Saturday, October 31, 2020

नअत्

 जगत दयालु 


नबी मध्ये रहमतको उपनाम पाए

उही बाट निर्धोले धन, धाम पाए

दुःखीले समस्यामा आराम पाए

बिरानो नि आफन्त झैं नाम पाए


बसाइ ऊ निर्धनको, दुर्बलको भाषा

टुहुरोको रक्षक, गुलामीको आशा ।।


हरेक भूल प्रति क्षमादान गर्ने

त्रासदको मन भित्र छर्लक्क छिर्ने

हरेक दुष्ट आयास को मुटु हर्ने

जगतलाई मित्यारी प्रदान गर्ने


हिराबाट ओर्लिँदा उपहार ल्याए

मनुबंशकै हितको एक सार ल्याए।।


हरेक काँचो तामा, पनि सुन बनाए

असल सँगै कमसल पो छुट्टै देखाए

युगैं देखि स्थित अँधेरो हटाए

अरबलाई एक छिनमै पल्टी दिलाए


के नौकाको डर छ जो बाढी चढेछ

दिशा हावाको पूर्ण वर्तित भए छ ।।


सुहैल अन्सारी

Tuesday, October 27, 2020

नेपालीमा पहिलो नअत्

पावन नअत


नयाँ शैली नयाँ चिन्तन चयन ले 

अनौठो सोच्दै छ मेरो मनले


बिधा यौटा रचूँ म पद्य मध्ये 

गरूँ गुणगान अहमदका मनन ले


उही अन्तिम नबी अल्लाहका हुन् 

छ प्रमाणित हरेक पावन कथनले


ज्योतिर्मय मुहम्मद को भयो जन्म 

जगत उज्जल भो उनका आगमनले


अन्धेरी रातको अन्त्यष्टि  हुँदा 

बिहानी मुस्कुरायो खूब मनले 


वहाँ को सम्झना गर्दैछ वर्णन

सुगन्धित फूलले शीतल पवनले 


सुनौलो वास्ना छर्दैछ भुमि

कि गर्छ पुष्प का वर्षा गगनले 


स्वयं अल्लाह माया पोख्दै छ

बृहत् प्रशंसा गर्दै उनका उनले


भनाई मेरो भो कस्तो बहुमूल्य

मुहम्मद मुस्तफा का गुणकथनले


रचनाकार : सुहैल  अन्सारी

नअत्

नअत् 

सत्यको दीप्ति निभ्दै जान्थ्यो खै कस्तो त्यो युग 

हरेक दिशामा अन्ध्यारोको दुष्ट मलिच्छ प्रभाव

 

दमन असत्य लडाई झगडा मानवको प्रतीक 

अमावस्यको कालो रातमा झै ज्योतिको अभाव

 

एक्कासी ईशदूत मुहम्मद ले नै मेट्नु हुन्छ 

मिथ्यको भक्ति मानव शोषण शैतानिक प्रभाव

 

नया बिहानी उदाए उनले जगतमा फैलिन थाल्यो

शान्तिको नारा ईश्वर भक्ति मानवका सदभाव

 

जगत दयालु परम स्नेही मानवताको मान 

कोमल बोली उज्वल चेहरा मनमोहक स्वभाव

 

कुनै माताले जन्माइनन् यस्तो मनोहर बाल

कुनै आँखा ले हेरेको छैन यस्तो सुन्दर भाव

 

हरेक त्रुटिबाट बचेर जन्मेका छौ जस्तो

आफ्नो जन्मका लागि आफैं दिएका थियौ सुझाव


सुहैल अन्सारी 

कोरोना

 कोरोना भाइरस


काेराेना भैरस, सर्वत्र फैली, मच्चायाे कहर

बिहान सांझ,  हजारौं  मर्छन् सुनिन्छ खबर

लुकेकाे शत्रु प्रहार बाट, कपाल जोगाऔं 

संगिनी साथी, घर भित्र बसौं,  नेपाल जाेगाऔं 


साहस राखी, अापतकाे बेला, तर्सनु पर्दैन

जाेस र जागर्, विवेक बुद्धि, विर्सनु पर्दैन

देशकाे गौरब, कायम राख्ने, सवाल जाेगाऔं 

हे दिदीबैनी, घर भित्र बसौं, नेपाल जाेगाऔं 


कायरता  हुन्छ, शत्रुकाे सामु, भएमा सकस

दैविक शिक्ति, काे साथ जुध्न, काे गर्छ साहस?

तराई भुमि, पहाडी भेक, हिमाल जाेगाऔं 

हे दाजुभाइ, घर भित्र बसौं, नेपाल जाेगाऔं 


घर भित्र खेल, मनपर्दी गर, चरा झैं  फुर्फुर

सफाइ राख, फा्ेहाेर बन्न, नजाउ बाहिर

भाेलिकाे अाशा, रक्षित पारौं, तत्काल जाेगाऔं 

हे प्रिय नानी, घर भित्र बसौं नेपाल जाेगाऔं


                                सुहैल अन्सारी 

                                भोक्राहा- 2, सुनसरी

उजुर २

परम शक्ति को सामु निर्बलको उजुरी 


मनुप्रवाह एक्कासि 

बग्दा बग्दै थकित भयो ।

सुन्सान गल्ली सडक हेरी 

जीवनधारा चकित भयो ।।


अग्लो भवन सुरक्षित छ 

धनको कवच ग्रहण गरी ।

झुपडी मुर्छित परेको छ

खाँचो अरथी वहन गरी ।।


दिन्हुँ ज्यामी कसो गर्छ 

पेटको आगो निभाउन ।

उचित के हुन्छ दिनचर्या 

घर परिवार बचाउन ।।


पसले चिन्तन मनन् गर्छ 

हानि नाफा किताबमा ।

कृषक अचम्म देखिन्छ 

बाली जोग्ने हिसाबमा ।।


गाली मुक्का दरो लाठी 

खाँदै गर्छ बुभुक्षित ।

बलको निर्मम नौटङ्की 

निमुखा माथि लक्षित ।।


पीडा बेहोर्दछन् कसरी 

गरिब असहायले ।

दुइ छाक टार्न सक्दैनन् 

मजदुर समुदायले ।।


बिरामी त निको हुन्छन् 

उपचार औषधी भए ।

भोकले ज्यान हारिन्छन् 

प्रकोपमा नमारिए ।। 


आदेश पालना गर्न 

हुनु पर्छ विवेकमा ।

हाम्रै दायित्व देखिन्छ 

भोको नहोस् छिमेकमा ।।


                                   सुहैल अन्सारी 

                                   भोक्राहा-2 सुनसरी

उजुरी

परम शक्तिको सामु निर्बलको उजुरी 


हे मित्र जन्,  कहाँ पोखूँ 

मनको ब्यथा,  कसो गरी ।

सर्र छिर्दै छ मन् भित्र 

दुःख पीडा त्रास सुस्तरी ।।


त्याग्दै छन् प्राण सर्वत्र 

बलवान् दुर्बल सरासरी ।

मृत्यु को खेलमा रैछन् 

धनवान् निर्धन् बराबरी ।।


प्रकोप फैलिएको छ 

विश्व भरि निरन्तर ।

भयको जगत् बनेका छन् 

 गाउँ शहर् सडक् घर ।।


शक्त अशक्त को हालत् 

पूर्व पश्चिम एउटै ।

निराशा मा फसेका छन्

निर्बल शस्त्र दुई वटै ।।


असीम लोक जीतेको 

महाबलि छ यद्यपि ।

बस्न बाध्य भएको छ 

कोठा भित्रै लुकी छिपि ।।


हे अल्लाह! दया पाऊन् 

मनुष्य छन् धरापमा ।

संकटयाम चढाइन्छ 

बिन्ती तिम्रै जुनाफमा ।।


तिम्रै नाम करुणामय 

तिमी रह्मान् रहीम छौ ।

संकट हर्ने तिमी मात्रै 

भक्त प्रति करीम छौ ।।


माथा ढोग्दै बसेको छ 

भक्त गुहार् लगाउदै ।

दुवै हात पसार्दै छ

यो दास भीख मागदै ।।


हर्ष र शान्तिको आसमा

फिरादी को पुकार छ ।

कृपा गरून् दया पाऊन् 

गुहार छ गुहार छ ।।


                       सुहैल अन्सारी 

                       भोक्राहा-2 सुनसरी

मुनाजात

हे अल्लाह 

इलाही छ तिम्रै दयाको सहारा ।

छ आपत परेको जगत् भित्र सारा ।।


सबै तर्फ वातावरण तर्सदै छ ।

भयावह अवस्था यहाँ बर्सदै छ ।।


धरातल छ संकट मुखिन्जी परेको ।

कुनै प्राणघातक लगाएछ फन्को ।।


सबै ज्ञान विज्ञान दुर्बल भएछन् ।

सबै खोज प्रयास निष्फल भएछन् ।।


यि सन्सारमा फैलिए जीव थुप्रै ।

यि मानव जता छन् अधीनस्थ तिम्रै ।।


जगत् का यि शोभा मनुष्यत्व सारा ।

पतित् हुँदै छिन् छिन् मा जीवनको धारा ।।


किरण देख्दैनौं कुनै आस्रा को ।

धुँवा फैलिँदै छ बिनाशक कथा को ।।


चहक्ने जगत् कस्तो चुपचाप लाग्छ ।

टलक्ने बगैंचा पनि श्राप लाग्छ ।।


क्षमा माग्दछौँ आफ्नो दुष्टताको ।

कथन् गर्दछौं तीमरै श्रेष्ठताको ।।


तिमी दास प्रति करूणानिधान ।

सबै कष्ट हर्ने छ तिम्रै बिधान ।।


जति पाप गर्दा पनि तिम्रै आशा ।

पछुतो गरी हट्छ मनको निराशा ।।


त्यही लोक सुन्दर् बनाई दिऊन् है ।

सृष्टि को सौन्दर्य फिर्ता दिऊन् है ।।


बनायौ त बस्तु न आफैँ बिगार ।

इलाही छ तिम्रै अगाडी गुहार ।।

_____________________________


                                 सुहैल अन्सारी

गरिबिको पीडा

 गरिबके पीडा

भाेकाे भए, कहाँ जाउँ, कसले दिन्छ त भात्

स्वाभिमानी नेपाली हुँ, पसार्दिन्न म हात्


बन्दी दिनहूँ, लम्ब्याइदै छ, कोरोनाले गर्दा

हाता भित्र , बस्दा बस्दै, छुट्यो काम र धन्दा

गरिबीको पीडा बोक्दै, जे नि पुगोस् अघात्

स्वाभिमानी नेपाली हुँ, पसार्दिन्न म हात्


छोरा छोरी रूँदै गर्छन खाने कुराको माँग

भोकको कारण मुर्छित हुँदा, के म रचाउँ स्वाँग

कोही छैन हेर्न सक्ने, कस्री बित्ला दिनरात्

स्वाभिमानी नेपाली हुँ, पसार्दिन्न म हात् 


कति होला छिमेकीको , धनी घरमा अन्न

थुपारेर राखिएको, कोठी भित्र टन्न

मलाई पनि कसो ठान्छन्,के हो मेरो औकात् 

स्वाभिमानी नेपाली हुँ, पसार्दिन्न म हात् 


पायौँ केही हप्ता सम्म, धान्न सक्ने राहत्

तीन महिना भोकै बस्दा,कस्तो हुन्छ हालत् 

कुर्सी माथि बस्नेलाई, बिलासिता सौगात्

स्वाभिमानी नेपाली हुँ, पसार्दिन्न म हात् 


सरकार माथि सधैँ हुन्छ, जनरक्षाको जिम्मा

भोकमरीमा, प्रकोप र ,पीडादायक दिनमा

भोक र तिर्खाको सट्टामा, किन खाउँ म लात् 

स्वाभिमानी नेपाली हुँ, पसार्दिन्न म हात् 


रोग निवारण गर्ने औषध्, खोज्न सबै लाचार्

जाडो गर्मी बित्दा पनि, छैन केही उपचार् 

लकडाउनमै पर्खी रहँदा, अब अयो बरसात् 

स्वाभिमानी नेपाली हुँ, पसार्दिन्न म हात


सुहैल अन्सारी

पाखुरा शक्ति

 पाखुरा शक्ति


तीर तथा तरवारले युद्ध, लडिन्छ हामी सुनेका छौं 

मिसाइल बन्दूक र बमले, मानव क्षति हेरेका छौं

लाठी डंडा ढुङ्गा मुक्का, गर्यो हताहत कयौँ लाई 

पाखुरा शक्तिको प्रदर्शनले, कस्तो अचम्मित भएका छौं

                 

                                                       सुहैल अन्सारी

Monday, October 26, 2020

नअत

 नअत

जे छन आकाश धरती सूर्य इन्दु

मुहम्मद मात्र हुन् आधार बिन्दु

 

मुहम्मद शीर्षक हुन् सिर्जनाकाे

मुहम्मद प्रतिमा हुन अर्चनाकाे

 

मुहम्मद जनसमूह प्रति उपकार

जगत निर्माणकाे नाैलाे चमत्कार 

सुहैल अन्सारी

नअत्

 नअत् 


कुनै माताले जन्माइनन् यस्तो मनोहर बाल 

कुनै आँखाले हेरेको छैन यस्तो सुन्दर भाव

हरेक त्रुटि बाट जोगाइ जन्मेका छौ,  मानौं 

आफ्नो जन्मको लागि आफैं दिएका थियौ सुझाव

सुहैल अन्सारी

Sunday, October 25, 2020

रस शास्त्र (कथा)

 रसशास्त्र


(मुहम्मद सुहैल नदवी)


"मैले सुनेको छु.... 

एउटा वृद्ध व्यक्तिले माटो लाई सुन बनाउँथ्यो  ... 

निकल र तामाको पैसालाई ... 

सुनको असर्फी  र गिन्नीमा परिवर्तित गर्थ्यो रे" । इस्माइलले भन्यो:

"हजुर ! त्यो त एउटा कला थियो",

महमूदले पनि उसको समर्थन गर्यो ,

उसले भन्यो:

"पहिलेका मानिहरूलाई यो कला आउँथ्यो , तर यस कलाका जानकारहरू बिते र यो विषय समाप्त भइ सक्यो " ,

..... 

यो सुन्दा केटाकेटीहरू हात मल्न र अफसोच गर्न थाले, ...... 

अन्ततः उनीहरूले भने:

"यदि हामीले यो कला जान्ने व्यक्ति सित भेट भए...... 

हामीले पनि सिक्न पाइन्थ्यो   ..... 

र मिहिनेत नगरीकन धनी बन्न सकिन्थ्यो  ",

रातिमा केटाकेटीहरूले कुरा गर्दा उनिहरूको खास विषय हुन्थ्यो..... 

 "रसशास्त्र", । .... 

र सधैं यस बारेमा आपसमा कानाखुसी गर्ने गर्दथे,

उनिहरूका बुवा उनीहरूको सबै कुरा सुन्दै थिए , ...... 

उनले भने,

"बालक हो ! तिमीहरू चिन्ता नगर। मपनि रसशास्त्र जान्दछु,......  

तिमीहरू मलाई संसार भन्दा पनि प्रिय छौ .....  

म तिमीहरूलाई भोलि अवश्य सिकाउँछु र रसशास्त्रको पाठ पढाउँछु "।

सबै केटाकेटीहरू हर्षित भए, बिहान सबेरै उठे, इस्माइल र महमूद त रातभरि रसशास्त्रकै सपना देख्दै थिए, ..... 

हाशिमले सपनामा आफूलाई एउटा ठुलो भवन र बहुमूल्य पोसाकमा देख्यो,र उसले ठुलो महल बनायो र रसशास्त्रद्वारा कमाएको पैसाको राम्रो पोसाक बनाएको थियो, ..... 

बिहानको नमाज (फज्र) पढेर  सबै आफ्ना बुवा नजिक भेला भए, ...... 

बुवा अहिले सम्म कुरआन पढ्दै थिए, .... 

कुर्आन पढेर कहिले सकिएला भनेर उनीहरू ...... 

पर्खिदै बसेका थिए, ..... 

बुवा प्रतिदिनको पाठय पुरा गरेर केटाकेटीहरू तिर फर्के,

"मेरा मुटुका टुक्राहरू ! लौ अब जाऔं"

उनले भने,

सबै साथमा निस्किए, ....... 

रसशास्त्रको धोकोमा खाजा खान पनि बिर्सिएका रहेछन् ।

उनिहरूका बुवा उनीहरूलाई लिएर हिडे, ..... 

एउटा सडक देखि अर्को सडकमा, ....... 

र एउटा बाटोबाट अर्को बाटोमा हिडदै गए, ...... 

जाँदाजाँदै एउटा खेतमा पुगे, ..... 

त्यहाँ एउटा किसान हलो जोत्दै थियो र ....... 

उसको हातमा हलोको फाली थियो,

"बालकहरू ! तिमीहरू देख्दैछौ? ...... 

रसशास्त्र यस हलोको फाली मुनि रहेको छ" , बुवाले भने,

सबै अचम्मित भए, ..... 

उनीहरूले तपसिल बुझ्नको लागि बुवा तिर हेर्न थाले ,

"मैले सुने बमेजिम तिमीहरू भन्दै थियौ, ........  

रसशास्त्र माटोलाई सुन बनाइ दिन्छ,......

 यस्तै कुरा होइन र?"  बुवाले सोधे, 

"हजुर!"  सबैले एउटै स्वरमा जवाफ दिए, 

"यो माटोपनि केही दिनमै सुनमा परिवर्तित भइ हाल्छ, बरू सुन भन्दा पनि महँगो हुनेछ" , 

बुवाले भने ,

"सुनको के लाभ? यदि मानिसहरू त्यसलाई खान पाउँदैनन् ? ......

 यी दानाहरू जसलाई किसानले छरेको छ र त्यसमा धेरै नै  मिहिनेत गरेको छ, ........ 

राम्रो लाभ लिएर आउँछन्, र अल्लाहले यस मिहिनेतको फल त्यो भन्दा कयौँ गुणा बढि फर्काउने छन् "।

त्यस पछि उनका बुवा उनीहरूलाई लिएर एउटा कारखानामा पुगे, ...... 

त्यहाँ मानिसहरू आफ्नो काममा व्यस्त थिए, ........ 

उनको निधारबाट पसिना बग्दै थियो, ........ 

उनीहरूले  धेरै फाइदा जनक चीजवीज बनाएका थिए जसले उचित मोल दिन्थे .......  

र धेरै मानिसहरूको अवश्यक्ता पूर्ती हुन्थ्यो,

बुवाले भने:

"नानि हो ! रसशास्त्र भनेको ........ 

यहि निधारको पसिना र हातको मिहिनेत हो,"

फेरी  उनीहरूलाई लिएर एउटा शिक्षकको कोठा र उपदेशकको भेला तिर लगे र भने,

"बालक हो ! मानव यस सृष्टिको बहुमूल्य वस्तु हो, ....... 

उनीहरूको प्रशिक्षण र प्रवर्धन माटोलाई सुन बनाउनु  भन्दा उत्तम मानिएको छ ।......  

यही विद्यार्थीहरू पढ्छन् र यी मानिसहरू राम्रो ज्ञान प्राप्त गर्छन, ....... 

यस शिक्षक र उपदेशकलाई निरन्तर लाभ पुग्ने गर्छ, ........ 

यिनीहरूले गर्ने सबै उत्तम र भलो कामको फाइदा उनीहरूलाई पुग्ने गर्छन् ... 

तसर्थ नबी सल्लल्लाहु अलैहि वसल्लमले हजरत अली रजियल्लाहु अन्हुलाई भन्नु भएको थियो , " 

" हे अली ! यदि तिमीद्वारा एउटा मानिसलाई पनि अल्लाहले सीधा मार्ग देखाउनु भयो त्यो काम तिम्रो लागि रातो ऊँट भन्दा पनि उत्तम हुनेछ "।

सबै बालबालिकाहरूको चित्त बुझ्यो, ....... 

उनीहरूले बुवालाई धन्यवाद दिए ..... 

र घर तिर फर्के, ......

उनीहरूले रसशास्त्रको पाठ पढी सकेका थिए , ........ र ......

 सुन बनाउने प्रक्रिया ..........  

पत्तो लगाइसकेका थिए।

(समाप्त)

Thursday, October 22, 2020

रोटीको कथा

 *रोटीको टुक्रा*


               (लेखक: मुहम्मद सुहैल नदवी)


खाना खाँदाखाँदै मैले रोटीको एउटा टुक्रा उठाएँ,

"हजुर ! एक छिन पख्नुस् " उसले भन्यो ।

"मलाई लाग्छ तपाईँको भोक मेटी सकेको छ"... "तपाईंले मेरा सबै साथीहरूलाई त खाइ सक्नु भएको छ" .... 

"के म तपाईंलाई आफ्नो कथा नसुनाउँ?" ...

"ऊ निकै अनौठो र मन रूचाउने खालको रहेछ हजुर" .....

"हस"! .. मैले भनेँ,

"मलाई सायद तिम्रो कथा मन पर्छ होला" ...

"लौ त सुनाउ" ...

"अब तिम्रो पुरा कथा नसुनीकन म तिमीलाई खान्नँ"..... मैले भने, 

उसले लामो सास फेर्दै भन्यो,

"हजुर! विचार गर्नुस् ".... "के म त्यत्तिकै उम्रेको हूँ त?" ...

"के तपाईँले सुन्नु भएको छ?" .. "रोटी खेतमा उम्रियो रे!" .... "अकाशबाट झर्यो रे भनेर !" ...

"तपाईँ  त मज्जा सित खानु हुन्छ" ...

"तपाईँले खाने कुराहरू त प्रशस्त मिल्छ " ... "तर" ..

उसले केही छिन मौन रहेर कुरा अगाढी बढायो,

"तर मैले त निरन्तर तपाईँकै लागि ठुलठुला कष्ट बिहोरेँ "...

"एउटा समस्याबाट छुटेर अर्को समस्यामा पर्न गएँ" ...

"एउटा कारागारबाट निस्केर अर्कोमा परेँ"...

"यसरी हुँदा हुँदै तपाईँको अगाडी हाजिर भएँ" ,.....

"मेरो कथा यस प्रकार छ" ... उसले आफ्नो कुरा जारी राख्यो ,

"म गहुँको एउटा दाना थिएँ" ... "अरू धेरै साथीहरूका साथ" ... "एउटा बोरामा बन्द" ...

"एक दिन एउटा मान्छे आयो" ..."मलाई सबै साथी सहित साथमा लग्यो" ... "र उसले हामीलाई आफ्नो खेतमा छरि दियो" ...

म उसको कुरा सुन्न मग्नमा थिएँ, उसले भन्यो, 

"त्यहाँ खेतमा" ... "मैले सन्सार हेर्न मैका पाएँ" ... "मैले घाम तापेँ" ... "म त अत्यन्त प्रसन्न भएँ" .... "तर" .. "पानी पर्यो" ... "ए ए" .. "म त माटो मुनि लुक्नु पर्यो" ...

"माटो मुनि नै केही दिन गाडिएर बसेँ" ... "तर मेरो जिउ फुल्न थाल्यो" .."छाला कसिदै गयो" ... "लौ आह!" .. "मेरो छालापनि फुट्यो" .... "केश जस्तो मसिनो जरा बाहिर निस्क्यो रे" ... "अनि अर्को तिर त केही कोमल पातहरूले पनि मुख निकालेछन् " .... "यो कोमल पात माटो चिर्दै बाहिर पनि जाँदै रहेछ" .. "लौ म त जमिन माथि पुगेको रहेछु" ...."हा ..हा"..

"म त्यो बेला बिरुवा भएर आफ्नो पाउमा उभिन पाएँ" ...

"सूर्यको घामले गर्दा केही दिनमा म पहेँलो बाली बनेँ" ... "मैले साथीहरूलाइ भेटेँ, हामी गफ गर्न र रमाउन थाल्यौँ" .... "कति रमाइला दिन थिए ती पनि" ....

"खुसीका दिन" ... "ह्वात्तै बिते" ... "केही मानिसहरू लामो लामो हँसिया लिएर आए," ... "हामी सबैलाई काटेर लगे" ... "यसरी अब म खलो सम्म पुगेँ र त्यही केही दिन विश्राम गरेँ" ...

उसले लामो सास फेर्यो,

"अब कठिन याम आइ पुग्यो" ... "केही गोरूहरूले आएर मलाई आफ्ना खुट्टाले कुल्चे , म बालीबाट छुट्टिएँ "... "त्यो बेला" ... "कस्तो असहाय र अपमानित भएको महसुस भएँ" ...

"केही मानिसहरूले हामीलाई उचालेर हावामा उडाइ दिए" ... "यसरी खोस्टा उडयो र म गहुँको दाना जमिनमा लडेँ "....

विगतका कुरा याद गर्दा उसको अनुहारमा दु:खको छाया म देखि रहेको थिएँ .. उसले फेरी भन्यो,

"यो भन्दा पनि कठिन समय" .. "मलाई भोग्नु परेको छ हजुर!" ...

"एक जनाले मलाई लिएर ढुँगा द्वारा बनाइएको एउटा गोलाकार वस्तु सम्म पुर्यायो" ..."त्यसको बीचमा दुलो परेको थियो" ..

"ओह! कस्तो डर लाग्दो भयानक आवाज थियो त्यसको" ... "म सुनेरै तर्सिएँ" ... "तर मलाई त्यसैमा हालियो" ...

"उसले त मलाई कति पिस्यो" .... "कति पिस्यो" ...

"हजुर" ... "तपाईँलाई उसको नाम थाहा छ? " 

उसले आफैँ झट्ट भन्यो, 

"हजुर!  त्यसलाई घट्ट अथवा जाँतो भनिन्छ" ...

कहानी सुनाउदै उसले भन्यो,

"हजुर अब मेरो जुनी फेरियो" .. "म गहूँ बाट पीठो भएँ" ... "मलाई रोटी बनाउने मान्छेले लग्यो" ..

"मलाई एउटा भाँडोमा राख्यो, सफा पानीमा मलाई डुबाइयो" .. "मलाई मथ्यो" ... "मथ्दा मथ्दै म मुछेको पीठो भएँ" .... "त्यस पछि उसले गोलो आकारको बनायो" ...

"आह!  ... "फेरी कठिन बेला" .. "समस्या" ..

"त्यो मान्छेले मलाई बेलेर एउटा तातेको फलाममा चढायो"... "तपाईहरू त्यसलाई तावा भन्नु हुन्छ हजुर "...

"मेरो पीडा र पोलाइको बारेमा नसोध्नुस्" ...

"ओह! .. "म खुम्चिए र चाउरी परेँ" .. "तर त्यो निर्दयी रोटीवालालाई दया आएन" ..."दिल नरम भएन" ..

"म पोल्दा पोल्दै पात्लो रोटी बन्न पुगें" ..

मेरो मुख हेरेर उसले भन्यो,

"यो सबै दुःख पीडा तपाईँकै लागि थियो हजुर "..

"तपाईँको खुसीको लागि म पीडित भएँ" ..

"तपाईँको स्वादको निम्ति म थकित भएँ" ...

"एक जुनीबाट अर्केमा प्रवेश गरेँ " ..

"किन? हजुर" .. "किन?."..

"मात्र तपाईँको स्वादिलो खाना बन्नको लागि" ...

"तपाईँलाई अघाउनको लागि" ...

"मेरो यति दुःख पीडा देख्दा" ... "के तपाईँले यो भन्न परेन हजुर ?" ...

"सबै प्रशंसा उही अल्लाहको लागि" ..

"जसले मलाई खुवाउनु भयो" ..

"पियाउनु भयो" .. "र मलाई मुसलमान बनाउनु भयो",

मेरा मुखबाट एक्कासी निस्क्यो ..

"अल्हम्दु लिल्लाहिल्लजी" ... "अत्अमनी" .. "व सकानी" .. "व जअलनी" ... "मिनल्मुस्लिमीन" ...


(कथाको सार एउटा अरबी किताबबाट लिइएको छ)

कादयानी को हुन्? १२

 कादयानियतः इस्लाम र मुहम्मदी सन्देश विरूद्ध एक विद्रोह

लेखकः मैलाना सैयिद अबुल हसन अली नदवी (रह०)

अनुवादः मुहम्मद सुहैल नदवी

भाग (१२ र अन्तिम)


वार्तालापको मुहानको निश्चयः

अनि यो ईश्वरीय सम्बोधन र वार्तालापको विश्लेशनको कसैटी र मापदण्ड के हुन्छ होला ? यसको जिम्मेवार को हुन्छ कि कुनै व्यक्तिले केही सुनिएको भए त्यो स्वयम् को आन्तरिक भ्रम होइन अथवा वातावरण र शिक्षण विद्याको प्रतिध्वनि वा मनमा लुकेको कुनै लालसा वा समाजको प्रभावको परिणाम त होइन? जसले सम्बोधन र भविष्यवाणीका पुराना पुस्तकहरू हेरेका छन् उनीहरूलाई राम्ररी थाहा हुन्छ, त्यस संग्रहका धेरै जसो भागले त्यही असत्य सिद्धान्त र विचारको प्रचारप्रसार गर्छन जुन पुरानो बहुदेववादले उत्पन्न गरेको छ । मिश्रको नया प्लाटेनिज्मको आध्यात्मिक प्रदर्शन र ईश्वरीय सम्बोधनलाई हेर्नुहोस, के त्यसले ततकालीन बहुदेववाद र दार्शनिक सिद्धान्तलाई अनुमोदन गरेको छैन र? इस्लामिक कालमा पनि कति आध्यात्मिक प्रदर्शन र सम्बोधन प्रचारकले ईश्वरसंग हात मिलाउने, उहाँसित वार्तालाप गर्ने कुराको वर्णन गरेका छन्, तर यो सबै मात्र पुरानो दर्शनशास्त्र वा युनानी बहुदेववाद शास्त्रको मनोविकार मात्र रहेको छ , स्वयंम् मिर्जा साहबको सम्बोधन र वार्तालापको धेरैजसो अंश उनको काल, वातावरण र प्रशिक्षणमा लुकेका प्रभावको परिमाण र उनले हुर्किने र निम्तो अभियान चलाइने ततकालीन पिछडिदै तथा बिग्रिदै जाने समाजको प्रतिविम्ब मात्र रहेको छ। भनौं  त्यसको अधिकांश भाग त्यो हो जसलाई भारतको इतिहासको एउटा विश्लेषज्ञ (डाक्टर इक्बाल) ले आफूले महसुस गरे झैं यसको मुहान परोक्ष जगत नभइ भारतकै राजनैतिक उच्च शक्ति मात्र रहेको छ भनेका छन् र यस वास्तविक्तालाई आफ्नो वैज्ञानिक शैलीमा स्पष्ट पारेका छन् । पण्डित जवाहरलाल नेहरूलाई लेखेको पत्रमा उनको केही प्रश्न र शंकास्पद कुराको जवाफ दिँदै भनेका छन् । 

"म यो अवश्य भन्न चाहन्छु, अहमदियतको संस्थापकले एउटा वाणी सुनेका छन् , तर यसको स्पष्टीकरण हुनु पर्छ कि त्यो वाणी त्यही ईश्वरद्वारा आएको हो, जसको कब्जामा जीवन र शक्ति छ वा त्यो वाणी मानवजातिको आध्यात्मिक् दुर्लभताका कारण उत्पन्न भएको छ ? यो कुरा मात्र त्यस अभियानको प्रकृतिमा निर्भर हुनु पर्छ जुन त्यो वाणीद्वारा रचिएको छ, साथै त्यस विचार र भावनामा पनि निर्भर हुनु पर्छ जुन त्यो वाणीका श्रोतहरूको मनमा उम्रेका छन् । पाठकजन यो विचार न गरिदिनुहोला कि म प्रतीकात्मक भावको प्रयोग गर्दैछु, मानव इतिहासको जीवनले राम्ररी दर्शाएको छ, जतिखेर कुनै समुदायको जीवनकालमा पतनको आरम्भ हुन्छ , त्यही पतन त्यस्तो वाणीको मुहान बन्दै जान्छ, त्यस समुदायका कविजन, दर्शनशास्त्री, तपस्वी र विचारधारकहरू त्यो वाणीद्वारा प्रभावित हुन्छन् , प्रचारकको एउटा समूहले जन्म लिन्छन् जसको एउटा मात्र उद्देश्य हुन्छ, भाषाको विमोहक शक्तिद्वारा त्यो समुदायको हरेक पक्षको प्रशंसा र स्तुति गर्नु, चाहिँ त्यो जति निन्दनीय र दोषयुक्त होस् , यी प्रचारकहरू अचेत तवरले निराशालाई आशाको उज्जवल पोशाकमा लुकाउने गर्दछन् , पात्रहरूको प्रचलित उच्चताको खण्डन गर्दछन् र उनको प्रचारमा भ्रमितहुने मानिसहरूको आध्यात्मिक शक्तिलाई क्षीण पार्दिन्छन् । याद राख्नुस् , यिनीहरूलाई इश्वाणीको आधार स्वरूप आफ्नो राजनैतिक वातावरणलाई स्थिर मान्ने शिक्षा नै दिइएको हुन्छ , यसरी मेरो विचारमा ती सम्पूर्ण पात्रहरू जनु अहमदियतको यस नाटकमा सहभागी बनेका छन् पतन र विध्वन्शको हातमा निरबुद्धि कठपुलती सरह मात्र रहेका थिए । 

साभारः कादयानियत

(समाप्त)

Wednesday, October 21, 2020

कादयानी को हुन? ११

 कादयानियतः इस्लाम र मुहम्मदी सन्देश विरूद्ध एक विद्रोह

लेखकः मौलाना सैयिद अबुल हसन अली नदवी (रह०)

अनुवादः मुहम्मद सुहैल नदवी

भाग (११)

वार्तालापलाई सर्त बनाउने परिणामः

मिर्जाले ईश्वरीय सम्बोधन र वार्तालापलाई ईश्वरीय ज्ञान र सफलता तथा सत्यता र वास्तविक्ताको लागि सर्त बनाएर त्यो धर्म जसलाई अल्लाहले सरल र त्यस बमोजिम कर्म गर्न सहज बनाउनु भएको छ,  एउटा कठिन र सिमित बनाइ दिएका छन् । अल्लाह तआलाले भन्दै हुनुहुन्छः (يريد الله بكم اليسر و لا يريد بكم العسر)

"अल्लाह तिमीहरूका लागि सरलता चाहनु हुन्छ र तिमीहरूको लागि कठिनता चाहनु हुन्न "( अलबकरहः१८५)

( وما جعل عليكم في الدين من حرج)

"उहाँले धर्ममा कठिनाइ राख्नु भएको छैन" (अलहज्जः७८)

(لا يكلف الله نفسا إلا وسعها)

"अल्लाह ले कसैलाई उसको सामर्थ्य भन्दा बढी जिम्मा दिनु हुन्न" (अलबकरहः२८६)

तर यदि ईशज्ञान र सफलताको लागि इश् सम्बोधन र वार्तालापलाई सर्त मानिने हो भने धर्म भन्दा कठिन बस्तु केही हुँदैन, किनभने धेरै जना प्राकृतिक रूपमा ईशवाणी र वार्तालापको योग्य हुँदैनन्, जुनसुकै तपस्या वा मिहिनेत गरे तापनि वार्तालाप र ईश्वाणीको ढोका खोल्न असमर्थ्य हुन्छन् , धेरै जना त्यसको योग्य हुन्छन् तर त्यसको लागि भनिएको तपस्या र मिहिनेत (जो वार्तालाप र सम्बोधनको लागि सर्त हो) गर्ने मौका पाइदैनन् । त्यो जगतव्यापी धर्म जुन समस्त मानव जातिको उत्थानको लागि आएको हो, जसले सबै सर्वसाधारणालाई ईश्वरको बाटो तिर निम्त्याउँछ , ईश्वरज्ञान, सफलता, ईश्वरको प्रसन्नता, पापबाट मुक्ति र ईश्वर सम्म पुग्नको लागि यस्तो कष्टदायक सर्त राख्ने छैन, जसलाई करोडौं मानिसहरू मध्ये एक दुइ जनाले मात्र पुरा गर्न सक्छन् । 

कुरआन मजीदमा इमानवाला र सफलता प्राप्त गर्ने मानिसहरूको जुन गुणहरू वर्णन गरिएका छन् तिनको बारेमा हेर्नुहोस् , सुरह अलमूमिनूनको पहिलो रूकू पढ्नुहोसः

(قد افلح المومنون الذين هم في صلاتهم خاشعون)

"इमानवालाहरू सफल भए, जो आफ्ना नमाजमा ईश्वर सित डर्छन्" ,

यसरी सरूह अलफुर्कानको अन्तिम रूकू पढ्नुहोसः

( وعباد الرحمن الذين يمشون على الارض هونا)

"रह्मानका भक्तहरू जो भूतलमाथि सहज सित हिडडुल गर्छन्" ।

साथै सूरह अलबकरहको प्रथम आयत पढ्नुहोसः

(الم ، ذلك الكتب لا ريب فيه، هدى للمتقين، الذين يؤمنون بالغيب و يقيمون الصلوة و مما رزقناهم ينفقون)

"अलिफ लाम मीम, याे किताब, यसमा केही सन्देह छैन, ईशभय राख्नेहरूको लागि सत्यमार्गदर्शन हो, जाे मानिसहरू गैब (परोक्ष) माथि विश्वास गर्छन् र नमाज कायम गर्छन् र हामीले प्रदान गरेको सम्पत्तिद्वारा दान गर्छन् "

यी आयतहरूमा मार्गदर्शन र सफलताको लागि ईश्वरीय वार्तालापलाई सर्त ठहराइएको पाइदैन, बरू त्यसकोलागि परोक्ष अथवा अदृश्य माथि विश्वासलाई मार्गदर्शन पाउने निमित्त प्रथम सर्त बताइएको छ । परोक्षमाथि विश्वासको अर्थ हो नबी अथवा ईश्दूतमाथि भरोसा, उनीहरूलाई नै ईश्वरले वार्तालापको लागि चयन गर्नु भएकोमा एकीन, उनीहरूको भरमा परोक्षको तथ्य जुन मात्र चेतनशील अङ्ग अथवा मस्तिस्कद्वारा बुझ्न असम्भव हुन्छ, त्यसलाई मान्नु पर्छ, यदि मिर्जा साबको भनाइ अनुसार ईशवरीय ज्ञान र सफलताको लागि ईशवरीय वार्तालाप अनिवार्य ठहराइन्छ, परिणामस्वरूप परोक्षमाथि विश्वासको कुनै अर्थ हुने छैन र कुरअनमा बारम्बार त्यसमा जोड दिइएको कुराको केही यथार्थ कायम नै हुने हुँदैन । 

अनि , सहाबाहरूको जीवन वृतान्त हामीलाई थाहा छ, कसैले सोध्यो भने उनीहरू मध्ये कति जनालाई ईश्वरीय सम्बोधन र वार्तालाप प्राप्त भएको थियो? र हदीस र सीरतको किताबहरूद्वारा कतिको बारेमा प्रमाणित गर्न सकिन्छ जसलाई यो सम्बोधन र वार्तालाप मिल्यो ? कुनै पनि व्यक्ति जो त्यस युगको इतिहास र यो जमातको स्वभाव र प्रवृत्तिबाट अवगत छ, अथवा मात्र साधारण मानव जातिको स्वभाव र मनोस्थितिको ज्ञात छ , कहिल्यै यो दाबी गर्न सक्दैन कि एक लाख भन्दा बढी यस आध्यात्मिक जनसमूह मध्ये कसैलाई ईश्वरीय सम्बोधन र वार्तालापको सौभाग्य प्राप्त भएको छ, सहाबाहरूको यस्तो अवस्था छ भने अरू सर्वसाधारणको के जिकिर?

इश्दूत्वको सिलसिलाको इन्कारको मन्सायः

ईश्वरीय सम्बोधन र वार्तालापको महत्व र विस्तृति, वास्तवमा ईश्दूत्वको विरूद्ध एउटा विद्रोह र गुप्त षड्यन्त्र हो, सम्बोधन र वार्तालापको विस्तार र क्रमबद्धता पछि सैद्धान्तिक र वैवहारिक रूपमा ईश्दूतहरूको अवश्यक्ता बाँकी रहने छैन, कुरआन मजीद लगायत सम्पूर्ण अकाशीय धर्महरूले मानवजातिको मार्गदर्शन, ईश्वर चिनारीको प्राप्ति, ईश्वरको अस्तित्व र गुणहरू र ईश्वरीय मन्साय बुझ्न र परोक्षको ज्ञान र यथार्थबाट अवगत हुने क्रियालाई ईश्दूत्वको क्रमबद्धता सँग जोडेका छन् । कुरअन मजीदमा मार्गदर्शित मुमिनहरूको मुखद्वारा भनिएको छ 

( الحمد لله هدانا لهذا و ما كنا لنهتدي لو لا ان هدانا الله، لقد جاءت رسل ربنا بالحق)

"अल्लाहको प्रशंसा छ जसले हामीलाई यहाँ सम्म पुर्याउनु भएको छ, हामीले कहिल्यै सत्यमार्ग प्राप्त गर्न सक्ने थिएनौं, यदि अल्लाहले मार्गदर्शन गराउनु नभएको भए, हाम्रो पालनकर्ताका दूतहरूले हामी समक्ष सत्य कुरा ल्याउनु भएका छन्।" (अल् अराफः४३)

अर्को स्थानमा अस्तित्व र गुणहरूको सम्बन्धमा मुश्रिक र रूढीवादको विचार र आस्थालाई अस्वीकार गर्दै भनिएको छ ।

(سبحن ربك رب العزة عما يصفون، و سلام على المرسلين، و الحمد لله رب العلمين

"पवित्र हुनुहुन्छ तपाइको पालनकर्ता, सुसम्मानित पालनकर्ता, ती कुराहरूबाट जो उनीहरूले भन्दैछन् , र शान्ति होस् ईश्दूतहरूमाथि, तथा समस्त प्रशंसा मात्र अल्लाहको लागि हुन् जो सबै जगतका पालनकर्ता हुनुहुन्छ "। (अस्साफ्फातः १८०–१८२)

इश्दूतहरूलाई पठाइने रहस्य र फाइदाको वर्णन गर्दै भनिएको छ ।

(لئلا يكون للناس على الله حجة بعد الرسل)

"यसरी कसैलाई पनि इश्दूतहरू आए पछि अल्लाहमाथि दोषारोपण गर्ने मौका नहोस् ।"

मिर्जा गुलाम अहमदको ईशवाणीको क्रमबद्धता र सिलसिलाको सिद्धान्त र ईश्वरीय सम्बोधन तथा वार्तालापको विस्तृत्ति र अनिवार्यता प्रति कसैले ध्यानपूर्वक अध्यन गर्छ र त्यसको वैज्ञानिक विषलेशण गर्छ भने उसलाई यसमा इश्दूत्वको समाप्तिको इन्कारको सट्टा समस्त इश्दूत्वको क्रमलाइ नै अस्वीकार गरिएको मन्साय रहेको थाहा हुन्छ, र ईश्वरीय मार्गदर्शन र दिव्य ज्ञान पनि मिस्मरेजम तथा आत्माको हाजिरी जस्तो नया अभियान सरह एउटा आध्यात्मिक परीक्षण र कार्य मात्र बाँकी रहेको देखिन्छ । 

क्रमशः

Tuesday, October 20, 2020

कादयानी को हुन? १०

 कादयानियत: इस्लाम र मुहम्मदी सन्देश विरुद्ध एक विद्रोह 

लेखक: मौलाना सैयिद अबुल हसन अली नदवी (रह०)

अनुवाद: मुहम्मद सुहैल नदवी 

भाग (१०)

मुसलमानबीच विभेदनाः

यो नया दूतत्वकरणद्वारा इस्लामी जगतमा जुन भयावह झगडा उत्पन्न हुनेछ र मुसलमानहरूबीच जुन मतभेद र एकत्रित समुदायको बिखण्डन हुन सक्छ त्यसको बारेमा  सोच्दापनि एउटा सत्य मुसलमान व्याकुल हुनु स्वाभाविक हो, अधर्मता र नास्तिकताको यस युगमा मानवजाति भित्र अनल हक्क(انا الحق ) र अनन्नबी(انا النبي) भन्ने लालसा बाँकी रहेको छैन, तर मिर्जा गुलाम अहमदको लिटरेचरको प्रभाव र चतुर कादयानी प्रचारप्रसारद्वारा यदि इस्लामी जगतमा इश्दूत्वको दाबी गर्ने प्रथा उत्पन्न भयो र इस्लामी जगतको हरेक कुनाकाप्चाबाट विभिन्न व्यक्तिहरूले आफ्नो आफ्नो दूत हुने दाबी गर्दै झण्डा फहराउन थाले र त्यो झण्डा मुनि नआउनेहरूलाइ काफिर ,नास्तिक भन्न सुरू भयो भने इस्लामी जगतमा कस्तो सैद्धान्तिक र धार्मिक विभेद र टक्राउ उत्पन्न होला र इस्लामी जगत कति खण्डमा विभाजित हुन पुग्ला? जुन समुदायको उत्पत्ति वर्ण र जातिको विभेद र समुदाय र भूमिको विखण्डनालाई मेटाउन, समस्त मानव जातिलाई एक सूत्रमा गाभ्नका निम्ति भएको थियो,त्यो धर्म आफैं धार्मिक कलह र सामुदायिक विभेदनाको सिकार हुन्छ । यो खतरालाई मोलवी मुहम्मद अली लाहुरीले पनि महसुस गरेका थिए र आफ्नो एउटा लेखमा विस्तारसहित यसको चर्चा पनि गरेका थिए, तर उनलाई पनि यस खतराको ढोका त मिर्जा गुलाम अहमदले स्वयं खोलेका रहेछन् , आभास भएको थिएन, इस्लामको सम्पूर्ण इतिहासमा उनी प्रथम व्यक्ति हुन जसले इश्दूत्वको क्रम र सिलसिलालाई एउटा निम्तो र अभियानको रूपमा पेश गरेका छन् , मोलवी मुहम्मद अली बुद्धिजिविहरूलाई सम्बेधित गर्दै भन्छन् ।

"इश्वरकालागि तपाइहरू विचार गर्नुहोस् , यदि मियाँ साहबको यो आस्था कि नबीहरू आउँदै गर्छन्, र हजारैं नबी आउनेछन् , सत्य हो, जसरी उनले खुलारूपमा "अन्वारे खिलाफत"मा लेखेका छन्, त्यसपछि यो हजारौँको जमात एक अर्कालाई काफिर वा नास्तिक भन्ने हुन्छन् कि हुँदैनन् ? इस्लामी एकता कहाँ जान्छ? यदि मानौँ ती सम्पूर्ण नबीहरू अहमदी जमातमा मात्र हुने भए अहमदी जमात कति खण्डमा विभाजित हुन्छ? विगत समयको परम्पराबाट तिमी अज्ञात छैनौ, कसरी एउटा नबी आएपछि एक समूह उनका पक्षमा र अर्को  समूह विपक्षमा हुने गर्दथे, त्यो इश्वर जसले मुहम्मद सल्लल्लाहु अलैहि वसल्लमको हातद्वारा सम्पूर्ण जगतलाई एक दाँजोमा ल्याउने मन्साय जाहिर गरी सकेका छन् , के उसले मुसलमानहरूलाई यसरी टुक्रामा खण्डित पार्नु हुन्छ र? तिमीहरू एक अर्कालाई काफिर भन्दैछौ, एक अर्कामा कुनै इस्लामी भ्रातृत्व बाँचेको छैन । याद राख ! यदि इस्लाम धर्मलाई सम्पूर्ण धर्महरूमाथि विजयी बनाउने बाँचा सत्य हो भने इस्लाम धर्ममाथि यस्तो  संकट कहिल्यै आउँदैन, कि हजारौ नबीले आफ्नो छुट्टा छुट्टै समूह लिएर हिडने हुन्छन्  र हरेकले डेढ इँटको  मस्जिद छुट्टै बनाउने गर्छन् , उनका अनुयायीहरू आफ्नो स्थानमा आस्था र सफलताका ठेकेदार बनेका हुन्छन्  र अरू सबै मुसलमानहरूलाइ काफिर र नास्तिक ठम्याउने छन् ।"

एउटा असत्य र खतरापूर्ण सिद्धान्तः

मिर्जा गुलाम अहमदको एउटा सिद्धान्त जसले इस्लामी मस्तिस्कमा द्वविधा र इस्लामी समाजमा विभेदनाको ढोका खोलेको छ त्यो हो मुकालमात व मुखातबात ए इलाहिया अथवा "इश्वरीय सम्बेधन र वार्तालाप",लाई धर्मको सत्यताको निम्ति सर्त र अनुसरण र तपस्याको प्राकृतिक परिणाम मान्नु, उनको विचारमा जुन धर्ममा सम्बेधन र वार्तालापको क्रम जारी रहँदैन त्यो  धर्म मिथ्य र निर्जीव हुन्छ, अथवा त्यो शैतानिक धर्म हुन्छ र नर्कमा पुर्याउँछ र जुन धर्मका अनुयायीहरू तपस्या र संघर्षका बावजुद यस एश्वर्यबाट बन्चित हुन्छन उनी हरू वास्तवमा बाटो बिराएका निर्धा  र नेत्रहीन हुन्छन् ।

उनले बराहीने अहमदियाको पाँचौ  भागमा लेखेका छन् 

"यस्ता नबी आफूमा के इज्जत, सम्मान, कुन श्रेणी, र कस्तो  प्रभाव र अध्यात्मिक सामर्थ्य राख्न सक्छ जसका अनुसरणका दाबी गर्नेहरू अन्धा र नेत्रहीन हुन्छन् र इश्वरले आफ्नो सम्बोधन र वार्तालापद्वारा उनीहरूका आँखा खेल्नु भएको छैन, यो कस्तो असत्य र अनर्थक आस्था हो भने मुहम्मद सल्लल्लाहु अलैहि वसल्लम पश्चात इश्वाणीके ढोका सधैंका लागि बन्द भइसकेको छ, र अन्तिम दिन सम्म यसको कुनै सम्भावना छैन, मात्र कथा कहानीको अनुसरण बाँकी रहन्छ, यस्तो धर्म पनि धर्म हो जसमा प्रत्यक्ष रूपमा इश्वरको पत्तै लाग्दैन, मात्र कथाको भरमा आधारित हुन्छ, यदि कसैले त्यो इश्वरका लागि ज्यानको बलि दियो, उनको प्रसन्नता प्राप्तिका लागि आफूलाई मेटायो ,र आफ्नो  हरेक वस्तुमा उनको अख्तियार स्वीकार गरेतापनि उनले आफ्नो परिचयको  ढोका खोल्न मान्दैनन् , र आफ्नो सम्बोधन र वार्तालापद्वारा सुसम्मानित गर्दैनन् , कस्तो अचम्म ! "

"म इश्वरको सौगन्ध खाएर भन्छु यो समयमा त्यस्तो  धर्मका निम्ति अरू कसैले म भन्दा बढी आपत्ति जनाएको छैन होला, म यस्तो  धर्मलाइ शैतानिक धर्म भन्छु, रहमानी होइन, मलाइ पूर्ण विश्वास छ, यस्तो धर्मले मानवलाइ नर्कमा मात्र धकेल्छ ।"

क्रमश:

Friday, October 16, 2020

कादयानी को हुन्? ९

 कादयानियत: इस्लाम र मुहम्मदी सन्देश विरुद्ध एक विद्रोह 

लेखक: मौलाना सैयिद अबुल हसन अली नदवी (रह०)

अनुवाद: मुहम्मद सुहैल नदवी 

भाग (९)


ईश्दुत्वका दाबेदारहरूः

मिर्जा गुलाम अहमदको प्रचारप्रसार र उनको अभियानको प्रत्यक्ष परिणाम स्वरूप, ईश्दुत्वको महानता, आदरनीयता र यस पदवीको इज्जत र गरिमालाई आघात पुग्नु स्वभाविक नै थियो । उनले ईश्दुत्वको क्रमबद्धता र अनन्त श्रंखलामाथि जसरी लेखहरूद्वारा जोड दिएका छन् र जसरी उनको प्रचारप्रसार गरेका छन, आफूमाथि भएको ईश्वाणीलाई जुन महत्व दिँदै आफू ईश्दूत हुने दाबी गरेका छन, त्यसको फलस्वरूप ईश्दूत्वलाई बालबालिकाको खेल झैँ हुनु पर्ने नै थियो । उनले पनि इश्दूतवको क्रमलाई आफू ईश्दूत हुँ भन्नको लागि मात्र स्वीकार गरेका छन र इश्दूत्वको अन्त्यको इन्कार आफूसम्म मात्र सिमित राखेका छन र आफुपछि  आउनेहरूको हकमा आफूलाई नै अन्तिम नबी वा इश्दत हुने प्रमाणित गरेका छन । अल्लामा इक्बालको मधुर शैलीमा यस्तो व्याख्या गरिएको छ ।

"अहमदियतको संस्थापकको आफ्नै प्रमाणिकरण जुन मध्य शताब्दीको आस्थाबिदका लागि मात्र उपयोगि हुन सक्छ, त्यस हिसाबमा यदि अर्का नबी हुनु भए इस्लामको अध्यात्म अपूर्ण रहने हुन्छ , उनले आफ्नो दाबीलाई प्रमाणित गर्न इस्लामको नबी मुहम्मद सल्लल्लाहु अलैहि वसल्लम भित्र नबी बनाउने सामर्थ्य थियो, भन्दै प्रमाणस्वरूप आफ्नो दूतत्वलाई पेश गरेका छन् । तर उनलाई मुहम्मद सल्लल्लाहु अलैहि वसल्लमको अध्यात्ममा एक भन्दा बढी ईश्दूत बनाउने क्षमता थियो कि थिएन भनेर सोधिने हो भने उनको जवाफ नकारात्मक आउँछ । यो विचारलाई अर्को शैलीमा यसरी बुझ्न सकिन्छ, उनको भनाइ अनुसार मुहम्मद सल्लल्लाहु अलैहि वसल्लम अन्तिम नबी हुनु हुन्न, म नै अन्तिम नबी वा इश्दूत हूँ । अन्तिम दूतत्वको इस्लामिक सिद्धान्तले मानव इतिहासमा सामान्यतः र एशियाली इतिहासमा विशेषतः के महत्व राख्दछ त्यसलाई बुझ्नको सट्टा अहमदियतको संस्थापकको विचारमा दूतत्वको अन्त्यले यदि मुह्ममद सल्लल्लाहु अलैहि वसल्लमको कुनै अनुयायीलाई दूत बनाउने असमर्थ्य छ भने यो आफैमा मुहम्मद सल्लल्लाहु अलैहि वसल्लमको दूतत्वलाई अपूर्ण प्रमानित गरिरहेको हुन्छ । यदि म अहमदियतको संस्थापकको मनोविज्ञानको अध्ययन उनले गरेको दूतत्वको दाबीको आधारमा गर्छु , मलाई ज्ञात हुन्छ, उनले आफ्नो ईश्दूत्वलाई सघाउन इस्लामको ईश्दूतको संरचनात्मक सामर्थ्यलाई मात्र एक ईश्दूत अथवा अहमदियतको संस्थापकमा सिमित गरेर मुहम्मद सल्लल्लाहु अलैहि वसल्लमको अन्तिम नबी हुने सिद्धान्तलाई अस्वीकार गरेका छन् । यसरी यो नयाँ ईश्दूत आफ्नो आध्यात्मिक पूर्वजको अन्तिम दूतत्वको विशेषतामाथि अधिपति बन्न खेज्दैछन् । "

यदि मानिसहरूको बुद्धि यो कुरालाई बुझ्न असमर्थ्य छ भने मुहम्मद सल्लल्लाहु अलैहि वसल्लमको ईश्दूत्वको संरचनात्मक शक्ति कसरी एक व्यक्तिविशेषको लागि मात्र सिमित हुन्छ ? यस शक्तिले आफू भन्दा तेह्र सय वर्ष पछि आएको व्यक्तिमा मात्र असर पार्छ न त त्यो भन्दा पहिले न त्यो भन्दा पछि, यो सृष्टि बाँचुन्जेल सम्म, अरूको कुरा नगरौँ  उनकै अनुयायी र उत्तराधिकारी मिर्जा बशीरूद्दीनले लेखेका छन् ।

"ईश्वरले काफिरहरूको बारेमा भन्नु हुन्छ و ما قدروا الله حق قدره 

अथवा उनीहरूले अल्लाहको गरिमालाई बुझ्न सकेनन् , उनीहरूले अल्लाहको भन्डार समाप्त भइ सकेको छ मात्र बुझेका छन् , तसर्थ कसैलाई केही दिन सक्नु हुन्न, उनीहरूको भनाइ अनुसार कुनै व्यक्ति इश्भय र सतकृतिमा जति माथि जाओस्, धर्म पारायणाता र साधुतामा कयौं  ईश्दूत भन्दा अग्र पंक्तिमा बसोस् , इश्वरको ज्ञान जति पनि प्राप्त गरोस्, तर ईश्वरले उसलाई नबी वा इश्दूत बनाउने छैनन् , उनको यो विचार इश्वरको सामर्थ्यलाई नबुझ्न सक्ने अवस्थाको कारण उत्पन्न  भएको हो, नत्र उहाँले एक नबी मात्र होइन म भन्छु हजारैँ नबी बनाउने सक्नु हुन्छ ।"

तसर्थ मिर्जा गुलाम अहमद पछि मानिसहरूलाई ईश्दुत्वको दाबी गर्ने साहस पुग्यो, हामीलाई भारतवर्षको इतिहासमा जुन एक हद सम्म विस्तारमा सुरक्षित राखिएको छ, अकबर बाहेक कुनै व्यक्तिको बारेमा थाहा छैन जसले दूतत्वको अन्त्यलाई इन्कार गर्दै नयाँ धर्मको संरचना गरेको पाइन्छ, अकबरले पनि यस्तो संगठित र खुला तरीकाले नयाँ नबी हुने साहस गर्न सकेका थिएनन् , तर मिर्जा पछि यो ढोका सामान्यतः खुला गरिएको पाइन्छ, प्रोफेसर इल्यास बर्नीले सन् १९३६ सम्म सात जना नबी हुने दाबीवालको वर्णन गरेका छन् , यसमा केही शंकाको कुरा पनि छैन,यदि ध्यानपूर्वक यस्तो दाबी गर्नेहरूको सर्वेक्षण गरिन्छ भने मात्र पंजाब प्रान्तमा यो संख्या बढ्न सक्छ, ईश्दूत्वको बहुसंख्या र दाबीको चलन प्रति स्वयंम् मिर्जा बशीरूद्दीनले पनि आपत्ति जनाउँदै यस्तो भनेका छन् । 

"हेर्नुस, हाम्रो जमातमा कतिपय ईश्दूत्वका दाबीवाल उभिएका छन् , ती मध्ये एक बाहेक अरू सबैको सम्बन्धमा म यो विश्वास राख्दछु, उनीहरू झूठो बोल्दैनन् , वास्तवमा उनीहरूमाथि सुरूमा इश्वाणी उत्रेको हो, र यो आश्चर्यजनक कुरो पनि होइन, यसरी हुने भइरहन्छ, तर त्रुटि के छ कि उनीहरूले आफूमाथि भएको ईश्वाणीलाई बुझ्न सकेका छैनन् , कही व्यक्तिहरूसंग मेरो व्यक्तिगत सम्बन्ध छ र म यो वर्णन गर्न सक्छु, उनीहरूको भनाइ निस्वार्थ थियो, उनीहरूमा ईश्भय पनि थियो, भविष्यमा के हुनेछ त्यो त ईश्वरलाई मात्र ज्ञान छ, तर सुरूमा निस्वार्थ थिए र उनको ईश्वाणी वास्तविक थियो तर उनीहरूलाई ईश्वाणीलाई बुझ्न भुल भयो र सत्यमार्गबाट हुत्तिए । "


क्रमशः

Tuesday, October 6, 2020

कादयानी को हुन?८

 कादयानियतः इस्लाम र मुहम्मदी सन्देश विरूद्ध एक विद्रोह,

लेखकः मौलाना सैयिद अबुल हसन अली नदवी (रह०)

अनुवादः मुहम्मद सुहैल नदवी

भाग (८)

दूतत्वको अन्त्य, अल्लाहको अनुग्रह र मुस्लिम समुदायको विषेशता हो ।

यो आस्था कि इस्लाम धर्म पूर्ण भइसकेको छ र मुहम्मद सल्लल्लाहु अलैहि वसल्लम अल्लाह का अन्तिम सन्देष्टा हुनुहुन्छ र यो आस्था कि इस्लाम अल्लाहको अन्तिम सन्देश र जीवनशैलीको पूर्ण विधान हो, एक प्रकारको इश्वरीय पुरस्कार र अल्लाहको विषेश अनुग्रह थियो जो यस समुदायको लागि खास गरिएको छ । तसर्थ एक यहूदी विद्वानले लालसा र अभिरूचि व्यक्त गर्दै भन्यो, तपाइको कुरआनमा तपाईँहरूले पढ्दै गर्ने एउटा यस्तो आयत छ यदि त्यो आयत हामी यहूदीहरूको किताबमा हाम्रो लागि हुनेथ्यो भने हामी त्यो दिनलाई जुन दिन यो आयत अवतरित भएको हो आफ्नो सामुदायिक पर्व र चाडको रूपमा मनाउने थियौँ, त्यसको मन्साय सूरत माइदाको यो आयतः

اليوم اكملت لكم دينكم و اتممت عليكم نعمتي و رضيت لكم الاسلام دينا 

(आज मैले तिमीहरूको लागि तिमीहरूको धर्म पूर्ण गदिदिएँ र तिमीहरू प्रति आफ्नो अनुग्रह पुरा गरें र तिमीहरूको हकमा इस्लामलाई धर्म स्वरूप कबुल गरें )

थियो, जसमा सन्देष्टा पठाइने क्रमको अन्त्य र अनुग्रहको परिपूर्तिको वर्णन गरिएको छ। हजरत उमर रजियल्लाहु अन्हुले यस महान अनुग्रहको गरिमा र उच्चताको इन्कार नगरी मात्र यति भने, हामीलाई  कुनै नयाँ पर्व मनाउने आवश्यक्ता छैन, किन भने यो आयत यस्तो समयमा अवतरण भएको हो जो आफैंमा एक ठुलो भेला र उपासनाको दिन मानिन्छ, यस अवसरमा दुइवटा पर्व सँगै थिए, एउटा अरफातको दिन (नौ जिल्हिज्जा) र अर्को जुमुआको दिन । 

मानसिक विभेदनाबाट सुरक्षाः

यस आस्थाले इस्लामलाई विखण्डन पार्ने र समुदायको एकतालाई टुक्रयाउने अभियान र निम्त्याइबाट सुरक्षित पारेकोछ, यस्तो अभियानहरू इस्लामको लामो इतिहासमा र इस्लामी जगतको विशाल भु-भागमा समय समयमा शिर उठाउँदै आएका छन्, यही आस्थाले गर्दा इस्लाम धर्म ती इश्दूत्वका झुठा दावीवाल र इस्लामका बिनाशकहरूको कठपुतली बन्नबाट जेगिएको छ जुन इतिहासको विभिन्न भागमा र इस्लामी जगतको अलग अलग ठाउँमा जन्म लिँदै आएका छन्, सन्देष्टाको अन्त्यको आस्थाको किल्लाभित्र यो समुदाय ती दाबीवालहरूको आक्रमणबाट बाँच्न सफल भएको छ जसको भरमा तिनीहरूले यो सारा व्यवस्थापनलाई फेरेर अर्को नयाँ व्यवस्थापन लागु गर्न खोज्दै थिए, यसै आस्थाले गर्दा यो समुदाय ती सबै साजिस र खतरनाक हम्लाको प्रतिकार गर्न सफल भएको छ जुन हमलाबाट पहिलेका कुनै सन्देष्टाका अनुयायीहरू जोगिन सकेका थिएनन्, यसरी एक लामो समयसम्म यसको धार्मिक र वैचारिक एकता र समानता कायम रहयो, यदि यो आस्था र यो घेराबन्दी नभए यो एकत्रित समुदाय विभिन्न र अत्यधिक समुहमा विभाजित भइसकेका हुन्थ्यो र हरेक समुदायको अध्यात्मिक केन्द्र छुट्टै हुन्थ्यो, शास्त्रिक र साँस्कृतिक मुहान अलग्गै हुन्थ्यो , हरेकको आफ्नो इतिहास हुन्थ्यो , हरेकको भिन्दा भिन्दै पूर्वज, धार्मिक गुरू र अनुयायी हुन्थे र हरेकको बितेको कथा र गाथा छुट्टै हुन्थ्यो । 

दूतत्वको सामप्तिको आस्थाद्वारा मानवजीवन र संस्कृति माथि उपकारः

दूतत्वको समाप्ति वास्तवमा मानव जगतको लागि एउटा उपाधि र उपहार हो, यसले यो घोषणा गर्दैछ भने मानव जाति अब तरूण अवस्थामा पुगी सकेको छ र अल्लाहको अन्तिम सन्देशलाई ग्रहण गर्न योग्य भइ सकेकोछ, अब मानव समाजलाई  कुनै नयाँ सन्देश वा नयाँ अकाशीय वाणीको अवश्यक्ता रहेन छ । यो आस्थाले गर्दा मानव जाति भित्र आत्मविश्वास उत्पन्न हुन्छ, उसलाई राम्ररी ज्ञान प्राप्त हुन्छ, अब धर्म परम सीमामा पुगी सकेको छ, त्यसलाई पछिल्तिर जाने जरूरत छैन, अब संसारलाई नयाँ इश्वाणीको लागि आकाशमा हेरी राख्नुको सट्टा, अल्लाहले सृजना गर्नु भएका शक्तिहरू र उहाँले अवतरण गर्नु भएका धार्मिक र सांस्कृतिक मूलाधारमा आफ्नो जीवनको व्यवस्थापन खोज्नको निम्ति भुमिमा र आफू भित्र मात्र हेर्नु पर्ने आवश्यक हुन्छ । सन्देशवाहनको समाप्तिको आस्थाले मानव जातिलाई पछाडीको सट्टा अघिल्तिर बढ्दै जाने प्रेरणा दिन्छ, उसले मानिसलाई सकेसम्म आफ्नो सामर्थ्य प्रयोग गर्ने साहस प्रदान गर्छ र मानिसलाई उसको परिश्रम र आयासको वास्तविक कर्मभूमि दर्शाउँछ । यदि सन्देशवाहनको समाप्तिको आस्था हुँदैन भने मानव जाति सधैं आशंका र द्विधामा रहने गर्छ , जमिनमा हेर्नु भन्दा उसको आँखाले सधैं आकाशतिर हेर्ने गर्छ, उसलाई आफ्नो भविष्यको सधैं चिन्ता र भय हुने गर्छ,उसलाई हरेक पटक एक नयाँ व्यक्तिले खबर दिने गर्छ कि यो मनु वाटिका वा मानवको फूलबारी अहिले सम्म परिपूर्ण नभइ अब नयाँ पात र नौलो कोपिलाले गर्दा पूर्ण भएको छ, यसरी मानव जातिले यो वाटिका पूर्ण भएको थिएन र भविष्यमा पनि पुरा हुन्छ कि हुँदैन भन्ने द्विधामा बस्न बाध्य हुनेछ, त्यो फूलबारीलाई हेरचाह गर्न र त्यसको फलफूलहरूबाट लाभान्वित हुनुको ठाउँमा यसलाई पुरा गर्ने एउटा नयाँ बगैँचाको अपेक्षा मात्र गर्ने गर्छ । 


क्रमशः

Saturday, October 3, 2020

कादयानी को हुन? ७

 कादयानियत: इस्लाम र मुहम्मदी सन्देश विरुद्ध एक विद्रोह 

लेखक: मौलाना सैयिद अबुल हसन अली नदवी (रह०)

अनुवाद: मुहम्मद सुहैल नदवी 

भाग ((७)

यी कुराहरूबाट अनुमान लगाउनु होस् कादयानियतले कसरी एउटा अन्तराष्ट्रिय धर्म बन्न कोसिसका साथमा आशावादी छ , जसको आफ्नै छुट्टै इश्दूत, सहाबी र खलीफा (उत्तराधिकारी) छन् , जसले छुट्टै तीर्थस्थल, भिन्नै  आफ्नो इतिहास, अलग्गै धर्मगुरू, भिन्नै साहित्य छ, र आफ्ना अनुयायीहरूको सम्बन्ध इस्लामको सदैव रहने वैभव, उसको इतिहास र धर्मगुरूहरू, उसको मुहान र मूल धारा, उसको पवित्र तीर्थस्थल र आध्यात्मिक केन्द्रबाट काट्दै हरेक वस्तुको सट्टा एक नयाँ वस्तु आफ्नो अनुयायीहरू समक्ष प्रस्तुत गर्दैछ, तर साटेको वस्तु सक्कलको समानान्तर कसरी हुन सक्छ र ? , यसरी मानव, अरबी इश्दूत मुहम्मद सल्लल्लाहु अलैहि वसल्लमको माया र आज्ञापालनको भाव, उहाँको जीवनगाथाको वर्णन प्रति प्रेम, उहाँको जीवनको अध्ययन र उहाँको पदचिन्हको अनुसरणबाट मुख फेरेर कादयानी इश्दूतको माया, त्यसको श्रेष्ठताको गुणगाण, त्यसको इतिहासको अध्ययन र त्यसको पाइलापिच्छे हिडनेकार्यमा संलग्न हुन्छ, त्यो व्यक्ति इस्लाम धर्मको उज्जवल इतिहास र निष्ठा तथा अभिमानताको गाथा र मानवीय उच्चाचारणको वास्तविकतालाई छोडेर यस्तो इतिहासको वर्णन सुरू गर्छ जो दासत्व र अपमानको इतिहास हो, निर्दयी हाकिम र कष्टकर शासनको चाकरी, चापलुसी र चम्चागिरीको इतिहास हो, जासुसी र विश्वासघातको लेखाजोखा हो । 

त्यो व्यक्ति, ती इस्लामी व्यक्तित्व, जो मानवजातिका पूँजी र आदमीका गौरव हुन्, मनुष्यका ती सपुतहरू जुन महानताका शिखर र इतिहासका अमर कृति हुन्, यिनीहरू देखि मुख फेरेर यस्तो नीच आचरण र तुच्छ बानी भएका मानिसहरूको प्रेममा पर्न जान्छ, जसलाई चाकरी बाहेक अरू भाषा आउँदैन, जसले इमानको बेचबिखन बाहेक अरू कुनै कला जान्दैन, त्यो व्यक्ति अमर र निरन्तर रह्ने इस्लामी विद्या र शास्त्रलाई फाल्दै यस्तो झूठ, ठुलठुला दाबी, हाँस्यजनक व्याख्या र कहिल्यै पुरा नहुन सक्ने भविष्यवाणीको संग्रह बाहेक अरू केही लाभ पाउँदैन, र त्यो व्यक्ति ती शहर देखि समबन्ध विच्छेद गर्दिन्छ जहाँ वह्य अवतरण भएको छ, जहाँ फरिश्ताहरू अवतरित भएका छन्, जहाँ मानवको प्रशिक्षण केन्द्र रहेको छ, जसलाई मानवजातिको आश्रय मानिन्छ, जसको क्षितिजबाट संसारको बिहानी उदाएको छ, र आफ्नो नाता त्यो शहर सित जोड्छ, जो जासुसीको अड्डा र इस्लामी समुदायको फिफ्थ कालेमको केन्द्र हो, यो हो कादयानी समुदाय, जसले हरेक ताजा वस्तुलाई कुहिएको वस्तुसित साटासाट गरेको छ, उद्दण्डहरूले कस्तो नराम्रो वस्तु साटेका छन् ।

यसले वचन (कलिमा) को एकतालाई अंश-अंशमा बाँढी इस्लामी जगतलाई विचारको विभेदतामा पुर्याइ दिन्छ, इस्लामको वास्तविक मुहान, उसको मूलश्रोत र सर्वमान्नीय विचारधारकहरू प्रति विश्वासलाई हल्लाइ दिन्छ, इस्लामी समुदायको सुनौलो इतिहास, ख्याति कृतिमान र महान व्यक्तित्वहरू देखि समुदायको सम्बन्ध बिच्छेद गरि दिन्छ, इश्दूत्वको नयाँ दावीवाल र प्रतिविम्बको लागि बाटो खुलाउँछ, यसले इस्लाम धर्मका अडीग सामर्थ्य र सदाबहार जीवन प्रति शङ्का उत्पन्न गर्छ र मुसलमानहरूलाई उनको भविष्यप्रति निराश बनाउँछ ।

कादयानियतले मुसलमनहरूको विचारधारालाई, विश्वव्यापी समस्या र न्यायको व्यवस्थापन, जसको निमित्त यस समुदायको उत्पत्ति भएको हो, त्यसबाट हटाएर भ्रमिक समस्याहरू तिर ध्यानाकर्षण गराउँछ, यस महान समुदायलाई ती युरोपेली समुदायको मालगाडीको कुली र भारवाहक बनाउने प्रयास गर्छ जसको इशारामा यसको उत्पत्ति भएको छ र जसको संरक्षणमा यसको पालनपोषण गरिएको छ ।

अपसोच! , कादयानियतले मिर्जा गुलाम अहमद कादयानीलाई सन्देष्टाको मुकुट ओढाएर मानवताको शिर त्यति नै
निहुराएको छ जति मुहम्मद सल्लल्लाहु अलैहि वसल्लमको दूतत्वले उसलाई उच्च शिखरमा पुर्याएको थियो, कादयानियतले सम्पूर्ण मानवजगतको अपमान गरेको छ, उसको श्रेष्ठताको मुखमा कालो पोतेको छ , किनभने कादयानियतको अस्तित्व एउटा पाप जस्तो छ जसलाई माफी हुँदैन र यस्तो अपराध समान छ जसलाई कहिल्यै बिर्सन पाइदैन । 

कादयानियतको समस्या कुनै एउटा देश र शासनको समस्या नभइ सम्पूर्ण इस्लामी जगतको समस्या हो, यो इस्लामी आस्थाको विषय हो, यो इश्दूतको इज्जतको सवाल हो, मानवताको सम्मानको कुरा हो, यस पृथ्वीमा एक कण बराबरपनि पुण्य बाँच्दैन यदि यस इस्लामी आस्थालाई मेटिने प्रयास गरियो, यदि यसको प्रतिष्ठालाई कलङ्कित पारियो अथवा यसको इज्ज्तको बोली लगाइयो । 

यी केही वास्तविक तथ्य हुन् , तर जुन मानिसहरू सत्य तथ्यबाट दूरस्थ हुन्छन् , मिथ्य र कल्पित संसारमा रह्न रोज्ने गर्छन्, सत्य प्रति आँखा बन्द गरी आफूलाई धोखा दिने गर्छन्, जसको दृष्टिमा धर्म र आस्थाको कुनै मुल्य हुँदैन र परलोकको दाँजोमा यस संसारलाई ग्राह्यता दिने गर्छन्, उनीहरूलाई सन्तुष्ट पार्न मसंग त्यस्तो न  मुख छ न कलम ।

یارب نہ وہ سمجھے ہیں نہ سمجھیں گے مری بات

دے اور دل ان کو جو نہ دے مجھ کو زباں اور

मन्तव्य मेरो, बुझ्न के गाह्रो, बुझाउँ कसरी

हृदय उनको इश्वर फेरून, मुख् मेरो नफेरी

क्रमश:

Thursday, October 1, 2020

कादयानी को हुन्? ६

 कादयानियत: इस्लाम र मुहम्मदी सन्देश विरुद्ध एक विद्रोह 

लेखक: मौलाना सैयिद अबुल हसन अली नदवी (रह०)

अनुवाद: मुहम्मद सुहैल नदवी 

भाग (६)


मिर्जा बशीर अहमद कादयानी द्वतीय खलीफको किताब "हकीकतुन नुबुव्वत" हेर्नुस्, मिर्जा गुलाम अहमदको बारेमा लेखेका छन्, "उनी कुनै कुनै साहसी नबीहरूभन्दा पनि अगाडी पुगेका छन्  ।" (पृष्ठः२५७)

अल्फज्ल पत्रिका वर्ष (१४) २९ अप्रेल १९२७ इ.को प्रकाशनमा लेखेका छन् ।

"उनी अन्य नबीहरू (अलहिमुस्स्लाम ) मध्ये धेरैजसो भन्दा महान थिए, अँ ! सबै भन्दा महान हुन सक्ने सम्भावना पनि छ" । यहि पत्रिकाले वर्ष ५, २८ मे १९१८इ. को प्रकाशनमा रसूल सल्लल्लाहु अलैहि वसल्लमका अदरणीय सहाबाहरू र मिर्जाका साथीहरूलाई बराबर  बताउँदै लेखेको छ ।

"तसर्थ यी दुवै समूहलाई छुट्टाउनु वा एक भन्दा अर्कालाई समग्र रङ्ढङ्गमा उच्चस्तरीय मान्नु उचित हुँदैन, यी दुवै समूह वास्तवमा एक जमात हुन्, मात्र समयको अन्तर  छ, उनीहरू प्रथम अवतरणका प्रशिक्षित र यिनीहरू देश्रो अवतरणका ।" 

अल्फज्ल पत्रिकाको वर्ष (३) र अंक (५५) मा लेखिएको छ । "अपेक्षित मसीह नै मुहम्मद हुन् र वास्तविक मुहम्मद हुन् "। यसरी "अनवारे खिलाफत"मा मियाँ महमूद अहमद कादयानी खलीफा लेख्दछन् , "मलाई विश्वास छ कुरआनको आयत (اسمه احمد)"उनको नाम अह्मद हो"  को मन्साय अपेक्षित मसीह नै हुन् । कादयानी धर्म यतिमा मात्र सिमित नभएर सम्पूर्ण जगतका सरदार हजरत मुहम्मद सल्लल्ल्हु अलैहि वसल्लम भन्दा पनि उत्तम हुने दाबी गर्छ , मिर्जा गुलाम अहमद आफ्नो किताब "खुत्बा इल्हामिया"मा भन्दछन् । 

"हाम्रो नबी सल्लल्लाहु अलैहि वसल्लम आध्यात्मिक्ताको पाँचौँ  हजारमा संक्षिप्त गुणहरू कासाथ उदाउनु भएको थियो,तर त्यो समय आध्यात्मिक्ताको विकासको अन्तिम सिढी नभइ पूर्णताको लागि पहिलो कदम मात्र थियो, अनि त्यो आध्यात्मिकताले छैटौँ  हजारको यस समयमा पूर्णतः आफ्नो दर्शन गराएको छ ।"

उनी अगाडी लेख्दछन् ।

"له خسف القمر المنير و ان لي"

"غسا القمران المشرقان اتنكر"

(उनका लागि मात्र चन्द्रमामा ग्रहन लाग्ने निशान प्रकट भएको थियो तर मेरो लागि त सूर्य र चन्द्र दुइटैमा ग्रहन लाग्यो,अझै पनि तिमी इन्कार गर्छौ ?) 

कादयानीहरूको नजरमा मिर्जाको चिहानको त्यही स्थान छ जुन रसूल् सल्लल्लहु अलैहि वसल्लमको पवित्र समाधिको दर्जा  रहेको छ , हेर्नुस, कादयान यात्रा  गर्नेहरूलाई कादयानको तर्फबाट दिइने प्रशिक्षणमा उनीहरूलाई दिइएको निर्देशिकाबाट केही वाक्यांशः

"यस अभिप्रायमा मदीना मुनव्वराको हरियो गुम्बजको ज्योतिका सम्पूर्ण परिवर्तित किरणहरू यस सेतो गुम्बजमाथि पर्दैछन् , यसरी तिमीहरू पनि ती बरकतहरूमा सहभागी छौ जुन रसूल करीम सल्लल्लाहु अलैहि वसल्लमको उज्जवल समाधिका विशेषता मानिएका छन्, कति अभागी छन् ती मानिसहरू जो अहमदी जमातको यस महान हज्जका यी फाइदाहरूबाट बञ्चित रहेका छन्।" 

कादयान तीन पवित्र धार्मिक स्थलहरू मध्ये एक हो भन्ने पनि कादयानीहरूको आस्था रहेको छ। मिर्जा महमूद अहमद कादयानी खलीफाले लेखेका छन् । 

"अल्लाह तआलाले यी तिनवटै स्थान (मक्का, मदीना, कादयान) लाई पवित्र बनाउनु भएको छ र तिनवटै स्थानलाई आफ्नो ज्योति प्रदर्शनको लागि छान्नु भएकोछ ।"

   एक पाइला अझै चाल्दै पवित्र शहर मक्का र मस्जिद-ए -अक्साको बारेमा अवतरित कुरआनी आयातको मन्साय कादयानलाई बताउने प्रयास पनि गरिएको छ , मिर्जा गुलाम अहमदको कथन छ, "अल्लाह तआलाको भनाइ  و من دخله كان آمنا(जो त्यहाँ  प्रवेश गर्यो सुरक्षित भयो) मा कादयानमा स्थित उनको मस्जिदको वर्णन गरिएको हो । 

"दुर्रे समीन"  पृष्ठ सं. ५२ मा उल्लेख छ ।

"زمین قادیاں اب محترم ہے"

"ہجوم خلق سے ارض حرم ہے"

(कादयान को मूमि अब सम्मानिय भइ सकेको छ र मानिसहरूको घुइचोले गर्दा हरम (मक्का, मदीना) बनेको छ ।)

अल्फज्ल पत्रिका (कादयान) को वर्ष (२०) को २१ अगष्ट १९३१ इ.को प्रकाशनमा लेखिएको छ ।

"{سبحان الذي أسرى بعبده ليلا من المسجد الحرام إلى المسجد الاقصى الذي باركنا حوله}

(त्यो अस्तित्व पवित्र हुनुहुन्छ जसले आफ्नो भक्तलाई रातारात मस्जिद-ए-हरामबाट मस्जिद-ए-अक्सा सम्म पुर्याउनु भएको छ जसको वरपरलाई हामीले बरकतवाला बनाएका छौँ ।)

को आयतमा मस्जिद -ए-अक्सा भनेर  कादयानको मस्जिदलाई जनाइएको छ ।"

अर्थात उनीहरूको विचारमा यदि कादयान, अल्लाहको परम सम्मानीय भुमि मक्काको समश्रेणी वा उनको विचार बमेजिम त्यो भन्दापनि उच्चश्रेणीमा पर्दछ भने त्यहाँको तीर्थयात्रा पनि हज्जको समान वा त्यो भन्दा उच्चस्तरीय हुनु पर्ने हुन्छ, तसर्थ मियाँ महमूद अहमदले आफ्नो जुमुआको भाषणमा भनेका छन्  ।

"तसर्थ अल्लाहले एउटा अर्को सादृष्य हज्ज निर्धारण गर्नु भएको छ , कारण हो एक यस्तो समुदाय जसद्वारा उहाँले इस्लामको उत्थानकार्य लिन चाहनु भएको छ र गरीब अथवा भारतका मुसलमान पनि यस महान कार्यमा सामेल हुन पाउन्। "

यस्तै कादयानी समुदायको एउटा अर्का महाशय एक पाइला अझै बढाउँदै भन्छन् ।

"जसरी अहमदियत बिना पहिला अथवा हजरत मिर्जालाई छोडेर जुन इस्लाम धर्म बाँकी हुन्छ त्यो शुष्क इस्लाम हो त्यस्तै यस सादृष्य हज्जलाई छोडेर मक्काको हज्ज पनि शुष्क हज्ज मात्र बाँकी हुनेछ किन भने त्यहाँ हज्जको उद्देश्य पुरा भइरहेको हुँदैन ।

क्रमश:

नअत 

याे मेराे मुख र मदीना नरेशकाे चर्चा

दियाेले सूर्यकाे प्रकाश खाेज्ने जस्ताे

मदीना छाडेर घर फर्किँदा विचार गरेँ

महल त्यागेर छप्पर चैँ राेज्ने जस्ताे

xxxx

सुगन्धमय छ कति नाम पाे मुहम्मद काे
म उनका नाम लिँदा आत्मा नि गदगद भाे

उहाँकाे सम्झना गर्दै दरूदकाे वाचन

बिचल्ली मनमा त आराम कस्ताे बेहद भाे

xxxx

म उनकाे शान्तिकाे एक बार कल्पना गर्छु

म माथि ईशले दस बार शान्ति दिन्छन

मलाई ईशले मायालुकाे मनन् गर्दा

मेराे मुहारमा मायाकाे कान्ति दिन्छन्

xxxx

सुहैल अन्सारी