गरिबके पीडा
भाेकाे भए, कहाँ जाउँ, कसले दिन्छ त भात्
स्वाभिमानी नेपाली हुँ, पसार्दिन्न म हात्
बन्दी दिनहूँ, लम्ब्याइदै छ, कोरोनाले गर्दा
हाता भित्र , बस्दा बस्दै, छुट्यो काम र धन्दा
गरिबीको पीडा बोक्दै, जे नि पुगोस् अघात्
स्वाभिमानी नेपाली हुँ, पसार्दिन्न म हात्
छोरा छोरी रूँदै गर्छन खाने कुराको माँग
भोकको कारण मुर्छित हुँदा, के म रचाउँ स्वाँग
कोही छैन हेर्न सक्ने, कस्री बित्ला दिनरात्
स्वाभिमानी नेपाली हुँ, पसार्दिन्न म हात्
कति होला छिमेकीको , धनी घरमा अन्न
थुपारेर राखिएको, कोठी भित्र टन्न
मलाई पनि कसो ठान्छन्,के हो मेरो औकात्
स्वाभिमानी नेपाली हुँ, पसार्दिन्न म हात्
पायौँ केही हप्ता सम्म, धान्न सक्ने राहत्
तीन महिना भोकै बस्दा,कस्तो हुन्छ हालत्
कुर्सी माथि बस्नेलाई, बिलासिता सौगात्
स्वाभिमानी नेपाली हुँ, पसार्दिन्न म हात्
सरकार माथि सधैँ हुन्छ, जनरक्षाको जिम्मा
भोकमरीमा, प्रकोप र ,पीडादायक दिनमा
भोक र तिर्खाको सट्टामा, किन खाउँ म लात्
स्वाभिमानी नेपाली हुँ, पसार्दिन्न म हात्
रोग निवारण गर्ने औषध्, खोज्न सबै लाचार्
जाडो गर्मी बित्दा पनि, छैन केही उपचार्
लकडाउनमै पर्खी रहँदा, अब अयो बरसात्
स्वाभिमानी नेपाली हुँ, पसार्दिन्न म हात
सुहैल अन्सारी
No comments:
Post a Comment