Wednesday, December 29, 2021

५२. सूरह अल तूरकाे नेपाली अनुवाद

 ५२. सूरह अल तूरकाे नेपाली अनुवाद

मुहम्मद सुहैल नदवी

.......................................................................................................................................................

सुरू गर्दछु अल्लाहको नामबाट जो अत्यन्त करूणामय र परम दयालु हुनुहुन्छ

१. कसम छ तूर पहाडको,

२. कसम छ लिखित किताबको,

३. फैलाइएको पानाभित्र,

४. कसम छ भरिपूर्ण गृह- बैतुल्मामूरको,

५. कसम छ अग्लो छाना - आकाशको,

६. कसम छ तरङगायित समुद्रको,

७. निसन्देह तपाईँका प्रतिपालकको सजाय अवश्य नै पुरा हुनेछ,

८. उसलाई रोक्नेवाला कोही हुने छैन,

९. जुन दिन आकाश थर थर काम्नेछ,

१०. र पहाडहरू हिडे झैं चल्नेछन्,

११. अनि त्यो दिन इन्कारीहरूको लागि पूर्णतः बर्बादी नै हुनेछ,

१२. जो वादप्रतिवादको खेल खेलि रहेका छन्,

१३. जुन दिन तिनीहरू नर्कको आगोमा ह्वात्तै धकेलिनेछन्,

१४. यही आगो हो जसलाई तिमीहरूले असत्य भन्दै थियौ ?,

१५. हेर, के यो कुनै जादु हो? अथवा तिमीहरू अब देख्दैनौ?

१६. पस त्यसै भित्र, अब सहन गर कि नगर, दुवै तिमीहरूको लागि समान नै हो, निश्चय नै तिमीहरूलाई त्यही बदला दिइँदैछौ जेा तिमीहरूले गर्ने गर्थ्याै,

१७. अवश्य नै ईशभय राख्ने व्यक्तिहरू बगैंचाहरू र सुखसयलमा हुनेछन्,

१८. खुसियाली मनाउँदै ती कुराहरू प्रति जो उनीहरूलाई उनका प्रतिपालकले प्रदान गर्नु भएको हुनेछ, तथा उनका प्रतिपालकले उनीहरूलाई नर्कको यातनाबाट पनि बचाउनु भएको हुनेछ,

१९. निसङ्कोच तिमीहरू खाऊ र पिऊ, त्यसको सट्टा जो तिमीहरू सुकर्म गर्दै थियौ,

२०. पङ्क्तिबद्ध सिँहासनमा अडेस लागाएका हुनेछन्, र हामीले मृगनयनी सुन्दर नारीहरू सँग उनीहरूको विहे गर्नेछौँ,

२१. जुन मानिसहरूले इमान स्वीकार गरे र उनका सन्तानहरूले पनि इमानका साथ उनका अनुसरण गरे, हामी उनीहरूसँगै उनका सन्तानहरूलाई पनि मिलाइ दिनेछौँ, र उनीहरूमध्ये कसैको सत्कर्मलाई घटाउने छैनौँ, हरेक व्यक्ति आफूले गरेको काम संगै बाँधिएको हुन्छ, 

२२. र हामीले उनीहरूले राेज्ने फलफूल र मासु निरन्तरताका साथ प्रदान गर्दै जान्छौं,

२३. त्यहाँ आपसमा यस्ता प्यालाहरू साटासाट  गर्दै हाेलान् जसमा न कुनै दुर्वचन हुन्छ न कुनै दुषकर्म नै ,

२४. र उनीहरूको वरिपरि उनका सेवक केटाहरू फन्को लगाउँदै हुनेछन्, मानौं तिनीहरू सुरक्षित राखिएका मणि हुन्,

२५. र उनीहरू एक अर्का तिर फर्केर आपसमा सोधपुछ गर्नेछन्,

२६. भन्नेछन्, यो भन्दा पहिले हामीहरू आफ्नो घरपरिवारमा बेसरी नै त्रसित थियौँ,

२७. तर अल्लाहले हामी माथि कृपा गर्नु भयो र हामीलाई परितापी अागाेको यातनाबाट जोगाउनु भयो,

२८. निसन्देह हामी पहिले देखि नै उहाँलाई नै पुकार्ने गर्दथ्यौँ, उहाँ अति नै कृपावान र परम दयालु हुनुहुन्छ,

२९. तसर्थ हे नबी, तपाईँ उपदेश दिँदै गर्नु हाेस्, किन भने तपाईँ आफ्नो पालनकर्ताको कृपाले न ज्येतिषी हुनुहुन्छ न बुद्धिहीन नै,

३०. के उनीहरू भन्दैछन्, यो त कवि हो, र हामी उसको समयकाे फेरबदलको पर्खाइमा छौं,

३१. तपाईँ भन्नुस्, तिमीहरू पर्खाइमा बस्दै गर, म पनि तिमीहरूको साथ पर्खनेहरू मध्ये नै हो,

३२. के उनीहरूको बुद्धिले उनीहरूलाई यही कुरा दर्शाएको छ , अथवा उनीहरू पनि सीमा नाघ्ने समुदाय नै छन्,

३३. के उनी उनीहरू यो भन्दैछन् कि उसले उसलाई आफैं रचना गरेको छ, होइन उनीहरू वास्तवमा विश्वास नै गर्दैनन्,

३४. तसर्थ यदि उनीहरू सत्यवान हुन् भने यसको जस्तै एउटा वाक्य नै ल्याउन्,

३५. के उनीहरू कुनै वस्तु बिना नै सृष्टित गरिएकाछन्, कि उनीहरू नै सृष्टिकर्ता हुन्,

३६. अथवा के उनीहरूले नै सम्पूर्ण आकाश र पृथ्वीको सृष्टि गरेका रहेछन्, बरू यिनीहरू एकीन गर्ने मानिस नै हाेइनन्,

३७. अथवा के उनीहरू सित तपाईँको स्वामीको ढुकुटी छ कि, अथवा यिनीहरू नै त्यसको अधिकृत छन्,

३८. कि यिनीहरूसित कुनै विशाल सिँढी त छैन जसकोद्वारा यिनीहरू ध्यानपूर्वक सुन्ने गर्छन्, तसर्थ उनीहरू मध्ये ध्यानपूर्वक सुन्ने व्यक्तिहरूलाई कुनै स्पष्ट प्रमाण पेश गर्नु पर्छ,

३९. के उहाँ अल्लाहको लागि छोरीहरूछन्  र तिम्रा लागि छोराहरू अरे ,

४०. के तपाईँ उनीहरूसित कुनै ज्याला माग्दै हुनुहुन्छ कि, र उनीहरू ऋणमुनि दाबीएका छन्,

४१. के उनीहरू सित पराेक्षकाे  ज्ञान छ र यिनीहरू लेख्दै छन्,

४२. कि उनीहरू कुनै छल पो गर्ने खोज्दैछन्, बरू वास्तवमा कुफ्र गर्नेहरू आफैं छलित छन्,

४३. कि उनीहरूको लागि अल्लाहको अतिरिक्त अरू कुनै स्वामी छ क्यारे, अल्लाहको अतिरिक्त जे पनि उनीहरू साझा गर्दैछन्, अल्लाह ती सबै कुराबाट पवित्र हुनुहुन्छ,

४४. यदि उनीहरूले आकाशको कुनै टुक्रालाई उनीहरू माथि खस्दै देख्ने छन् भने यो त एउटा खाताखात बादल पो हो भन्ने छन्,

४५. तसर्थ तपाईँ उनीहरूलाई छाड्नुस्, त्यो दिन सम्म जब तिनीहरू त्यो दिनलाई भोग्ने छन् जसमा यिनीहरू निर्विवेक हुनेछन्,

४६. जुन दिन उनीहरूको योजनाले उनीहरूलाई केही फाइदा पुर्याउने छैन, नत यिनीहरूको केही सहयोग नै गरिनेछ,

४७. र निसन्देह अत्याचारीहरूको लागि यो भन्दा पहिले पनि सजायहरू छन्, तर यिनीहरूमध्ये धेरै जनालाई यसको ज्ञान पनि छैन,

४८. र आफ्ना प्रतिपालकको आदेश निमित्त धैर्य राख्नुहाेस्, किन भने तपाईँ हाम्रै आँखा अगाडी हुनुहुन्छ, र आफ्ना प्रतिपालकको महिमागान गर्नु, बिहान  उठनु हुने बेला,

४९. र रातमा पनि उहाँकै महिमा वर्णन गर्नु र ताराहरू अस्ताए पश्चात पनि,

सूरह समाप्त



Wednesday, December 1, 2021

५१- सूरह अल जारियात नेपाली अनुवाद

○○○ ५१ - सूरह जारियात○○○

¤¤¤नेपाली अनुवाद: मुहम्मद सुहैल नदवी¤¤¤

*******

सुरू गर्दछु अल्लाहको नामबाट जो अत्यन्त करूणामय र परम दयालु हुनुहुन्छ ।

१. कसम छ धुलो उडाएर छर्किने बतासको,

२. अनि कसम छ भार वहन गर्ने वायुको,

३. अनि कसम छ मधुरो चल्ने पवनको,

४. अनि कसम छ आदेश वितरण गर्ने हावाको,

५. निसन्देह तिमीहरूसित जे प्रतिज्ञा गरिँदैछ सत्य नै हो,

६. र निश्चय नै प्रतिफल समुत्पन्न हुने नै छ,

७. शृङ्गारित आकाशको कसम,

८. निश्चय नै तिमीहरू विभेदक कुरामा लागेका छौ,

९. ती प्रति भ्रमित पारिन्छ त्यही व्यक्ति जो पहिले देखि नै भ्रमित छ,

१०. अडकलबाजहरू बर्बाद होऊन्,

११. जो नशामा सबै विर्सेका छन् ,

१२. सोध्छन्, प्रतिफलको दिन कहिले आउँला?

१३. जुन दिन तिनीहरू आगो माथि तताइनेछन्,

१४. चाख, आफ्नो दुष्टताको स्वाद, यही हो जसकोलागि तिमीहरू हतारिँदै थियौ,

१५. निसन्देह इश्भय राख्नेहरू बगैंचा र छहरीहरूमा हुनेछन्,

१६. उनीहरूका प्रतिपालकले प्रदान गर्नु भएका वस्तुहरू प्राप्त गर्दै हुनेछन्, निसन्देह यिनीहरू पहिले देखि नै उत्तम कार्य गर्ने व्यक्ति थिए,

१७. रातको केही प्रहर मात्रै उनीहरू सुत्ने गर्दथे,

१८. र रातको अन्तिमप्रहरमा उनीहरू उहाँसित क्षमायाचना गर्ने गर्दथे,

१९. उनीहरूको सम्पत्तिमा भिक्षार्थी र धनहीनहरूको हक हुन्थ्यो,

२०. धरतीमा विश्वास गर्नेवालाहरूको निमित्त कतिपय प्रमाणहरू छन्,

२१. तथा स्वयं तिमीहरू भित्र पनि, के तिमीहरू देख्दैनौ?

२२. र आकाशमा तिमीहरूको जीविका छ र त्यो पनि जसको प्रतिज्ञा गरिँदैछ,

२३. अनि कसम छ आकाश र धरतीका स्वामीको, निसन्देह यो कुरा परम सत्य नै हो तिमीहरूले कुराकानी गर्दै हुने जस्तो,

२४. के तपाइँले इब्राहीका सुसम्मानित अतिथिको कथा सुन्नु भएको हो,

२५. जब उनीहरू उनी निर आए, अनि उनीहरूले भने, सलाम होस्, उनले पनि भने सलाम छ, र मनमनै भन्न थाले यी त अपरिचित व्यक्तिहरू हुन्,

२६. त्यस पछि आफ्नो परिवार तिर स्वात्त गए र एउटा परिपक्व मोटो बाछो लिएर आए,

२७. अनि उनीहरूको सामुन्ने पस्के, र भने, के तपाईँहरू खानु हुन्न र?

२८. अनि उनीहरूदेखि मनमा डर पस्यो, उनीहरूले भने, नअत्तिनु, र उनलाई एउटा विद्वान छोराको शुभसमाचार सुनाए,

२९. त्यतिखेर, उनकी धर्मपत्नि कराउँदै आइन् र आफ्नो निधारमा जोरले हात ठोकिन्, र भनिन्, के एउटी बूढी बाँझोले ?

३०. उनीहरूले भने, यस्तो नै तपाईँका पालनकर्ताले भन्नु भएको हो, निसन्देह उहाँ नै तत्वदर्शी र सर्वज्ञ हुनुहुन्छ,

३१. इब्राही अ. ले सोधे, तिमीहरूको उद्देश्य के रहेको छ हे पठाइएका दूतहरू,

३२. उनीहरूले जवाफ दिए, हामी एउटा अपराधी समुदाय तिर पठाइएका छौँ,

३३. हामीले उनीहरूमाथि माटोद्वारा बनाइएका ढुँगाहरूको बर्सा गर्नको निम्ति,

३४. जुन सीमा नाघ्नेहरूको लागि तपाईँको प्रतिपालक नेर चिनो लगाइका छन् ,

३५. तसर्थ हामीले त्यहाँ जति पनि इमानवाला थिए सबैलाई बाहिर्याएका छौँ,

३६. अनि त्यहाँ हामीले मुसलमानका एक घर बाहेक पाएनौँ,

३७. र त्यहाँ हामीले एउटा निसानी छोडेका छौँ, तिनीहरूको निमित्त जो पीडादायक सजायबाट भय राख्ने गर्छन्,

३८. र मूसाको कथामा पनि, जब हामीले उनलाई स्पष्ट प्रमाणहरू सहित फिर्औन तिर पठायौं,

३९. तर फिर्औन आफ्नो शक्तिको भरमा विमुख भयो, र भन्यो, यो जादुगर हो कि बुद्धिभ्रष्ट,

४०. तसर्थ हामीले उसलाई र उसका सेनाहरूलाई समात्यौं अनि समुद्रमा फाल्यौं, र त्यो निन्दनीय व्यक्ति नै थियो,

४१. र आदको कथामा पनि, जब हामीले उनीहरूको लागि बाँझो हुरी पठायौं,

४२. जे माथि बग्थ्यो त्यसलाई भताभुङ्गै पारेर मात्र छाड्थ्यो,

४३. र समूदको कथामा पनि, जब उनीहरूलाई भनियो, तिमीहरू एक निश्चित समयसम्म मौजमस्ती गरिहाल,

४४. तर उनीहरूले अफ्ना पालनकर्ताको आदेश अवज्ञा गरे, अनि उनीहरूलाई हेर्दाहेर्दै चट्याङ्गले समात्यो, 

४५. र उनीहरू उभिन पनि सकेनन् नत बदला लिन नै पाए,

४६. र यिनीहरू भन्दा पहिले नूहका समुदायलाई पनि, यिनीहरू सबै अवश्य नै अवज्ञाकारी समुदाय नै थिए,

४७. र आकाशलाई हामीले सामर्थ्यद्वारा बनाएका छौं र हामी निश्चय नै सामर्थ्यवान हौं,

४८. र पृथ्वीलाई हामीले ओछ्याएका हौं, र हामी कस्तो उत्तम विच्छाउनेवाला हौं,

४९. र हरेक वस्तुलाई पनि हामीले जोडा जोडा बनाएका छौं, सायद तिमीहरूले उपदेश ग्रहण गरून भनेर,

५०. तसर्थ अल्लाह तिर नै दगुर, निसन्देह म तिमीहरूको लागि उहाँको तर्फबाट खुल्ला डराउनेवाला हो,

५१. र अल्लाहको अतिरिक्त अरू कुनै उपास्य नबनाउ, म तिमीहरूको लागि उहाँको तर्फबाट खुल्ला सचेतक हो,

५२. यसरी नै यिनीहरू भन्दा पहिलेका समुदायहरू तिर जो सन्देशवाहक आएपनि उनीहरूले जादुगर र पागल नै हो भन्ने गर्दथे,

५३. के यिनीहरूले एक अर्कालाई यस बापत सल्लाह दिने गर्दथे? होइन, बरू यिनीहरू सबै सीमा नाघ्ने समुदाय नै थिए,

५४. तसर्थ तपाईँ यिनीहरू तिर बाट मुख फर्काइ हाल्नु होस्, तपाईँ माथि कुनै लान्छना हुनेछैन,

५५. र अर्ति उपदेश दिँदै गर्नु, किन भने इमानवालाहरूको लागि अर्तिउपदेशले नाफा दिन्छ,

५६. र मैले जिन्न र मनुष्यको सृष्टि मात्र मेरै उपासनाको लागि गरेको हो,

५७. म उनीहरूसित जीविका चाहदिँन र मलाई उनीहरूले खुवाउनु पर्ने लालसा पनि छैन,

५८. निसन्देह अल्लाह नै जीविका प्रदानकर्ता, परम शक्तिशाली र अति प्रबल हुनुहुन्छ,

५९. अनि अवश्य नै जसले अपराध गरेका छन्, उनीहरूलाई उनका साथीमित्रहरू जस्तै फाँट मिल्नेछ , तसर्थ उनीहरूलाई हतारिनु पर्दैन,

६०. अनि अवज्ञा गर्नेहरूको लागि पूर्ण बर्बादी नै छ, त्यो दिनमा जसको प्रतिज्ञा गरिँदै छ,

(नेपाली अनुवाद: मुहम्मद सुहैल नदवी)

¤¤¤¤¤



Saturday, November 27, 2021

५०- सुरह काफको नेपाली अनुवाद

 सूरह काफ

(नेपाली अनुवाद: मुहम्मद सुहैल नदवी)

सुरू गर्दछु अल्लाहको नामबाट जो अत्यन्त करूणामय र परम दयालु हुनुहुन्छ। 

१, काफ, महिमामय  कुर्आनको कसम, 

२, बरू उनीहरू नै अचम्म परे,  उनीहरूमध्ये नै एउटा सचेतक उनीहरूसमक्ष आइपुग्दा, अनि काफिरहरू भन्न थाले, यो त एउटा अचम्म कुरा पो रहेछ,

३, के हामी जब मर्छौँ र माटो बन्छौँ,? यो त अति टाढाको वापसी हुने पो रहेछ, 

४, हामी अवश्य नै जान्दछौँ , पृथ्वीले उनीहरूमध्ये जे कम्ती गरीरहेको छ र हामी नेर एउटा सुरक्षित अभिलेख छ,

५, परन्तु उनीहरूले सत्यलाई नै झुठ ठहर गरे जब त्यो उनीहरू समक्ष आइ पुग्यो, तसर्थ उनीहरू अन्यौल अवस्थामा छन्,

६, के उनीहरूले आफूमाथि आकाशलाई हेरेनन्? त्यसलाई हामीले कस्तो बनायौँ र त्यलाई कसरी सजायौं, र त्यसमा कुनै क्षिद्र पनि छैन,

७, र पृथ्वीलाई पनि । हामीले त्यसलाई फैलायौ र त्यसमा पहाडहरूलाई स्थापित गर्यौँ,र त्यसमा विभिन्न आकर्षक वस्तु उमार्यौँ

८, हरेक प्रायश्चित्ती भक्तको दृश्यावलोकन र उपदेशका निमित्त,

९, र हामीले आकाशबाट माङ्गलिक पानी बर्सायौँ, अनि त्यसद्वारा बगैँचाहरू र काटिने अन्नहरू उमार्यौँ, 

१०, तथा अग्ला खजुरकावृक्ष हरू पनि, जसमा तहतह भएका झुप्पाहरू छन् ,

११, भक्तहरूको जीविका स्वरूप । अनि हामीले त्यसको माध्यमले मृत भूमिलाई जीवित पार्यौँ, यसरी नै जीवित भएर निस्कनु पर्ने हुने रहेछ, 

१२, यिनीहरू भन्दा अघि नूहको समुदाय, रसका बासिन्दा र समूद जातिले झूठो ठानेका थिए,

१३, र आद जाति,फिर्औन र लूतका बान्धवहरूले पनि,

१४, ऐका बासी तथा तुब्बअका समुदायहरूले पनि, सबैले सन्देशवाहकहरूलाई झूठा भने, फलस्वरूप चेतावनी सत्य भयो, 

१५, के हामी प्रथम पटक सृष्टि गर्दा असमर्थ्य रह्यौँ? किन्तु यिनीहरू पुन:सृष्टि बारे शंकामा छन्,

****

१६, र निश्चय नै हामीले मनुष्यको सृष्टि गरेका हौँ र उसको मनले उसलाई जे भन्दछ त्यो हामी जान्दछौँ,हामी उनीहरू सित गर्धनको नासा भन्दा पनि निकट छौँ,  

१७, जब दुइ प्राप्तकर्ताले प्राप्त गर्छन् दायाँ र बाँया बसी बसी, 

१८, उसले जो पनि कुरा भन्दछ त्यसको समीप एउटा निरीक्षक मुस्तैद हुन्छ,

१९, तथा मृत्युको बेहोसी सत्यसाथ आइ पुग्छ, यही हो जसबाट तिमी भाग्दै थियौ, 

 २०, र सूर फुँकिने छ, त्यही वाचाको दिन हो,

२१, र प्रत्येक व्यक्ति आउनेछ र त्यसको साथमा एउटा हँकुवा र एउटा गवाह हुनेछ, 

२२, निसन्देह तिमी यस कुराको उपेक्षा गर्दै थियौ, अनि हामीले तिम्रो माथिको तिम्रो पर्दा हटाई दिएका छौँ,आज तिम्रो दृष्टि तीक्ष्ण भएको छ,

२३, उसको सँगीले भन्नेछ, मनेर जे छ तयार छ,

२४, तिमीहरू दुवैले नर्कमा फ्याँकी देउ, हरेक जिद्दी काफिरलाई, 

२५, भलो कामबाट बेसरी रोक्ने अत्याचारी सन्देहीलाई, 

२६, जसले अल्लाहको अतिरिक्त अरू उपास्य बनाएको थियो, तिमीहरू दुवैले उसलाई कठोर यातनामा मिल्काइ देउ, 👌

२७, उसको सङ्गतीले भन्नेछ, हे हाम्रा प्रतिपालक, मैले उसलाई बिगारेको थिइँन, तर उ आफैँ परको पथभ्रष्टतामा थियो, 

२८, (अल्लाहले भन्नु हुन्छ), मेरो सामु तिमीहरू वादविवाद नगर,निश्चय नै मैले पहिले नै चेतावनी दी सकेको छु,  

२९, म नेर बक्तव्य बदलिँदैन तथा म भक्तहरू प्रति अन्यायी पनि छैन, 

*****

३०, जुन दिन हामी नर्कलाई भन्नेछौँ,के तँ भरिइस ? उसले भन्नेछ, अरू केही छ र?

३१, र जन्नत अथवा स्वर्ग ईश्भय राख्नेहरूको निकट ल्याइनेछ, अति समीप, 

३२, यही हो जसको लागि तिमीहरू सित प्रतिज्ञा गरिँदैछ, सम्पूर्ण प्रतिगामी रखवारे व्यक्तिहरूको लागि,

३३, जो अत्यन्त करुणामय अल्लाह सित नदेखीकन डराउँदछ र  रुजु गर्ने मनको साथ आउनेछ, 

३४, यसमा निश्चन्तताको साथ प्रवेश गर, यो अनन्तताको दिन हो,

३५, उनीहरूको लागि त्यो सबै हुन्छन जो उनीहरूले कामना गर्छन् र हामी नेर त्यसको अतिरिक्त पनि छ, 

३६, र यिनीहरू भन्दा पहिले कैयौं समुदायहरूको हामीले विनाश पारेका छौँ , जो यिनीहरूभन्दा अधिक पराक्रमी थिए र तिनीहरू भूमिमा कति भौँतारिए? फिरारको कुनै ठाउँ छ र ?

३७, निश्चय नै यसमा शिक्षा छ उनीहरूका निमित्त, जो सँग ह्रदय छ अथवा मनको उपस्थितिले सुन्ने गर्दछ,

३८, र निसन्देह हामीले नै सम्पूर्ण आकाश र पृथ्वी तथा दुवै बीच रहेका सबै वस्तुहरूलाई छ दिनमा निर्माण गरेका हौं र हामीलाई कुनै थकाइले पनि छोएन, 

३९, तसर्थ उनीहरू जे भन्दैछन, त्यसप्रति धीरता राख्नु,र आफ्ना प्रतिपालकको महिमागान गर्नु, सूर्योदय भन्दा पहिले र सूर्यास्त पछि,  

४०, र रातमा पनि उनैको महिमागान गर्नु र नमाजहरू पश्चात पनि,

४१, र ध्यानपूर्वक सुन्नु, जुन दिन एउटा पुकार्ने व्यक्ति एउटा नजिकैको स्थानबाट पुकार्छ, 

४२, जुन दिन भयंकर आवाजलाई बराबर सुन्नेछन्, त्यही निस्कनु पर्ने  दिन हो, 

४३, निश्चय हामी नै जीवन प्रदान गर्छौँ र मृत्यु दिन्छौं,र हामी तर्फ नै फर्किनु छ, 

४४, जुन दिन उनीहरूप्रति भूमि तीव्रताका साथ फाट्नेछ त्यो हाम्रोलागि सहजपूर्ण भेला पार्नु नै हो,

४५, हामी राम्ररी जान्दछौँ उनीहरूले के भन्दैछन्, र तपाईँ उनीहरूमाथि निरङ्कुश पनि हुनुहुन्न, तसर्थ कुर्आनद्वारा अर्ति दिँदै गर्नु उसलाई जसले मेरो चेतावनीबाट डराउँछ ।

सूरह समाप्त 



Saturday, November 20, 2021

नबी दिवसको सन्देश

●●● नबी दिवसकाे सन्देश●●●

¤¤¤¤ प्रस्तुति: मुहम्मद सुहैल नदवी¤¤¤¤

**************************************

रबिउल् अव्वलकाे महिना, अथवा बसन्त ऋतु, हरियाली याम, रङ्गीचङ्गी र सुगन्धित फूलपात र काेपिलाकाे मौसम प्रत्येक वर्ष आउँछ र सबैमा खुसियाली, हर्षोल्लास, मौजमस्तीको तरङ्ग ल्याउँछ । 

तर इस्वी सम्बत ५७१ को बसन्त ऋतुले सम्पूर्ण जगतमा सुसियाली, रङ्गीचङ्गी, बासना, सुगन्ध र उज्यालोको नयाँ बिहानी उदाएको थियो । जसले गर्दा मानवतामाथि छाइएको शिशिर ऋतु समाप्त भएर बसन्तको आगमन भयो, मनुष्य जातिको घाउघाउ भएको शरीरमा नयाँ मल्हम लगाइयो, अन्तिम सास तानीरहेको जगतको छाती भित्र सफा सुघर र सुगन्धित जीवनको प्रवाह बग्न थालियो, निराशाको वातावरण बदलिन लाग्यो, आशाको दिप्ति जगमगाउन थालियो, शोकगीतको सट्टा हर्षोल्लासको सङ्गीत गुनगुनाइन प्रारम्भ भयो ।

किन भने यसै महिनामा मानवका ताज, मनुष्य जातिको प्रतिष्ठा, आदमको सन्ततिको उद्धारकर्ता तथा मुक्तिदाता, जगतदयालु हज्रत मुहम्मद मुस्तफा सल्लल्लाहु अलैहि वसल्लमको सुमङ्गलमय आगमन भएको थियो, यसै महिनामा ९ वा १२ को पुण्य तिथिमा उहाँको शुभ जन्म भएको थियो ।

उहाँको आगमनले जगतको एउटा अनौठो युग प्रारम्भ भयो, काल र समयले अपूर्व भावको अनुभव  गर्यो, परिवर्तन, समुन्नति, प्रतिष्ठा, मानसम्मान र मानवताको उद्देश्यको नयाँ कर्मभूमि सृजना भयो, न्याय, निसाफ, माया, करूणा, व्यवहार, लेनदेन, कर्म, मर्म, धर्म, उपासना, दायित्व र जिम्मेवारी, नियम, कानुन, ऐन र संहिता, मार्गदर्शन र दार्शनिक विचारधाराको वास्तविक अर्थ र उत्तम तात्पर्य खुल्न गयो, ज्ञान र शिक्षा, विद्या र तत्वदर्शिताको अद्भुत मूलको उत्पत्ति भयो, संसारले गुमाएको सत्यको बाटोतिर औल्याइएर सीधा र समथर बाटोमाथि हिडाइयो ।

यस्तो महान कृतिको सम्झनामा हरेक बर्ष यो दिवस मनाइने गरिन्छ र उही महान परिवर्तनको स्मरण गरी नबी सल्लल्लाहु अलैहि वसल्लमले दर्शाउनु भएका कुराहरूमाथि फेरी मानवजातिलाई फेर्ने, उहाँका सन्देशहरूलाई सबै तिर पुर्याउनु पर्ने बाचा र अठोठ दोह्रयाइन्छ ।

किन भने वास्तवमा उहाँको जीवनशैलीलाई अङ्गालिएर र उहाँको सन्देशलाई सन्सार भरी फिँजाएर नै यस महान दिवसको वास्तविक मर्म सम्म हामी पुग्न सक्छैं ।

(मुहम्मद सुहैल नदवी)

¤¤¤¤¤¤



Saturday, October 16, 2021

पूर्ण जगतका एक विधाता

 पूर्ण जगतका एक विधाता

***सुहैल अन्सारी ***


पूर्ण जगतका एक विधाता

सबै जीवनका पालनकर्ता 

को हुन्? आज खोज्नुपर्छ 

ज्ञानको जोति बाल्नु पर्छ 

दिलको नयनले रोज्नु पर्छ 

पूर्ण जगतका एक विधाता 

            *****

सच्चाईको समथर बाटो 

मुक्तिवनको सुन्दर बाटो 

आशा बोकी हिड्नु पर्छ 

जीवन पीडा बोक्नु पर्छ 

दुखसुख सबमा बोल्नु पर्छ 

पूर्ण जगतका एक विधाता 

सबै जीवनका पालनकर्ता 

           *****

मनको सब अँध्यारो फेरी 

उज्यालो सन्देश अँगाली 

अन्धोलाई देख्नु पर्छ 

बैह्रोलाई सुन्नु पर्छ 

गुँगोलाई भन्नु पर्छ 

पूर्ण जगतका एक विधाता 

सबै जीवनका पालनकर्ता 

             ****

          सुहैल अन्सारी

Sunday, October 3, 2021

शान्तिका दूत: मुहम्मद सल्लल्लाहु अलैहि व सल्लम

सबैतिर अन्ध्यारो को शासन थियो,  ..... कुफ्र र अनास्थाको अन्धकारमा कुनै ज्योतिको कामना गर्ने असम्भव थियो,.....  मानौं अमावस्यको कालो रात विश्व भरि फैलिएको छ,  ...... कुनै दीपक,कुनै कान्तिको श्रोत,उज्यालोको कुनै मूल, अथवा प्रकाशको कुनै साधन फेला पर्दैन्थ्यो ,.......  सृष्टिकर्ताको तर्फबाट विभिन्न युगमा पठाइएका भानुसरि महान अस्तित्वहरूको सम्झना हराएको थियो,..........  उनीहरूले छर्नुभएका प्रकाशका किरणहरूको कुनै कुनै अंश बाँकी रहँदापनि ती अंशहरूले स्वयं आफ्नो उपस्थिति जनाउन र अस्तित्व जोगाउन विफल भई सकेका थिए,........  मानवले मानवताका पाठहरू युगौं देखि बिर्सी सकेका थिए, ........ अत्याचार र दमनको शासन मात्र थियो , ....... गरिब र निस्सहायलाई शक्ति र बलले आफ्ना खुट्टामुनि च्यापेर पीठो बनाउँदै थियो,........  मानवले मानवलाई दास र भक्त बनाउँदै थिए, ....... उनीहरूले कमजोर मनुष्य र पालुवा जनावर बीच कुनै भिन्नता पनि छ जस्तो ख्याल पनि मस्तिष्कमा छिराएका थिएनन्, ........ महिला र अनाथ प्रति क्रुरता र निर्दयताको कुनै सीमा र हद बाँकी रहेको थिएन , ....... एक पालनकर्ता कासाथ हजारौँलाई मात्र आफ्नो शक्ति अभिवृद्धिको निम्ति रोज्दै थिए, ....... आदमको सन्ततिले यस सन्सारमा पठाइनुको उद्देश्यहरूलाई बिर्सेर .... . शक्तिको प्रदर्शन,सामर्थ्यको देखावट, साम्राज्यको विस्तार, आभूषणको सजावट, बहुमूल्य पहिरन  र स्वादिष्ट भोजनमा मात्र सीमित भई सकेका थिए, ........ निसाफ र न्याय भनेको आदिकथामा मात्र सुन्ने गर्दथे, ....... तुच्छ कारणले गर्दा समुदाय र जातिबीच सल्केको युद्धको आगो बर्षौँ निभ्दैन्थ्यो,  ....... सबै नियम कानुन दबाइएका वर्गहरूको लागि मात्र हुन्थे,........  उच्च वर्ग हरेक नियम कानुन भन्दा आफूलाई माथि ठान्ने गर्थे, ....... उनको मुखै कानुन हुने गर्दथ्यो,  ........ 

*******

यस्तो अवस्थामा मक्काको घाटीबाट शान्तिको सूर्य उदायो, ........  पालनकर्ताको तर्फबाट प्रकाशमय दूत ओर्लिए,..........  सृष्टिकर्ताको चिनारीको निमित्त जसले विश्वलाई अनौठो सन्देश पुर्याए,  ......... निरन्तर प्रयासले गर्दा हल्लिएको धरातललाई आफ्नो स्थानमा राखी सन्सारलाई नयाँ गोरेटो देखाए, ........ मानवतालाई चिहानको मुखमा पुरिनुबाट जोगाएर त्यसको उत्थान गरी उन्नतिको आकाशसम्म उचाले,  ......... अनाथ रअसहाय,  महिला र  दास पिछिडिएका वर्ग र मिचिएका समुदायहरूको समुन्नतिद्वारा ........ न्याय,निसाफ, समानता,  मानमर्यादा र अधिकारमा त्यस उचाई सम्म उकासे......  जो भन्दा माथि वा तल गर्नु मानव जातिको हकमा घातक हुन्छ,......

  शान्तिका यी दूत हुन् ......... 

हज्रत मुहम्मद मुस्तफा सल्लल्लाहु अलैहि वसल्लम,  .......

सबै मानवमा सर्वश्रेष्ठ,  ........ 

सबै सन्देशवाहकका सरदार, ........

******

कुनै माताले जन्माइनन् यस्तो मनोहर बाल 

कुनै आँखाले देखेको छैन यस्तो सुन्दर भाव 

हरेक त्रुटीबाट बचेर जन्मेका छौ जस्तो 

आफ्नो जन्मको लागि आफैँ दिएका थियौ सुझाव

*******

प्रस्तुत कर्ता: मुहम्मद सुहैल नदवी 



Monday, May 10, 2021

अन्तिम दूतका साथीहरूको जीवनचित्रका केही झझल्को - २१

 ●•● बराअ बिन मालिक अन्सारी ●•●

□•□• रजियल्लाहु अन्हु •□•□

००० { प्रस्तुति: मुहम्मद सुहैल नदवी }०००

○○○○○○○

_________________________


○ मैलो जिङ्ग्रिङ्ग कपाल भएको .... 

दाउरे जिउ... 

सुख्खे हाडको व्यक्ति ... 

देख्ने व्यक्तिको दृष्टि उनीमाथि पर्दा ....

उनलाई वेवास्ता गर्दिन्थ्यो ....

तर यस अवस्थामा पनि उनले सयौं शत्रुलाई एक्लै लडाइमा मारेका थिए .... 

सेनाको साथमा भएका युद्धहरूबीच शत्रुलाई मासेको कुरालाई यसमा गणना नगर्नुस् .....

ती हुन साहसी ... पराक्रमी ... आक्रमक यौद्धा ......

जसको बारेमा उमर फारूक रजियल्लाहु अन्हुले आफ्ना सबै गभर्नरहरूलाई लेखेका थिए कि ........ 

यिनलाई कुनै मुसलमान सेनाप्रति पृतनापति नबनाउने..... 

सायद आफ्नो आक्रमक स्वभावले गर्दा उनीहरूलाई पनि मृत्युको मुखमा पुर्याइ दिन्छन् भन्ने डर लागेर ...

ती हुन् बराअ बिन मालिक अन्सारी रजियल्लाहु अन्हु.... 

रसूल सल्लल्लाहु अलैहि वसल्ल्मका विशिष्ट सेवक अनस बिन मालिकका दाजु....

यदि मैले बराअ बिन मालिकका जोखिमपूर्ण कृतिहरूका सबै घटनाहरू वर्णन गर्न चाहें भने धेरै लामो कथा हुन जान्छ होला....

 र सयौ पानामा पनि सकिदैन होला.... 

तसर्थ उनका कृतिमानबाट एउटा कथा मात्र सुनाउन गइ रहेको छु .... 

यसै कथाद्वारा बाँकीको अनुमान गर्न सकिन्छ ...

*******

○ यो कथा सुरु हुन्छ रसूल सल्लल्लाहुको निधन र उहाँले महान मित्र अल्लाह सित भेट्नु जानु भएको बेलाको पहिलो क्षणबाट नै .... 

किन भने  त्यो समयदेखि अरबका समुदायहरू अल्लाहको धर्मबाट समूह समूहमा फर्कन थालेका थिए ... 

यस धर्म भित्र जमात जमात गरी प्रवेश भए झैं .... 

अन्ततः इस्लाममा मात्र मक्का, मदीना, ताएफ र विभिन्न स्थानका केही समुदाय र जमातहरूमात्र इस्लामको पथमा कायम रहेका थिए....

 जसलाई अल्लाहले इमान र आस्थामा अडीग राखी राख्नु भएको थियो, त्यति मात्र ....

*******

○ अबु बक्र सिद्दीक रजियल्लाहु अन्हु यस विनाशकारी घातक उपद्रवको सामु अडीग रही मजबुत पहाडहरू झैँ उभिए.......

 र मुहाजिर र अन्सारद्वारा एघार वटा सेनाको समूह तयार पारे .....

 यी सबै एघार सेनाका पृतनापतिहरूलाई एघार वटा झण्डा  प्रदान गरे .... 

सबैलाई अरबका नजिक र दुर्गम क्षेत्रमा धर्मबाट विमुख भएकाहरूलाई सत्यमार्ग र उत्तमबाटो तिर फर्काउनका निम्ति पठाए .... 

सीधामार्ग त्यागेकाहरूलाई तरवारको भरमा बाटो दर्शाउनको लागि पनि....

यी मुर्तद अथवा विमुख भएकाहरू मध्ये सबै भन्दा शक्तिशाली यौद्धालु......

 र सङ्ख्यामा पनि धेरै भएको बनु हनीफा समुदाय थियो...... 

 झुठो मुसैलमाको समुदाय.....

मुसैलमाको लागि उसको समुदाय र सहयोगीहरू मध्ये चालीस हजार वीर यौद्धाहरू भेला भएका थिए .....

यिनीहरू खास गरी समप्रदायिक नीतिले गर्दा उनका साथमा थिए .... 

उसमाथि आस्था भएर भनेको होइन ...

यसैमा कोही कोही मानिसहरू भन्ने गर्दथे ...

म स्वीकार्दैछु मुसैलमा झुठो हो र मुहम्म्द सत्यवान् ....

तर रबीआको झुठो व्यक्ति हामीलाई मुजरको साँचो व्यक्ति भन्दा बढी प्रिय छ....

*******

○ मुसलमानको पहिलो सेना जो इक्रमा बिन अबु जह्लको नेतृत्वमा युद्ध गर्न गएको थियो उसलाई मुसैलमाले पराजित गर्यो ....

 उनीहरू पराजित भई रणभूमि छाडेर फिर्ता आए ....

तसर्थ मुसलमानहरूका अमीर अबु बक्र सिद्दीक रजियल्ल्हु अन्हुले हज्रत खालिद बिन वलीदको नेतृत्वमा अर्को सेना पठाए ..... 

त्यस सेनामा अन्सार र मुहाजिर मध्ये ठुलठुला सहाबीहरू समावेश गरेका थिए ... 

उनीहरूकै अग्रिम दलमा बराअ बिन मालिक अन्सारी र अन्य केही पौरुषार्थी मुस्लिम यौद्धाहरू पनि थिए ....

*******

○ दुवै सेनाको मुठभेड नज्दमा पर्ने यमामाको रणभूमिमा भयो ....

 केही छिनमा नै मुसैलमा र उनका साथीहरूले युद्ध जित्ने स्थितिमा पुगे .... 

मुस्लिम सेनाको पाइला मुनिको भुइँ खस्कने अवस्थामा पुग्यो ....

 उनीहरू आफ्नो ठाउँबाट पछाडी हट्न बाध्य भए .... 

दुस्मन सेनाहरू मुसलमानका सेनापति खालिद बिन वलीदको खेमा सम्म आइ पुगे .... 

खेमालाई उखेलिदिए ... 

उनकी पत्नीलाई मार्न तत्पर थिए तर उनीहरू मध्येको एक जनाले उनलाई शरण दिए पछि उनी जोगिइन् ...

त्यो बेला मुसलमानहरूले ठुलो  खतरा महसुस गरे .... 

उनीहरूलाई बोध भयो कि यदि उनीहरू आज मुसैलमाको सेनाद्वारा पराजित भए भने फेरी कहिल्यै पनि इस्लामको उत्थान हुनेछैन .... 

र कहिल्यै पनि  अरबको द्वीपमा एकल अद्वितीय अल्लाहको उपासना हुने सम्भव छैन .....

खालिद बिन बलीदले आफ्नो सेना तर्फ ध्यान दिए ... 

उनीहरूलाई पुनः व्यवस्थित गरे ....

मुहाजिरहरूलाई अन्सारबाट छुटाए ...

गाउलेहरूलाई शहरीहरूबाट अलग गरे ...

हरेक परिवारका सदस्यलाई एउटा झण्डा मुनि भेला गरे ... 

यसरी युद्धमा हरेकको पौरख्याइलाई हेर्न सकिन्छ ... 

र कुन ठाउँमा मुसलमान कम्जोर हुँदैछन् भन्ने कुरा पत्ता लगाउन सरल हुनेछ भनेर....

*******

○ फेरी दुवै सेना बीच घमासानको युद्ध सुरु भयो ....

 मुसलमानहरूको युद्ध मध्ये कहिले पनि यस्तो युद्ध भएकै थिएन ...

 मुसैलमाको समुदाय र सहयोगीहरू पनि रणभूमिमा पहाड झैं उभि रहे ... 

आफ्ना हजारौं मानिस मारिए पनि उनीहरूले केही पर्वाह गरेनन् ...

 मुसलमानहरूले पनि वीरता र साहसको यस्तो कृति कायम गरे कि.....

 यदि यसलाई कुनै कवितामा उल्लेख गरिन्थ्यो भने त्यो वीरगाथा मध्ये एउटा अदभुत काव्य बन्न पुग्थ्यो होला ....

यो साबित बिन कैस हुन् ..... 

अन्सार समुदायका ध्वजावाहक.... 

शरीरमा तेल मल्छन् ... कफन (कात्रो) ओढ्छन् ...

आफूलागि भुइँमा एउटा खाल्डो खन्छन् ....

घुँडा सम्म छोप्ने गरी त्यस भित्र उभिन्छन् ... 

आफ्नै ठाउँमा अडिग रही आफ्नो झण्डाको रक्षा गर्दै पराक्रमीको परिचय दिँदै शहीद भएर जमिनमा ढल्छन् ....

यो जैद बिन खत्ताब हुन् .....

उमर बिन खत्ताब रजियल्ल्हु अन्हुमाका भाइ .... 

मुसलमानहरू बीच कराउँदै भन्छन् ....

हे मुसलमानहरू हो ... आफ्नो दाँतमाथि दाँत मजबूतीसाथ जमाउ ... 

शत्रुहरूलाई मार्दै जाउ .. र अगाडी बढदै जाउ ...

हे मानिसहरू .... म यस पछि एउटा शब्द पनि बोल्दिन .... 

या त मुसैलमा पराजित हुन्छ ... कि म अल्लाह तआला समक्ष पुग्छु .... र आफ्नो प्रमाण पेश गर्नेछु ....

त्यस पछि शत्रुमाथि अक्रमण गर्न थाले .... 

र युद्ध गर्दा गर्दै शहीद भए .....

यो अबु हुजैफाले मुक्त गरेका दास सालिम हुन् .....

 मुहाजिरहरूको झण्डा बोकेका छन् .... 

उनका समुदायले उनी प्रति कम्जोर हुने अथवा साहस न देखाउन सक्ने भय व्यक्त गर्दै भन्छन् ....

हामीलाई तिमीद्वारा केही नराम्रो हुने भय लाग्दैछ ....

उनले उत्तर दिँदै भन्छन् ....

मद्वारा यदि तिमीहरूमाथि केही कलङ्क आयो भने म  कुर्आन याद राख्ने एउटा अगतिलो व्यक्ति हुनेछु ...

उनले पनि साहसका साथ शत्रुमाथि आक्रमण गरे र युद्ध गर्दै शहीद भए ....

तर यिनीहरू सबैको साहस र पौरख बराअ बिन अजिबको साहसको दाँजोमा कम्ति नै छ.....

उनको कथा यस्तो रहेको छ ...

जब खालिद बिन वलीदले रण जमेको देखे ...

उनले बराअ बिन मालिक तिर फर्केर भने .....

हे अन्सारी जवान .... शत्रु तिर ध्यान देऊ...

तसर्थ बराअ बिन मालिकले आफ्नो समुदाय अन्सार तिर फर्केर भन्न थाले ...

हे अन्सारका समूह ..... तिमी मध्ये कसैले मदीना फर्कने विचार नगर ...  

आज पछि तिमीहरूकालागि मदीना रहेन ...

अहिले तिमीहरूको लागि अल्लाह मात्र हुनुहुन्छ...... या त स्वर्ग ....

यो भनेर शत्रुहरूमाथि आक्रमण गर्न थाले ... 

उनका समुदायले पनि उनका साथ आक्रमण सुरू गरे .... 

शत्रुका दलका दल फर्काउन थाले ... 

अल्लाहका दुस्मनका घाटी रेटन थाले .... 

उनीहरूका तीव्र आक्रमणले गर्दा मुसैलमा र उनका साथीहरूका पाइला डगमगाए ... 

उनीहरू बगैँचामा शरण लिन बाध्य भए .... 

त्यसै बगैँचालाई पछि इतिहासमा मृत्युको बगैँचाको सँज्ञाद्वारा चिनिएको छ .... 

त्यो दिन त्यस भित्र असङ्ख्य मानिसहरू मारिएका कारणले गर्दा ....

*******

○ मृत्युको यो बगैचा धेरै  फराकिलो ठाउँ र अग्लो पर्खालले घेरिएको बगैँचा थियो .... 

त्यहाँ मुसैलमा र उनका हजारौँ सहयोगी सेनाहरूले द्वार बन्द गरे ....

 बगैँचाको अग्लो हाता भित्र आफूलाई सुरक्षित बनाए .... 

र यसको भित्री भागबाट मुसलमाहरूमाथि तीरको वर्षा गर्न थाले .... 

यो तीरहरू बर्षाको झरी जस्तै मुसलमानहरूमाथि बर्सने गर्थे...

यस बखत मुसलमानका साहसिलो र बहादुर यौद्धा बराअ बिन मालिक अगाडि आएर भने ....

हे साथी हो .... मलाई एउटा ढालमाथि राख... 

र ढाललाई आफ्ना भालाहरूले उचाल..... 

र मलाई बगैँचाको ढोका नेर भित्र फ्याँकि दिऊ ...

या त म प्राण त्यागेर शहीद हुन्छु ..

या तपाईँहरूको लागि ढोका खुलाउन सफल हुन्छु .....

*******

○ आँखा झिम्कियाउँनै जतिमा नै उनी एउटा ढालमाथि बसे ..... 

उनी पात्लो शरीरका मानिस थिए .... 

तुरन्त दशौँ भालाहरूले उनलाई उचालेर मृत्युको बगैँचामा मुसैलमाका सेनाका हजारौँ हजार शत्रुहरूको बीचमा फाली दिए .... 

उनी पनि उनीहरू भित्र चट्याङ खसे झै  बज्रे .... 

उनीहरूसित बगैँचाको ढोका नजिकै युद्ध गर्न थाले .... 

तरवारले उनका शिर काट्न थाले ..... 

यसरी दस जनालाई मारेर उनी ढोका खोल्न सफल भए ....

उनको शरीर माथि तीर र तरवारका असी भन्दा बढी घाउ भएका थिए ..... 

मुसलमानहरू मृत्युको बगैँचातिर लम्किए .... 

त्यसको ढोकाबाट पनि र घेरामाथिबाट पनि .... 

त्यसको हाता भित्र लुकेका र शरण लिएका हजारौं धर्मविरोधिहरूको घाँटीमा तरवारका प्रहार गरे .... 

यसरी त्यो दिन उनीहरू मध्ये बीस हजार जति मारिए .... 

मुसैलमा पनि त्यहाँ फेला पर्यो ... 

उसलाई पनि उनीहरूले समाप्त पारे .....

*******

○ बराअ बिन मालिकलाई त्यहाँबाट उठाइएर बासस्थान तिर लगियो .... 

खालिद बिन वलीद रजियल्लाहु अन्हुले आफ्नो निगरानीमा एक महिना सम्म उनको उपचार गराए ..... 

यसरी उनी अल्लाहको कृपाले निको भए .... 

उनकै हातद्वारा अल्लाहले मुसलमान सेनालाई विजय बनाउनु भएको थियो 

*******

○ मृत्युको बगैँचामा बराअ बिन मालिकलाई शहादतको अवसर प्राप्त नभए ....... 

तापनि उनी सधै शहीद हुने कामना गर्दै थिए ... 

आफ्नो यो अमूल्य चाहनाको परिपूर्ति र रसूल सल्लल्लाहु अलैहि वसल्ल्म सित भेट गर्ने अभिलाषा बोकी ...... 

सधैँ एक युद्ध पछि अर्को युद्धमा आफ्नो कृतिमान खडा गर्दै पौरख्याइको प्रदर्शन गर्दै बसे .... 

जबसम्म फारसको एउटा सहर तुस्तर विजय गर्ने दिन आइ पुग्यो ..... 

फार्सीहरू त्यहाँको एउटा अग्लो मजबुत किल्ला भित्र किल्लाबन्दी गरेका थिए .... 

मुसलमानहरूले उनीहरूको घेराबन्दी हाले ... 

किल्लालाई यसरी घेरे कि मानौं हातमा कङ्गनाले घेरेको रहेछ ... 

जब घेराबन्दी लम्बियो ... 

किल्लाभित्र शरण लिएका फार्सीहरूलाई मर्का पर्न गयो ... 

उनीहरू किल्लाको पर्खालको माथिबाट फलामको सिक्री झुन्डयाउन थाले.... 

ती सिक्रीहरूमा इस्पातको अङ्कुश लगाइएको थियो .... 

आगोमा तताएर अगुल्टो झैँ बनाएर ... 

ती अङ्कुशहरू मुसलमानहरूको शरीर भित्र गाँसिन्थ्यो र  टाँसिन्थ्यो .... 

शत्रुहरूले उनीहरूलाई जिउँदै वा मृत अवस्थामा माथि तिर तानिन्थे ....

त्यही अङ्कुशहरू मध्ये एउटा अङ्कुश बराअ बिन मालिकका भाइ अनस बिन मालिकलाई पनि टाँसियो ... 

बराअले उनलाई देख्ने वित्तिकै  किल्लाको पर्खालमा उफ्रिए ... 

र उनका भाइलाई तानीरहेको सिक्रीलाई हातले समाते .... 

आफ्नो भाइको शरीरबाट अङ्कुश निकाल्ने प्रयास गर्न थाले .... 

यस प्रयासमा उनका हात पनि पोलियो र धुँवा निस्कन थालियो ...  

तर यसको परवाह नगरी उनीले भाइलाई बचाएर नै छाडे ..... 

तर अन्तमा हातको सबै मासु पोलिएर हाड मात्र बाँकी रह्यो र उनी जमिनमा ढले ....

यसै युद्धमा बराअ बिन मालिकले अल्लाहसित आफू शहादत र वीरगति प्राप्त गर्ने प्रार्थना गरेका थिए ... 

अल्लाहले उनको प्रार्थनालाई स्वीकार गर्नु भयो ....

 युद्धमा एउटा साहसी यौद्धाको प्रमाण दिँदै ..... 

अन्ततः अल्लाह तअलालाई भेट गर्ने अभिलाषा बोकी रणभूमिमा शहीद भएर ढले ....

*******

○ अल्लाह तअलाले स्वर्गमा बराअ बिन मालिको अनुहार प्रफुल्ल् बनाऊन् .... 

आफ्ना नबी सल्लल्लाहु अलैहि वसल्ल्को सँगत प्रदान गरी उनका मन शान्त पारून् .... 

उनी सित प्रसन्न होऊन् र उनलाई पनि प्रसन्न पारून् .....

(प्रस्तुति: मुहम्मद सुहैल नदवी)

¤¤¤¤¤


Thursday, April 29, 2021

अन्तिम दूतका साथीहरूको जीवनचित्रका केही झझल्को - २०

 ●•○•● अम्र बिन जमूह ●•○•●

¤●¤ रजियल्लाहु अन्हु ¤●¤

••○•• प्रस्तुति: मुहम्मद सुहैल नदवी ••○••

___________________________________

○○○○○

○ अम्र बिन जमूह जाहिलियतकालमा यस्रिबका अगुवाहरू मध्येका एउटा अगुवा थिए ....

बनु सलमा समुदायका एउटा प्रसिद्ध सरदार....

मदीनाका दानीहरू मध्ये एउटा दानी र पुरुषार्थी ....

इस्लामकाल देखि पूर्व.... 

कुनै पनि समुदायका ठुला मानिस र सरदारहरूले आफुलागि छुट्टै प्रतिमा बनाइ घरमा राख्ने चलन थियो ... 

त्यसै प्रतिमाद्वारा बिहान बेलुकी आशिर्वाद लिने गरिन्थ्यो ...

 चाडपर्वहरूमा उसैको लागि बलि चढाउने प्रथा थियो ... 

कुनै समस्या परेमा त्यसैको अगाडि उभिएर गुहार लगाइने गरिन्थ्यो ...

अम्र बिन जमूहले पनि एउटा बहुमूल्य काठ द्वारा बनाइएको एउटा प्रतिमा रोजेका थिए ... 

जसलाई मनात भन्ने गरिन्थ्यो ...

यस प्रतिमाको देखरेख, हेरचाहमा अति नै खर्च गर्ने गर्दथे .... 

सधैं उत्तम र दुर्लभ सुगन्धित तेल लगाउने गर्दथे ...

*******

○ अम्र बिन जमूह आफ्नो उमेरको साठी वर्ष नाघी सकेका थिए ...

 त्यो बेला इस्लामको उज्यालो फैलिन थाल्यो .... 

र उसको पहिलो प्रचारक मुस्अब बिन उमैरद्वारा यस्रिबको घरघरमा त्यसको किरण प्रवेश गर्न थाल्यो ... 

उनैको हातमा उनका तीनै छोरा मुअव्वज, मुआज र खल्लाद मुसलमान भइ सकेका थिए ... 

साथै उनीहरूको एउटा मित्र मुआज बिन जबल पनि ...

साथै तिनै छोरा सँगै उनकी आमा हिन्दले पनि इस्लाम स्वीकारी सकेकी थिइन् ... 

तर अहिले सम्म अम्र बिन जमूहलाई घरमा भएको परिवर्तनको पत्तो लागेको थिएन .... 

*******

○ अम्र बिन जमूहकी पत्नी हिन्दले देख्दै थिइन् ...,,,,,,,,

यस्रिबका धेरै बासीहरू मुसलमान भइ सकेका छन् ........

र ठुलठुला सरदार र पराक्रमीहरू मध्ये  पहिलेको अज्ञानता र शिर्कमा उनका पति र अरू केही थोरै मानिसहरू मात्र बाँकी रहेका छन् ....

उनकी पत्नीले उनलाई धेरै माया गर्ने गर्थिन् .....

उनको अति सम्मान गर्थिन ....  

साथै उनी शिर्कको अवस्थामा नै मृत्युलाई प्राप्त हुनेछन् र नर्कमा जानेछन् कि भनेर डराउँदै थिइन् ... 

ठीक त्यही समयमा ..... 

अम्र बिन जमूहले पनि आफ्ना छोराहरूप्रति डराउँदै थिए ...

 यिनीहरूले आफ्नो पुर्खाको धर्मलाई त्याग्ने छन् कि? ....

यो प्रचारक मुस्अब बिन उमैरको अनुसरण गर्नेछन् कि? .....

यो प्रचारकले त थोरै समयमा नै यस्रिबका धेरै बासिन्दाहरूलाई पूर्वजको धर्मलाई त्याग्ने र मुहम्मदको धर्ममा प्रवेश गराउने कार्यमा सफल भएको छ ...उनी देख्दै थिए ...

तसर्थ उनले पत्निलाई भने ... 

हे हिन्द ... हेर तिम्रा छोराहरूले यो मान्छे(मुस्अब बिन उमैर) सित भेट्न नपाऊन भनेर सचेत होऊ .. 

त्यसको बारेमा हामीले जब सम्म कुनै  निर्णय लिदैनौ ...

उनले जवाफ दिइन् ... 

हुन्छ हजुर ... 

तर त्यस मान्छेको बारेमा तपाईँको छोरा मुआजले के भनीरहेको छ तपाईँले सुन्नु हुन्छ क्या हो ?...

उनले भने ....

 हाय नाश होस् ... के मलाई थाहा नहुने गरी मुआजले धर्म परिवर्तन गरी सक्यो र? ...

ती असल आइमाइले बुढोमाथि डराउँदै भनिन् ... 

होइन ... तर त्यस प्रचारकको कुनै सभामा सामेल भएको थियो अरे......

 उनले भनेको केही कुरा याद गरेको रहेछ उसले ...

उनले भने ....  

ठीक छ .. उसलाई बोलाउ ... 

मुआज उनको अगाडि उपस्थित हुँदा उनले सोधे .... 

यो मान्छेले के भन्छ मलाई पनि सुनाउ त ? ...

उनले जवाफमा भन्न थाले ...

"सुरू गर्दछु अल्लाहको नामद्वारा जो अत्यन्त करुणामय र परम दयालु हुनु हुन्छ" .. 

"सबै प्रशंसा अल्लाहको लागि नै हुन् जो सम्पूर्ण जगतका रब अथवा पालनकर्ता हुनु हुन्छ" ... 

"जो अत्यन्त करूणामय र परम दयालु हुनु हुन्छ" ... 

"जो बदला दिइने दिनका स्वामी हुनुहुन्छ" ...  

"तपाईँ एक मात्रको हामी उपासना गर्दछौं र तपाईँसित मात्र मद्दत चाहन्छौँ "... 

"हामीलाई सीधा मार्ग देखाउनु होस् "... 

"ती व्यक्तिहरूको मार्ग जसलाई तपाईँले पुरस्कृत गर्नु भएको छ" ... 

"प्रकोपित भएका व्यक्तिहरूको होइन  .. नत्र बाटो गुमाउनेहरूको मार्ग नै" ....

                                                         (सुरह फातिहा:१-७)

यो सुनेर उनी भन्न थाले ... 

ओहो  कति मीठो कुरा ... 

कति सुन्दर बोल रहेछ यो ....

के उनका सबै कुराहरू यस्तै हुन्छन् र ? ....

मुआजले उत्तर दिए .... 

बुवा यो भन्दा पनि अति उत्तम....

के तपाईँ उनको कुरा स्वीकार्नु  हुन्छ?..

तपाईँको सम्पूर्ण समुदायले उनको कुरा स्वीकर गरिसकेका छन् ....

बुढो मानिस अलि चुप भएर भन्न थाले .... 

मनातसित परामर्श नलिइ म केही गर्न सक्तिँन ... 

हेरौँ उसले के भन्छ?...

छोराले उत्तर दियो ... 

बुवा मनातले के सल्लाह दिन्छ र ? ......

उ त आफैं एउटा काठ हो.... 

नजान्ने र न बोल्न सक्ने ...

बुढोले तीव्र स्वरमा भने ... 

मैले भने नि... उनलाई नसोधीकन म केही गर्न सक्तिँन ....

*******

○ त्यस पछि अम्र बिन जमूह मनात तिर गए ... 

तिनीहरूले आफ्नो देवतासित कुरा गर्दा वा विनती चढाउँदा प्रतिमाको पछाडि एउटी बृद्ध महिलालाई राख्ने गर्दथे ......

र उनीहरूको आस्थानुसार.....

 त्यही बुढीको मनमा जे आए त्यसैलाई भन्ने गर्थिन् .....

र यसैलाई देवताको कुरा ठान्ने गर्दथे ....

तसर्थ उनी आफ्नो प्रतिमा अगाडि उभिए ..  

अग्लो शरीरको साथ ...

आफ्नो दुरुस्त पाउ माथि सारा भार दिएर उभिए ... 

किन भने उनको अर्को पाउ खोडे थियो... 

अति नै खँजाहा थियो ... 

उनले त्यो प्रतिमाको स्तुति गरे फेरी भन्न थाले ...

हे मनात ...  निःसन्देह तपाईँलाई थाहा नै होला ... 

यो प्रचारक जो मक्काबाट यहाँ आएको छ ... 

तपाईँ बाहेक अरू कसैको अहित चाहँदैन रे ...

त्यो त हामीलाई तपाईँको पूजा गर्नुबाट रोक्नको लागि मात्र आएको हो ...

मैले उसको राम्रो र उच्च कथन सुन्नुका बावजुद उसको कुरा मान्नु भन्दा पहिले तपाईँसित प्रामर्श गर्न उचित ठानेँ ...

तसर्थ मलाई राम्रो सुझाव दिनुहोस् ...

तर मनातले उनलाई केही उत्तर दिएन..

उनले भने ... सायद तपाईँ ममाथि रिसाउनु भयो कि? ...

मैले तपाईँलाई दुःख दिने कुनै काम पनि गरेको छैन ....

तर केही चिन्ताको कुरा छैन .... तपाईँलाई केही दिन छाडि दिन्छु ...

तपाईँको रिस समाप्त हुन्छ होला ....

*******

अम्र बिन जमूहका छोराहरू उनका बुवा मनातसँग कित सँलग्न छन् जान्दै थिए ... 

उनी कसरी उनका एक भागसरह एक युग देखि रही आएका छन् भन्ने कुराबाट अवगत थिए ...

 तर अब उसको जुन स्थान बुवाको मुटु भित्र थियो त्यो हल्लिन थालेको छ यो पनि हेरे ...

उनीहरूले यो सम्बन्धलाई एकै चोटि उनको मुटुबाट झिक्नु पर्ने जरुरी छ भन्ने  विचार गरे ... 

किन भने यसरी नै उनी इमान र सत्य आस्थाको बाटो हिड्न सक्ने हुन्छन् भनेर उनीहरूले परामर्श गरे ....

 *******

○ अम्र बिन जमूहका तीनै छोरा आफ्ना मित्र मुआज बिन जबलका साथ रात्रिको अन्ध्यारोमा मनात सम्म पुगे ....

उसलाई उसको स्थानबाट उचालेर समाते ... 

र बनु सल्मा समुदायले फोहोर फाल्ने खाल्डोतिर लगे .... 

उसलाई त्यही खाल्डोमा फाली दिए .... 

र कसैलाई थाहा नहुने गरी फेरी आफ्नो घर तिर फर्की आए ...

बिहानी हुँदा अम्र बिन जमूह आफ्नो प्रतिमालाई अभिवादन गर्न उता पुगेछन् तर प्रतिमालाई देख्दैनन् ....

उनले  भने .... कठै ... राति हाम्रा देवतासाथ कसले दुस्मनी गर्यो अरे ...

कसैले उनको कुराको उत्तर दिएन ...

अब उनी घर भित्र र बाहिर खोज्न थाले ....

साथै बडबड गर्दै धम्क्याउँदै रिस देखाउँदै थिए ...

अन्तमा उसलाई  खाल्डोमा सिरमाथि पल्टिएर रहेको देखे ...

उसलाई उनले नुहाए ... सफा पारे ... सुगन्धित तेल लगाए ... 

र उसको पहिलेको स्थानमा स्थापित गरे ...

उनले भन्न थाले ...

अल्लाह कसम ... तपाईँसाथ जसले पनि यो दुष्कर्म गरेको छ मलाई थाहा भए उसको बेइज्जत गरेर छोड्छु ...

अर्को राति हुँदा ती तरूणहरूले मनातको साथ हिजोकै जस्तो व्यवहार गरे ...

भरे विहान बुढो मान्छे सबै तिर उसलाई खोज्दैछन् तर पाउदैनन् ...

 अन्ततः  त्यही खाल्डोमा फोहोर फोहोर भएको अवस्थामा भेटाएछ ... 

आज पनि उसलाई उठाएर ल्याए ... 

सफासुग्घर पारी सुगन्धित तेल थोपे ... 

र उसकै स्थानमा स्थापित पनि गरे ....

ती तरूणहरू अब हरेक दिन त्यो प्रतिमाका साथ यहि गर्ने गर्दथे र बुढो आफ्नो कर्तव्य ....

दिक्क भएर एक दिन बुढो मान्छेले सुत्नु भन्दा पहिले मनात नेर पुगे .... 

एउटा तरवार उसको गर्धनमा झुन्डयाएर भने ...

हे मनात ... अल्लाह कसम ... मलाई थाहा छैन तपाईँको साथ यस्तो कुकर्म कसले गरी रहेछ ... 

यदि तपाईं  भित्र केही पनि राम्रो लक्षण छ भने यस अपमानबाट आफैं आफूलाई जोगाउनु होला.... 

यो तरवार तपाईँको साथमा छँदैछ ...

त्यस पछि उनी सुत्न औछ्यानमा पुगे ...

ती जवानहरूले बुढोबालाई निन्द्रा अवस्थामा  पुगी सकेको यकीन भए पछि प्रतिमा नेर पुगे ... 

उसको घाटीबाट तरवार छुटाए ... 

प्रतिमालाई लिएर घर बाहिर गए ... 

त्यहाँ एउटा मृत कुकुर फेला पर्यो ... 

त्यस कुकुरको साथ मजाले  बाँधे ...

 र दुवैलाई लिएर बनु सलमाकै फोहोर फाल्ने अर्को इनार जस्तो एउटा खाल्डोमा मिल्काइ दिए ...

आज पनि बिहान हुँदा बुढो मान्छेले ब्युँझिए पछि प्रतिमालाई देखेनन् ... 

उसलाई खोज्न थाले...

 खोज्दा खोज्दै उसलाई सिरद्वारा पल्टिइ इनारभित्र हेरे .... 

साथै एउटा मृत कुकुर पनि जेरिएको देखे ... 

तरवार कसैले खोसी सकेको छ ध्यान गयो ... 

यस पाली उसलाई इनारबाट झिकेनन् ... 

जहाँ फालिएको थियो त्यहीँ छाडी दिए  ...

 र यो भन्न थाले ...

"हुन्थ्यो क्यारे दैवत धारी ।

कुक्कुर साथ इनारमा जोरी ।।"

त्यस पछि लगत्तै इस्लमा धर्ममा प्रवेश गरे .....

*******

○ अम्र बिन जमूहले ईमान र आस्थाको यस्तो चास्नी महसुस गरे ....

 जसले उनलाई अनास्थामा विताएको हरेक पल आफूलाई निन्दनीय लाग्न थाल्यो .... 

तसर्थ उनी नया धर्ममा आफ्नो शरीर र आत्माका साथ उन्मुख भए ... 

आफ्नो जिउ, आफ्ना धन सम्पत्ति र सन्तानलाई अल्लाहको आज्ञापालन र उहाँका सन्देशवाहको अनुसरणकै निम्ति खास गरे ...

*******

○ केही दिनमै उहुदको युद्ध घटित भयो .... 

अम्रले आफ्ना तीनै छोराहरूलाई अल्लाहका शत्रुहरूको प्रतिकारको लागि तयारी गर्दै भएको देखे ...

उनीहरूलाई जङ्गलको बाघहरू जस्तै आवतजावत गर्दै निहारे ...

उनीहरू कसरी शहीद हुन सौख व्यक्त गर्दैछन् र अल्लाहको प्रसन्नता प्राप्त गर्न कसरी उत्साहित छन् भन्ने देख्दै थिए ....

यो सबै दृश्यले उनको पौरख्याइलाई उत्तेजित तुल्याए ...

उनले पनि उनीहरूका साथ नै अल्लाहका रसूलको झण्डा मुनि युद्ध गर्ने निश्चय गरे ....

तर छोराहरूले आफ्नो पितालाई उनको इरादाबाट रोक्ने प्रयास गर्न थाले ...

उनी बढी उमेर पुगेका बृद्ध थिए ... 

साथै एक पाउले लङ्गडो पनि ...

यस्ता मानिसहरूलाई अल्लाहले त्यसतै नै अपाङ्को श्रेणीमा राखी माफी दिनु भएको छ ...

तसर्थ उनीहरूले अनुरोध गरे ...

हे बुवा ... अल्लाहले तपाईँलाई माफ गर्नु भएको छ ... 

तसर्थ जुन विषयमा तपाईँलाई छुट दिइएको छ त्यसमा किन तपाईँ आफैँ आफुमाथि समस्या उत्पन्न गर्न खोज्दै हुनुहुन्छ .....

उनीहरूको कुरा सुनेर बुढाबा अत्यन्त रिसाए ... 

र रसूल सल्लल्लाहु अलैहि वसल्लम नेर पुगेर आफ्ना छोराहरूको सिकायत गर्न थाले ....

उनले भने .... हे अल्लाहका नबी .... 

मेरा यी छोराहरू मलाई यस सत्कारबाट बन्चित राख्न खोज्दैछन् ....

म लङ्गडो भएको कुरालाई  बहाना बनाउँदैछन् ...

अल्लाह कसम ... म यसै खोडे खुट्टाद्वारा खोज्याएर स्वर्गमा हिडने चाहना राखेकोछु ....

रसूल सल्लल्लाहु अलैहि वसल्लमले उनका छोराहरूलाई भन्नु भयो ....

छाड देऊ ... सायद अल्लाहले उनलाई शहादत प्रदान गरून् ...

यसरी रसूल सल्लल्लाहु अलैहि वसल्लमको अज्ञाको पालना गर्दै उनीहरूले पनि अनुमति दिए ..

*******

○ सेनालाई प्रस्थान गर्ने समय हुन वित्तिकै  .... 

अम्र बिन जमूहले आफ्नी पत्निलाई फिर्ता आउन नसक्ने व्यक्ति झै विदाइ गरे ...

त्यस पछि किब्ला तिर फर्केर दुवै हात आकाश तिर फर्काए .... र भने ...

हे अल्लाह मलाई शहादत प्रदान गरियोस् .... 

फेरी घरपरिवारमा विफल फिर्ता नगरियोस् ....

उनी आफ्ना तीनै छोरा र बनु सलमाको एउटा ठुलो समूहको घेरा भित्र निस्के ....

जब रणभूमि ततायो .... 

र मानिसहरू रसूल सल्लल्लाहु अलैहि वसल्लमको नजिकबाट पनि छिटफुट भए ....

अम्र बिन जमूह पहिले पङ्क्तिमा थिए र आफ्नो अस्वस्थ्य खुट्टामा खोज्याएर हिड्दै यो भन्ने गर्दथे ...

म स्वर्गको खोजीमा छु .... म स्वर्गको खोजीमा छु .... 

उनका पछाडी उनका छोरा खल्लाद पनि थिए ....

दुवै बृद्ध र तरूण रसूल सल्लल्लाहु अलैहि वसल्लमको रक्षा गर्दै पौरखीको प्रदर्शन गर्दै रणभूमिमा शहिद भएर लडे ....

बुवा छोराको बीच केही छिनको फरक मात्र भएको थियो ....

*******

युद्धको  घम्साघम्सी समाप्त भए पछि रसूल सल्लल्लाहु अलैहि वसल्लमले उहुदमा शहिद भएका साथीहरूलाई समाधीस्थलको जिम्मा लगाउन थाल्नु भयो ....

उहाँले आफ्ना साथीहरूलाई भन्नु भयो ....

उनीहरूलाई  रक्त र घाउका साथ छाडि दिऊ ....

 म उनीहरूको साक्षी हुनेछु .....

फेरी उहाँले भन्नुभयो ....

कुनै मुसलमानलाई कतै घाउ लाग्यो भने......

 ऊ प्रलायको दिन यस्तो अवस्थामा आउनेछ कि... 

उसको घाउबाट रगत बग्दै हुनेछ ... 

त्यसको रङ्ग जाफ्रान( केसर)को रङ्ग जस्तै हुनेछ.....

 र सुगन्ध कस्तुरीको  जस्तो ....

फेरी उहाँले भन्नु भयो ....

अम्र बिन जमूहलाई अब्दुल्लाह बिन अम्रका साथ दफन गर ....

 किन भने दुवै यस संसारमा एक अर्काको मित्र र प्यारा थिए .... 

*******

अल्लाह तआला अम्र बिन जमूह र उहुदमा शहिद भएका उनका सबै साथीहरूदेखि प्रसन्न होऊन् ... 

र उनीहरूको कब्रलाई प्रकाशमय बनाऊन् .....

आमीन

(प्रस्तुति: मुहम्मद सुहैल नदवी)

¤¤¤¤¤¤¤



Tuesday, March 30, 2021

अन्तिम दूतका साथीहरूको जीवनचित्रका केही झझल्को - १९

 ○●○ उमैर बिन वहब ○●○

¤¤¤ रजियल्लाहु अन्हु ¤¤¤ 

••• { प्रस्तुति: मुहम्मद सुहैल नदवी }•••

______________________________

○○○○○○○

दिन् दिन् को झगडा समाप्त अब होस्, झग्डा असाध्यै भयो 

ईश्वर् ज्योति निभाइ दिन्छु अहिले, सोची मदीना गयो 

पुग्यो सामु उतै प्रभावित भई,  कस्तो छ बैरी पनि 

मायाको दुइ बोलले बदलियो, मनको सबै दुस्मनी 

(सुहैल अन्सारी)

○○○○○○○

○ उमैर बिन वहब जुमही बद्रको रणभूमिबाट.....

 आफ्नो प्राण जोगाइ फर्केर आउन सफल भए ...

तर ... पछाडि आफ्नो छोरा वहबलाई .....

मुसलमानको कब्जामा बन्दी बनेकै अवस्थामा छोड्न बाध्य भए ...

उमैरलाई यो डर पनि थियो .... 

कि सायद मुसलमानहरूले बुवाको अपराधको सट्टा....

 उसको छोरासित बदला लिन्छन्  होला ....

उसले रसूल सल्लल्लाहु अलैहि वसल्ल्मलाई दुःख दिएको....

 र उहाँका साथीहरूमाथि गरेको अत्याचार, दमन र पीडायातनाको प्रतिशोधमा......

 उसलाई असाध्यै उत्पीडन दिन्छ कि?

 एक दिन दिउँसोको बेला.... 

उमैर मस्जिदे हराममा काबाको परिक्रमा गर्न र त्यहाँ भएका प्रतिमाहरूबाट  आशीर्वाद लिन गएछन् ... 

त्यहीँ कालो पत्थर नजिकै सफ्वान बिन उमैयालाई बसेको देख्छन्  ... 

उनी उनका नजिक पुगे र भने... 

शुभ प्रभात हे कुरैशका सरदार!!!!

सफ्वानले पनि भने .... 

हे वहबका बुवा तपाईँलाई पनि शुभ प्रभात...

हामी सँगै बस्नु .... 

केही छिन कुरा गरौँ ....

कुरा गर्दा समय राम्रो बित्छ नि ....

उमैर पनि सफ्वानको सामुन्ने बसे .... 

दुवै जना बद्रको चर्चा गर्न थाले .... 

त्यहाँ भोग्नु परेका समस्याहरूमाथि छलफल गर्न थाले ... 

मुहम्मद (स) र उहाँका साथीहरूको कब्जामा परेका बन्दीहरूको पनि चर्चा चलाए ... 

कुरैशका ठुलठुला सुरवीरहरू जुन मुसलमानका तरवारद्वारा मारिए र बद्रको  इनार भित्र पुरिएका थिए, .....

तिनीहरूमाथि आफ्नो सम्वेदना व्यक्त गर्नथाले ....

अनि सफ्वान बिन उमैया उभिएर भन्नलागे... 

अल्लाह कसम...  उनीहरू पछि अब जीउन पनि मन लाग्दैन ....

उमैरले जवाफ दिए ...

अल्लाह कसम ! तपाईँले सत्य भन्नुभयो .... 

केही छिन चुप बसेर भन्नथाले ... 

काबाको स्वामीको कसम... 

यदि ममाथिको ऋण भुक्तान गर्ने धन भएको भए....

 र परिवार - जो म पछि अल्पत्र पर्न जान्छन् - न भएको भए.... 

म मुहम्मद (स) तिर जान्थेँ र उसको हत्या गर्दिन्थेँ ... 

उसके कुरा नै समाप्त पारी दिन्थेँ ... 

यसरी सबैलाई परेको समस्याको समाधान नै भइ हाल्थ्यो ....

फेरी मन्द स्वरमा भन्नथाले ...

अहिले उनको कब्जामा रहेको मेरो छोरा वहबको कारण यदि म यस्रिब गएँ भने.....

 कसैलाई शंका पनि हुँदैन  होला ...

*******

○ सफ्वान बिन उमैयाले उमैर बिन वहबको कुरालाई राम्रो अवसर सम्झे ......

र यो मौकालाई खेर जान नदिन खोजे ...

उनी तिर फर्केर भन्नथाले ... 

हे उमैर .... तिमी आफ्नो सबै ऋणको अभिभारा मलाई देऊ... 

म उसलाई चुक्ता गर्दिन्छु जति बढेको भए पनि....

तिम्रो परिवारलाई म आफ्नै परिवारमा जोडछु .... 

मेरो र उनीहरूको जीवनको अन्तिम स्वाससम्म....

म नेर यति प्रशस्त धन छ कि उनीहरू सबैलाई प्रयाप्त हुन्छ .....

र उनीहरूको जीवन सुखमय बित्छ होला ...

उमैरले भने .... 

यसो भए हाम्रो यस कुरालाई लुकाउनु र कसैलाई नभन्नु....

सफ्वानले .... हुन्छ ... भने ।।।

*******

○ उमैर मस्जिदे हरामबाट उभिए .... 

उनको छाती भित्र मुहम्मद (स) प्रति इर्ष्या र दुश्मनीको ज्वाला सल्कदै थियो ....

उनले विचार गरेको कुरालाई कार्यान्वयन गर्नको निम्ति उचित तयारी गरे ....

उनको यस यात्रा प्रति कसैलाई शंका हुने कुनै कारण थिएन ....

कुरैशका धेरै मानिसहरू आफ्नो आफ्नो बन्दी मुक्त पार्न यस्रिब आवत जावत गर्दै थिए .... 

उनीहरू मदीनाको बाटो धाएर पुग्दै थिए....

*******

○ उमैरले आफ्नो तरवारलाई  उद्याउने  र विषको पानी चढाउने आग्रह गरे ..

सवारी उनको लागि तयार गरियो ... र उनलाई सुम्पियो ...

तसर्थ त्यसमा चढेर मदीनाको बाटो हिडे ...

आफ्नो लुगामुनि इर्ष्या दुश्मनी र षड्यन्त्रलाई लुकाइ छिपाइ.....

उमैर मदीना पुगे .... 

रसूल सल्लल्लाहु अलैहि वसल्लमलाई खोज्दै मस्जिदे नबवी नेर पुगे ....

मस्जिदको ढोका नजिक पुग्दा आफ्नो ऊटलाई बसाए र त्यसमाथिबाट ओर्लिए ....

*******

हज्रत उमर बिन खत्ताब रजियल्लाहु अन्हु त्यतिखेर ......

आफ्ना केही साथीमित्रहरूसँगै मस्जिदको ढोका नजिकै बसेका थिए .... 

उनीहरूले पनि बद्रकै चर्चा चलाएका थिए ...

बद्रको युद्ध पछि कति कुरैशका सुरवीर हताहत भए.....

 र कतिलाई मुसलमानहरूले समातेका थिए.... 

यसैमाथि छलफल हुँदै थियो ....

साथै मुसलमान मध्ये जुन मुहाजिर र अन्सार यौद्धाहरूले वीरगति प्राप्त गरेका थिए ... 

उनको झझल्को मस्तिष्कमा चित्रण गर्दै थिए .... 

अल्लाहले उनीहरूलाई  दिनु भएको विजय र दुस्मनलाई पुर्याउनु भएको परास्त प्रति स्तुति र प्रशंसा वर्णन गर्दै थिए ....

उमर रजियल्लाहु अन्हुको दृष्टि ढोका नेर पर्यो ...... 

उनले उमैर बिन वहबलाई देखे .... 

उनी सवारीबाट ओर्लिदै छन् ... 

र मस्जिद तिर जाँदैछन् ... 

घाटीमा तरवार झुन्ड्याएर ।।।

उनी भयभीत भएर उठे .... 

मनमनै भने ... 

यो कुकुर ... अल्लाहको शत्रु..... उमैर बिन वहब ....

यो कुनै नराम्रो मनसायले नै आएको हुनुपर्छ  ...

उसले मक्कामा मुश्रिकहरूलाई हामीतिर उकास्ने गर्थ्यो ....

बद्रको युद्ध भन्दा अघि उनको गुप्तचर थियो ....

फेरी उनले आफ्ना साथीहरूलाई भने ....

तिमीहरू रसूल सल्लल्लाहु अलैहि वसल्लम नजिक जाऊ....

 उहाँको चारैतिर होऊ ...

यस धोकेबाज बेइमानले केही आघात नपुर्याओस् .....

सावधान भएर बस....

फेरी आफैं हतार गरेर रसूल सल्लल्लाहु अलैहि वसल्लम समक्ष पुगेर भने ....

हे अल्लाह का रसूल .... यो अल्लाहको शत्रु उमैर बिन वहब आफ्नो घाटीमा तरवार झुन्डयाएर आएको छ .... 

मेरो विचारमा यसको मनसाय  ठीक छैन ....

उहाँले भन्नुभयो ...म नेर आउन देऊ ....

उमर फारूक रजियल्लाहु अन्हु उमैर बिन वहब नेर पुगे ....

उनको कठालो समाते .....

र उनैको तरवारको खोलद्वारा घाटी बेरेर उनीलाई लिएर रसूल सल्लल्लाहु अलैहि वसल्लम समक्षा जान लागे ....

उनीहरूलाई यो अवस्थामा देखेर रसूल सल्लल्ल्हु अलैहि वसल्लमले उमर रजियल्लाहु अन्हुलाई भन्नुभयो ...

उमर यसलाई छोडिदेऊ ...

उनले छोडिदिए ...

फेरी उहाँले भन्नुभयो ... 

तिमी पछाडि होऊ...

उनी पछाडि भए ...

त्यस पछि उहाँ उमैर बिन वहबतिर फर्केर भन्नुभयो ....

हे उमैर .... ओर आऊ......

उनी नजिक भए ...  र भने .... 

शुभ प्रभात .... (अरबहरूले अभिवादन गरे झैं) ...

रसूल सल्लल्लाहु अलैहि वसल्लमले भन्नुभयो .....

हामीलाई अल्लाहले तिम्रो अभिवादन भन्दा अति उत्तम अभिवादन प्रदान गर्नु भएको छ, उमैर !!!!!

हामीलाई सलाम जस्तो अभिवादन प्रदान गर्नु भयो ... 

र यो स्वर्गको अभिवादन हो ....

उमैरले जवाफ दिए .... 

तपाईँ पनि हाम्रो अभिवादन भन्दा धेरै टाढा हुनु भएको छैन ..

 यो त नजिकैको कुरा रहेको छ ...

अनि रसूल सल्लल्लाहु अलैहि वसल्लमले सोध्नुभयो ...

उमैर तिमी किन आएका हौ ? ....

उनले उत्तर दिए ....

 म यहाँ आफ्नो बन्दी मुक्त गर्नको लागि विनती गर्न आएको हूँ ... 

तपाईँ हामी माथि उपकार गर्दिनुहोस् ...

उहाँले सोध्नु भयो ... 

अनि यो घाटीमा तरवार किन झुन्ड्यायौ त?...

उनले भने ... अल्लाह यस तरवारको नास गरून् ...

यसले हामीलाई बद्रमा के नाफा पुर्यायो र ?....

उहाँले फेरी सोध्नुभयो ...

मसित साँचो कुरा भन... 

तिमी किन आयौ त उमैर?  ...

उनले भने ... म यसैको लागि मात्र आएको छु ....

उहाँले भन्नुभयो ....

 होइन... तर तिमी र सफ्वान कालो पत्थर नजिक बसेका थियौ .... 

तिमीहरूले बद्रको इनारमा पुरिएका कुरैशका यौद्धाहरूको चर्चा गर्यौ ... 

फेरी तिमीले भन्यौ ...

यदि ममाथि ऋण नभएको भए र मेरो परिवारको जिम्मेवारी नभए म यहाँबाट निस्केर मुहम्मदको ज्यान लिने थिएँ ...

त्यस पछि सफ्वान बिन उमैयाले तिम्रो ऋण र परिवारको जिम्मा कबुल गर्यो... 

तिमीले मलाई हत्या गर्ने सर्तमा ...

तर अल्लाह मेरो र तिमीबीच बाधक हुनु हुन्छ ....

उमैर एक छिनकोलागि भुस्सिए ... स्तब्धभए..... फेरी तुरन्तै भन्नथाले ...

म स्वीकार गर्दैछु तपाईँ अल्लाहका सन्देशवाहक हुनुहुन्छ ....

फेरी भन्नथाले ...

हे अल्लाहका रसूल ...

तपाईँले हामी समक्ष ल्याउदै गर्नु भएको कुरा र आकाशबाट ओर्लिएको वह्यमा हामी तपाईँलाई झूठो भन्ने गर्थ्यौँ ... 

तर सफ्वानको साथ मेरो यो करारको त कसैलाई थाहा नै छैन ... 

कि म जान्दछु कि उनी मात्र ...

मलाई विश्वास भयो यो कुराप्रति अल्लाहले मात्र तपाईँलाई अवगत गराउनु भएको हो ....

तसर्थ सबै प्रशंसा उनै अल्लाहको लागि हुन् जसले मलाई तपाईंतर्फ आकर्षित गर्नुभयो .... 

मलाई इस्लामको बाटो देखाउनको लागि... 

फेरी उनले इस्लामको बोल दोह्रयाउन थाले ...

म गवाही दिन्छु अल्लाह बाहेक कोही पूज्नीय छैन र मुहम्मद अल्लाहका रसूल हुनुहुन्छ  ... 

यसरी उनी मुसलमान भए ....

रसूल सल्लल्लाहु अलैहि वसल्लमले आफ्ना साथीहरूलाई भन्नुभयो ...

आफ्नो भाइलाई पनि इस्लाम सिकाऊ... 

उसलाई कुर्आन पढाऊ... 

र उसको बन्दीलाई यत्तिकै  छोडिदेऊ ...

*******

○ मुसलमानहरूले उमैर बिन वहब मुसलमान भएकाले धेरै खुसियाली मनाए.... 

हज्रत उमर रजियल्लाहु अन्हुले यहाँ सम्म भने ...

मलाई एउटा सुँगुर पनि उमैर बिन वहब भन्दा राम्रो लाग्थ्यो... 

जुन बेला त्यो रसूल सल्लल्लाहु अलैहि वसल्लम नेर आएको थियो .... 

तर अब र आज मलाई मेरा केही छोराहरू भन्दा पनि बढी प्रिय भइ सकेको छ ....

*******

○ जुन बेला उमैर आफ्नो मनलाई इस्लामको उपदेशद्वारा शुद्ध पार्दै थिए ... 

आफ्नो मुटुलाई इस्लामको ज्योति द्वारा उज्ज्वल बनाउँदै थिए.... 

आफ्नो जीवनका सुन्दर र स्वच्छ घडी बिताउँदै थिए .... 

जसको कारण उनी मक्का र मक्कामा भएका सबैलाई बिर्सी सकेका थिए ....

सफ्वान बिन उमैया आफ्नो मनलाई आशान्वित गर्दै थिए ...

र कुरैशका कुनै सभामा पुग्दा भन्ने गर्दथे .... 

तिमीहरू चाँडै नै एउटा ठुलो सुसमाचार सुन्नेछौ ... 

त्यसकारण बद्रको घटनालाई पनि बिर्सनेछौ ......

*******

○ तर जब सफ्वान बिन उमैयाको पर्खाइ लम्ब्याइदै गयो ...

 उनको मनमा अलि अलि अधीरता पस्न थाल्यो ...  

आगोमाथि छट्पटाए झैं व्याकुल हुँदै गए .... 

हरेक यात्रुसमूहलाई उमैर बिन वहबको बारेमा सोध्ने गर्थे ... 

तर कसैले उनलाई सन्तोषजनक समाचार सुनाएन ....

एक दिन एउटा यात्रीले आएर उनलाई खबर दियो .... 

उमैर त मुसलमान भइ सक्यो रे ....

यो खबर उनीमाथि चट्याङ झैं खस्यो ... 

किन भने उनको विचारमा यदि सम्पूर्ण धरतीमाथि भएका सारा प्राणी मुसलमान भए ......

तापनि उमैर मुसलमान हुनेवाला थिएन ....

*******

○ उमैर बिन वहबले आफ्नो धर्ममा केही राम्रो ज्ञान प्राप्त गर्दा....

 र आफ्नो पालनकर्ताका केही वचन याद गर्न बित्तिकै....

 रसूल सल्लल्लाहु अलैहि वसल्लमको जुनाफमा हाजिर भएर  भने ....

हे अल्लाहका रसूल ... 

लामो समय बित्यो जसमा म अल्लाहको ज्योतिलाई निभाउने प्रयास गर्दै थिएँ ... 

इस्लाम स्वीकार्ने व्यक्तिहरूलाई पीडा यातना दिँदै थिएँ .... 

तर अब मलाई अनुमति दिनुहोस् ....

म मक्का जान चाहदैछु .... 

त्यहाँ म कुरैशलाई अल्लाह र उहाँका रसूलतिर आमन्त्रित गर्नेछु .... 

यदि उनीहरू मेरो कुरा मान्छन् भने राम्रै गर्नेछन् .... 

यदि मेरा कुरा मान्दैनन् भने  म उनीहरूलाई त्यस्तै सास्ती दिनेछु....

 जसरी उनीहरूले अल्लाहका रसूल र उहाँका साथीहरूलाई दिने गर्दथे ...

रसूल सल्लल्लाहु अलैहि वसल्लमले उनलाई अनुमति दिनुभयो ...

उनी मक्का पुगे ... 

सब भन्दा पहिले सफ्वान बिन उमैयाको घर पुगे ....

र उनलाई भने ....

हे सफ्वान तपाईँ मक्काका सरदारहरू मध्ये एउटा सरदार र यहाँका बुद्धिजिविहरू मध्ये एउटा बुद्धिमान व्यक्ति हुनु हुन्छ ....

 तपाईँ विचार गर्नुस... 

तपाईँहरू जुन ढुँगा पत्थरको उपासना र उनकोलागि बलि दिँदै हुनुहुन्छ ... 

कुन बुद्धिद्वारा यसलाई धर्म भन्न सकिन्छ ....

म त गवाही दिँदैछु कि अल्लाह अतिरिक्त कोही उपास्य छैन र मुहम्मद अल्लाहका सन्देशवाहक हुनुहुन्छ ....

*******

त्यस पछि उमैर मक्कामा  मानिसहरूलाई अल्लाहको तर्फ आमन्त्रित गर्दै बसे .... 

उनको आग्रहमा धेरै जना मुसलमान भए .... 

अल्लाह उमैर बिन वहबको मिहिनेतको पुरा पुरा बदला दिऊन् ... 

उनको कब्रलाई प्रकाशमय बनाऊन् ... 

उनीसित प्रसन्न होऊन्  .......

(प्रस्तुति: मुहम्मद सुहैल नदवी)

¤¤¤¤¤



भिडियोमा हेर्नुहोस्

Sunday, March 21, 2021

अन्तिम दूतका साथीहरूको जीवनचित्रका केही झझल्को - १८

 ●●● सुमामा बिन उसाल ●●●

○○○ रजियल्लाहु अन्हु○○○

•••{ प्रस्तुति: मुहम्मद सुहैल नदवी }•••

________________________________________________


○ हिज्रतको छैठौँ वर्षमा रसूल सल्लल्लाहु अलैहि वसल्लमले....

 अल्लाहको तर्फ आमन्त्रण कार्यमा बिस्तार गर्नु खोज्नु भयो.... 

तसर्थ उहाँले अरब र गैर अरबका राजा महाराजाहरूलाई आठ वटा पत्र लेख्नु भयो .... 

र उनीहरूलाई इस्लामतर्फ आमन्त्रित गर्दै यी पत्रहरू पठाउनु भयो.....

पत्राचार गर्नु भएकाहरू मध्ये सुमामा बिन उसाल हनफी पनि थिए......

अनौठो के छ र ? ... 

सुमामा पनि इस्लाम भन्दा पहिलेको समयमा अरबका राजाहरू मध्ये एउटा राजा नै थिए ....

बनु हनीफा समुदायका प्रख्यात अगुवाहरू मध्ये एउटा अग्रज व्यक्ति ....

यमामाका शासकहरू मध्ये एक शासक .. 

जसको कुनै हुकुमको अवज्ञा हुँदैन्थ्यो .....

*******

○ सुमामाले रसूल सल्लल्लाहु अलैहि वसल्लमको पत्रलाई नीच र तुच्छ ठान्दै उसुल गरे ....

तर पापभित्र नै  गौरभ गर्ने  मन पराए उनलाई .....

तसर्थ उनले  सत्य र भलाकाम प्रति दुवै कान बन्द गर्नु नै उचित सम्झे ...

यति मात्र होइन ... 

शैतानको उक्साइमा रसूल सल्लल्लाहु अलैहि वसल्लमलाई हत्या गर्ने .......

र उहाँको निमन्त्रणा कार्यलाई नै समाप्त पार्ने निधो पनि गरे ... 

सधैं रसूल सल्लल्लाहु अलैहि वसल्लमलाई समाप्त पार्ने समयको पर्खाइमा बस्नथाले ....

 एक मौका पनि उनलाई मिल्यो.... 

आफ्नो यस निन्दनीय कार्यलाई पुरा गर्ने तरखरमा थिए उनी ......

तर  सुमामाकै कुनै दाजु वा भाइले उनलाई यो घृणात्मक कार्यबाट अन्तिम समयमा रोक्न सफल भए ... 

यसरी अल्लाहले आफ्नो सन्देशवाहकलाई जोगाउनु भयो ....

सुमामाले रसूल सल्लल्लाहु अलैहि वसल्लमप्रति यस योजनालाई कार्यान्वयन गर्न छोडे पनि.......

 उहाँका साथीहरू प्रति उसको नियतमा परिवर्तन हुन सकेन ... 

सधैं मौकाको खोजीमा हुन्थे ... 

कयौँ साथीको घातमा बसी उनीहरूलाई मार्न सफल भए ... 

तसर्थ रसूल् सल्लल्लाहु अलैहि वसल्लमले उनलाई मृत्यु दण्डको सजाय सुनाउनु भयो .......

र सबै साथीहरूमा यसको घोषणा गर्नुभयो ....

*******

○ यस घटनालाई धेरै समय पनि बितेको थिएन होला ... 

सुमामा बिन उसालले उम्रा गर्न खोजे ... 

र यमामाबाट मक्कातिर आफ्नो यात्रा सुरू गरे ...

मनमनै काबाको वरिपरि परिक्रमा गर्दै.......

 र त्यहाँ भएका अकृतिहरूसामु.....

 बलि दिने दृश्यहरूको कल्पना गर्दै .....

*******

○ सुमामा मक्का जाने बाटोमा अहिले मदीनाको नजिकबाट जाँदै थिए.......

 कि उनी माथि यस्तो आपत पर्यो जो उनले सोचेका थिएनन्....

त्यो समयमा रसूल सल्लल्लाहु अलैहि वसल्लमद्वारा केही सेना पठाइएर ......

मदीना वरिपरिको सुरक्षाको लागि गस्ती टोली खटाइएको थियो .... 

मदीनामाथि कुनै सेनाले आक्रमण नगरोस् ....

अथवा मदीना भित्र कुनै आतंकी गतिविधि नहोस् भन्ने उद्देश्यले ....

यस्तै एउटा समूहले सुमामालाई नचिनेर पनि उनलाई समात्यो ...

 समातिएर मदीना ल्याइए ...

र मस्जिदको एउटा खाँबोमा बाँधिए .... 

रसूल सल्लल्लाहु अलैहि वसल्लमले आफैं यस बन्दीको बारेमा सोधपुछ गर्नु हुन्छ ....

अथवा यसको बारेमा केही निर्णय गर्नु हुन्छ भन्ने सोचेर ....

रसूल् सल्लल्लाहु अलैहि वसल्लम जब मस्जिद तिर जानुभयो र मस्जिद भित्र प्रवेश गर्न चाहनुभयो .... 

उहाँले सुमामालाई खाँबोमा बाँधिएको देख्नुभयो .... 

अनि आफ्ना साथीहरूलाई सोध्नुभयो .....

के तिमीहरूलाई थाहा छ ... यो मान्छे को हो? ...

उनीहरूले उत्तर दिए ... 

छैन हे अल्लाहका रसूल!!!...

उहाँले भन्नुभयो ... 

यी बनु हनीफा समुदायका सुमामा बिन उसाल हुन्  ... 

यिनका साथ राम्रो व्यवहार गर....

त्यस पछि रसूल् सल्लल्लाहु अलैहि वसल्लम घर भित्र परिवारहरूतिर पाल्नु भयो .... 

र भन्नुभयो ....

 तिमीहरूसित जे जति खानेकुरा छ जम्मा गरेर सुमामा बिन उसाल नेर पठाऊ...

त्यस पछि उहाँले बिहान बेलुकी उहाँकै उँट दुह्ने र सुमामालाई दुध खुवाइने हुकुम दिनु भयो ....

यो सबै कुरा उहाँले गर्नुभयो ... 

सुमामाको अगाडि जानु अथवा त्यसलाई भेट्नु भन्दा अघि नै ...

*******

○ त्यस पछि रसूल सल्लल्लाहु अलैहि सुमामाको अगाडि  जानुभयो .... 

उनलाई थोरै थोरै इस्लामतिर निकट पार्ने उद्देश्यले .... 

तसर्थ उहाँले सोध्नु भयो ...

सुमामा तिम्रो के खबर छ?...

उनले जवाफ दिए ...

 हे मुहम्मद म नेर सबै कुशल समाचार छ .... 

यदि तपाईँले मलाई मार्नु हुन्छ भने तपाईँ एउटा  खुनीलाई नै मार्नु हुन्छ ... 

यदि तपाईँले ममाथि उपकार गर्नु हुन्छ भने एउटा कृतज्ञ मानिसमाथि उपकार गर्नु हुन्छ ... 

यदि तपाईँलाई धन चाह्यो भने तपाईंको इच्छा बमोजिम तपाईँलाई धन दिइने हुन्छ ....

उनलाई रसूल सल्ल्ल्लाहु अलैहि वसल्लमले त्यस्तै दुइ दिन सम्म छोडीदिनु भयो ... .... 

तर उनका लागि खाना पानी सबै पुर्याइने गरिन्थ्यो ... 

साथै उँटको दुध पनि दिइने गरिन्थ्यो ... 

दुई दिन पछि उहाँले फेरी उनलाई सोध्नु हुन्छ ...

सुमामा तिम्रो के खबर छ?...

उनले जवाफ दिए ... 

मसित त्यही पुरानो समाचार नै छ जो मैले अघि नै भनेको छु .... 

यदि तपाईँले मलाई मार्नु हुन्छ भने तपाईँ एउटा खुनीलाई नै मार्नु हुन्छ ... 

यदि तपाईँले ममाथि उपकार गर्नु भयो भने एउटा कृतज्ञ मानिसमाथि उपकार गर्नु हुन्छ ... 

यदि तपाईँलाई धन चाहियो भने तपाईँको इच्छा बमोजिम तपाईँलाई धन दिइनेछ ....

फेरी उनलाई रसूल सल्लल्लाहु अलैहि वसल्लमले त्यस्तै छोडीदिनु भयो ....

अर्को दिन फेरी उहाँ उता आएर सोध्नु भयो ....

सुमामा तिम्रो के खबर छ? ...

उनले जवाफ दिए ... 

मेरो खबर  त्यही हो जे मैले भनी सकें .....

यदि तपाईँले ममाथि उपकार गर्नुभयो भने एउटा कृतज्ञ मानिसमाथि उपकार गर्नु हुन्छ.... 

यदि तपाइले मलाई मार्नु हुन्छ भने तपाईँ एउटा खुनीलाई नै मार्नु हुन्छ ...... 

यदि तपाईँलाई धन चाह्यो भने तपाईँको इच्छा बमोजिम तपाईँलाई धन दिइनेछ ....

रसूल सल्लल्लाहु अलैहि वसल्लमले आफ्नो साथीहरूलाई सम्बोधित गर्दै भन्नु भयो .... 

सुमामालाई छोडीदेऊ ...

उनीहरूले उनको गाँठो फुकाइ दिए र उनलाई मुक्त गर्दिए .....

*******

○ सुमामा रसूल सल्लल्लाहु अलैहि वसल्लमको मस्जिदबाट फर्के र आफ्नो बाटोमा हिडे ...

मदीनीको छेउमा रहेको एउटा खजुरको बगैंचामा गए ...

त्यो बगैंचा बकीअको निकट थियो .... 

त्यसमा एउटा पानीको मुल थियो .... 

त्यहाँ आफ्नो उँटलाई बसाले .... 

पानीले आफुलाई सफा पारे र राम्ररी सफा सुग्घर भए .... 

त्यस पछि फेरी मस्जिद तिर फर्केर आए ...

मस्जिदतिर फर्किन वित्तिकै त्यहाँ भेला भएका मुसलमानहरूको एउटा समूहमा गएर उनले भने ...

म गवाही दिन्छु अल्लाह बाहेक कोही पूज्नीय छैन र मुहम्मद अल्लाहका भक्त र उहाँका सन्देशवाहक हुनुहुन्छ ....

त्यसपछि रसूल सल्लल्लाहु अलैहि वसल्लम नेर पुगेर भन्न थाले ....

हे मुहम्मद .... 

अल्लाह कसम... 

यस धरतीमा तपाईंको अनुहार भन्दा कुनै अनुहार पनि मलाई त्यती घृणित लाग्दैनथ्यो ... 

तर अब तपाईँको मुहार भन्दा प्रिय कुनै पनि अनुहार छैन होला.

अल्लाह कसम...  

तपाईँको धर्म भन्दा कुनै धर्म पनि मलाई घृणित लाग्दैनथ्यो .... 

तर तपाईँको धर्म मलाई सबै धर्म भन्दा प्रिय भइ सकेको छ ...

अल्लाह कसम... 

कुनै पनि शहर तपाईँको शहर भन्दा मलाई घृणित लाग्दैनथ्यो ... 

तर अब तपाईँको शहर मलाई सबै शहरहरू भन्दा प्रिय भइ सकेको छ ....

साथै भन्न थाले ... 

तपाईँका केही साथीहरूको मैले हत्या गरेको छु ... 

तपाईँ त्यस बापत मेरोलागि के निर्णय गर्नुहुन्छ? ....

उहाँले जवाफ दिनुभयो .... 

हे सुमामा अब तिमीमाथि केही लाञ्छना रहेन ... 

इस्लामले यो भन्दा पूर्व सबै दोषलाई मेटिदियो ....

सुमामाको अनुहार खुसीले प्रफुल्ल भयो ....

 र उनले भने ....

अल्लाह कसम .....

मैले हत्या गरेका तपाईँका साथीहरूको संख्या भन्दा कैयौँ गुणा बढी यी नास्तिकहरूलाई मार्नेछु ...

 र म आफ्नो प्राण, तरवार र मेरो अधिनस्थ सबै वस्तु तपाईँ र तपाईँको धर्मको सहयोगको लागि राख्ने छु .....

फेरी भन्न थाले....

हे अल्लाहका रसूल ... 

तपाईँका अश्वरोहीहरूले मलाई जुन बेला समातेका थिए ... 

म उम्रा गर्न जादै थिएँ ...  

के तपाईँले मलाई त्यो कार्य पुरा गर्न अनुमति दिनु हुन्छ ....

उहाँले भन्नु भयो .... 

तिमी उम्रा गर्न जाऊ तर अल्लाह र उहाँका रसूलले भन्नु भएका नियम अनुसार ... 

साथै उनलाई के के गर्नु पर्छ सबै कुरा सिकाउनुभयो ....

********

○ सुमामा आफ्नो गन्तव्य तिर हिडे ... 

र मक्काको उपत्यका भित्र प्रवेश गर्दा उनले उच्च स्वरमा भन्न थाले ... 

लब्बैक अल्लाहुम्म लब्बैक...

लब्बैक ला शरीक लक लब्बैक ...

इन्नल हम्द वन्निअमत लक वल्मुल्क ...

ला शरीक लक....

"हाजिर छु, हे अल्लाह म हाजिर छु" ...

"हाजिर छु , तपाईँको कोही साझी छैन, म हाजिर छु" ....

"सम्पूर्ण प्रशंसा र सम्पूर्ण उपकार तपाईँकै हुन् तथा स्वामित्व पनि" ...

"तपाईँको कोही साझा छैन" ......

यसरी उनी धरतीमाथी सबै भन्दा पहिला मुसलमान हुन् .....

जो तल्बिया (हज्ज र उम्राको बोल) पढदै मक्कामा प्रवेश गरेका छन् ...

*******

○ कुरैशले लब्बैकको आवाज सुने ... 

उनीहरू रिसाए पनि र भयभीत पनि भए ...

उनीहरूले खोलबाट तरवार निकाले ....

र आवाजको दिशातिर होमिए ... 

त्यस साहसीलाई ज्यान मार्नको लागि ....

जसले बाघको ओडारमा आक्रमण गर्न चाहेको जस्तो कार्य गर्न खोजेको हो .....

जब मानिसहरू सुमामा समीप पुगे उनले लब्बैक भन्दै अझैं लेध्रो ताने ... 

र उनीहरूतिर स्वाभिमानको दृष्टिले हेर्न थाले .... 

कुरैशको कुनै युवकले उनलाई तीर चलाइ मार्न खोजे ... 

तर उनका बुढापाकाले उसलाई रोकेर भने ....

तिम्रो नाश होस् ... के तिमीलाई थाहा छ यी को हुन् ? ...

यी सुमामा बिन उसाल हुन् .... 

यमामाको राजा ...

अल्लाह कसम ... 

यदि तिमीहरूले उनी सित केही पनि नराम्रो गर्यौ भने .....

उनका समुदायले हामीतिरको सबै निर्यात रोक्ने छन् र हामी भोकै मर्नेछौं ....

सबै जना तरवारलाई खोल भित्र राखेर  सुमामा नजिक पुगे र सोध्न थाले ....

सुमामा तिमीलाई के भएको हो ? ...

के तिमी पनि अधर्मी भयौ ? .....

र आफ्नो पुर्खाको धर्मलाई छोड्यौ? ....

उनले जवाफ दिए .... 

म अधर्मी भएको होइन ... 

तर मैले सबै भन्दा उत्तम धर्म अँगालेको छु .... 

मैले मुहम्मदको धर्मलाई स्वीकार गरेको छु ....

साथै भन्नथाले .... 

यस घरका स्वामीको कसम .... 

अब म यमामा फर्के पछि तिमीहरूतिर गहुँको एउटा दाना अथवा त्यहाँको कुनै उत्पाद तिमीहरू तिर आउन दिन्न .... 

तिमीहरू सबै जना मुहम्मदको धर्मलाई स्वीकार नगरे सम्म ....

*******

○ सुमामा बिन उसालले कुरैशका आँखा अगाडि त्यसरी नै उम्राका सबै कार्य पुरा गरे ......

जसरी उनलाई रसूल सल्लल्लाहु अलैहि वसल्लमले सिकाउनु भएको थियो ....

उनले अल्लाहको नाममा बलि दिए .... 

मूर्ति र आकृतिहरूको नामको सट्टा ....

र आफ्नो क्षेत्र तिर फर्के ...

उनले आफ्नो समुदायलाई कुरैशतिर जाने सबै निर्यात रोक्ने आदेश दिए ... 

सबैले उनका आज्ञा पालन गरे र उनका हुकुम ग्रहन गरे ....

आफु कहाँ बाट जाने सबै चीजवीच मक्काबासी प्रति रोकिए ....

*******

○ सुमामाले  कुरैशकालागि लगाएको नाकाबन्दी कडा भन्दा कडा हुँदै गयो .... 

मक्कामा सामानको मूल्य बढ्यो .... 

सर्वसाधारणमा भोकमरी बढ्न थाल्यो .... 

उनीहरूको दुःख पीडा गम्भीर हुँदै गयो ... 

आफ्नो र आफ्नो परिवारको भोकले गर्दा ज्यान जाने डर लाग्न थाल्यो ....

त्यतिखेर उनीहरूले रसूल सल्लल्लाहु अलैहि वसल्ल्मलाई एउटा पत्र पठाए ... 

त्यसमा लेखिएको थियो ...

हामीले तपाईँलाई देखे बमोजिम .....

तपाईँ आफन्तजनमा सम्बन्ध  जोड्नु हुन्छ .....

र यसको आदेश पनि दिनु हुन्छ ...

तर तपाईँले हाम्रो सम्बन्धलाई विच्छेद गर्नु भएको छ ... 

हाम्रा बुवाहरूलाई तरवारले मार्नु भएको छ .....

र हाम्रा सन्तानहरूलाई भोकद्वार मार्दै हुनुहुन्छ ...

सुमामा बिन उसालले हाम्रो खानेकुरा रोक्का गरेको छ ......

र हामीलाई धेरै हानी नोक्सानी पुर्याएको छ .... 

यदि तपाईँको नजर होस् भने हामीलाई हुने खाँचो हामी तिर पठाइनको निम्ति सुमामालाई पत्र लेख्ने अनुरोध छ ....

रसूल सल्लल्लाहु अलैहि वसल्लमले सुमामालाई पत्र लेखेर उनीहरूतिर आउने खानेकुराको रोक्का हटाउने आग्रह गर्नु भयो .... 

उनले रोक्का हटाइ दिए ...

*******

○ सुमामा जीवनको अन्तिम घडी सम्म आफ्नो धर्म पर्ति निष्ठावान रहे ......

र आफ्नो नबीसँग गरेको करारप्रति वफादार पनि....

तर रसूल सल्लल्लाहु अलैहि वसल्लम परम इश्वर अल्लाह समक्ष हाजिर हुनु भएको बेला ... 

अरबका बासिन्दाहरू अल्लाहले प्रदान गर्नु भएको जीवनपद्धतिबाट एउटा एउटा र समूह समूह गरी सम्बन्ध विच्छेद गर्न थाले .... 

साथै बनु हनीफा समुदायमा नबी हुने झुठा दावेदार मुसैलमाले उनीहरूलाई आफूमाथि इमान ल्याइने निमन्त्रणा दिन थाले .... 

त्यस बेला सुमामा ती झूठा दावेदारको प्रतिकारमा उभिए .... 

उनले आफ्नो समुदायलाई भने ...

हे बनु हनीफा ... 

तिमीहरू यस अन्धकारबाट बच्ने  गर जसमा केही आशाको किरण छैन  ...

अल्लाह कसम ......

यो मात्र एउटा श्राप हो .....

जसलाई अल्लाहले उनीहरूको लागि अनिवार्य गर्नु भएको छ .....

जो उसको कुरा मान्छ .... 

तर उनकालागि यो एउटा परीक्षा हो ......

जसले उसको कुरा मान्दैन ....

फेरी उनले भने ...

हे बनु हनीफा ... 

एक समयमा दुइवटा नबी आउँदैनन् .... 

निसन्देह ... मुहम्मद अल्लाहका रसूल हुनुहुन्छ ... 

उहाँ पछि कोही नबी आउँदैनन् ... 

र कुनै नबी उहाँको नबी हुने कार्यमा साझा पनि हुनेछैनन् ....

त्यस पछि कुर्आनको यो आयत पाठ गरे ...

हा मीम् ... कुर्आन को अवतरण सम्प्रभूत्वशाली तथा सर्वज्ञ अल्लाहको तर्फ बाट भएको हो ... जो पापमोचक, पश्चात्तापलाई स्वीकारकर्ता, कठोर दण्डदाता र समृद्धिदाता हुनुहुन्छ , उहाँ बाहेक कोही उपास्य छैन , उहाँको तर्फ नै फर्कनु छ ....(सूरह अलमुअमिन: १-३)

फेरी उनले भने ...

अल्लाहको पवित्र भनाइको दाँजोमा मुसैलमाको कथन कसरी हुन् सक्छ र ? ....

उसले भनेको छ ... 

[हे भ्यागुतो ... 

जति टरटर गर्नेछौ गर ... 

तिमी पानी पिउनबाट रोक्दैनौ ....

न पानीलाई फोहोर गर्न सक्छौ ...]

त्यस पछि उनका समुदायमा जति जना इस्लाम धर्ममा बाँकी रहेका थिए ......

उनीहरूलाई लिएर त्यहाँबाट प्रस्थान गरे ... 

र इस्लाम विरोधीहरूसित युद्धमा सामेल भए ... 

अल्लाहले चाहेबमोजिम युद्ध गर्दै .....

र धरतीमा उहाँको कथनको बोलबालाको निम्ति प्रयास गर्दै ...

अल्लाह तअलाले सुमामा बिन उसाललाई इस्लाम र मुसलमानहरूको तर्फबाट उत्तम बदला देऊन् ...

ईश्भय राख्नेहरूको लागि जुन बगैँचाहरूको वाचा गरिएको छ उनलाई प्रदान गरून् ....

उनीसित प्रसन्न होऊन् र उनलाई पनि प्रसन्न पारून्.......

_______________________________________________

(प्रस्तुति: मुहम्मद सुहैल नदवी)

¤¤¤¤¤



Thursday, March 11, 2021

अन्तिम दूतका साथीहरूको जीवनचित्रका केही झझल्को - १७

 ●○●अब्दुल्लाह बिन हुजाफा सह्मी ●○●

॰॰॰ रजियल्लाहु अन्हु॰॰॰॰

•••{प्रस्तुति: मुहम्मद सुहैल नदवी}•••

______________________


○ हाम्रो यस कथाका नायक हुन.....

रसूल सल्लल्लाहु अलैहि वसल्लमका एक साथी.....

जसलाई अब्दुल्लाह बिन हुजाफा सह्मी भन्ने गरिन्थ्यो .......

इतिहासले यस मान्छेलाई पनि केही महत्व नदिइ अगाडी बढ्न सक्थ्यो.....

जस्तै उनी भन्दा पहिलेका करोडौ अरबवासीलाई बेवास्ता गर्दै आएको थियो ... 

केही चर्चा नचलाइ..... 

केही महत्व नदिइ ......

उनीहरू इतिहासको बाक्लो पानाभित्र हराए झैँ.....

तर महान इस्लामले अब्दुल्लाह बिन हुजाफा सह्मीलाई.....

 तत्कालीन संसारका दुइवटा शक्तिशाली शासनप्रमुखसित भेट्ने अवसर दियो ....

रोमका शासक कैसर र फारसका शासक किस्रा सित...

उनका यी दुवै शक्तिशाली शासकहरूसित भेटेका कारण यस्तो वास्तविक कथा सृजित भयो .....

जसलाई समयले आफ्नो स्मरणमा सुरक्षित राखेको छ....

 र इतिहासको मुखद्वारा सधैं दोहोर्याइने  गरिन्छ ......... 

*******

○ किस्रालाई भेटने कथा हिज्रतको छैटौँ वर्षमा सुरू भयो ....

त्यस बेला रसूल सल्लल्लाहु अलैहि वसल्लमले अरबको बाहिर भएका शासकहरूतिर इस्लामको निमन्त्रणाका लागि आफ्ना केही साथीहरूलाई पत्र लिएर पठाउने निर्णय गर्नुभयो ....

उहाँलाई यस जोखिमपूर्णकामको गम्भीरता थाहा थियो ....

यी पत्रवाहकहरू यस्तो टाढा दुर्गम स्थानमा जान्छन्....

 उनीहरूले पहिले ती ठाउँहरू धाएका रहेनछन् .....

ती स्थानका बोलीभाषा  पनि जान्दैनन् .... 

ती शासकहरूको मनस्थिति  र स्वभावबाट पनि अवगत हुदैनन् ...

फेरी यी शासकहरूलाई आफ्नो धर्मलाई छोड्ने, 

तत्कालीन सान सौकतलाई त्याग्ने...

 आग्रह गर्नेछन् ....

र उनीहरूलाई एउटा यस्तो समुदायको धर्म स्वीकार गर्न निम्त्याउँनेछन् ......

जो उनैका प्रजाहरू नजिकै उनीहरू सरह नै हिजो रही आएका थिए ....

यो त वास्तवमा जेखिमपूर्ण यात्रा हुन्छ  होला...

यस यात्रामा जाने व्यक्ति हराए समान हुनेछन् ...

र फर्केर आएका मनिसहरू नयाँ जन्म लिएका सरह हुन्छन् ....

तसर्थ रसूल् सल्लल्लाहु अलैहि वसल्लमले आफ्ना साथीहरूलाई भेला गर्नुभयो.....

उनीहरू बीच भाषण दिनका निमित्त उभिनु भयो ....

उहाँले अल्लाहको प्रशंसा र उहाँको गरिमा वर्णन र महिमागान पछि भन्नुभयो ....

हेर्नुस् .... म तिमीहरू मध्ये केही मानिसहरूलाई अजम(अरब बाहेक )का राजा महाराजाहरूतिर पठाउन चाहँदैछु .... 

तसर्थ तिमीहरू मेरो कुरा त्यस्तै अस्वीकार नगर्नुस् .....

जसरी बनु इस्राइलले इसा बिन मर्यमप्रति गरेका थिए ....

रसूल सल्लल्लाहु अलैहि वसल्लमका साथीहरूले जवाफ दिए ....

हे अल्लाहका रसूल .!!!!... तपाईँ जे गर्नु चाहनु हुन्छ हामी गर्न तयार छौँ ... 

हामीलाई जहाँ पठाउँनु हुन्छ हामीलाई पठाइ हाल्नुहोस् 

*******

○ रसूल सल्लल्लाहु अलैहि वसल्लमले आफ्नो साथीहरू मध्ये छ जनालाई छान्नुभयो ..... 

अरब र अजम(गैर अरब )का शासकहरूको नाममा पत्रवहनको लागि .... 

यी छ जना मध्य अब्दुल्लाह बिन हुजाफा सह्मी पनि थिए .... 

उनी फारसको शासक किस्रालाई रसूल सल्लल्लाहु अलैहि वसल्लमको पावन पत्र पुर्याउनको लागि छानिए ....

*******

○ अब्दुल्लाह बिन हुजाफाले आफ्नो सवारी तयार गरे .... 

स्वास्नी र बच्चाहरूसित विदाइ लिए ... 

आफ्नो गन्तव्यतिर जान लागे ... 

कहिले उकालोले उनलाइ उचालि दिन्थ्यो .....

कहिले उरालोले झार्ने गर्थ्यो .... 

एक्लो  सिङ्गो नै  ...

अल्लाहबाहेक कोही पनि साथी बिना नै ... 

यसरी उनी फारसको मुलुक सम्म पुगे ... 

उनले वहाँको महाराजाको समक्ष उपस्थितहुनको लागि अनुमति माँगे ... 

उनका परिजनहरूलाई आफूले वहन गरेको पत्रको बारेमा अवगत गराए .....

यता किस्राले आफ्नो राजदरबारलाई राम्ररी सजाउने आदेश दिए....

 राजदरबार सजाइयो .... 

उनले आफ्नो परिजन र पदाधिकारीहरूलाई सभामा उपस्थित हुने हुकुम दिए ....

 हुकुम बमोजिम सबै हाजिर भए ....

त्यस पछि अब्दुल्लाह बिन हुजाफालाई प्रवेश गराइने अनुमति दिए ....

अब्दुल्लाह बिन हुजाफ फारसको महाराजाको दरबार भित्र प्रवेश गर्दा एउटा पुरानो च्यादर ओढेका र बाक्लो ऊनको शिरपोस लगाएका थिए .... 

र गाउँलेको सोझोपन टाढैबाट  झल्किन्थ्यो ....

तर पनि उनी साहसी थिए .... 

अल्को कायका,  हष्टपुष्ट व्यक्ति थिए.. 

उनले छातीभित्र इस्लामको मानमर्यादा बोकेका थिए ...... 

उनको मुटुमा इमान र आस्थाको स्वाभिमान  जगमगाउँदै थियो......

किस्राले उनलाई देख्दा आफ्नो एउटा नाइकेलाई त्यो पत्र ग्रहण गर्न अह्राए.....

 तर उनले दृढ स्वरमा भने ....

होइन ... मलाई अल्लाहका रसूल सल्लल्लाहु अलैहि वसल्लमले तपाईंको हातमा पत्र दिने आदेश दिनु भएको छ .... 

र म उहाँको आदेशको उल्लङ्घन गर्न सक्तिनँ ....

किस्राले आफ्नो मान्छेलाई भने ...

छाड देऊ म निकट आउन देऊ ....

उनी किस्राको नजिक पुगेर उनको हातमा पत्र थमाए ....

फेरी किस्राले हीराका एक अरबी लेखनदासलाई बोलाएर उनकै अगाडी त्यो पत्र खोल्न र उनको समक्ष पढ्न आदेश दिए .....

उसले आदेश बमेजिम पत्र खोलेर पढ्न थाल्यो ...

त्यसभित्र लेखेको थियो ....

शुरू अल्लाहको नामबाट जो अत्यन्त करूणामय र परम दयालु हुनुहुन्छ ... 

अल्लाहका सन्देशवाहक मुहम्मदको तर्फबाट फारसका महाराजा किस्राको नाममा ... 

जसले सत्यमार्ग ग्रहण गर्छ त्यसमाथि शान्ति होस् .....

किस्रा यतिसम्म पत्र मात्र सुनेका थिए ... 

उनको रीस छाती भित्र उम्लन थाल्यो .... 

उनको अनुहार राताम्मै हुन लाग्यो .... 

गर्दनको नसा क्रोधले फुल्न थाल्यो .... 

किनभने अल्लाहका रसूल सल्लल्लाहु अलैहि वसल्ल्मले आफ्नो नाम उनको नाम भन्दा पहिले लेख्नु भएको थियो .... 

उनले लेखनदासको हातबाट पत्र झिके र पत्र भित्र कुन विषयवस्तु लेखिएका रहेछ नबुझी त्यो पत्र च्यात्न थाले .... 

साथै कराउँदै थिए .... 

के मलाई सम्बोधन गर्दै मेरो दासले मलाई यस्तो लेख्न साहस गर्छ ...

 त्यस पछि अब्दुल्लाह बिन हुजाफको लागि उनको सभाबाट बाहिर निकाल्ने हुकुम दिए ... 

उनी त्यहाँबाट निष्कासित गरिए ...

*******

○ अब्दुल्लाह बिन हुजाफा किस्राको राज्यसभाबाट निस्के .... 

उनको भाग्यमा कस्तो परिणाम लेखिएको छ थाहा थिएन ...

उनी मारिनेछन् कि स्वतन्त्र छाडिनेछन् भन्न सकिन्नथ्यो....

तर उनले केही छिनमै मनमनै भने ...

अल्लाह कसम् .... अब मेरो के हुनेछ त्यसको पर्वाह छैन ... 

मैले त रसूल सल्लल्लाहु अलैहि वसल्लमको पत्र पुर्याइ दिएको छु ....

यो भनेर आफ्नो सवारीमाथि चढेर त्यहाँबाट हिडे ....

तर जब किस्राको रिस शान्त भयो ... 

उनले अब्दुल्लाहलाई हाजिर गर्नको लागि भने .... 

उनलाई खेज्दा भेटिएनन् .....

उनीहरूले धेरै खोजतलास गरे तर पाइएनन्  ....

बाटोमा अरबको भूमिसम्म खोज्न पठाइयो ... 

तर पत्रबाहक पहुँच भन्दा टाढा गइ सकेको रहेछ भन्ने थाहा भयो .....

जब अब्दुल्लाह रसूल सल्लल्लाहु अलैहि वसल्लमको जुनाफमा हाजिर भए .... 

उहाँलाई किस्राको खबर र उनले पत्र च्यातेको समाचार सविस्तार सुनाए .... 

रसूल सल्लल्ल्हु अलैहि वसल्लमले मात्र यति भन्नु भयो ....

अल्लाहले उनको मुलुकलाई टुक्रा टुक्रा पार्नु हुन्छ ।

*******

○ त्यसपछि किस्राले यमनमा भएका आफ्नो गभर्नर बाजानलाई पत्र पठाए, .....

त्यसमा भनिएको थियो.....

हिजाजमा उम्केको यो मान्छेतिर आफ्नो मानिसहरूमध्य दुई जनालाई पठाऊ......

 र उनीहरूलाई भन त्यसलाई म नेर लिएर आउने ..

बाजानले आफ्नो परिजनहरू मध्य दुई  समझदार मानिसहरूलाई रसूल् सल्लल्ल्हु वसल्लम तिर पठाए... 

उनीहरूलाई एउटा पत्र पनि दिए.....

 त्यसमा  रसूल सल्लल्लाहु अलैहि वसल्ल्मलाई आदेश दिइएको थियो कि .....

ढिला नगरी यी दुवै जनाको साथ किस्रालाई भेट्न निस्कनु पर्छ ....

र उनले दुवै जनालाई रसूल सल्लल्लाहु अलैहि वसल्लमको खबर राख्दै गर्ने......

 र उहाँको अवस्था हेर्दै जाने.....

 र उहाँको बारेमा जम्मा गरेको खबरप्रति.....

 उनलाई पनि अवगत गराउने जस्ता कुराहरू भने ...

*******

○ दुवै जना बाटो काट्दै ताइफ पुगे... 

त्यहाँ उनीहरूको भेट कुरैशका केही व्यापारीहरू सित भयो...

 उनीहरूले ती व्यापारीहरूसित मुहम्मद सल्लल्लाहु अलैहि वसल्लमको बारेमा सोधपुछ गरे .... 

तिनीहरूले जवाफ दिए ...

 ऊ यस्रिबमा बास गर्छ ... 

फेरी ती व्यापारीहरू प्रसन्नताका साथ खुसियाली मनाउँदै मक्का फर्के ....... 

र कुरैशलाई बधाइ दिँदै भन्न थाले ...

आफ्ना आँखा चिसो पार्नुस् ......

 किस्रा मुहम्मदको बिरोधमा उभियो अरे ..... 

उसको हानिबाट तिमीहरू जोगाइने भयो....

तर ती दुवै व्यक्ति मदीनातिर हिडि हाले.... 

मदीना पुगे पछि रसूल सल्लल्लाहु अलैहि वसल्ल्मसित भेटे ....

 उहाँलाई बाजानको पत्र पुर्याए र उनले भने ...

राजाहरूको महाराजा किस्राले हाम्रो राजा बाजानलाई पत्र पठाएका छन् तपाईंलाई उनको समक्षा पुर्याउनको निम्ति .... 

तसर्थ हामी तपाईं कहाँ आएकाछौँ .....

तपाईं हामी सँगै उनको दरवारमा हाजिर हुनुहोस... 

यदि तपाईंले हाम्रो भनाइ स्वीकार गर्नु भयो......

 हामीले किस्रासित कुरा गरेर तपाईंलाई सक्दो फाइदा पुर्याउने छौँ .....

र उनको कष्टबाट सुरक्षित पार्छौँ .... 

यदि तपाईँले मान्नु भएन भने उनको शक्ति सामर्थ्य र तपाईँ र तपाईँको समुदायलाई नाश गर्ने क्षमताबाट तपाईं अवगत नै हुनु हुन्छ ....

रसूल सल्लल्लाहु अलैहि वसल्लम अलिक मुसुक्क हाँस्नुभयो.... 

दुवै जनालाई भन्नु भयो .... 

आज आफ्नो वासस्थानमा जानु र भोलि म नेर आउनु ...

अर्को दिन उनीहरू रसूल सल्लल्लाहु अलैहि वसल्लमको जुनाफमा हाजिर हुँदा उनीहरूले सोधे .... 

सायद तपाईंले हामीसँगै किस्रालाई भेटन जानु को लागि आफुलाई तयार पारी सक्नु भएको होला ...

रसूल् सल्लल्लाहु अलैहि वसल्लमले उत्तर दिनु भयो ...

आज पछि तिमीहरू किस्रासित कहिल्यै भेट्ने छैनौ ... 

अल्लाहले उसलाई मार्नु भयो ... 

उसमाथि उसैको छोरा शीरवैहलाई प्रत्यायोजित गरेर .... 

फलानो रातमा ... 

अमुक महिनामा ....

यो सुनेर दुवै जना रसूल सल्लल्लाहु अलैहि वसल्लमको अनुहार हेर्न थाले ... 

उनको अनुहारमा भय र डर उत्पन्न भयो ... 

दुवैले भने ...

तपाईं के भन्दै हुनुहुन्छ थाहा छ ? .... 

के हामी यस्तै बाजानलाई लेखी पठाऔँ ?  ...

उहाँले जवाफ दिनुभयो .... 

अवश्य .... 

यो पनि भन देऊ ... 

मेरो यो धर्म त्यहाँसम्म पुग्ने नै छ जहाँ सम्म किस्राको साम्राज्य छ .... 

यदि तिमी मुसलमान भयौ भने तिम्रो अधिनमा रहेको राज्य तिमीलाई दिनेछु......

 र तिमीलाई आफ्नो समुदायको शासक बनाइदिन्छु ....

*******

○ दुवै जना रसूल सल्लल्लाहु अलैहि वसल्लमको नजिकबाट निस्केर गए .... 

बाजान समक्ष पुगेर उनलाई सबै खबर सविस्तार सुनाए ... 

उनले भने ... 

यदि मुहम्मदले भने को कुरा सत्य हो भने ऊ नबी नै हुन्... 

तर यदि यस्तो भएन भए मैले उनको बारेमा एउटा निर्णय गरी राख्ने छु ....

केही दिन नवित्दा बाजानलाई शीरवैहको तर्फबाट एउटा पत्र भेटियो .... 

त्यसमा लेखिएको थियो ....

याद राख, मैले किस्राको हत्या गर्दिएकोछु .... 

आफ्नो समुदायको प्रतिशोधमा मात्र मैले उसलाई मारेको छु ....

 उसले हाम्रो सज्जन र सुसम्मानित व्यक्ति हरूको हत्या गर्दै थियो ...

 उनका महिलाहरूलाई बन्दी बनाउँथ्यो र उनका धनसम्पत्तिमाथि कब्जा गर्थ्यो ... 

तिमीलाई मेरो पत्र भेट्न साथै तिम्रो वरिपरि रहेका मानिसहरूसित मेरोलागि वाचा(शपथ) लेऊ....

शीरवैहको यो पत्र पढ्न वित्तिकै बाजानले उसको पत्रलाई छेउमा फाले र आफू मुसलमान हुने घोषणा गरे ....  

उनका साथ जति फार्सीहरू यमनमा थिए.....

 सबैले इस्लामलाई स्वीकार गरे .....

*******

○ यो थियो फारसका राजा किस्रासित भेटेको अब्दुल्लाह बिन हुजाफाको सत्य कथा ....

तर रोमन साम्राज्यको नरेश कैसरसित भेट्ने कथा कस्तो थियो होला?....

कैसर सित भेटेको कथा देस्रो खलीफा उमर बिन खत्ताबको पालामा घटेको हो ...

यो घटना पनि अदभुत कथा भित्र नै पर्छ .....

हिज्रतको उन्नैसौँ वर्ष... 

उमर बिन खत्ताब रजियल्लाहु अन्हुले एउटा सेना पठाए ...

 रोमनहरूसित युद्ध गर्नको लागि ... 

त्यही सेनामा अब्दुल्लाह बिन हुजाफा सह्मी पनि सामेल थिए ...

रोमन नरेश कैसरलाई मुसलमान सेनाको खबर....

 र उनीहरू जुन इमानको निष्ठा...

 र आस्थाको दृढता....

 र अल्लाह र उहाँको रसूलप्रति बलिदान हुनेको भावनामा.....

 परिपूर्ण रहेका छन् ......

जस्ता समाचार सुनेका थिए... 

तसर्थ उनले आफ्नो मानिसहरूलाई आदेश दिए .....

यदि कुनै मुसलमान कैदी हुन्छ भने......

 उसलाई ज्यान नमार्ने र जिउँदै उनको समक्ष हाजिर गर्ने रे ....

अल्लाहको हुकुम ... सन्जोगवश अब्दुल्लाह बिन हुजाफा सह्मी रोमन धरापमा परे र उनीहरूको बन्दी बने .... 

उनीहरूले उनलाई आफ्नो राजा समक्ष हाजिर गरे ....

उनीहरूले राजालाई भने .... 

यो मुहम्मदको पुरानो साथी हो ... 

सुरू मा नै इस्लाम स्वीकारेको ... 

हाम्रो हातमा परेको थियो .......

त्यसैले यसलाई हामी तपाईंको जुनाफमा ल्याएकाछौँ ....

*******

○ रोमन नरेशले अब्दुल्लाह बिन हुजाफा सह्मी तिर लामो दृष्टिले नजर गरे ...

फेरी भन्न थाले ...

म तिम्रोलागि एउटा प्रस्ताव राख्दैछु ....

उनले सोधे ... त्यो के हो र?

उनले भने ... म तिमीलाई एउटा अवसर दिन्छु ... 

तिमी इसाई धर्म स्वीकार गर ... 

यदि तिमीले यो कुरा स्वीकार गर्यौ तिमीलाई मुक्त गर्दिन्छु ...

यस बन्दीले साह्रै गौरव र दृढताका साथ उत्तर दिए ... 

असम्भव.... 

तपाईँले जुन कुरातिर निम्त्याउदै हुनुहुन्छ......

 त्यो भन्दा मलाई मृत्यु हजार चोटि कबुल छ .... 

कैसरले भने ... 

म तिमीलाई एउटा साहसी मानिस रहेको देख्दैछु ...

 मेरो प्रस्ताव स्वीकार गरे पछि म तिमीलाई शासनमा साझा गर्छु.....

 र आफ्नो राज्यलाई बाडेर दिन्छु ... 

बेडीमा बाँधिएको बन्दीले उत्तर फर्काए ...  

अल्लाह कसम...  

यदि तिमीले मलाई आफ्नो सम्पूर्ण राज्य,.....

 र साथै अरबका सारा भुभाग......

 मलाई सुम्पिन्छौ  यस उद्देश्यले कि.....

 म मुहम्मदको धर्मबाट.....

 एक पलकोलागि पनि विमुख होउँ... 

त्यो पनि गर्न सक्तिनँ ....

उनले भने ... यसो नभए म तिम्रो ज्यान मारी दिन्छु ...

उनले जवाफ दिए ... तिमी जे गर्न सक्छौ गर ... 

त्यस पछि कैसरले उनलाई सूलीमाथि चढाउने आदेश दिए ... 

र आफ्नो धनुषधारीलाई रोमन भाषामा भने ... 

उसको दुवै हात नजिकै तीर चलाउ.... 

त्यतिखेर पनि उनलाई इसाई धर्ममा प्रवेश गर्नको लागि निम्त्याउँदै थिए .... 

तर उनले स्वीकार गरेनन् ...

फेरी दुवै खुट्टा नेर वाण हान्ने आदेश दिए ... 

साथै उनलाई इसाई धर्ममा प्रवेश गर्नको लागि निम्त्याउँदै थिए ....

तर उनले स्वीकार गरेनन् .....

फेरी उनलाई नमार्ने र सूलीको काठबाट ओराल्ने आदेश दिए ... 

साथै एउटा ठुलो भाँडो ल्याउने हुकुम दिए ... 

त्यो ल्याएपछि त्यसमा तेल हालियो र आगोमाथि चढाइयो ....

 र जब तेल उम्लिन थाल्यो ... 

दुइवटा मुसलमान बन्दीलाई ल्याउने हुकुम दिइयो .... 

ती मध्य एउटालाई जिउँदै त्यस तेल भित्र हालियो ... 

उनकै आँखा अगाडी त्यस बन्दीको मासु छुटियो ... 

र उसको खालि हाड मात्र रह्यो .... 

अर्को बन्दीलाई पनि त्यस्तै गरियो .....

त्यस पछि कैसरले अब्दुल्लाह बिन हुजाफातिर फर्केर फेरी इसाई धर्म स्वीकार गर्ने कुरा राखे ... 

तर उनको इन्कार पहिले भन्दा कडा थियो ....

अब कैसर निराश भइ सकेका थिए ... 

तसर्थ उनलाई पनि त्यही तेलको भाँडो भित्र फाल्ने निर्णय सुनाए...

 जसमा दुई जनालाई पहिले नै फाली सकेका थिए ... 

उनलाई त्यसमा हाल्नको लागि जाने बखत उनको आँखाबाट आसु झर्न थाल्यो...

 कैसरका एउटा मान्छेले उनलाई भन्यो ....

 यो बन्दी रूँदैछ  ....

उनले विचार गरे.... सायद यो बन्दी मृत्युको भयले रूँदैछ ...  

भने म नेर ल्याऊ.....

उनको सामुन्ने पुग्दा कैसरले फेरी इसाई बन्न आग्रह गरे.....

 तर उनले फेरी इन्कार गरे ...

उनले भने .... तिम्रो नाश होस्  ... अनि किन रूदैछौ? ....

उनले जवाफ दिए ....

मलाई मेरो मनमा आएको कुरा बाट रुनमन लागेको हो... 

मैले आफूलाई मनमनै भने .... 

तिमी अहिले यस तेलमा हालिए पछि प्राण त्याग्छौ.... 

तर मेरो चाहना थियो ......

यदि मेरो शरीरमा भएको रौँ जति मेरो प्राण पनि हुन्थ्यो होला....

 र सबैलाई अल्लाहको बाटो यसै भाँडा भित्र हालिने हुन्थ्यो  ...

त्यस फसादीले सोध्यो .... 

के तिमी मेरो सिरमा चुम्वन दिन सक्छौ ? .....

म तिमीलाई मुक्त  गर्दिन्छु ....

उनले भने ... 

मलाई मात्र होइन ... 

सबै मुसलमान बन्दीहरूलाई पनि .....

उसले भन्यो ... ठीक छ सबै मुसलमान बन्दी हरूलाई पनि ...

अब्दुल्लाह बिन हुजाफाले भनेका छन् ....

मैले मनमनै भने.... 

अल्लाहका शत्रुहरू मध्य एक शत्रु ... 

यदि मैले उसको सिरमा म्वाइँ खाइ दिएँ भने मसँगै सबै मुसलमान बन्दीलाई छोड दिन्छ अरे ... 

यसमा केही घाटा छैन होला .... 

फेरी उसको नजिक गएर उसको सिरमा म्वाइ खाइ दिए ..... 

रोमन नरेशले सबै मुसलमान बन्दीहरूलाई जम्मा गर्ने र उनको साथ पठाइ दिने आदेश दिए......

 र आदेश बमोजिम काम सम्पन्न गरियो .... 

*******

○ अब्दुल्लाह बिन हुजाफा सह्मी उमर बिन खत्ताब समक्ष पुगे .....

 उनलाई आफ्नो सबै वृत्तान्त सुनाए .... 

उमर फारूकले अत्यन्तै खुसी व्यक्त गरे ....

 र मसलमान बन्दीहरूलाई हेर्दा उनले भने ....

 सम्मूर्ण मुसलमानहरूमाथि अब्दुल्लाह बिन हुजाफाको सिरमा म्वाइ खान अनिवार्य छ ... 

र यो शुभकामको थालनी म नै गर्छु ...

त्यस पछि उभिएर उनको सिरमा म्वाइ खाइ दिए....

अल्लाह उनीहरूसित प्रसन्न होऊन्

( प्रस्तुति: मुहम्मद सुहैल नदवी)

¤¤¤¤¤¤