Wednesday, December 1, 2021

५१- सूरह अल जारियात नेपाली अनुवाद

○○○ ५१ - सूरह जारियात○○○

¤¤¤नेपाली अनुवाद: मुहम्मद सुहैल नदवी¤¤¤

*******

सुरू गर्दछु अल्लाहको नामबाट जो अत्यन्त करूणामय र परम दयालु हुनुहुन्छ ।

१. कसम छ धुलो उडाएर छर्किने बतासको,

२. अनि कसम छ भार वहन गर्ने वायुको,

३. अनि कसम छ मधुरो चल्ने पवनको,

४. अनि कसम छ आदेश वितरण गर्ने हावाको,

५. निसन्देह तिमीहरूसित जे प्रतिज्ञा गरिँदैछ सत्य नै हो,

६. र निश्चय नै प्रतिफल समुत्पन्न हुने नै छ,

७. शृङ्गारित आकाशको कसम,

८. निश्चय नै तिमीहरू विभेदक कुरामा लागेका छौ,

९. ती प्रति भ्रमित पारिन्छ त्यही व्यक्ति जो पहिले देखि नै भ्रमित छ,

१०. अडकलबाजहरू बर्बाद होऊन्,

११. जो नशामा सबै विर्सेका छन् ,

१२. सोध्छन्, प्रतिफलको दिन कहिले आउँला?

१३. जुन दिन तिनीहरू आगो माथि तताइनेछन्,

१४. चाख, आफ्नो दुष्टताको स्वाद, यही हो जसकोलागि तिमीहरू हतारिँदै थियौ,

१५. निसन्देह इश्भय राख्नेहरू बगैंचा र छहरीहरूमा हुनेछन्,

१६. उनीहरूका प्रतिपालकले प्रदान गर्नु भएका वस्तुहरू प्राप्त गर्दै हुनेछन्, निसन्देह यिनीहरू पहिले देखि नै उत्तम कार्य गर्ने व्यक्ति थिए,

१७. रातको केही प्रहर मात्रै उनीहरू सुत्ने गर्दथे,

१८. र रातको अन्तिमप्रहरमा उनीहरू उहाँसित क्षमायाचना गर्ने गर्दथे,

१९. उनीहरूको सम्पत्तिमा भिक्षार्थी र धनहीनहरूको हक हुन्थ्यो,

२०. धरतीमा विश्वास गर्नेवालाहरूको निमित्त कतिपय प्रमाणहरू छन्,

२१. तथा स्वयं तिमीहरू भित्र पनि, के तिमीहरू देख्दैनौ?

२२. र आकाशमा तिमीहरूको जीविका छ र त्यो पनि जसको प्रतिज्ञा गरिँदैछ,

२३. अनि कसम छ आकाश र धरतीका स्वामीको, निसन्देह यो कुरा परम सत्य नै हो तिमीहरूले कुराकानी गर्दै हुने जस्तो,

२४. के तपाइँले इब्राहीका सुसम्मानित अतिथिको कथा सुन्नु भएको हो,

२५. जब उनीहरू उनी निर आए, अनि उनीहरूले भने, सलाम होस्, उनले पनि भने सलाम छ, र मनमनै भन्न थाले यी त अपरिचित व्यक्तिहरू हुन्,

२६. त्यस पछि आफ्नो परिवार तिर स्वात्त गए र एउटा परिपक्व मोटो बाछो लिएर आए,

२७. अनि उनीहरूको सामुन्ने पस्के, र भने, के तपाईँहरू खानु हुन्न र?

२८. अनि उनीहरूदेखि मनमा डर पस्यो, उनीहरूले भने, नअत्तिनु, र उनलाई एउटा विद्वान छोराको शुभसमाचार सुनाए,

२९. त्यतिखेर, उनकी धर्मपत्नि कराउँदै आइन् र आफ्नो निधारमा जोरले हात ठोकिन्, र भनिन्, के एउटी बूढी बाँझोले ?

३०. उनीहरूले भने, यस्तो नै तपाईँका पालनकर्ताले भन्नु भएको हो, निसन्देह उहाँ नै तत्वदर्शी र सर्वज्ञ हुनुहुन्छ,

३१. इब्राही अ. ले सोधे, तिमीहरूको उद्देश्य के रहेको छ हे पठाइएका दूतहरू,

३२. उनीहरूले जवाफ दिए, हामी एउटा अपराधी समुदाय तिर पठाइएका छौँ,

३३. हामीले उनीहरूमाथि माटोद्वारा बनाइएका ढुँगाहरूको बर्सा गर्नको निम्ति,

३४. जुन सीमा नाघ्नेहरूको लागि तपाईँको प्रतिपालक नेर चिनो लगाइका छन् ,

३५. तसर्थ हामीले त्यहाँ जति पनि इमानवाला थिए सबैलाई बाहिर्याएका छौँ,

३६. अनि त्यहाँ हामीले मुसलमानका एक घर बाहेक पाएनौँ,

३७. र त्यहाँ हामीले एउटा निसानी छोडेका छौँ, तिनीहरूको निमित्त जो पीडादायक सजायबाट भय राख्ने गर्छन्,

३८. र मूसाको कथामा पनि, जब हामीले उनलाई स्पष्ट प्रमाणहरू सहित फिर्औन तिर पठायौं,

३९. तर फिर्औन आफ्नो शक्तिको भरमा विमुख भयो, र भन्यो, यो जादुगर हो कि बुद्धिभ्रष्ट,

४०. तसर्थ हामीले उसलाई र उसका सेनाहरूलाई समात्यौं अनि समुद्रमा फाल्यौं, र त्यो निन्दनीय व्यक्ति नै थियो,

४१. र आदको कथामा पनि, जब हामीले उनीहरूको लागि बाँझो हुरी पठायौं,

४२. जे माथि बग्थ्यो त्यसलाई भताभुङ्गै पारेर मात्र छाड्थ्यो,

४३. र समूदको कथामा पनि, जब उनीहरूलाई भनियो, तिमीहरू एक निश्चित समयसम्म मौजमस्ती गरिहाल,

४४. तर उनीहरूले अफ्ना पालनकर्ताको आदेश अवज्ञा गरे, अनि उनीहरूलाई हेर्दाहेर्दै चट्याङ्गले समात्यो, 

४५. र उनीहरू उभिन पनि सकेनन् नत बदला लिन नै पाए,

४६. र यिनीहरू भन्दा पहिले नूहका समुदायलाई पनि, यिनीहरू सबै अवश्य नै अवज्ञाकारी समुदाय नै थिए,

४७. र आकाशलाई हामीले सामर्थ्यद्वारा बनाएका छौं र हामी निश्चय नै सामर्थ्यवान हौं,

४८. र पृथ्वीलाई हामीले ओछ्याएका हौं, र हामी कस्तो उत्तम विच्छाउनेवाला हौं,

४९. र हरेक वस्तुलाई पनि हामीले जोडा जोडा बनाएका छौं, सायद तिमीहरूले उपदेश ग्रहण गरून भनेर,

५०. तसर्थ अल्लाह तिर नै दगुर, निसन्देह म तिमीहरूको लागि उहाँको तर्फबाट खुल्ला डराउनेवाला हो,

५१. र अल्लाहको अतिरिक्त अरू कुनै उपास्य नबनाउ, म तिमीहरूको लागि उहाँको तर्फबाट खुल्ला सचेतक हो,

५२. यसरी नै यिनीहरू भन्दा पहिलेका समुदायहरू तिर जो सन्देशवाहक आएपनि उनीहरूले जादुगर र पागल नै हो भन्ने गर्दथे,

५३. के यिनीहरूले एक अर्कालाई यस बापत सल्लाह दिने गर्दथे? होइन, बरू यिनीहरू सबै सीमा नाघ्ने समुदाय नै थिए,

५४. तसर्थ तपाईँ यिनीहरू तिर बाट मुख फर्काइ हाल्नु होस्, तपाईँ माथि कुनै लान्छना हुनेछैन,

५५. र अर्ति उपदेश दिँदै गर्नु, किन भने इमानवालाहरूको लागि अर्तिउपदेशले नाफा दिन्छ,

५६. र मैले जिन्न र मनुष्यको सृष्टि मात्र मेरै उपासनाको लागि गरेको हो,

५७. म उनीहरूसित जीविका चाहदिँन र मलाई उनीहरूले खुवाउनु पर्ने लालसा पनि छैन,

५८. निसन्देह अल्लाह नै जीविका प्रदानकर्ता, परम शक्तिशाली र अति प्रबल हुनुहुन्छ,

५९. अनि अवश्य नै जसले अपराध गरेका छन्, उनीहरूलाई उनका साथीमित्रहरू जस्तै फाँट मिल्नेछ , तसर्थ उनीहरूलाई हतारिनु पर्दैन,

६०. अनि अवज्ञा गर्नेहरूको लागि पूर्ण बर्बादी नै छ, त्यो दिनमा जसको प्रतिज्ञा गरिँदै छ,

(नेपाली अनुवाद: मुहम्मद सुहैल नदवी)

¤¤¤¤¤



No comments:

Post a Comment