Wednesday, December 29, 2021

५२. सूरह अल तूरकाे नेपाली अनुवाद

 ५२. सूरह अल तूरकाे नेपाली अनुवाद

मुहम्मद सुहैल नदवी

.......................................................................................................................................................

सुरू गर्दछु अल्लाहको नामबाट जो अत्यन्त करूणामय र परम दयालु हुनुहुन्छ

१. कसम छ तूर पहाडको,

२. कसम छ लिखित किताबको,

३. फैलाइएको पानाभित्र,

४. कसम छ भरिपूर्ण गृह- बैतुल्मामूरको,

५. कसम छ अग्लो छाना - आकाशको,

६. कसम छ तरङगायित समुद्रको,

७. निसन्देह तपाईँका प्रतिपालकको सजाय अवश्य नै पुरा हुनेछ,

८. उसलाई रोक्नेवाला कोही हुने छैन,

९. जुन दिन आकाश थर थर काम्नेछ,

१०. र पहाडहरू हिडे झैं चल्नेछन्,

११. अनि त्यो दिन इन्कारीहरूको लागि पूर्णतः बर्बादी नै हुनेछ,

१२. जो वादप्रतिवादको खेल खेलि रहेका छन्,

१३. जुन दिन तिनीहरू नर्कको आगोमा ह्वात्तै धकेलिनेछन्,

१४. यही आगो हो जसलाई तिमीहरूले असत्य भन्दै थियौ ?,

१५. हेर, के यो कुनै जादु हो? अथवा तिमीहरू अब देख्दैनौ?

१६. पस त्यसै भित्र, अब सहन गर कि नगर, दुवै तिमीहरूको लागि समान नै हो, निश्चय नै तिमीहरूलाई त्यही बदला दिइँदैछौ जेा तिमीहरूले गर्ने गर्थ्याै,

१७. अवश्य नै ईशभय राख्ने व्यक्तिहरू बगैंचाहरू र सुखसयलमा हुनेछन्,

१८. खुसियाली मनाउँदै ती कुराहरू प्रति जो उनीहरूलाई उनका प्रतिपालकले प्रदान गर्नु भएको हुनेछ, तथा उनका प्रतिपालकले उनीहरूलाई नर्कको यातनाबाट पनि बचाउनु भएको हुनेछ,

१९. निसङ्कोच तिमीहरू खाऊ र पिऊ, त्यसको सट्टा जो तिमीहरू सुकर्म गर्दै थियौ,

२०. पङ्क्तिबद्ध सिँहासनमा अडेस लागाएका हुनेछन्, र हामीले मृगनयनी सुन्दर नारीहरू सँग उनीहरूको विहे गर्नेछौँ,

२१. जुन मानिसहरूले इमान स्वीकार गरे र उनका सन्तानहरूले पनि इमानका साथ उनका अनुसरण गरे, हामी उनीहरूसँगै उनका सन्तानहरूलाई पनि मिलाइ दिनेछौँ, र उनीहरूमध्ये कसैको सत्कर्मलाई घटाउने छैनौँ, हरेक व्यक्ति आफूले गरेको काम संगै बाँधिएको हुन्छ, 

२२. र हामीले उनीहरूले राेज्ने फलफूल र मासु निरन्तरताका साथ प्रदान गर्दै जान्छौं,

२३. त्यहाँ आपसमा यस्ता प्यालाहरू साटासाट  गर्दै हाेलान् जसमा न कुनै दुर्वचन हुन्छ न कुनै दुषकर्म नै ,

२४. र उनीहरूको वरिपरि उनका सेवक केटाहरू फन्को लगाउँदै हुनेछन्, मानौं तिनीहरू सुरक्षित राखिएका मणि हुन्,

२५. र उनीहरू एक अर्का तिर फर्केर आपसमा सोधपुछ गर्नेछन्,

२६. भन्नेछन्, यो भन्दा पहिले हामीहरू आफ्नो घरपरिवारमा बेसरी नै त्रसित थियौँ,

२७. तर अल्लाहले हामी माथि कृपा गर्नु भयो र हामीलाई परितापी अागाेको यातनाबाट जोगाउनु भयो,

२८. निसन्देह हामी पहिले देखि नै उहाँलाई नै पुकार्ने गर्दथ्यौँ, उहाँ अति नै कृपावान र परम दयालु हुनुहुन्छ,

२९. तसर्थ हे नबी, तपाईँ उपदेश दिँदै गर्नु हाेस्, किन भने तपाईँ आफ्नो पालनकर्ताको कृपाले न ज्येतिषी हुनुहुन्छ न बुद्धिहीन नै,

३०. के उनीहरू भन्दैछन्, यो त कवि हो, र हामी उसको समयकाे फेरबदलको पर्खाइमा छौं,

३१. तपाईँ भन्नुस्, तिमीहरू पर्खाइमा बस्दै गर, म पनि तिमीहरूको साथ पर्खनेहरू मध्ये नै हो,

३२. के उनीहरूको बुद्धिले उनीहरूलाई यही कुरा दर्शाएको छ , अथवा उनीहरू पनि सीमा नाघ्ने समुदाय नै छन्,

३३. के उनी उनीहरू यो भन्दैछन् कि उसले उसलाई आफैं रचना गरेको छ, होइन उनीहरू वास्तवमा विश्वास नै गर्दैनन्,

३४. तसर्थ यदि उनीहरू सत्यवान हुन् भने यसको जस्तै एउटा वाक्य नै ल्याउन्,

३५. के उनीहरू कुनै वस्तु बिना नै सृष्टित गरिएकाछन्, कि उनीहरू नै सृष्टिकर्ता हुन्,

३६. अथवा के उनीहरूले नै सम्पूर्ण आकाश र पृथ्वीको सृष्टि गरेका रहेछन्, बरू यिनीहरू एकीन गर्ने मानिस नै हाेइनन्,

३७. अथवा के उनीहरू सित तपाईँको स्वामीको ढुकुटी छ कि, अथवा यिनीहरू नै त्यसको अधिकृत छन्,

३८. कि यिनीहरूसित कुनै विशाल सिँढी त छैन जसकोद्वारा यिनीहरू ध्यानपूर्वक सुन्ने गर्छन्, तसर्थ उनीहरू मध्ये ध्यानपूर्वक सुन्ने व्यक्तिहरूलाई कुनै स्पष्ट प्रमाण पेश गर्नु पर्छ,

३९. के उहाँ अल्लाहको लागि छोरीहरूछन्  र तिम्रा लागि छोराहरू अरे ,

४०. के तपाईँ उनीहरूसित कुनै ज्याला माग्दै हुनुहुन्छ कि, र उनीहरू ऋणमुनि दाबीएका छन्,

४१. के उनीहरू सित पराेक्षकाे  ज्ञान छ र यिनीहरू लेख्दै छन्,

४२. कि उनीहरू कुनै छल पो गर्ने खोज्दैछन्, बरू वास्तवमा कुफ्र गर्नेहरू आफैं छलित छन्,

४३. कि उनीहरूको लागि अल्लाहको अतिरिक्त अरू कुनै स्वामी छ क्यारे, अल्लाहको अतिरिक्त जे पनि उनीहरू साझा गर्दैछन्, अल्लाह ती सबै कुराबाट पवित्र हुनुहुन्छ,

४४. यदि उनीहरूले आकाशको कुनै टुक्रालाई उनीहरू माथि खस्दै देख्ने छन् भने यो त एउटा खाताखात बादल पो हो भन्ने छन्,

४५. तसर्थ तपाईँ उनीहरूलाई छाड्नुस्, त्यो दिन सम्म जब तिनीहरू त्यो दिनलाई भोग्ने छन् जसमा यिनीहरू निर्विवेक हुनेछन्,

४६. जुन दिन उनीहरूको योजनाले उनीहरूलाई केही फाइदा पुर्याउने छैन, नत यिनीहरूको केही सहयोग नै गरिनेछ,

४७. र निसन्देह अत्याचारीहरूको लागि यो भन्दा पहिले पनि सजायहरू छन्, तर यिनीहरूमध्ये धेरै जनालाई यसको ज्ञान पनि छैन,

४८. र आफ्ना प्रतिपालकको आदेश निमित्त धैर्य राख्नुहाेस्, किन भने तपाईँ हाम्रै आँखा अगाडी हुनुहुन्छ, र आफ्ना प्रतिपालकको महिमागान गर्नु, बिहान  उठनु हुने बेला,

४९. र रातमा पनि उहाँकै महिमा वर्णन गर्नु र ताराहरू अस्ताए पश्चात पनि,

सूरह समाप्त



No comments:

Post a Comment