रतको समय हो ... मक्काबाट उहाँले मदीना प्रस्थान गर्नु भएको छ ... मदीनाको हरेक व्यक्ति उनको स्वागतको लागि तयार छ . कुनै पाहुनाले अहिले सम्म यस्तो स्वागत कार्यक्रम देखेको थिएन होला .. कुनै महान भन्दा महान व्यक्तिको सम्मान कार्यक्रम भन्दा पनि भव्य र सानदार स्वागत र अभिनन्दन ....

मायालुको आँखाभित्र रहेको माया प्रेम भन्दा बढी प्रेमभाव... लिएर उनका नेत्रहरू  बाटो पर्खी रहेका थिए .... मुटुको द्वार खुल्ला पारी त्यस भित्र बसाउन प्रतिक्षा गर्दै थिए .... उनको निम्ति घरका ढोका खोलेर सर्वश्रेष्ठ तल्लामा राख्ने निश्चय गर्दै थिए .... तर रसूल सल्लाहु अलैहि वसल्लम भने मदीना प्रवेश गरेपछि सबै भन्दा पहिले मदीनाको किनारमा रहेको आबादी कुबामा चार दिन बिताउनु हुन्छ ... त्यहाँ पहिले मस्जिदको निर्माण ... तकवा र इश्भयलाई आधार बनाइ गर्नु हुन्छ ... निसन्देह यस्तो मस्जिद जो पहिले दिन देखि ईश्भयमा बनाइयो ....... तपाईँले नमाज पढनको लागि सर्वश्रेष्ठ रहेको छ .....

○○○

चार दिन पश्चात .... आफनो ऊँटमा चढी अगाडीको बाटो लिनु हुन्छ ...यस्रिब (मदीना) का प्रतिष्ठत व्यक्तिहरू बाटोमा उभिएका छन्.... रसूल सल्लल्लाहु अलैहि वसल्लम मेरो घरमा पधार्नु हुन्छ कि क्या रे?۔۔۔۔۔۔ आशा बोकेका छन् ... मनमनै दुआ गर्दै गर्छन् ..... कल्पना गर्दैछन् ... यही अपेक्षा लिइ एक पछि अर्को सरदार ... एउटा प्रमुख पछि दोश्रो प्रमुख ... अगाढी बढ्दै विनम्र अनुरोध गर्छन् .... हे अल्लाहका रसूल !!! हाम्रो घरमा बास बस्दिनु पर्यो ....हामी जन ... शक्ति ... सामर्थ्य ... हातहतियार र शस्त्रमा परिपूर्ण छौँ ... उहाँले नम्रताका साथ उत्तर दिनु हुन्थ्यो ...

ऊँटलाई बाटो दिनुस् ...ऊ पनि आदेशकै अधिनमा छ ...

○○○

ऊँट आफ्नो बाटो हिडदै थियो ... र आँखाहरू उसलाई पछ्याउँदै थिए ... सबै आफ्नो दिल अर्पण गर्दै थिए ...

ऊँटले कुनै घर नाघ्यो भने त्यो घरकावासी दुःखी हुन्थे .... उदास भइ हाल्थे ... तर आउँदो घरवासीको मुटु भित्र आशाको ज्योति बल्न थाल्थ्यो ...

ऊँट बढदै गयो ... मानिसहरू पनि पछिपछि हिड्दै ..उसलाई पछ्याउँदै ... थिए .. मनमा उत्सुक्ता उम्रिन थाल्यो ...जिज्ञासा जाँगर भयो ... को होला त्यो भाग्यवान व्यक्ति? .. को होला यो सौभाग्य प्राप्त गर्न सक्ने मानिस?...

○○○

हेर्दा हेर्दै ऊँट एउटा खाली जग्गामा बस्यो ... यो त अबू ऐयुबको घर पो रहेछ ... उनको घरको सामुन्ने खाली ठाउँमा ऊँट बसेको छ .... तर रसूल सल्लल्लाहु अलैहि वसल्लम ऊँटमाथि नै बस्नु भएको छ ... ओर्लिनु भएको छैन... तुरन्तै ऊँट फेरी उभियो अरे .... लगाम त समातिएको छैन .. तर पनि उभियो ... केही पाइला हिडेर पुरानै ठाउँमा आइबस्यो .....

अबु ऐयुबको मन गदगद भयो ... मुटु प्रसन्न भयो ...हतार हतार आएर उहाँको स्वागत गरे ... उहाँको समान हातमा यसरी समाते मानौ۔۔۔۔ सम्पूर्ण संसारको बहुमूल्य खजाना फेला परेका छन् ...उहाँलाई लिएर आफ्नो घर तर्फ लागे ..... कति भाग्यशाली थिए अबु ऐयुब !!!!

○○○

अबु ऐयुबको घर दुइतल्ले थियो.... उनले माथिल्लो भागलाई रसूल सल्लल्लाहु अलैहि वसल्ल्मलाई दिने र आफू तल बस्ने निश्चय गरे ... माथि बाट आफ्नो र परिवारका सामन निकाले र त्यसलाई तयार गरे ...

तर अल्लाहका रसूल सल्लल्लाहु अलैहि वसल्लमले भुँइतल्लामा बस्न उचित मान्नु भयो . उनले अज्ञापालन गर्दै भने बमेजिम हुकुम स्वीकार गरे ...... र उहाँले रोज्नु भएको भुँइ तल्लोलाई नै रसुल् सल्लल्लाहु अलैहि वसल्लमका लागि राम्ररी स्याहार गरे  ....

○○○

राति हुँदा .... रसूल सल्लल्लाहु अलैहि वसल्लम आफ्नोऔछ्यानमा जानु भयो ...अबु ऐयुब र उनकी पत्नि माथि तल्लामा गए .... तर ढोका बन्द गर्न वित्तिकै अबु ऐयुबले आफनी पत्नीलाई भन्छन्  ...

हाय ... हामीले के गर्यौँ? .....

अल्लाहका रसूल त मुनि हुनु हुन्छ ... के हामी उहाँ भन्दा बस्ने !! हामी अल्लाहका रसूल् सल्लल्लाहु अलैहि वसल्लमको माथि हिडडुल गर्ने? .....  हामी रसूल सल्लल्लाहु अलैहि वसल्लम र वह्यको बीच बाधा बन्ने ?.... हाम्रो त अवश्य नै नाश हुने निश्चित छ ...

दम्पतिको होस उडेको थियो ....के गरौँ भनेर मस्तिस्कमा केही आउँदैन्थ्यो .......  उनीहरू त्यो कुना तिर समेटिएर बसे जुन कुनातर्फ रसूल सल्लल्लाहु अलैहि वसल्लम हुनु भएको थिएन. यसरी अलि आराम महसुस भयो ... अर्को ठाउँतिर जाँदा किनार किनारमा हिडेर मात्र जाने गर्दथे ... बीचको भाग देखि अलग्गै हुने गर्दथे ....

○○○

बिहान सबेरै अबु ऐयुब ... रसूल् सल्लल्लाहु अलैहि वसल्लमको समक्ष उभिएर निवेदन गरे .... अल्लाहको कसम ! .. रात भरि म र ऐयुबकी आमाले एक छिनपनि आँखा बन्द गर्न पाएका छैनौं  ।। हे अल्लाहका रसूल !

उहाँले सोध्नु हुन्छ ...किन त अबु ऐयुब?...

अबु ऐयुबले सविस्तार भने...

तपाईँ भुँइ तल्लामा बस्नु हुन्थ्यो र हामी त्यसैको माथि तल्लामा ۔۔۔۔۔ हे अल्लाहका रसुल् ... यदि हामीले हिडडुल गर्थ्यौँ  ... तपाइमाथि माटो झर्ने डर लागी रहेको थियो .... साथै हामी तपाईँ र वह्यको बीचमा बाधा बनेकाछौँ जस्तो शँका पनि हुन्थ्यो ....

रसूल सल्लल्लाहु अलैहि वसल्लमले जवाफ दिनु भयो ....

धैर्य राख हे अबु ऐयुब .... हामी कहाँ धेरै मानिसहरू भेटघाटको लागि आउने गर्छन् .... हामीलाई तल बस्दा नि अरामदायक हुन्छ ....

अबु ऐयुबले उहाँको आदेश बमेजिम माथि बस्न बाध्य भए ...

○○○

 उनले आफैं भनेका छन् ....

मैले रसूल सल्लल्लाहु अलैहि वसल्लमको आज्ञा पालना गरें ... तर एक राति ... हाम्रो गाग्रो फुट्यो .... माथि तल्लामा पानी चुहियो .... म र ऐयुबकी आमा दुवैले हतार हतार हामी सँग भएको एक मात्र सिरकद्वारा पानी पुछ्न थाल्यौँ ... रसूल सल्लल्लाहु अलैहि वसल्लममाथि पानी झर्ने डर लागेको थियो ... बिहान हुँदा म रसूल सल्लल्लाहु अलैहि वसल्लम समक्ष उपस्थित भएँ र विनती गरें ... हे अल्लाहका रसूल ... मेरो बुवा आमा तपाईँ माथि अर्पित होऊन् .... हामी माथि भएको अवस्थामा तपाईं  मुनि बस्नु भएको कुरा मेरो चित्तले मान्दैन ..फेरी रातिको घटना पनि सविस्तार भनें ...उहाँले मेरो विनति स्वीकार गर्दै माथि तल्ला चढ्नु भयो र हामी तल झर्यौँ ......

○○○

अल्लाहका रसूल सल्लल्लाहु अलैहि वसल्लम ... अबु ऐयुबको घरमा सत्रह महिना सम्म वास वस्नु भयो ... ऊँट बसेको खाली जग्गा.. किनेर त्यसमा मस्जिद निर्माण सम्पन्न भए पछि ....मस्जिदको वरि परि उहाँ र उहाँको परिवारको लागि बनाइएको कोठामा प्रस्थान गर्नु भयो .... यस पशचात पनि उहाँ अबु ऐयुबकै छिमेकी हुनु हुन्थ्यो .... दुवै छिमेकी कति मर्यादापुरूष रहेका थिए ....

○○○

अबु ऐयुबले रसूल सल्लल्लाहु अलैहि वसल्लमलाई अत्यन्तै  माया गरेका थिए ...यो माया उनको मन र मस्तिष्कमा  समावेश भइ सकेको थियो .... उहाँले पनि उनलाई यति प्रेम गर्नुभयो यो । दुवै जनाबीचको सीमा नै समाप्त भयो ....उहाँ अबु ऐयुबको घरलाई पनि आफ्नै घर समान सोच्नु हुन्थ्यो .....

○○○

उहाँको काकाको छोरा अब्दुल्लाह बिन अब्बासले वर्णन गरेका छन् ....

गर्मीको एक दिन .. दिउँसोको समय ... अबु बक्र रजियल्लाहु अन्हु मस्जिद तिर निस्के ... उनले उमर रजियल्लाहु अन्हुलाई पनि मस्जिदको छेउमै रहेको देखे.... उनले सोधे ...हे अबु बक्र ! यस समयमा घरबाट निस्कनु पर्ने कारण के हो त? उनले जवाफ दिए ... भोक को कारण निस्कनु पर्यो ... उमर रजियल्लाहु अन्हु ले पनि  म पनि त्यही कारणवश निस्केके हुँ भने ... उनी दुवै बीच सोधपुछ हुँदै थियो ... त्यही बेला रसूल सल्लल्लाहु अलैहि वसल्लम पनि उता आइपुग्नु भएछ ... दुवै सित सोध्नु हुन्छ ... तिमीहरू यो समयमा बाहिर के गर्दैछौ? ...

उनिहरूले उत्तर दिए ...हे अल्लाहका रसूल !  हाम्रो भुडिभित्र भएको प्रबल भोकले गर्दा मात्र निस्केका छौँ .....

उहाँले भन्नु भयो .... त्यो अस्तित्वको सौगन्ध जसको अधिनमा मेरो प्राण छ ... म पनि यही कारण बाहेक निस्केको होइन.. लौ दुवै जना मसँगै हिड ...

सबै उता बाट हिडे र अबु ऐयुबको ढोका निर आइ पुगे ... अबु एयुबको सधैं उहाको लागि खाना राख्ने बानी थियो .... उहाँलाई कुनै दिन ढिला हुँदा वा पुग्नु भएन भए त्यो खाना आफ्नो घरपरिवारलाई ख्वाइ दिन्थे ....

सबै जना उनको ढोका नजिक पुग्नु वित्तिकै उम्मे ऐयुब बाहिर निस्किन् र भनिन् .... स्वागत छ अल्लाहका रसूल र उनका साथीहरूलाई ....

रसूल सल्लल्लाहु अलैहि वसल्लमले सोध्नु भयो .... अबु ऐयुब कहाँ छन् ? ...

अबु ऐयुब नजिकैको बारीमा काम गर्दै थिए उहाँको स्वर सुन्ने बित्तिकै दगुर्दै आए ... र भने ... स्वागत छ हे अल्लाहका रसूल र उनका साथीहरूलाई !!!.. अनि भने ... अल्लाहका रसूल ... तपाइले जुन समयमा पधार्नु हुन्छ यो त त्यो समय होइन ? उहाँले भन्नु भयो तिम्रो भनाइ सत्य हो ....  अबु ऐयुब तुरन्त बगैँचा पुगेर एउटा खजुरको झुप्पो टिपेर ल्याए ...त्यसमा काँचो .. पाकेको र पाक्नलागेको हेरक किसिमका खजुर थियो .... 

उहाँले भन्नु भयो .... मेरो विचारमा झुप्पो नटिपेको भएपनि हुन्थ्यो . यसमा भएको पाकेको खजुर मात्र किन नटिपेको त ???

उनले जवाफ दिए ... मैले तपाईँलाई काँचो, पाकेको र पाक्न लागेको सबै स्वादको खजुर खुवाउन विचार गरें ... पर्खनुहोस् ... म एउटा बाख्रा जबह गर्दैछु ...  उहाँले भन्नु भयो .. यदि बाख्रा जबह गर्ने विचार छ भने दुध दिने बाख्रा जबह नगर्नु है ....

अबु ऐयुबले एउटा पाठा जबह गरे ... आफ्नो गृहणीलाई भने ... पीठो तयार गरी रोटी पकाउ.... तिमीले राम्रो राम्रो रोटी पकाउँछ्यौ ... उनले आफैं आधा पाठोको तरकारी बनाए र आधालाई सेकुवा ... खाना तयार गरेर उहाँ र उहाँका साथीहरू समक्ष पेश गरे .... रसूल सल्लल्लाहु अलैहि वसल्लमले मासुको एउटा टुक्रा रोटी माथि राखेर भन्नु भयो .... हे अबु ऐयुब .... यो टुक्रा फातिमालाई पुर्याइ देऊ ... उसले पनि हामी जस्तै कयौँ  दिन देखि केही खाएकी छैन .....

○○○

उनीहरू खाएर अघाए ... रसूल सल्लल्लाहु अलिह वसल्लम भन्दै हुनु हुन्थ्यो .... रोटी .. मासु ...पाकेको खजुर .. अर्धपाका ..र काँचो खजुर ... भन्दा भन्दै उहाँको आँखा अश्रुसिक्त भए . उहाँले भन्दै हुनु हुन्थ्यो ...त्यो अस्तित्वको सौगन्ध जसको हातमा मेरो प्राण छ ... यिनै अनुग्रहको बारेमा सेधिनेछौ ...यदि यस्तो वस्तु फेला पर्यो .. र तिमीहरूले त्यसमा आफनो भाग बटुल्यौ ...भन अल्लाहको नामले आरम्भ गर्छु ... यदि अघायौ भने यसरी भन ...सम्पूर्ण प्रशंसा अल्लाहको लागि मात्र हुन् जसले हामीलाई अघाउने बनाउनु भएको छ र हामी माथि आफ्नो उपकार र अनुग्रह गर्नु भएको छ ...

उहाँले अन्तमा उभिएर अबु ऐयुबलाई भन्नु भयो... भोलि हामी नेर आउनु..

रसूल सल्लल्लाहु अलैहि वसल्लमले सधैं उहाँमाथि उपकार गर्नेहरूलाई कुनै न कुनै बदला अवश्य दिनु हुन्थ्यो ... अबु ऐयुबले उहाँको कुरा सुन्न सकेनन्  ... तसर्थ उमर रजियल्लाहु अन्हुले उनलाई भने ....

रसूल सल्लल्लाहु अलैहि वसल्लमले तपाईंलाई भाेलि उहाँ समक्ष पुग्न आदेश दिनु भएको छ .... अबु ऐयुबले भने .... अज्ञापालना गर्ने छु हे अल्लाहका रसूल !

○○○

भाेलि पल्ट अबु ऐयुब रसूल सल्लल्ल्हु अलैहि वसल्लमको जुनाफमा हाजिर भए ... उहाँले उनलाई उहाँको सेवा गर्ने एउटी दासी प्रदान गरेर भन्नु भयो ... हे अबु ऐयुब ... यसको साथमा भलो व्यवहार गर.. मेरो घरमा बसुन्जेल मैले यसमा मात्र राम्रो लक्षण देखेको छु ...

अबु ऐयुब ती केटीलाई लिएर घर फर्के ... उम्मे एयुब दासीलाई हेरेर सेधिन् ... यो कसको छोरी हो ۔۔۔۔ हे अबु ऐयुब? .... उनले भने ... हामीलाई अल्लाहका रसूल सल्लल्लाहु अलैहि वसल्लमले प्रदान गर्नु भएको छ ... कति महान हुनु हुन्छ यो प्रदान गर्ने व्यक्ति र कति बहुमूल्य उहाँको पुरस्कार ... उनले भने ... हामीलाई उहाँले यसको साथ राम्रा व्यवहार गर्ने उपदेश पनि दिनु भएको छ ....

उनले साेधिन ... के विचार छ  त तपाईंको मन मा... अल्लाहका रसूलको आदेश कसरी पालना गर्न सक्छौ?

उनले जवाफ दिए ... अल्लाहका रसूलले भलो व्यवहार गर्न आदेश दिनु भएको छ ... र यसलाई मुक्त गर्नुबाहेक अरू कुनै उत्तम उपाय राम्रो  व्यवहार सरह मेरो विचारमा हुदैन हाेला ...

उनले भनिन् ... तपाई उचित निर्णयमा पुग्नु भएको छ ... मेरो नजरमा यो अति उत्तम विचार हो ....

तत्पश्चात उनले ती दासीलाई मुक्त गरिदिए ...

●●●

अहिले हामीले अबु ऐयुबको घरायसी जीवन हेर्यौँ ... उनका केही साधारण जीवनदृश्य देख्यौँ ... यदि तपाईले उनको सैन्य जीवन बारे जान्नु फुर्सद छ भने तपाईँले अझै अश्चर्यजनक कुराहरू हेर्नेछौ  ...

○○○

अबु ऐयुबले अन्तिम समय सम्म यौद्धा भएर  व्यतित गरेका रहेछन् .... उनले रसूल सल्लल्लाहु अलैहि वसल्लमको समय देखि मुअविया रजियल्लाहु अन्हुको काल सम्म मुसलमानहरूले गरेका युद्धहरू मध्ये कुनै युद्धमा गयल भएका छैनन् ....एउटै समयमा अर्को युद्ध पनि भइरहेको भए त्यो कुरा त बेग्लै हो ...

उनका अन्तिम युद्ध मुअविया रजियल्लाहु अन्हुले आफ्नो छोरा यजीदको रोहवरमा कुस्तुनतीनियालाई विजय गर्नको लागि पठाइएको सेनालाई गणना गरिन्छ ... अबु ऐयुब त्यो समय सम्म अति बृद्ध भइ सकेका थिए ... लगभग अस्सी वर्षको उमेर पुगी सकेको थियो ... तापनि यजीदको झण्डा मुनि युद्ध गर्न र समुद्रको छातीमा चढेर अल्लाहको लागि लडाइ गर्नबाट आफुलाई रोक्न सकेनन् ...

○○○

शत्रु सँग लडाई गर्दा धेरै अगाडी नगएकै बेला उनी बिरामी भए र युद्ध नगर्न सक्ने अवस्था भयो .... यजीद उनीसित भेटन पुगे र सोधे ...

हे अबु ऐयुब ... तपाईको के चाहना छ?

उनले भने .... मुसलमानका सेनालाई मेरो सलाम पुर्याइदिनुस् ... र उनीहरूलाई भन्नुस् .. अबु ऐयुबले आग्रह गरेको छ तपाईहरू शत्रुका भुमिमा अन्तिम गन्तव्य सम्म छिर्दै जानुस् •••• मेरो लाशलाई पनि सँगै लग्दै गर्नुस् ۔۔۔۔۔۔ र कुस्तुनतीनियाको पर्खालमुनि आफ्नो पाइला मुनि दफन गर्नुस् .... यति भन्दै उनले प्राण त्यागे ....

○○○

मुसलमानका सेनाहरूले पनि रसूल सल्लल्लाहु अलैहि वसल्लमको प्रिय साथीको चाहना बमेजिम शत्रुहरूमाथि एक पछि अर्का अक्रमण गर्दै  कुस्तुनतीनियाको किल्लामुनि पुगे ... अबु ऐयुबको लाश बोक्दै ... त्यहाँ उनका कब्र खनिएर माटोमा पुरिए ....

○○○

अल्लाह तआला अबु ऐयुबमाथि दया गरून् ...अल्लाहको पथमा ... उहाँकोलागि युद्ध गर्दै असल घोडाको पीठमा नै मर्ने कस्तो कल्पना गरेका थिए .. त्यो पनि अस्सी वर्षको उमेरमा .... अल्लाह उनीबाट प्रसन्न होऊन् 

○○○प्रस्तुति: मुहम्मद सुहैल नदवी○○○

समाप्त

¤¤¤¤¤¤¤¤