Tuesday, February 8, 2022

५३- सूरह अन्नज्मको नेपाली अनुवाद

 ○सूरह अन्नज्म○ 

(नेपाली अनुवाद: मुहम्मद सुहैल नदवी)

○○○○○○○

सुरू गर्दछु अल्लाहको नामबाट, जो अत्यन्त करूणामय र परम दयालु हुनुहुन्छ ।

१. कसम छ ताराको ! जब ऊ झर्छ ।

२. तिमीहरूका साथीले बाटो गुमाउनु भएको र पथभ्रष्ट हुनु भएको होइन ।

३. र उहाँ आफ्नो विचारले केही बोल्नु हुँदैनन्,

४. त्यो मात्र एउटा इशवाणी हो जो पठाइन्छ,

५. उहाँलाई एउटा अति शक्तिशाली फरिश्ताले सिकाए,

६. प्रबल अकृतिको, अनि सामुन्ने उभिए,

७. जब ऊनी सर्वोच्च क्षितिजमा थिए,

८. फेरी निकट आए अनि झुण्डिए,

९. अतः दुई धनुषबीचको दूरीमा अथवा त्यो भन्दा पनि निकट थिए ।

१०. त्यस बेला अल्लाहले आफ्नो भक्ततिर सन्देश पठाउनु भयो जे उहाँले पठाउनु भयो,

११. उहाँको आँखाले देखेको कुरामा मुटुले मिथ्य मिसाएन,

१२. के उहाँले जे देख्नुभयो त्यस प्रति तिमीहरू उहाँसित वादप्रतिवाद गर्दैछौ?

१३. र निसन्देह उहाँले उनलाई दोस्रो पटक पनि देख्नु भएको हो,

१४. सिद्रतुल मुन्तहा अथवा अन्तिम वयरको रूख नजिक,

१५. उसको निकट नै जन्नतुल मावा अथवा सदैव बस्ने बगैँचा पनि छ,

१६. जब वयरको रूखमाथि ढाक्दै थियो जे वस्तु ढाक्दै थियो,

१७. दृष्टि न त बाङ्गियो न सीमा नै नाघ्यो,

१८. निसन्देह उहाँले आफ्ना प्रतिपालकका ठुलठुला निशानीमध्ये केहीलाई देख्नुभयो ।

१९. अनि तिमीले के सोच्याै लात र उज्ज्को बारेमा ?

२०. र अर्को तेस्रो भएको मनातको बारेमा ।

२१. के तिम्रालागि छोराहरू  र अल्लाहकालागि छोरीहरू अरे ?

२२. यो  अति अन्यायपूर्ण बाँडफाँड पो भयो त !

२३. वास्तवमा यी मात्र नाम नै हुन जो तिमीहरू र तिम्रा पुर्खाहरूले नामाङ्कन गरेका छौ, अल्लाहले यसको लागि कुनै प्रमाण अवतारण गर्नु भएको छैन, यिनीहरू मात्र अनुमान र मनले रोजेको कुराहरूको पछि लागेका छन्, यस अवस्थामा पनि कि यिनीहरू समक्ष यिनीहरूका प्रतिपालकको तर्फबाट सत्यमार्ग अइसकेको छ । 

२४. के मनुष्यले जे कल्पना गर्यो, पाइनु पर्ने नै हाे र  ?

२५. अतः अल्लाहकै मात्र हुन्, अन्तिम लोक पनि र प्रथमलोक पनि ।

२६. र अकाशहरूमा कति फरिश्ताहरू छन् जसको सिफारिसले केही काम दिदैँन, तर मात्र अल्लाहले उनीहरू मध्ये जसलाई अनुमति दिनु हुन्छ र जसबाट प्रसन्न हुनुहुन्छ,

२७. निसन्देह जो मानिसहरू अन्तिम दिनमाथि इमान राख्दैनन् उनीहरू नै फरिश्ताहरूको स्त्रीबोधक नाम राख्ने गर्छन्,

२८. र उनीहरूलाई यसको केही ज्ञान हुँदैन, यिनी मात्र कल्पनाको पछि लाग्छन् र कल्पनाले सत्य कुरामा कहिल्यै नाफा पुर्याउँदैन,

२९. तसर्थ तपाईँ पनि मुख फर्काइ हाल्नु होस तिनीहरूबाट जो हाम्रो आदेशबाट विमुख हुन्छ र मात्र सांसारिक जीवनलाई नै रोज्ने गर्छ,

३०. यहि उनीहरूको ज्ञानको अन्तिम चरण हो, नि:सन्देह तपाईंका प्रतिपालक, उहाँ नै बढी जान्नु हुन्छ कसले उहाँको पथलाई गुमाएको छ र उहाँनै बढी जान्नु हुन्छ को सत्यमार्गमा छ ।

३१. र अल्लाह कै स्वामित्व हो , जो सम्पूर्ण अकाश र धरतीमा छन्, कि जसले दुष्कर्म गर्यो उसको कर्म जस्तै बदला देऊन्, र जसले सत्कर्म गर्यो उसलाई उत्तम प्रतिफल देऊन्,

३२. जुन मानिसहरू ठुलठुला पाप र दुष्टताबाट बच्ने गर्छन्, मात्र सानातिना भुलचुक बाहेक, नि:सन्देह तपाईंका प्रतिपालक अति क्षमाशील हुनुहुन्छ, उहाँले तिमीहरूलाई राम्ररी जान्नु हुन्छ, जब तिमीहरूलाई भूमिबाट बनाउनु भयो, र जुन बेला तिमीहरू आमाको गर्भाशयमा भ्रूण नै थियौ, तसर्थ आफूलाई विशुद्ध नठान, उहाँ नै राम्ररी जान्नु हुन्छ काे उहाँसित भय राख्दछ,

३३. के अनि तपाईँले त्य्सलाई देख्नुभयो, जसले मुख फर्कायो 

३४. र थोरै दान दियो र हात रोक्यो,

३५. के ऊसित गैब ( परोक्ष) को ज्ञान छ र? र ऊ देख्दैछ,

३६. के उसलाई सूचित गरिएको छैन र ? जो मूसाको किताबमा छ,

३७. र कर्तव्य पालना गर्नुभएको इब्राहीमको किताबमा पनि,

३८. कि कुनै भरियाले अर्काको भार बोक्ने छैन,

३९. र कुनै मनुष्यको हक आफूले गरेको प्रयास मात्र हो,

४०. र उसको यो प्रयास अवश्य हेरिनेछ,

४१. फेरी उसको पुरा पुरा बदला दिइनेछ,

४२. र निसन्देह तपाईंका प्रतिपालकसम्म नै पुग्नु पर्नेछ,

४३. र उहाँ नै हुन्, जो हँसाउनु हुन्छ र जो रुवाउनु हुन्छ,

४४. र उहाँ नै हुन्, जो मृत्यु दिनु हुन्छ र जीवन प्रदान गर्नु हुन्छ,

४५. र उहाँले नै दुइ जोर बनाउनु भएको हो, नर र नारी,

४६. वीर्यद्वारा, जब त्यो उत्सर्जित हुन्छ,

४७. र उहाँको जिम्मा नै हो पुनः जीवित पार्नु,

४८. र उहाँ नै धनवान् बनाउनु हुन्छ र सम्पत्ति सुरक्षित पार्नु हुन्छ,

४९. उहाँ नै व्याध ताराका स्वामी हुनुहुन्छ,

५०. र उहाँले नै प्रथम आदलाई विनाश पार्नु भयो,

५१. र समूदलाई पनि, अतः कसैलाई छाड्नु भएन,

५२. र नूहका समुदायलाई पनि यो भन्दा पहिले नै, नि:सन्देह उनीहरू नै बढी अत्याचारी र अति सीमा नाघ्ने थिए,

५३. र पल्टाइएका समुदायहरूलाई पनि उहाँले नै पल्टाउनु भएको हो,

५४. अतः छोप्यो उनीहरूलाई जेले छोप्यो,

५५. तसर्थ आफ्ना प्रतिपालकका कुन निशानी बारे वादप्रतिवाद गर्दैछाै?

५६. यहाँ पनि एउटा सचेतक हुनुहुन्छ पहिला सचेकतहरू मध्ये नै,

५७. आउने निश्चित समय निकट आइ पुग्यो,

५८. त्यसलाई अल्लाह बाहेक कोही हटाउने वाला छैन,

५९. अतः के यी कुराहरूले तिमीहरू अचम्मित पर्छौ,

६०. र तिमीहरू हाँस्छौ र रूदैनौ ?

६१. र घमण्डका साथ रमाउने गर्छौ ?

६२. तसर्थ अल्लाहकै लागि सज्दा गर र उहाँकै उपासना गर, 

सूरह समाप्त

¤¤¤¤¤¤¤



No comments:

Post a Comment