सल्मान फार्सी
रजियल्लाहु अन्हु
प्रस्तुति: मुहम्मद सुहैल नदवी
यो कथा हो सत्यको खोजी गर्ने एक पौरखीको ...
आफ्नो पालनकर्ताको पत्तो लगाउने एउटा साहसीको....
यो वृत्तान्त हो सल्मान फार्सीको ....
अल्लाह उनीसित प्रसन्न होऊन् र उनलाई खुसी पारून् ....
सल्मान फार्सीद्वारा नै उनको कथा सुनौँ ... उनकै मुखबाट उनीमाथि परेका व्यथा बुझौँ ....
उनको आफ्नो अनुभूति उनीद्वारा नै प्रबल हुन सक्ला र उनले आफ्नो वृत्तान्त स्पष्ट र सत्य निष्ठ तवरले आफै वर्णन गर्न सक्लान् ।
सल्मान फार्सी (रजियल्लाहु अन्हु)ले आफ्नो जीवन कथा यस प्रकार सुनाएका छन् ।
म अस्फहानको एउटा गाउँ जय्यानमा बस्ने एउटा फार्सी तरूण थिएँ ...
मेरा बुवा गाउँका जमीनदार थिए ... सबैभन्दा धनी र सबै भन्दा प्रख्यात अनि शक्तिशाली..
र म उनको छोरो भएकाले उनको नजरमा सन्सारभरिको् सबै भन्दा प्रिय र मायालु ... दिनैदिन मप्रति उनको माया बढ्दै गयो.... मप्रति उनको स्नेह प्रबल हुँदै गयो ... र यस कारण उनले मलाई घर भित्र त्यस्तै रेखदेख गर्दै छेकि राखे जसरी कुमारी केटीहरू छेकिन्छन् ।
मैले जरथुरस्त धर्ममा अत्यन्त तपस्या गरेँ हामीले पुज्ने अग्निको म निरीक्षक भएँ .... आगो सल्काउनु र त्यसलाई निभ्नबाट जोगाउनु मेरो जिम्मामा लगाइयो ....
मेरा बुवाको एउटा ठुलो जग्गा थियो ... त्यहाँबाट धेरै अन्नबालि आउँथ्यो ...मेरा वुवा त्यसको हेरचाह गर्थे....
एक दिन कुनै कारणले बुवा खेततिर जान भ्याएनछन् ...उनले मलाई भने ...
छोरा ... आज म खेत तिर जान भ्याइनँ ... म कति व्यस्थ् छु तिमी देख्दैछौ ... आज तिमी गएर मैले गर्नु पर्ने कामहरू पुरा गरेर आउ...
बुवाको आदेश बमेजिम म खेततिर हिडेँ ... बाटोमा जाँदा जाँदै इसाईहरूको एउटा गिर्जाघर भेटियो ... उनीहरू त्यहाँ उपासना गर्दै थिए ... मेरो कानले उनीहरूको स्वर सुने... र यसरी मेरो ध्यान आकर्षित भयो ....
****
मलाई इसाईहरूको धर्म कि अन्य कुनै पनि धर्मको बारेमा केही थाहा थिएन ... लामो समय देखि त म घर भित्र थुनिएको थिएँ ...म उनीहरूको स्वर सुनेर गिर्जाघर भित्र गएँ.... उनीहरू के गर्दैछन् भन्ने जिज्ञासा मेट्नको लागि ... र उनीहरूको कामकुरा हेर्नको निम्ति ....
मैले उनीहरूलाई हेरेँ ...उनको पूजाको तरिका धेरै राम्रो लाग्यो ... र उनीहरूको धर्म अति नै मन पर्यो ....
मैले मनमनै भनेँ .... ईश्वर कसम् ...यो धर्म त हाम्रो धर्म भन्दा उत्तम पो रहेछ ...
म उनीहरूको साथमा नै बसेँ ... सूर्यास्त सम्म ... बुवाको खेत तिर पनि गइनँ ....
मैले उनीहरूलाई सोधेँ ...
यस धर्मको मुहान कहाँ छ ? ....
उनीहरूले जवाफ दिए .... शाम मा ...
राति भएपछि म घर फर्केँ ... मेरो बुवाले मलाई भेटेर मेरो समाचार सोधे ....
मैले भनेँ .... बुवा ... म बाटोमा जाँदा जाँदै एउटा गिर्जाघर नेर पुगेँ त्यहाँ केही मानिसहरू पूजा गर्दै थिए ... मलाई त्यो दृश्य धेरै मन पर्यो .... उनीहरूको धर्मको कुरा मलाई राम्रो लाग्यो ... त्यसैले सूर्यास्त सम्म म त्यहीँ बसें ... अरू कही पनि गइनँ ...
मेरो भनाइ सुनेर मेरा बुवा डराए .. उनले भने ...
हे छोरा ... त्यो धर्म राम्रो होइन... तिम्रो र तिम्रा पुर्खाको धर्म त्यो भन्दा अति उत्तम छ ...
मैले भने .... होइन .... भगवान कसम् ...उनीहरूको धर्म हाम्रो धर्म भन्दा उत्तम छ ....
मेरो कुराले बुवालाई बेसरी डराए ... म आफ्नो धर्मलाई छोडी दिन्छु भन्ने शंका लाग्यो होला,तसर्थ मलाई फेरी घरमै थुनी दिए .... र मेरा खुट्टामा नेल ठोकि दिए....
****
मलाई मौका मिल्ने बित्तिकै मैले इसाईहरूलाई ... यदि कुनै यात्रीसमूह शाम तिर जाने हुन्छ भने मलाई सूचित गरि दिनु भनेर खबर पठाएँ.
केही दिनमै एउटा यात्रीसमूह शाम तिर जानको निम्ति आइ पुग्यो ... उनीहरूले मलाई खबर दिए ... मैले जसरीतसरी नेल फुकाएँ... र लुक्दै छिप्दै शाम तिर लागें ...
शाममा पुगेर मैले सोधेँ ....
यो धर्मको सबै भन्दा महान गुरु को हुनु हुन्छ ....
उनीहरूले उत्तर दिए .... गिरिजाको निरीक्षक पोप ... धर्मअध्यक्ष ....
म उनी कहाँ पुगें .. र भनेँ..
म इसाई धर्मलाई रोजेर आएको छु ...तपाईँका साथ बस्ने र तपाईँकै सेवा गर्ने रहर लिएर .... साथै तपाइँ समक्ष पढ्छु र सँगै उपासना पनि गर्छु .....
उनले भने...
आउ... म उनीकहाँ गएँ ... र उनको सेवा गर्न थालेँ..
केही दिन वित्न न पाउँदै ... मलाई ज्ञात भयो ... यो मान्छे त धूर्त पो रहेछ ....
अरू मानिसहरूलाई दान गर्ने आदेश दिन्छ .... उनीहरूलाई अन्तिम दिनको उपकार तिर रोजाउँछ ... यदि कोही दान सहयोग लिएर आउँछ र गरिबगुरुवा र खाँचोमा परेकालागि खर्च गर्न भन्छ .... खर्च गरियो भने आफैं जम्मा गरेर राख्छ ... गरिब निर्धोहरूलाई त्यस मध्ये केही पनि दिँदैन रहेछ .... यसरी उसले सुनले सात वटा घडा भरेर जम्मा गरेको रहेछ...
मलाई ऊ सित अति घृणा लाग्यो ... उसको दुष्कर्म देखेर ....तर केही दिनमै उसको निधन भयो ...
इसाईहरू उसलाई अन्तिम संस्कार गर्न भेला भए ...
मैले उनीहरूलाई भनेँ ....
तिम्रो यो गुरु त धूर्त मानिस थियो ....तिमीहरूलाई दान पुण्य गर्न भन्थ्यो ...... तिमीहरूलाई त्यसको लालसा दिलाउँथ्यो .. यदि तिमीहरू केही लिएर आयौ भने. उसले आफ्नोलागि सुरक्षित पारेर राख्ने गर्दथ्यो ... गरिब लाचारलाई केहीपनि दिदैन्थ्यो..
मानिसहरूले सोधे ... तिमीलाई कसरी थाहा भयो र ?
मैले भनेँ .... म तिमीहरूलाई उसको ढुकुटी र खजाना तिर लान्छु ...
उनीहरूले भने ... लौ त हामीलाई देखाउ ... त्यो कहाँ छ ? ...
मैले उनीहरूलाई उसको ढुकुटी र खजाना राख्ने ठाउँ देखाएँ ...
त्यहाँबाट उनीहरूले सुन र चाँदीले भरिपूर्ण सात वटा घडा निकाले ... यो देख्ने वित्तिकै उनीहरू भन्न लागे...
यसलाई हामीले जमिनमा न पुर्ने.. फेरी उसलाई सूली चढाइयो र ढुँगा पत्थरले हानियो ...
केही दिन बित्न नपाउदै.. उनीहरूले उसको स्थानमा एउटा अर्को मानिसलाई नियुक्त गरे ... म उसको साथमा बसें ... मैले त्यो मानिस भन्दा अरू कसैलाई देखेको छैन जो सन्सारप्रति निरपेक्ष, अन्तिम दिनको अभिलाषा बोक्ने र रात दिन उपासनामा व्यतित गर्ने हुन सक्छ .... मैले उनलाई धेरै माया गरेँ ... लामो अवधि सम्म बसेँ ..
. तर उनको पनि अन्तिम समय आयो ...
त्यो बेला मैले उनलाई भनेँ ... हजुर .. तपाइँ मृत्युलोक सुधारेपछि कोसँग बस्न मलाई सल्लाह दिनु हुन्छ ... मलाई कसको जिम्मा लाउनु हुन्छ ? ....
उनले उत्तर दिए ... हे छोरा ... मैले जुन धर्मलाई अँगालेको छु .... त्यही सत्य धर्म मान्ने जस्तो कोही छ भन्ने जस्तो मलाई थाहा भएन ... मात्र एक जना मौसिल भन्ने ठाउँमा छ ... उसको नाम यो हो ... उसले पनि सत्य धर्मलाई छोडेको छैन र सत्यमार्ग बाट हटेको छैन .. तिमी उनीकहाँ जाउ..
मेरो गुरुको देहान्त पछि म उनका मित्रकहाँ मौसिल पुगेँ ....मैले त्यहाँ आएपछि उनलाई आफ्नो सबै वृत्तान्त सुनाएँ .. र उनलाई भने .....
फलानो मानिसले आफ्नो मृत्युकालमा मलाई तपाईँ समक्ष हाजिर हुनको लागि भन्नु भएको थियो .... तपाईं पनि उनकै सत्य धर्म मान्नु हुन्छ अरे भनेर उहाँले मलाई भन्नु भएको थियो ...
उनले भने ...
ठीक छ बस ...
म उनीसँगै बसेँ ....
मैले उनलाई पनि अति उत्तम देखेँ...
केही दिनमै उनी पनि बिते ....
उनको मृत्युको बेला मैले उनलाई सोधेँ .....
हे फलानो .... अल्लाहको तर्फबाट जुन आदेश आइसकेको छ तपाईँ हेर्दै हुनुहुन्छ ... मेरो कथा पनि तपाईँलाई राम्ररी थाहा छ .... अब कहाँ जानलाई तपाईं सुझाव दिनु हुन्छ .... को सित भेट्न भन्नु हुन्छ ? ....
उनले भने .....
छोरा ... अल्लाह कसम ! हामी भएको धर्मलाई अँगाल्ने कोही बाँकी छ भन्ने मलाई थाहा छैन मात्र एक जना बाहेक .... उ पनि नस्सीबीनमा छ ... उसको नाम फलानो हो ... तिमी त्यहीँ जाउ ....
उनको अन्तिम सँस्कार र चिहानमा पुरिने काम सम्पन्न भए पछि म नस्सीबीन भन्ने ठाउँका गुरु तिर लागें ... त्यहाँ पुगेर उनलाई आफ्नो कथा सुनाएँ .... र मेरो पूर्व गुरुले जे भन्नु भएको थियो त्यो पनि भनेँ ... उनले भने ...
हामी कहाँ बस...
म त्यही बसेँ ... यिनी पनि आफ्नो अर्का मित्रहरू समान राम्रा मानिस थिए ... केही दिन पछि उनको पनि अन्तिम समय आयो ...
उनको मरणावस्थामा मैले भनेँ ...
तपाईंलाई मेरो कथा थाहा नै छ .... अब कहाँ जाने आदेश दिनु हुन्छ ? .....
उनले भने .... हे छोरा ....
हाम्रो पथमा हिड्ने कोही बाँकी छ भन्ने मलाई लाग्दैन ... तर एक जना अम्मूरियामा रहेको बाहेक .... उसको नाम यो हो ... तिमी उतै गइ हाल ....
म अम्मूरिया पुगेँ .... उनलाई आफ्नो कथा सुनाएँ ...
उनले पनि सँगै बस्न अनुमति दिए ...
अल्लाह कसम ... उ पनि अति उत्तम मानिस र आफ्नो अरू मित्रहरू समान सत्यमार्गमा थिए ...
त्यहाँ मैले केही गाइवस्तु र बाख्राहरू पाल्न थाले ....
केही दिनमै अरू साथीहरू जस्तो उनको पनि अल्लाहको तर्फबाट निम्तो आयो ...
उनको मरणावस्थामा मैले सोधें ...
तपाईंलाई मेरो सबै नालीबेली थाहा छ ... तपाईं कहाँ जानका लागि भन्नुहुन्छ ...र म के गरूँ तपाईको यसबारेमा के हुकुम छ? ...
उनले भने ...हे छोरा ...
सन्सारमा कोही मानिस हामी भएको सत्यमार्गमा रहेको छ भन्ने मलाई थाहा छैन ... हाम्रो धर्मलाई अँगाल्ने कोही पनि बाँचेको छैन .... तर ...
एउटा ईश्दूत आउने समय भइ सकेको छ .... एउटा रसूल जो अरबको भुमिमा जन्मनु हुनेछ । इब्राहीम अलैहिस्सलामको धर्मको साथ पठाइनु हुनेछ,आफ्नो जन्म भुमिबाट प्रस्थान गरेर दुइ काला पहाड बीचको खजुर भएको हरितभूमि तिर जानु हुनेछ ... उनीमाथि केही स्पष्ट चिन्ह हुनेछन .सौगात खानु हुनेछ तर दान खानु हुने छैन .... उनका दुवै काँधबीच दूतत्वको निसानछाप हुनेछ ... यदि तिमी त्यो भुमि तिर जान सक्छौ भने त्यस तर्फ जानु ....
फेरी उनको पनि देहान्त भयो ..... म त्यस पछि अम्मूरियामा धेरै दिन सम्म बसेँ .... एक दिन त्यहाँबाट कल्ब कुम्बाका केही अरबी व्यापारीहरूको गमन भयो ....
मैले उनीहरूलाई भने ... यदि तिमीहरू मलाई पनि अरबको भुमि तिर लैजान्छौ भने म तिमीहरूलाई यो सबै गाई र बाख्रा दिन्छु ...
उनीहरू भने ... ठीक छ ... हामी पुर्याइ दिन्छौं .....भने ।
मैले उनीहरूलाई सबै गाई बाख्रा दिएँ ... उनीहरूले पनि मलाई यात्रासमूहमा सामेल गरे ... तर वादिलकुरा पुग्दा नपुग्दै उनीहरूले ममाथि अत्याचार गरे ...मलाई धोखा दिएर एउटा यहूदीको हातमा बिक्री गरिदिए ... अब म त्यो यहूदीको सेवा गर्न थालेँ ... केही दिनमा मेरो मालिकको काकाको छोरा ऊ सित भेट्न आयो.... त्यो बनु कुरैजा नामको वंशको थियो ... मलाई किनेर यस्रिब तिर लाग्यो .... यहाँ मैले ती खजुरका बगैंचाहरू देखेँ जो मेरा अम्मूरियाका गुरुले वर्णन गरेका थिए .... र उनले भने बमोजिम मैले मदीनालाई चिनेँ ... र आफ्नो नया मालिकका साथ बसें ....
रसूल सल्लल्लाहु अलैहि वसल्लम त्यति खेर मक्कामा नै आफ्नो समुदायलाई अल्लाह तर्फ निम्त्याउनु हुदै थियो ... तर म एउटा दास भएका कारण र आफूले गर्नु पर्ने काम काजमा व्यस्थ भएकाले उनको केही चर्चा सुन्न भ्याइनँ ....
***
केही दिन पश्चात रसूल सल्लल्लाहु अलैहि वसल्लमले यस्रिब तिर हिज्रत गर्नु भयो .... अल्लाह कसम ... म एउटा खजुरको टुप्पोमा चढेर .. आफ्नो मालिकको केही काम गर्दै थिएँ .... र मेरा मालिक तल बसेका थिए ... उनका एउटा काकाको छोरा आयो ... र भन्यो ...
अल्लाहले कैलाका सन्तान (औस र खज्रज) को नाश गरुन् ... अल्लाह कसम उनीहरू कुबामा एउटा यस्ता मानिसको समक्ष भेला भएका छन् ... जो मक्काबाट आएको छ ... र उसले आफू रसूल र ईश्दूत हुने दाबी गर्दैछ...
मैले उनको भनाइ सुन्न साथै ... मलाई ज्वरो आए जस्तो हुन थाल्यो ... म काम्न थालेँ ... म आफ्नो मालिक माथि खस्छु कि भन्ने डर लाग्न थाल्यो ... हतार हतार खजुरको बोय बाट ओर्लिएँ ... र त्यो मान्छेलाई सोध्न थालेँ .....
तपाईंले के भन्नु भएको रे ? ... यो खबर मलाई फेरी भन्नुस् न .... मेरा मालिक ममाथि रिसाएर मलाई एक थप्पड हानेर भने ....
यो कुरासित तिम्रो के सम्बन्ध?... जाउ आफ्नो काम गर.....
****
बेलुका भए पछि मैले जम्मा गरेका केही खजुर लिएँ .. र रसूल सल्लल्लम रहनु भएको ठाउँमा पुगें ... उहाँ समक्ष हाजिर भएर भनेँ ...
मैले थाहा पाए बमेजिम तपाईं एउटा सत्यवान व्यक्ति हुनु हुन्छ ... तपाइको साथमा केही गरिब निस्सहाय साथीहरू पनि छन् ...म सित दानका लागि केहि खजुर थिए ... तसर्थ तपाईँलाई दिन मैले उचित ठानेको छु ... यो भनेर ती खजुरहरू उहाँसामु राखी दिएँ ....
उहाँले आफ्ना साथीहरूलाई भन्नुभयो ....
तिमीहरू खाउ ... उनले आफ्नो हात बढाउनु भएन र केही पनि खानु भएन ...
मैले मनमनै भनेँ ...
यो त एउटा भयो ....
म फर्केर आएँ ...
फेरी मैले केही खजुरहरू जम्मा गरें ... त्यति दिनमा रसूल सल्लल्लाहु अलैहि वसल्लम कुबाबाट मदीना प्रस्थान गरी सक्नु भएको रहेछ ... म त्यहाँ पुगें र भनें ...
मैले अस्ति देखेको थिएँ ...तपाईं दानको चीजबीज खानु हुन्न रहेछ ... तसर्थ मैले तपाईँकै लागि केही सौगात ल्याएको छु ...
यो सुनेर उहाँले आफू पनि खानुभयो र साथीहरूलाई पनि खाने आग्रह गर्नुभयो ....
मैले मनमनै भनें ...
यो दोश्रो पनि भयो ...
फेरी एक पटक म उहाँ समक्ष पुगें ... त्यतिखेर उहाँ बकीउलगर्कद कब्रिस्थानमा हुनु हुन्थ्यो ... कुनै साथीको जनाजा र अन्तिम क्रियाक्रमको लागि ... मैले उहाँलाई बसेको अवस्थामा पाएँ ..उहाँको जिउमाथि दुइ वटा चादर थिए... मैले उहाँलाई सलाम गरेँ... फेरी घुमेर पछाडी तिर पुगें ....म उहाँको पिठ्यूँ हेर्न चाह्न्थे ... सायद त्यो निसानछाप देखा पर्छ कि? जो मेरो अम्मूरियाका गुरुले वर्णन गरेका थिए ....
मलाई रसूल् सल्लल्लाहु अलैहि वसल्लमले उहाँको पिठ्यूँमा मैले केहि खोज्दै गरेको देख्नुभयो होला .. मेरो मन्साय बुझेर उहाँले आफ्नो पिठ्यूँबाट चादर हटाउनु भयो ... यसरी मैले दूतव्तको निसानछाप पनि देखेँ..अब उहाँलाई पूर्ण विश्वासका साथ चिनिसकेको थिएँ .....
..... म उहाँ तिर लम्के ... उहाँलाई चुम्न थालेँ र रुन थालेँ .....
रसूल सल्लल्लाहु अलैहि वसल्लमले सोध्नु भयो ....
तिम्रो कहानी के हो ? ....
मैले आफ्नो सम्पूर्ण कहानी उहाँलाई सुनाएँ .... उहाँले अति आशचर्यचकित हुनुभयो र उहाँकासाथीहरूलाई पनि सुनाउन भनेर अत्यन्तै खुसी व्यक्त गर्नुभयो .....
मैले उनीहरूलाई पनि आफ्नो सबै वृत्तान्त सुनाए .... तिनीहरूले पनि असाध्यै रूचाए ... र अश्चर्य व्यक्त गरे ....
****
शान्ति होस सल्मान फार्सी माथि .... जुन दिन हरेक ठाउँमा सत्य खोज्दै थिए ...
शान्ति होस सल्मान फार्सी माथि .... जुन दिन सत्यलाई जान्न सफल भए र त्यसमाथि पूर्ण आस्था कायम गरे ....
शान्ति होस उनी माथि ... जुन दिन उनी प्रलोक सुधारे ...... र जुन दिन उनी फेरी जिउँदो पारिने छन् .......
शान्ति होस् सल्मान माथि .....जसलाई रसूल सल्लल्लाहु अलैहि वसल्लमले आफ्नो परिवारका सदस्यमा गणना गर्नु भएको थियो .... अल्लाह उनीसित प्रसन्न होऊन्........
(प्रस्तुति: मुहम्मद सुहैल नदवी)
राम्राे प्रयास
ReplyDelete